ज्ञानका लागि लगानी

ज्ञानका लागि लगानी

एक ठाउँमा मानिसहरू गफिँदै थिए । एकजनाले भने- हाम्रो पालामा टुप्पी कसेर टुकी बालेर यसरी पढियो, उसरी पढियो, दिनको यति घन्टा पढ्थ्यौं आदि आदि । २५ मिनेट जतिको गफ ध्यान दिएर सुनेँ । गफगाफपछि मलाई लाग्यो, ती गफ गर्ने मानिसहरू अहिलेको नयाँ कुराहरूमा जानकार थिएनन् । माइक्रोसफ्टले विन्डोज ९५ ल्यायो र पछि यसलाई अपग्रेड गरेर विन्डोज ९८ आयो ।

त्यसपछि पनि विन्डोजलाई अपग्रेड गरेर नयाँ भर्सनको विन्डोज २०००, त्यसपछि विन्डोज एक्सपी, विन्डोज भिस्टा, विन्डोज ७, विन्डोज ८ गर्दै २०१६ सम्म विन्डोज १० ल्याएको छ । माइक्रोसफ्टले एकपछि एक नयाँनयाँ भर्सनको विन्डोज दियो र सधैं आफूलाई समय अुनकूल अपडेट बनाएकाले आज यो सफलताको शिखर चुम्न सफल भएको छ ।

जसरी माइक्रोसफ्टले एकपछि अर्को भर्सन अपग्रेड गर्दै विन्डोज ९५ बाट विन्डोड ८ सम्म अपग्रेड गर्‍यो, एकछिन तपार्इं सोच्नुस् कि तपार्इंले कहिले आफ्नो भर्सन अपग्रेड गर्नुभयो ? धेरै व्यक्तिहरू सोच्छन् कि, कलेजको पढाइ सकिएपछि उसको पढाइ जिन्दगीभरका लागि सकियो । पढाइ त एक नदीजस्तै हुनुपर्छ जुन निरन्तर बगिरहन्छ । एउटा विद्वान् मानिस पनि पढ्न छोड्यो भने केही वर्षपछि अनपढको सूचीमा गनिन पुग्छ।

हामी आफ्नो कम्प्युटर, ल्यापटपलाई भाइरसहरूबाट बचाउन एन्टिभाइरस सफ्टवेयर राख्छौं तर, त्यो एन्टिभाइरस सफ्टवेयरलाई समयसमयमा अपग्रेड गरेनौं भने भाइरसहरूले आक्रमण गरेर हाम्रो कम्प्युटर, ल्यापटपलाई बिगारिदिन्छ । हामीले विद्यालय, विश्वविद्यालयबाट आर्जन गरेको डिग्री एन्टिभाइरस सफ्टवेयरजस्तै हो । यसलाई समयसमयमा अपग्रेड गरनौं भने हामीलाई आक्रमण गरेर बिगारिदिन्छ र हामीलाई एक शिक्षित व्यक्तिबाट अशिक्षित व्यक्ति बनाइदिन्छ ।

भारद्वाज सानो हुँदा पढाइमा एकदमै कमजोर थिए । त्यति बेला पढ्न स्कुल थिएन र विद्यार्थीहरू पढ्न गुरुकहाँ जानुपर्थ्यो । पढाइमा एकदमै कमजोर भएको कारणले गर्दा गुरु र साथीहरू सबैले उनलाई अलि हेला गर्थे । साथीभाइ र गुरुको अवहेलनाले गर्दा उनले पढाइ छोड्ने निर्णय गरे । पढाइ छाडेपछि उनी एकदमै फुर्सदिला भए । एक दिन उनी घुम्दै जाँदा एउटा जंगलमा पुगेछन् । यात्राको थकानले प्यास मेटाउनका लागि इनारबाट पानी निकालेर पिए र नजिकैको रूखमा आड लागेर एकैछिन थकाइ मारे । थकाइ मार्दै गर्दा उनको नजर इनारमा रहेको लामो डाममा पर्‍यो ।

ढुंगाको इनारमा लामो डाम देखेर हेर्न नजिक गए हेरे र थाहा पाए कि, त्यो ढुंगामा बसेको लामो डाम त इनारको पानी तान्दातान्दा बसेको डोरीको डाम पो रहेछ । यति थाहा पाएपछि भारद्वाजले सोचे कि, पटकपटक रगड्दा यत्रो कडा चट्टानमा समेत छाप बस्छ भने मैले मेहनत गरेर पढेँ भने किन मेरो दिमागमा कसो छाप नबस्ला । बस् यति एउटा दृश्य र सोचले उसलाई बुझाइदियो कि मैले मेहनत गरेर पढेँ भने अवश्य पढ्न सक्छु । उनी फर्केर गुरुकहाँ गए र मेहनतसँग पढेँ । आज हामी भारद्वाजलाई एक प्रख्यात विद्वान् ऋषि एवं हिन्दु धर्म ग्रन्थहरूका लेखकको रूपमा चिन्छौं ।

