वर्तमान विगतबाट प्रभावित छ
'इतिहासमा हुने घटनाहरूले नै वर्तमानको निर्माण गरेका हुन्छन्', यो भनाइ प्रसिद्ध साहित्यकार एवं दार्शनिक लियो टोल्सटोयको हो । उनले यो सन्दर्भ फ्रेन्च क्रान्ति, नेपोलियनको उदय तथा सन् १८१२ को रसियामाथिको फ्रेन्च आक्रमणका सन्दर्भमा भनेका थिए । उनको भनाइ तर्कबाट पुष्टि त भएकै छ, यो अकाट्य वैज्ञानिक यथार्थ पनि हो ।
यसै कसौटीबाट वर्तमान नैतिकता विशृंखलित भएको, देशभक्ति ओइलाएको अवस्था, लोकतन्त्र तर यथार्थमा अवसरवाद मक्कारीको अवस्थ सचेत र यथार्थमा स्वार्थलिप्त नेपाली समाजको अवस्थ विश्लेषण गर्नुपर्ने आवश्यकता छ । आजको नेपालको अवस्था जो विदेशी स्वार्थहरू र राजनीतिक अवसरवादले जर्जर बनेको छ, यसको पृष्ठभूमिमा थुप्रै ऐतिहासिक घटना छन्, जसले नेपाललाई आजको अवस्थामा खडा गरेका छन् । तर नेपाली बौद्धिकता इतिहासको विश्लेषण गर्दैन, ऊ केवल आफ्नो वर्तमानवरिपरिका घटनाबाट मात्र निष्कर्ष निकाल्छ । नेपाललाई अहिलेको वितण्डता, जर्जरता र अन्धकारबाट निकाल्ने हो भने केही ऐतिहासिक घटनाहरूको विश्लेषण गर्नैपर्छ ।
भीमसेन थापाको गलत विश्लेषण
सन् १८१४ अगाडि नै बेलायती उपनिवेशवादी सरकार नेपाललाई परास्त गरी काठमाडौं उपत्यकाको कब्जा र भोटसँगको व्यापारमा एकाधिकार प्राप्त गर्न चाहन्थ्यो । सन् १७६५ देखि उसले आधिकारिक रूपमा यो प्रयास थाल्यो, तर सफल हुन सकेन । सन् १८०५ देखि युरोप युद्धको भुमरीमा फस्यो । उपनिवेशी सरकारलाई युरोपको त्यस परिस्थितिले नेपालमा पूर्ण सक्रिय युद्ध गर्न सम्भव थिएन । तर १८१४ मा जब वाटर लुको युद्धमा नेपोलियन पराजित भए, बेलायतले नेपालमा आक्रमण सुरु गर्यो । यस युद्धलाई ढिलाइ पार्न सकिन्थ्यो । वार्तामा अल्झाएर, केही सन्धि गर्दै नेपाललाई युद्धबाट पर राखी कुमाउ र गढवाल जोगाउन सकिन्थ्यो ।
देशको स्वतन्त्रता र सार्वभौमसत्तामाथि भालाले खोप्दा हामीलाई दुख्न छोडेको छ । यो संस्कारको सुरुआत सन् १८१४ बाट भएको छ र अहिले २०१४ मा दुई सय वर्ष पुगेको छ । लामो शृंखला छ । के एउटा देशले स्वतन्त्र भएर आफ्नो अस्तित्व राख्न पाउँदैन ?
