सुरुंगामा भ्यान्टिलेटरसहितको सर्पदंश उपचार केन्द्रको सुरुआत

सुरुंगामा भ्यान्टिलेटरसहितको सर्पदंश उपचार केन्द्रको सुरुआत

सुरुंगा (झापा) : कनकाई नगरपालिका ४ स्थित माइ किनार कोटीहोममा भ्यान्टिलेटरसहितको सर्पदंश उपचार केन्द्र सुरु भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले कनकाई सहारा सर्पदंश उपचार केन्द्रको आइतवार सुरुआत गर्नुभएको हो।
करीब ६० लाख रुपैयाँको लागतमा उक्त उपचार केन्द्रको स्थापना भएको केन्द्रको एउटा सञ्चालक संस्था लायन्स क्लब अफ् कनकाई सुरुंगाका अध्यक्ष लीला चिमरियाले जानकारी दिनुभयो । अन्य सञ्चालक संस्थाहरुमा नेपाल रेडक्रस सोसाइटी झापा, सहारा नेपाल बचत तथा ऋण सहकारी लिमिटेड विर्तामोड, कनकाई नगरपालिका, कनकाई उद्योग बाणिज्य संघ, कनकाई धाम धार्मिक विकास संस्था तथा कनकाई घाट व्यवस्थापन समिति रहेका छन् ।
झापामा यसअघि दुुईवटा सर्पदंश उपचार केन्द्रहरु सञ्चालित थिए । कनकाई सहारासंगै अब तीनवटा सर्पदंश उपचार केन्द्र भएका छन् ।
झापाको पश्चिम दमक र पूर्व चारआलीमा उपचार केन्द्र हुँदा मध्य झापाका सर्पदंशका विरामीलाई निकै समस्या भोग्नु परिरहेको थियो । त्यही समस्यालाई मध्य नजर गरेर मध्य झापाको सुरुंगा नजिक सर्पदंश उपचार केन्द्र बनाउने कुरा पाँच बर्ष अघिदेखि सोचिए पनि यसपाली मात्र संभव भएको लायन्सका अध्यक्ष चिमरियाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पूर्व र पश्चिममा सर्पदंश उपचार केन्द्र भएकाले कतिपय विरामीले केन्द्रमा पुग्न नभ्याउँदै ज्यान गुमाउनु पथ्र्याे ।’
तर भ्यान्टिलेटरसहितको उपचार केन्द्र भने यो झापाको पहिलो हो । चारआलीमा नेपाली सेनाको हाताभित्र रहेको उपचार केन्द्र र दमकमा रेडक्रसले सञ्चालन गरेको उपचार केन्द्रमा उक्त सुविधा उपलब्ध छैन । सञ्चालक संस्था सहारा साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरीले सर्पदंशको उपचारमा भ्यान्टिलेटरको आवश्यक्ता भएकाले उक्त सुविधा पनि ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संभव भएसम्म हामीले सर्पदंशका विरामीले अकालमा ज्यान गुमाउनु नपरोस भनेर नै भ्यान्टिलेटरको सुविधा ल्याएका हौं ।’
तर उक्त उपचार केन्द्र स्थापनामा सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छैन । अहिलेसम्मको आर्थिक पाटो सहारा साकोसले व्यहोरिरहेको छ भने प्राविधिक पाटो नेपाल रेडक्रस सोसाइटी झापा शाखाले हेरिरहेको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताउनुभयो । सर्पदंशको उपचार गराए वापत दुई हजार दुईसय पचास लाग्ने लायन्सका अध्यक्ष चिमरियाले बताउनुभयो । उक्त उपचार केन्द्र सञ्चालनका लागि सहारा साकोसले बार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ । उपचार केन्द्र कोटीहोममा बनिरहेको समर्पण भवनमा सञ्चालनमा ल्याइएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.