भारद्वाजको जीवनीबाट बुझ्न सकिन्छ, कुनै पनि कारणले पढाइ अर्थात् ज्ञान हासिल गर्न छोड्नु हुँदैन । पढाइलाई कुनै जात, धर्म, संस्कृति, लिंग तथा समयले छेक्दैन । धेरै व्यक्तिले एकदुई पटक परीक्षामा असफल भयो भने पढाइ छोडेका धेरै उदाहरण भेटिन्छन् र उनीहरूको भनाइरहन्छ, भगवान्ले दिमाग दिएन । भारद्वाज पनि सानोमा पढाइमा एकदमै कमजोर थिए तर पछि विद्वान् भए । मानिस ठूलो शरीरबाट होइन, ज्ञानले हुनुपर्छ । तपाईंले पढ्न वा ज्ञान आर्जन गर्न छोड्नुभएको छ भने एकपटक भारद्वाजलाई सम्झिदिनुहोला ।

सन् २००९ मा रिलिज भएको आमिर खानको फिल्म थ्री इडियट्समा आमिर खान भन्छन्, 'पास हुनका लागि होइन क्षमतावान् हुनका लागि पढ ।' वास्तवमा यस फिल्मले प्रवाह गर्न लागेको सन्देश एकदमै उत्कृष्ट थियो । फिल्मले बक्स अफिसका सबै रेकर्ड तोडेको थियो । हामी क्षमतावान् हुनका लागि पढ्नुपर्छ । हामी दिनहुँ ब्रस गर्छैाँ, ब्रस गर्ने बानी हामीले जन्मिँदै लिएर आएका होइनौं, यो त हामी आफैंले जन्मिएको केही वर्षपछि बनाएका हौं र अहिले हामी एक दिन ब्रस गर्न पाएनौं भने दिनभर असहज महसुस गर्छांै । दिनहुँ ब्रस गर्ने बानी बसाएझैं दिनदिनै केही न केही पढ्ने बानी बसाल्नुपर्छ ।

धेरैजस्तो विद्यार्थी कलेजमा घोटिएर पढ्छन् र उत्कृष्ट नतिजा पनि निकाल्न सफल हुन्छन् तर त्यही व्यक्तिहरू व्यावसायिक जीवनमा भने त्यति सफल भएको देखिँदैन । जुन व्यक्तिहरू त्यति सफल भएका छैनन्, यसको मुख्य कारण उनीहरू डिग्री हासिल गर्न अर्थात् नम्बर प्राप्त गर्नमात्र पढ्ने मानसिकताले गर्दा हो ।

यो संसारमा सबैभन्दा सुरक्षित लगानी पढाइ अर्थात् ज्ञानमा गरेको लगानी नै हो । संसारका जति पनि सफल व्यक्तिहरू छन्, उनीहरू नियमित पढ्ने र आफूलाई अपग्रेड राख्छन् । ब्रस गर्ने बानीजस्तै हरेक बिहान पढ्ने बानी बसाल्नुपर्छ । अर्थात्, सफल व्यक्तिहरू भन्छन्- एभ्री मर्निङ लर्निङ । नियमित पढ्ने मानिसको ज्ञानको भण्डारले उसलाई मजबुत बनाउँछ, उसको आत्मविश्वास बढ्दै जान्छ र सफलता हासिल गर्नसक्छ ।

हामीले अन्डालाई भुइँमा बजार्‍यौं भने कामै नलाग्ने गरी फुट्छ तर प्याजलाई भुइँमा बजार्‍यौं भने केही भाग क्षति भए पनि पूरै फुट्दैन । यसको मुख्य कारण अन्डामा कुनै पत्र हुँदैन तर प्याजमा भने धेरै पत्र हुन्छन् । प्याजमा रहेको पत्रजस्तै नियमित अध्ययन गर्ने व्यक्तिहरूको ज्ञानका धेरै पत्रहरू हुन्छन् । त्यसैले अध्ययनशील व्यक्तिहरू आत्मविश्वासका साथ वादविवाद, बातचित गर्न सक्छन् र समस्याहरूको सामना गर्न सक्छन् । अध्ययनशील व्यक्तिहरू अन्डाजस्तै सजिलै फुट्दैन ।