भीमसेन थापाले ब्रिटिस उपनिवशी शक्तिको ताकत विश्लेषण गर्न त्रुटि गरे । परिणामस्वरूप नेपालले हार्यो युद्धमा । अमरसिंह थापाको सल्लाह मानिदिएको भए, नेपाल आज यस दशाको भुक्तभोगी हुने थिएन । यद्यपि भीमसेन थापाको देशभक्तिमा शंका हुँदैन । तर उनीविरुद्ध षड्यन्त्र भयो र दरबार पनि विभाजित भयो । बेलायतीहरूले पाँडे खलकलाई प्रयोग गरे । नेपालमा पहिलोपटक विदेशीको चलखेल र षड्यन्त्र प्रवेश गर्यो र १८१४ देखि २०१४ सम्म अहिले दुई सय वर्ष भयो, हामी नेपाली विदेशीका गोटी बनिरहेका छौं । हाम्रो सपना लुटिएको छ । हाम्रो भरोसा लुटिएको छ ।
जंगबहादुरको गलत विश्लेषण
भीमसेन थापाको अपमानपूर्ण मृत्युपछि माथवर सिंहको हत्या गरियो । त्यसपछि गगन सिंहको हत्या गरियो । अन्ततः कोतपर्व हुँदै जंगबहादुरको उदय भयो । यी सबै घटनामा बेलायती योजना र बेलायती रेजिडेन्ट (राजदूत) को संलग्नता थियो । यद्यपि जंगबहादुरमा नेपालप्रति देशभक्ति थियो । उनले गोरखा भर्तीलाई वैधानिकता दिन अस्वीकार गरे । उनले नेपाली सेनाको पुनर्गठन पनि गरे । बेलायतसँग घुँडा टेकेनन् ।
उपनिवेशी सरकार भारतमा सिपाही विद्रोहको समस्या भोगिरहेको थियो । उसलाई नेपाली सेनाको आवश्यकता पर्यो । सिपाही विद्रोह दमन गर्न जंगबहादुर आफैंले नेतृत्व गरे । उनलाई लागेको थियो, 'सिपाही विद्रोह दमन गीिदएपछि बेलायत नेपालको अधीनमा बस्नेछ ।' तर जब नेपालको सहयोगबाट बेलायती शासकले भारतमा पूर्ण अधीन जमाए, त्यसपछि नेपाललाई दमन गर्ने उसको नियत झन् क्रूर बन्यो । नेपालमा देशभक्तिको भाव उजागर हुनुलाई बेलायतीले आफ्नो सुरक्षाको विरुद्ध देखे । परिणामस्वरूप जंगबहादुरका सन्तानको विनाश गरे।
नेपालमा बेलायतको अधीन रह्यो यहाँको राजनीतिमा । नेपाल एक किसिमको पराधीन देश बन्यो । शमशेर राणाहरूले नेपाललाई जातीय व्यवस्था, अन्धविश्वास र अज्ञानताको जाँतोमा पिँधे । यो योजना बेलायती शासकहरूकै थियो, किनकि शिक्षित र उर्वर नेपाल उनीहरूलाई भाडाका सेना उत्पादन गर्ने देश हुँदैनथ्यो ।
शमशेर राणाहरूले गोर्खा ब्रिगेडलाई वैधानिकता दिए । वार्षिक दस लाख कम्पनी रुपैयाँ राणाहरू लिन्थे । उनीहरूले जनतालाई दास र शासकहरूलाई लुटेरामा परिणत गरे । त्यसैबेलादेखि नेपालीहरूमा देशमा बसेर उद्यम गर्ने, देशको सम्मान गर्ने, इतिहासप्रति गौरव गर्ने, आफ्नो गाउँ बनाउने र देशविरुद्ध विदेशीहरूको षड्यन्त्रको विरोध गर्नेजस्ता मनोवृत्तिमा कमजोरी आएको देखिन्छ ।
राजा त्रिभुवनको आत्मसमर्पण
२००७ सालमा नेपाली जनताले राणाहरूको विरुद्धमा संगठित विद्रोह गरे । बीपी कोइरालाको ठूलो देन छ यसमा । उनी आधुनिक नेपालका राष्ट्रपिता नै हुन् वास्तवमा । तर राजा त्रिभुवनले नेपाली जनताको विश्वास गर्न सकेनन् । उनले नेहरूसँग साँठगाँठ गरी मोहनशमशेरलाई प्रधानमन्त्री बनाए ।
