'समय खेर गइरहेको छ'

'समय खेर गइरहेको छ'

सोनाम आनी

नागी गुम्बाकी सोनाम आनीले तीन वर्ष गुफा बस्दाको अनुभव सुनाउँदै भनिन्, 'बिहान सबेरैदेखि बुद्ध पूजा र मन्त्र जप सुरु भएर साँझ अबेरसम्म चलिरहन्थ्यो । दिन कति खेर बित्यो पत्तै नहुने । तीन वर्ष त तीन दिनजस्तै बिते ।' गुफाबास सकेर बाहिर आएको पहिलो दिज कस्तो लाग्यो ? भन्ने प्रश्नमा आनीले भनिन्, 'बाहिर आएपछि दिनदिनै समय यत्तिकै खेर गइरहेजस्तो लाग्यो । बाहिर हामीले धेरै खालका काम गर्छाैं तर सुख र शान्ति दिने काम, ध्यान र साधनाका लागि समय नै हुँदैन ।'

Netra_Acharya_Picत्यही गुम्बामा म बेलाबखत आध्यात्मिक अभिरुचि भएका साथीहरूसँगै पुगिरहन्छु । एक सय चालीस आनीहरू बस्ने नागीमा पहिलोपल्ट पुगेका मेरा एक मित्रले सबैतिर अवलोकन गरेपछि भने, 'मलाई त यति धेरै आनीहरू जीवनका अनेक सुखबाट वञ्चित भएजस्तो लाग्यो । न कुनै सञ्चारका माध्यम, न सुविधाका साधन, न त नजिकै बजार छ । न कोही आफ्नो भन्ने छ न मायाप्रेम । जीवन त यहाँ अत्यासलाग्दो हुँदो हो ।' सोनाम आनीको बुझाइ र मेरा मित्रको अवलोकनविपरीत तर आआफ्ना ठाउँमा अर्थपूर्ण छन् । एउटा जेन बौद्ध कथाले दुवैको अवलोकनको अर्थपूर्णता संकेत गरेको देखिन्छ । कथा यस्तो छ :

नदीको पल्लो किनार

एकजना युवा श्रामणेर यात्रा गरिरहेका थिए । बाटोमा ठूलो नदी रहेछ । नदीमा पुल थिएन । किनारमा डुंगा बाँधेको पनि थिएन । वरपर कोही मानिस पनि थिएनन् । नदी विशाल र गहिरो थियो । बिनासाधन गडगडाउँदै बगेको नदी पार गर्न खोजे नदीले बगाउन सक्थ्यो । श्रामणेरले चारैतिर हेरे । नदी पार गर्ने कुनै उपाय होला कि भनेर । तर, कतै केही देखेनन् । लामो समय श्रामणेरको मनमा छटपटी भयो । उनी कसरी नदी पार गर्ने होला भन्ने चिन्तामा डुबे ।

दिन ढल्कँदै गएको थियो । जति दिमाख खियाए पनि केही उपाय सुझेन । अन्ततः त्यहीँबाट आफू आएकै दिशातिर फर्कनुपर्ने भयो भन्ने निधो गरे ।फर्कनै लागेका थिए । अकस्मात् उनले नदीको पल्लो किनारामा धमिलो आकृति देखे । बिस्तारै त्यो आकृति नदीको किनारैमा आइपुग्यो । श्रामणेरले चिने, नदीको पल्लो किनारामा भिक्षुहरूका गुरु स्वयं उभिइरहनुभएको थियो । श्रामणेरले चिच्याएर सोधे, 'गुरुजी नदीको पल्लो किनारामा आउने कसरी हो ? ' गुरुजीले एकपटक तलमाथि, वरपर सबैतिर हेरे र शान्त भावले भने, 'प्रिय श्रामणेर, तिमी नदीको पल्लो किनारमै छौ ।' श्रामणेरलाई तत्काल बोध भयो, त्यतातिरबाट हेर्दा त यही पल्लो किनार हो ।

श्रामणेरलाई होश खुलेजस्तो, निद्राबाट ब्यूँझेजस्तो भयो । उनी खुसीले गद्गद् भए । उनले थाहा पाए, संसार केवल दृष्टिको भ्रम हो । हाम्रो सोचमा कहीँ केही समस्या छ । हामी बाहिरतिर खुब हेर्छौं तर आफूभित्र हेर्ने चेष्टासमेत गर्दैनौं । मानिस जहाँ छ, जे प्राप्त गरेको छ, त्यसको गरिमाबोध हुने हो भने अहिल्यै, यहीँ निर्वाणको सुख अनुभूति हुनसक्छ ।