जसरी आज सर्भिसिङ गरेको गाडीले एउट निश्चित समयसम्म राम्रो काम गर्छ र त्यसपछि गाडीलाई सर्भिस सेन्टरमा सर्भिसिङका लागि लैजानुपर्छ; त्यसरी नै हामीले विद्यालय, विश्वविद्यालयबाट हासिल गरेको डिग्रीले पनि केही निश्चित समयसम्म राम्रो काम गर्छ र त्यसपछि विस्तारै राम्रोसँग काम गर्न छोड्छ । हामीले पढ्न, ज्ञान हासिल गर्न अथवा समयसमयमा अपग्रेड राख्न सकेनौं भने डिग्रीको पनि मूल्य रहँदैन ।

जसरी नयाँ लुगा केही दिनसम्म लगाउँछौं र मैलो भएपछि धुन्छौं, इस्त्री लगाउँछौं र फाटेपछि अर्काे नयाँ लुगा किन्छौं । अझै हामीले आफ्नो व्यक्तित्वलाई राम्रो बनाउन फेसनअनुसारको लुगा किनेर लगाउँछौँ, त्यसरी नै हामीले हासिल गरेको डिग्री, ज्ञानलाई पनि समयसमयमा धुने, इस्त्री लगाउने वा समयको मागअनुसार नयाँनयाँ ज्ञान तथा सीपहरू हासिल गरिराख्नुपर्छ । ज्ञानहरूलाई धुने, पखाल्ने, इस्त्री लगाउने भन्नाले समय, परिस्थितिअनुसार आफूले आर्जन गरेको ज्ञानलाई अपग्रेड वा परिस्कृत गर्नु हो ।

यसका लागि नियमति पढ्नु आवश्यक छ । अधिकांश व्यक्ति बाहिरी व्यक्तित्वलाई ध्यान दिन्छन् तर मानिसको व्यक्तित्व उसले आर्जन गरेको ज्ञानमा निर्भर रहन्छ । यसमा पूर्ण सत्यता छ कि मानिसको बाहिरी व्यक्तित्वले उसको सफलतालाई प्रत्यक्ष साथ दिएको हुन्छ तर उसको सफलतामा भित्री व्यक्तित्वको अगाडि बाहिरी व्यक्तित्वको भूमिका न्यून हुन्छ ।

परीक्षाका लागिमात्रै पढ्ने, बढुवाका लागि मात्रै पढ्ने अथवा अति आवश्यक भएमात्रै पढ्ने भन्दा पनि दिनहुँ पढ्ने बानी बसाल्नु उपयुक्त हुन्छ । परीक्षा वा बढुवाका लागि पढ्नु भनेको बिरामी हुँदा औषधि, आइरन चक्की वा भिटामिन खाएजस्तै हो; जसले बिरामी मानिसलाई ठीक त बनाउँछ तर यो दीर्घकालीन हुँदैन । नियमित पढ्ने व्यक्ति नियमित स्वस्थकर खाना, नियमित सन्तुलित मात्राको क्यालोरी पुग्ने खानेकुरा खाएजस्तै हो ।

जसरी एक हप्ताका लागि पुग्ने क्यालोरी एकै दिन खाएर एक हप्तासम्म हामीलाई पुग्दैन, हाम्रो स्वास्थ्य पनि ठीक हुँदैन । त्यसरी नै एकपटक पढेर हामीलाई सधैं पुग्दैन र काम पनि लाग्दैन । एउटा जलविद्युत् परियोजनाले पनि दिनदिनै विद्युत् उत्पादन गर्छ । एक दिनमात्र पनि विद्युत् उत्पादन गर्न सकेनौं भने हामी अन्धकारमा बस्नुपर्ने हुन्छ । त्यसरी नै हामीले नियमित अध्ययन गरेनौं भने हाम्रो ज्ञानको पत्र कमजोर हुन्छ र आत्मविश्वास पनि कमजोर बन्छ । त्यसैले एन्टिभाइरस सफ्टवेयर स्तै आफूलाई सधैं नै अपग्रेड गरौं । नियमित पढौं र अघि बढौं । ज्ञानका लागि लगानी गरौं । एभ्री मर्निङ लर्निङ । एभ्री मर्निङ लर्निङ ।
(मल्ल ओम डेभलपमेन्ट बैंक लिमिटेड पोखराका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।)

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.