नेहरूलाई नेपालको स्वतन्त्रता स्वीकार गर्नुपर्ने बाध्यता थियो, किनकि त्यसो नगर्दा गोर्खा ब्रिगेडले विद्रोह गरी पाकिस्तानलाई सहयोग गर्न सक्ने खतरा थियो । त्यसैले नेहरूले कुटिलतापूर्वक त्रिभुवनलाई आफ्नो पक्षमा लिए । सूक्ष्मरूपमा नेपालको प्रशासनमा भारतको अधीन स्थापित गरे । राजा त्रिभुवनले आफ्नो स्वकीय सचिवमा भारतीय नागरिक राख्न स्वीकार गरे । मन्त्रालयहरूमा भारतीय प्रशासक सल्लाहकार नियुक्त गर्न पनि स्वीकार गरे।
कांग्रेस, वामपन्थीलगायतका राष्ट्रवादी जस्तै केआई सिंहलाई नेपालको सत्तामा स्थापित गर्दा नेपालले आफ्नो स्वतन्त्रताको पक्षपोषण गर्ने हुँदा नेहरू राणाहरूलाई दास बनाएर नेपालमा अधीन राख्न चाहन्थे । त्यसैकारण बीपीलाई छिर्के लगाउने नेहरूको योजनामा राजा त्रिभुवन सहयोगी बन्न पुगे । राणाहरू सत्तामा रहन पाए जेसुकै त्याग्न तयार थिए ।
राजा महेन्द्र र बीपीका कमजोरी
राजा महेन्द्र र बीपी दुवै त्रिभुवन र नेहरूका खेलप्रति सजग थिए र त्यसबाट देशलाई मुक्त गर्न चाहन्थे । बीपीले आफ्नै दाजु मातृकासँग लड्नुपरेको थियो र महेन्द्रले आफ्नै बाबुका त्रुटिपूर्ण विरासतप्रति । यी दुवै एकअर्काका सहयोगी हुन सक्थे, तर दुवैले न त एकअर्कालाई विश्वास गरे न त भरोसा नै । बीपीले आफ्नै पार्टीभित्रका भारतपरस्त मानिसबाट आफूलाई मुक्त गर्न सकेनन् र राजा महेन्द्रले ठाने- पश्चिमी देशहरूसँगको बाक्लो कूटनीति र सम्पर्क नै नेपालको स्वतन्त्रता जोगाउने सही रणनीति हो ।
त्यसैले राजा महेन्द्रले नेपालमा युरोप र अमेरिकाको बाक्लो उपस्थिति भित्र्याए । उनलाई लागेको थियो- पश्चिमी शक्ति तटस्थ रहन्छ र नेपालप्रति उसको कुनै रणनीतिक भूमिका वा प्रभाव पनि छैन । यो विश्लेषण नै वर्तमान नेपालको समस्या बनिरहेको छ । साम्यवादी चीन र सोभियत युनियनसँग टाँसिएको भारत दुवै पश्चिमी शक्तिका टाउको दुखाइका कारण थिए । त्यसैले उनीहरू उत्साहपूर्वक नेपालमा उपस्थित भए । उनीहरूको लागि यो सुनौलो अवसर थियो । नेपाल उनीहरूको चीन र भारतलाई निगरानी गर्ने सुरक्षित आधारभूमि बन्यो । देशले अहिले भोगिरहेका अनेकौं समस्या यसै तथ्यसँग जोडिएका छन् ।
राजा वीरेन्द्रको कमजोरी
राजा वीरेन्द्र जनताप्रति उदार देखिए । देशभक्ति पनि प्रष्ट थियो । त्यसैले उनले पश्चिमी शक्तिलाई नेपाललाई चीन र भारत विरोधी आधारभूमि बनाउन दिएनन् । परिणामस्वरूप हिजो आफ्नो स्वार्थको लागि पञ्चायतको समर्थन गर्ने पश्चिमी शक्ति विस्तारै वीरेन्द्र र पञ्चायतविरुद्ध खडा भयो । उसले लोकतन्त्रको लागि पञ्चायतविरुद्धको आन्दोलनलाई समर्थन गर्यो । यो ठिकै थियो । तर उनीहरूको स्वार्थ लोकतन्त्रसँग होइन, आफ्नो प्रभुत्वसँग जोडिएको थियो । राजाले पञ्चायतलाई पालिराख्नुपर्ने कारण देखेनन् । त्यसैले जनताको आन्दोलनप्रति सकारात्मक रहे ।