हामी जहाँ छौं, त्यहीँ समाधान छ । हामी जहाँ उभिएका छौं, हामी पुग्न खोजेको ठाउँ त्यही हो । हामीले जे प्राप्त गरेका छौं, हामीले प्राप्त गर्न चाहेको वस्तु त्यही हो । यो ज्ञान जुन दिन बोधको स्तरमा पुग्छ, त्यही दिन हामीलाई अपार शान्ति र आनन्द अनुभूति हुन्छ । त्यही दिन संसार र निर्वाण एकाकार हुन्छन् । हामी बाँचेको युग धेरै हिसाबले वरदान सिद्ध भएको छ । सूचनाको सहज उपलब्धता यो युगमा मानव जातिले गरेको क्रान्ति नै हो । तर, सूचनाको सही उपयोगबाट हामी कोसौं टाढा छौं । हामीले सूचनालाई उपयोग गर्न सकेका छैनौं, सूचनाले हामीलाई उपयोग गरिराखेको छ । हामीले सूचनालाई आफ्नो बनाउन सकेका छैनौं, सूचनाले हामीलाई उसको बनाइरहेको छ । भगवान् गौतम बुद्धले सूचनालाई आफ्नो बनाउने बिधि सिकाउनुभएको थियो ।

भावनामयी प्रज्ञा

सूचनालाई आफ्नो बनाउनका निम्ति प्राप्त भएको ज्ञानलाई केलाउन, प्रोसेसिङ गर्न आवश्यक हुन्छ । पहिलो चरणमा त ज्ञान कति प्रकारका हुन्छन् भन्ने बुझ्नु नै आवश्यक हुन्छ । बुद्ध ज्ञानको गहिराइमा पुग्नुभयो र देख्नुभयो, ज्ञान तीन प्रकारका हुन्छन् । पढेको या सुनेको आधारमा संकलित ज्ञान श्रुतमयी प्रज्ञा हो । यो ज्ञान केवल सूचना या जानकारीको स्तरमा हुन्छ । मनमनै विश्लेषण गरेको ज्ञान चिन्तनमयी प्रज्ञा हो ।

अनुभूति गरेको ज्ञान भावनामयी प्रज्ञा हो । अनुभूति नभएको ज्ञानलाई ज्ञान मान्न मिल्दैन । अनुभूति नभएको ज्ञान केवल सूचनाको संग्रह हो, सूचनाको भारी हो । र भारी बोकेको मानिसलाई भारीकै पीर हुन्छ, ज्ञानको उपयोगले प्राप्त हुने आनन्दको पत्तो पनि हुँदैन । ध्यानको अभ्यासले भावनामयी प्रज्ञा विकसित हुन्छ । यही प्रज्ञाले हो, मानिसको व्यक्तित्वमा रूपान्तरण ल्याउने ।

व्यक्तित्वमा आउने रूपान्तरण शारीरिक, मानसिक र आध्यात्मिक स्तरमा फरक प्रकारले देखिन थाल्छ । शरीर स्वस्थ हुन्छ । रूपान्तरणको कारणले शरीरमा क्षारीय तत्व उत्पादन हुन्छ र एसिडिटी लगायतका समस्या न्यून हुँदै जान्छन् । रक्तवाहिनी नलीहरूमा ब्लकेज भए ती खुल्न थाल्छन् । मन शुद्ध हुन्छ । राग, द्वेष र अहम मनलाई दूषित बनाउने तत्व हुन् । आन्तरिक रूपान्तरणसँगै मनबाट यी दोषहरू निर्मूल हुन थाल्छन् । मनमा एक प्रकारको पूर्वाग्रहमुक्ति, बन्धनमुक्ति र खुलापन को आभास हुन थाल्छ । आध्यात्मिक स्तरमा अपार शान्ति र आनन्दको अनुभूति हुन थाल्छ ।

मनमा चल्ने विचार र भावनाका प्रवाहसँग आफूलाई बगाउनुको साटो त्यो प्रवाहलाई तटस्थ र साक्षी भएर अवलोकन गर्ने क्षमता विकसित हुन थाल्छ । वर्तमान क्षणप्रति सजगता या होशको अवस्था त्यसैत्यसै आनन्ददायी हुन्छ । व्यक्ति जीवनका ससाना खुसीहरू देख्न र तिनमा खुलेर रमाउन सक्छ । बच्चाबच्चीसँग खेल्नु र तिनीहरूसँगै रमाउनुको आनन्द अतुलनीय हुन्छ । यस्ता क्षणहरूले जटिल हुँदै गइरहेको आधुनिक जीवनचर्यालाई सरल र सुखमय बनाउँछन् । यिनै क्षणहरूमा व्यक्तिले संवेदनशीलता र कृतज्ञता सिक्छ । यिनै क्षणहरूमा व्यक्तिले आफ्नो कसैसँग तुलना नगरी आफ्नो जीवनमा रमाउने कला हासिल गर्छ ।

