वेटिङ प्रधानमन्त्रीलाई लाजमर्दो काम नगर्न कामचलाउ प्रधानमन्त्रीको चुनौती
बारा : कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेटिङ प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिनु भएको छ । आफनो कार्यकालमा बृद्धि भएको ७.५ प्रतिशतको आर्थिक बृद्धिदरलाई नघटनाउन प्रधानमन्त्री प्रचण्डले वेटिङ प्रधानमन्त्री देउवालाई चुनौती दिनु भएको हो ।
नेकपा माओवादी केन्द्रसहितका दलहरुको समर्थनमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हुने बाटो खुला गर्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिइसक्नु भएको छ । गत साउनमा काँग्रेस र माओवादी केन्द्रका वीच भएको भद्र सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुला गरिदिनु भएको हो । सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गर्न राष्ट्रपति बिद्यादेवी भण्डारीले दिएको समयसीमा सकिए लगत्तै बहुमतीय प्रक्रियबाट देउवा प्रधानमन्त्री बन्नुहुनेछ ।
बारामा आइतबार फाष्टट्रयाक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘हामीले १० महिनाको अवधिमा २४ बर्षदेखि ओरालो लागेको आर्थिक बृद्धिदरलाई ७.५ प्रतिशतमा पुरयाएका छौ । यो एउटा मानक स्थापित भएको छ । अव आउने सरकारले त्यो भन्दा घटाउने गरी काम गर्नु भनेको लाजमर्दो हुनेछ । त्यसकारण मैले यसलाई मानक स्थापित भयो भनेको हुँ ।’
आफनो नेतृत्वको सरकारले लोडसेडिङ अन्त्य गरेर गर्व गर्न सक्ने काम गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । ‘लोडसेडिङबाट आक्रान्त जनता,उद्योग व्यवसाय र आर्थिक क्रियाकलापलाई यहि १० महिने सरकारले उज्यालो अभियान तर्फ अगाडि बढायो’उहाँ भन्नुभयो ‘भ्रष्टाचार र बेइमानी गरेर लोडसेडिङ गर्ने हिम्मत अव आउने कुनै पनि सरकार र मन्त्रीहरुले गर्न सक्ने छैनन् ।’
आफु नेतृत्वको सरकारले पहिलो चरणको स्थानीय निर्वाचन व्यापक जनसहभागितामा सम्पन्न भएको स्मरण गराउँदै दोस्रो चरणको निर्वाचन पनि उत्सवको सफल गराउने चुनौती पनि प्रधानमन्त्री प्रचण्डले देउवालाई दिनु भएको छ ।