बाबरी मस्जिद विवाद, आडवाणी, जोशीसहित १२ लाई आरोप तय
लखनउ : भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता लालकृष्ण आडवाणी, पूर्व केन्द्रीय शिक्षामन्त्री मुरलीमनोहर जोशी र उमा भारतीसहित १२ जनामाथि मंगलबार सीबीआईको विशेष अदालतले भारतको अयोध्यामा बाबरी मस्जिद भत्काएको आरोप लगाएको छ । ती १२ जनामाथि अब अपराध गरेको आरोपमा मुद्दा चलाइनेछ ।
यसअघि उक्त अदालतले कैयौं आरोपीलाई धरौटीमा छोडेको थियो । यद्यपि सबै आरोपीले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । उनीहरूमाथि बाबरी मस्जिद भत्काएको, दुई धर्मका अनुयायीबीच शत्रुता उत्पन्न गराएको, धार्मिक भावना भड्काएको, राष्ट्रिय एकता खलबल्याएको आरोप लगाइएको छ । केही समयअघि भारतीय सर्वोच्च अदालतले बाबरी मस्जिद भत्काएको आरोपमा आडवाणी, जोशीविरुद्ध चलिरहेको मुद्दा लखनउस्थित विशेष सीबीआई अदालतमा चलाइने घोषणा गरेको थियो ।
यसैबीच उमा भारतीले यसमा कुनै षड्यन्त्र नगरेको बताउँदै खुल्लमखुला यस्तो काम गरिएको स्पष्ट पारिन् । अदालतको सम्मान गर्ने भएकाले आफूले अदालतको निर्णय मान्ने बताइन् । लाखौं मानिसले मस्जिद भत्काएको बताउँदै यसमा गोप्य षड्यन्त्रको कुरा आउनु अचम्म भएको उनको कथन छ ।
भारतीय सर्वोच्च अदालतले गत महिना सन् १९९२ को बाबरी मस्जिद भत्काइएको मुद्दामा आडवाणी, जोशी, भारतीलगायतका व्यक्तिमाथि मस्जिद भत्काउन षड्यन्त्र गरेको आरोपमा मुद्दा चलाइने बताएको थियो । सर्वोच्चले उक्त मुद्दा रायबरेलीबाट लखनउ सार्न आदेश दिएको थियो । यसै विषयमा अर्को मुद्दा लखनउस्थित विशेष सीबीआई अदालतमा चलिरहेको छ ।
आडवाणी, मुरली जोशी, भारती, विनय कटियार, साध्वी ऋतम्भरा, विष्णु हरि डालमिया, रामविलास वेदान्ती, महन्त नृत्य गोपाल दास, चम्पत राय वंसल र बैकुण्ठलाल शर्मा प्रेममाथि बाबरी मस्जिद भत्काएको आरोप छ ।