तर उनले पनि आफ्नो घेरालाई सीमित पञ्चको वृत्तभित्रै सीमित गरे । उनी निस्क्रिय राजाको हैसियतमा रहे र दलहरूसँग सक्रिय सहकार्यमा आउन चाहेनन् । परिणामस्वरूप राजनीतिक दल र प्रशासन एकापट्टि अनि राजा र सेना अर्कोपट्टिको एउटा अघोषित विभाजनमा देश रह्यो । राजाले सेनासहित राजनीतिक दलसँग सक्रिय सहकार्य निर्माण गर्न सकेनन् । यद्यपि उनले देशको स्वतन्त्रता र सम्मानको लागि भारतीय शासकका अगाडि घुँडा टेकेनन् । यदि राजाले दलहरूसँग घनिष्ट सहकार्य विकास गर्दै देशलाई विदेशीको चंगुलमा पर्नबाट राजनीतिक दलहरूलाई खबरदारी गर्न सकेको भए आजको अवस्था आउने थिएन ।
कांग्रेसको दम्भपूर्ण प्रवृत्ति
२०४७ सालको संविधान जनआन्दोलनको परिणाम थियो । जनआन्दोलन नेपाली कांग्रेस र वामपन्थी मोर्चाको सहकार्यको परिणाम थियो । तर संविधान जारी भएपछि जब प्रतिनिधि सभामा कांग्रेसको बहुमतको सरकार बन्यो, त्यसले आफ्नै पार्टीका राजनीतिक शक्तिका हिमायती नेता गणेशमान सिंहको मानमर्दन गर्यो, अन्तरिम सरकारका सफल प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पार्टीबाट विस्थापित गर्यो ।
एकाएक देशमा अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै- विश्व बैंक एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको बाढी आयो । इसाईकरण, निजीकरण र प्रशासनमा राजनीतीकरणको माहोल तयार भयो । देशको उद्योगधन्दाहरू कौडीका दाममा बेचिए । देशको अनुसन्धान र बौद्धिक संस्थाहरू मन्दविषको असर परेको मानिस झैं विस्तारै अवशान गरिए । विपक्षीहरूप्रति अनुदार र पश्चिमी 'उदार प्रभाव वा हस्तक्षेप' द्वारा नेपाली जनताको राष्ट्रिय चेतना समाप्त पार्ने कार्यमा गैरसकारी संस्थाहरू प्रयोग गरिए । लोकतन्त्रको नाममा एक किसिमको निरंकुशतन्त्र जब मौलायो, तब त्यसको विरोधमा उत्रिएकाहरूलाई समाप्त पार्न विदेशीहरूकै खेलको एक अंशका रूपमा प्रतिनिधिसभा विघटन गरियो ।
त्यसपछिका दिन नेपाली राजनीतिमा कलंकका दिन थिए । सांसद किनबेचदेखि थुनछेकसम्मका घिनलाग्दा हरकत हुँदै आए । पार्टीहरू फुटे । देश द्वन्द्वमा जाकियो । राजाको हत्या भयो । देशले संकटकालको मार भोग्यो । १७ हजार नागरिकले ज्यान गुमाए । गिरिजाप्रसादको संसद् भंगबाट सुरु भएको लोकतन्त्र विनाशको खेल देउवाको संसद् भंगबाट समाप्त भयो । लोकतन्त्रको विनाश यी दुइटा 'संसद् विघटन' बाट भयो ।
बाह्रबुँदे सम्झौता र कलंक
