राजपा र चुनाव

राजपा र चुनाव

संविधानलाई स्वीकार नगरेको र त्यसको विरोधमा 'नाकाबन्दी' का लागि विदेश निम्त्याएको दाबी गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा ) अहिले फेरि राजनीतिक विवाद र खिचातानीको केन्द्र बनेको छ । बहिष्कार र तत्काल राजनीतिक फाइदाका लागि उक्त पार्टीले आफूलाई सम्पूर्ण जनजाति र अल्पसंख्यकसँगको सहयात्री शक्तिका रूपमा प्रस्तुत गरे पनि त्यो एउटा विशेष खालको उक्साहट र रणनीतिबाट प्रेरित दाबी हो । राजपा मुख्यतया तराई-मधेस लोकतान्त्रिक पार्टीकै वर्तमान रूप हो ।

त्यसो हुँदैमा उसको राजनीतिक अधिकार, दलीय हैसियत र उसले प्रतिनिधित्व गर्ने जनधारका तर्फबाट राजनीतिक, संसदीय तथा जनस्तरीय माध्यमबाट आफूलाई प्रस्तुत गर्ने अधिकार कम हुँदैन । स्वीकार्य शैली र अरूको अधिकारमा कुनै व्यवधान नगरी हिंसा, हत्या तथा साम्प्रदायिकता भड्काउने हैन, जनसमर्थन देखाउने र सरकारलाई दबाब दिने हिसाबले उसले आन्दोलन पनि गर्न पाउँछ ।

तर राजपा शीर्षनेताका विगत केही दिनयता सत्तागठबन्धन र प्रतिपक्षी एमालेसँग भएका सामूहिक तथा छुट्टाछुट्टै भेटघाटमा उसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिने या नलिनेबारे स्पष्ट गर्न सकेको छैन । एकातिर वार्ता र चुनाव चिन्हको माग गर्दै नयाँ पार्टी दर्ताको चाहना उसले देखाएको छ भने अर्कोतिर आन्दोलनको घोषणा पनि गरेको छ ।

राजपाको 'बटम लाइन' के हो र त्यो राजनीतिक, संवैधानिक तथा व्यावहारिक हिसाबले कति सहज र उपयुक्त हुन्छ पूरा गर्न, त्यो उसले पनि बुझ्नुपर्ने विषय हो, यद्यपि संविधानलाई कोठे सहमतिबाट एउटा स्वरूप दिन सफल ठूला राजनीतिक दल पनि त्यत्तिकै स्पष्ट हुनु आवश्यक छ । संसारकै उदारतम् 'नागरिकता' वितरण प्रणाली राजपाको माग छ, तर त्यसबारे मधेसमा नै के चाहना छ, त्यो उसले अध्ययन गरेको छैन । राजपाले थारू, अन्य जनजाति र रैथाने मधेसीलाई प्रतिनिधित्व गर्दैन । त्यो यथार्थलाई दुवै पक्षले स्वीकारेमा समाधान असहज हुने छैन ।

यसअघि हाल राजपा र पहिले तमलोपाका नेताले आन्दोलनमा ज्यान दिएबापत लाखौं इनाम दिने घोषणा गरी एक किसिमको अराजकता र उग्रवादलाई प्रोत्साहित गरेका छन् । निर्वाचनमा सहभागी हुने चरित्र हैन यो । त्यसैले दलहरू बीचको कोठेवार्तामा यी कुराहरूबारे स्पष्ट सहमति बन्नु आवश्यक छ । राजपालाई चुनाव चिन्ह दिने या नदिने त्यो सम्पूर्ण रूपमा निर्वाचन आयोगको क्षेत्राधिकारको विषय हो, दलहरूको हैन ।

तर निर्वाचनमा सहभागी हुन राजपाले सकारात्मक र यथासक्य सहयोगपूर्ण वातावरण पाउनुपर्छ । त्यो उसको अधिकार हो । तर 'दल' का सीमा र मर्यादा संवैधानिक मान्यताबाट निर्देशित हुने गर्छन्, त्यसलाई पूर्णरूपमा बेवास्ता गर्दै आफ्ना सर्त राजपा आफैंले परिभाषित गर्न मिल्दैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.