प्रतियोगिता नहुँदै विवादमा मिसेस नेपाल यूके
बेलायत : प्रतियोगिता नहुँदै मिसेस नेपाल यूके विवादमा तानिएको छ। लन्डनमा यही २ जुनमा तय गरिएको ‘मिसेस नेपाल यूके प्रतियोगिता २०१७’ विवादमा तानिएको हो।
सुरुमा निशुल्क भनिए पनि पछि प्रतियोगीसंग विभिन्न शीर्षकमा रकम माग्ने अनि फिनाले हुनु एक दिनअघिसम्म पनि प्रशिक्षण नभएपछि सहभागी आक्रोशित भएका हुन्।
प्रतियोगीका अनुसार आयोजक लन्डन फेसन हाउसले प्रतियोगीसँग गावन वापत जनही ८० पाउण्ड र टिसर्टको १३ पाउण्ड उठाएको छ। सँगै मेकअप, खाजा पानी आफनै खर्चमा गर्नुपर्ने जस्ता शर्त राखेको छ। सौन्दर्य प्रतियोगिताको अन्तिम दिन मिठो खाना बनाउने र च्यारिटी रकम धेरै उठाउनेलाई उपाधि दिने अनौठो र हांस्यास्पद योजना आयोजकले तयार गरेको समेत खुलेको छ।
सहभागीले आयोजकले प्रतियोगितामा आफ्नै आफन्त सहभागी गराएको आरोप समेत लगाएका छन्। ‘एकदिन अघिसम्म न तालिम, न कोरियोग्राफी कसरी अन्तिम प्रतिष्पर्धामा उत्रने हो अन्योल छ,’ नाम नभन्ने सर्तमा एक प्रतियोगीले भनिन्।
लन्डन फेसन हाउसकी मनिषा डंगोल श्रेष्ठले भने प्रतियोगितामा कुनै विवाद नभएको र प्रतियोगीसंग अनावश्यक रकम नलिएको दाबी गरेकी छिन्।
१७ प्रतियोगी सहभागी उक्त प्रतियोगितामा मिसेस नेपाल यूके, फस्टर रनर अप, सेकेन्ड रनर अप, पब्लिक च्वाइस, फेस अफ अस्मी ज्वेलर्स, वेष्ट सेफ, ब्युटी फर चेन्ज आदि टाइटिललगायतका अवार्ड राखिएको छ।