एउटा फूलले अर्को फूलको बारेमा कुनै टिप्पणी गर्दैन । रातो फूल र सेतो फूलको आआफ्नै महत्ता हुन्छ । सेतो अंगुरले कालो अंगुरलाई कहिल्यै औंला उठाउँदैन । जुन स्वाद कालो अंगुरमा हुन्छ, त्यो सेतो अंगुरमा हुँदैन । जुन स्वाद सेतो अंगुरमा हुन्छ, त्यो कालो अंगुरमा हुँदैन । यसप्रकार भावनामयी प्रज्ञाले व्यक्तिमा जुन रूपान्तरण ल्याउँछ, त्यसले वस्तु र घटनालाई बिनापूर्वाग्रह, जस्ताको तस्तै देख्ने र मनको शान्ति बनाइराख्ने क्षमता व्यक्तिमा विकसित हुन्छ ।

मन चलिरहेको छ

दुईजना मानिसहरू हावामा फर्फराइरहेको झन्डाका बारेमा कुरा गरिरहेका थिए । एउटाले भन्दै थियो, वास्तवमा बेस्सरी चलिरहेको हावा हो । अर्कोले भन्दै थियो, खोइ हावा ? झन्डा हो बेस्सरी फर्फराइरहेको । त्यही बेला एकजना जेन मास्टर कतै जाँदै थिए । उनले दुईजना वादविवाद गरिरहेको सुने । नजिकै आएर उनले भने- बाबु हो, चलिरहेको खास कुरा हावा पनि होइन, झन्डा पनि होइन । चलिरहेको त तिमीहरूको मन हो ।

जेन मास्टरको यथार्थ अवलोकनले विवादको अन्तिम समाधान गरिदियो । सम्भवतः हाम्रा सबै विवादको समाधान पनि यसैगरी निरपेक्ष ढंगबाट हुन सम्भव छ । हामीले व्यक्ति, वस्तु या घटनालाई आ-आफ्नो बुझाइअनुसार विश्लेषण गर्दासम्म कुनै समाधान निस्कन सक्दैन । किनभने हरेक व्यक्तिको पृष्ठभूमि फरक हुन्छ, हरेकले प्राप्त गरेको ज्ञान फरक हुन्छ र हरेकको हित फरक कुरामा निहित हुन्छ ।

यस्तो अवस्थामा जति प्रयास गरे पनि समाधानको बिन्दु कहिल्यै फेला नपर्न सक्छ । करिब हरेक समस्याको जड हामीभित्रै हुन्छ । हामीले आफ्नो मन र मनका गतिविधिहरूलाई राम्ररी नियाल्न सक्यौं भने समस्याको मूल स्रोत फेला पर्नसक्छ । सनातन संस्कृतिमा एउटा सूक्ति छ- मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः । अर्थात् मन नै मानिसका हरेक बन्धनको कारण हो र मुक्तिको कारण पनि मन नै हो ।

मनः शीघ्रतरः वातात् अर्थात् वायुभन्दा छिटो चल्ने मनका गतिहरू बुझ्न सके हाम्रा धेरै समस्याको स्रोत पहिचान गर्न सहज हुनेछ । भगवान् गौतम बुद्धले भिक्षु संघ स्थापना गर्नुको कारण तीव्र संवेग भएका सेलेक्टेड साधकहरूका लागि मनलाई बुझ्न, मनलाई शुद्ध बनाउन र आत्मनिरीक्षण गर्न सहज होस् भनेर हो । नागी गुम्बाकी सोनाम आनीले समय खेर गइरहेको थाहा पाइन् ।

तीन वर्ष गुफाबास गरेपछि बल्ल उनलाई समयको वास्तविक महत्व र त्यसलाई हामीले व्यर्थमा खर्च गरिरहेको चेतना भयो । नागी गुम्बामा बस्ने एक सय चालीस आनीको जीवनको आफ्नै सार्थकता छ । त्यो सार्थकता हामी सबैले देख्न सकेनौं भने त्यो हाम्रो दोष हो । झन्डा र हावा चलिरहेको सबैले थाहा पाउँछन्, आफ्नै मन चलिरहेको र मनमाफिक दृश्यहरू देखिइरहेको भने सबैले थाहा पाउन सक्दैनन् ।

[email protected]


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.