२०६३ सालमा हिंसाको आन्दोलनमा रहेको माओवादीलाई शान्तिमा ल्याउन लोकतान्त्रिक दलहरूले बाह्रबुँदे सम्झौता भारतमा माओवादीसँग गरे । अहिले पट्टाक्षेप भइसकेको छ, यसमा भारतको भूमिका रहेछ । थुप्रै मूर्धन्य नेताहरू र भारतीय सहजकर्ताको भूमिका रहेछ । जे होस्, कसकसका कर्तुतहरू थिए, भविष्यले उद्घाटन गर्ने नै छ, तर देशको अस्तित्व र सार्वभौमिकताका लागि त्यो सम्झौता कलंक सावित भएको छ ।
कहिलेकाहीं फोहोरमा पनि सुगन्धित फूल फुल्छ । सायद त्यसैले होला जनताले शान्ति पाए र एउटा नयाँ संविधान पनि पाए । तर अहिले पनि देश समस्याबाट ग्रस्त छ । जातीयता र बहुर्राष्ट्रियताको बीउ रोपिएको छ । कुनै विदेशी दूतावासमा कतिपय राजनीतिक दलको बैठक बस्ने राजनीतिक संस्कारलाई सहन गर्न सक्ने प्रवृत्ति नेपालमा मौलाएको छ । विदेशीको सहयोगमा देश फुटाउने कार्यक्रम सञ्चालन हुँदा पनि सरकार लाटोले पापा हेरे झैं बस्ने संस्कार मौलाएको छ । सिद्धान्तहीन गठबन्धनको संस्कृतिको बिरुवा रोपिएको छ । सत्ताको लागि मरिहत्ते गर्ने अनैतिकता मौलाएको छ ।
२००७ सालदेखि २०७४ सालसम्मको सात दसकमा नेपाली जनताले विकासको कुरा त परै जाओस्, शान्तिले बाँच्न पाएको अवस्था छैन । भारतबाट प्रकाशित हुने पत्रिका लेख्छ- प्रधानमन्त्रीको राजीनामा 'भारतीय' चाहनाअनुसार नै भएको हो । प्रधानमन्त्री र देशको परराष्ट्रमन्त्रीलाई यसको सरोकारसम्म हुँदैन ।
अर्थात् देशको स्वतन्त्रता र सार्वभौमसत्तामाथि भालाले खोप्दा हामीलाई दुख्न छोडेको छ । यो संस्कारको सुरुआत सन् १८१४ बाट भएको छ र अहिले २०१४ मा दुई सय वर्ष पुगेको छ । लामो शृंखला छ । के एउटा देशले स्वतन्त्र भएर आफ्नो अस्तित्व राख्न पाउँदैन ? पाउँछ, अन्तर्राष्ट्रिय कानुन हाम्रो पक्षमा छ । तर पार्टीका नाममा कायम रहेको सामन्तवाद परास्त गर्न नेपाली जनता असफल रहेका छन् ।
कथित विद्वान्, कथित नेता, कथित कार्यकर्तालाई देशभन्दा जात, पार्टी र धर्म प्यारो छ । स्कुल बनाऔं, विज्ञान र प्रविधिको विकास गरौं भन्ने आन्दोलन छैन । आन्दोलन एकले अर्कोलाई विस्थापित गर्न पाउँ भन्ने छ । राजनीति विदेशीको इसारामा चलेको छ । नेता सत्ताको लागि अतृप्त स्वार्थमा तल्लीन छन् । जनता लाटकोसेरो जस्तो कराइरहन्छन् । कार्यकर्ता अन्धा भएका छन् । गरिब भोकै मर्दैछन् ।
के अब पनि चेतना खुल्ने समय भएन र ? भयो र अब देश विगतमा जस्तै टुलुटुलु हेरेर बस्न सक्तैन । राष्ट्रका पक्षमा बोल्नेहरूलाई अन्धराष्ट्रवाद भनेर दुत्कार्न परिवर्तनका पक्षधर हांै भन्नेहरू पनि लागेका छन् । तर राष्ट्र फुटाउन पाउनुपर्छ भन्नेहरूका अभिव्यक्तिलाई मानव अधिकार मानिएको छ । लामो इतिहास नियाल्दै इमानदार नागरिकले समस्याको निकास निकाल्न थाल्नुपर्छ ।