विश्वविद्यालयमा मार्क्स

 विश्वविद्यालयमा मार्क्स

 

मिसेल फुकोको भनाइ छ, मार्क्स र मार्क्सवाद नबुझ्नेले इतिहास बुझ्दैन । तर, आज यो लेखमा अमेरिकी प्राज्ञिक मार्क्सवादी परम्पराको चर्चामात्रै गर्छु किनभने नेपाली विश्वविद्यालयको अंग्रेजी विभागमा अमेरिकी प्राज्ञिक अध्ययन परम्पराको प्रभाव छ । छोटकरीमा नव-वामपन्थ, नव-मार्क्सवाद, उत्तर-मार्क्सवादबारे पनि केही चर्चा गर्छु र आफ्ना धारणा पनि उल्लेख गर्नेछु ।

सन् १९९० तिर त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागमा साहित्यिक सिद्धान्तको प्रवेश भएपछि मैले मार्क्सवाद पढ्न र बुझ्न थालेँ । राजनीतिशास्त्र र समाजशास्त्र विभागहरूमा मार्क्सवाद पढ्नु स्वाभाविक थियो । अंग्रेजी विभागमा मार्क्सवादी समालोचना सिद्धान्तको रूपमा प्रवेश हुनु नौलो थियो । पछि सन् २००५ मा आइएसर (इन्स्टिच्युट अफ एडभान्स कम्युनिकेसन, एजुकेसन एन्ड रिसर्च)मा 'सिद्धान्त र परिवेश' भन्ने विषय पढाउन थालेपछि मार्क्सवादबारे थप बुझ्ने मौका पाएँ । पछि गायत्री स्पिभाक नेपाल आएपछि मर्ने गरी मार्क्सवाद बुझ्नुपर्‍यो । उनी भन्थिन्, 'जर्मन भाषामै नपढे पनि राम्रो अनुवाद पढ ।'

विश्वविद्यालयमा मार्क्स भन्नासाथ पश्चिमी र अझ बढी अमेरिकी विश्वविद्यालयहरू आइहाल्छन् किनभने मार्क्सवादलाई प्राज्ञिक स्वरूपमा व्यापकता दिने अमेरिकी विश्वविद्यालयहरू हुन् । मार्क्सवादको व्यापक छलफल र प्रयोग त युरोपदेखि एसियासम्म थियो । मार्क्सवादकै जगमा टेकेर क्रान्ति र सत्ता परिवर्तन पनि भए । यो लेखको उद्देश्य भने मार्क्सवादको इतिहास चर्चा गर्नु नभएर विश्वविद्यालयमा मार्क्सवादको उपस्थितिबारे चर्चा गर्नु हो । त्यसमा अमेरिकीहरूको देन छ । मार्क्सवादलाई अमेरिकाका उच्च शिक्षण संस्थामा प्रसिद्ध गराउनुमा फ्रेडरिक जेमिसनको ठूलो हात छ । उनले लेखेका मार्क्सवाद र संरचनावादको सैद्धान्तिक एकरूपता मलाई खुब मन पथ्र्यो । उनी अमेरिकी साहित्य समालोचक एवं मार्क्सवादी राजनीतिक सिद्धान्तकार हुन् ।

सन् १९३० को दशकमा अमेरिकी विश्वविद्यालयमा 'मार्क्सवादी समालोचना' र न्युयोर्कका बुद्धिजीवीको बोलवाला थियो । त्यसभन्दा पहिले १९औं शताब्दीको अन्त्यतिर समाजवादी आन्दोलनले तीव्र रूप लिँदै थियो । पछि सन् १९३० को महामन्दीले अमेरिकीहरू ठूलो समस्यामा परे । त्यही बेलामा एफभी क्यालभर्टनको पुस्तक 'लिबरेसन अफ अमेरिकन लिट्रेचर'ले समालोचना परम्परामा राम्रो योगदान गर्‍यो । उनीपछि ग्रेनभिल हिक्सको नाम आउँछ । हाम्रो विभागमा भिन्सेन्ट लिचका किताबहरू थिए । त्यही पढेर हुर्केको विद्यार्थी अमेरिका पुगेपछि क्यालभर्टन खोज्दा मेरो प्राध्यापक छक्क परेका थिए । सगरमाथाको कुरा नगर्ने कस्तो नेपाली हो भन्ने सोचे होलान् ।

मार्क्सवादी समालोचनापछि कोलम्बिया विश्वविद्यालय र फ्रयांकफर्ट स्कुलको प्रसंग रमाइलो छ । हिटलरको शासनको बेला, कोलम्बिया विश्वविद्यालयमा सन् १९३० को दशकको मध्यतिर फ्रयांकफर्ट स्कुलको एक प्रकारको पुनस्र्थापना भयो । फ्रयांकफर्ट स्कुल जर्मनीमा सन् १९३० को सुरुतिर विकास भएको वैचारिक स्कुल हो । यसका सिद्धान्तकारहरू होरखाइमर, एडोर्नो, बेनामिन, ह्याबरमास आदि हुन् । उनीहरूले पश्चिमी पुँजीवाद र लेनिनवादी मार्क्सवादको बीचबाट समाजलाई अगाडि बढाउन सकिन्छ भन्ने मान्यता राख्थे । हिटलरको शासन आएपछि यी विचारकहरूले जर्मनी छोडे । केही भागेर अमेरिका पुगे । त्यहाँ सो स्कुलको पुनस्र्थापना गरे ।

त्यो आलोचनात्मक सिद्धान्त (क्रिटिकल थ्योरी)सम्बन्धी प्रकाशनको बेला थियो तर पनि धेरै जर्मन दृष्टिकोण भएकाले सन् १९३० को दशकमा होरखाइमरजस्ता विद्वान्ले पनि प्रभाव पार्न सकेनन् । ४० को दशकतिर अमेरिकी साहित्य र समालोचनातिर केन्द्रित भएपछि फ्रयांकफर्ट स्कुलको प्रभाव राम्ररी भयो । (अमेरिकाले मार्क्सवादलाई प्राज्ञिक न्वारन गरेको भन्नु यही हो ।)

मार्क्सवाद र मार्क्सवादी समालोचनालाई ठूलो चुनौती न्यु क्रिटिसिज्म (नव आलोचना)ले दियो । न्यु क्रिटिसिज्म पाठ केन्द्रित समालोचना सिद्धान्त होे । सन् १९३० देखि ६० को दशकसम्म यो सिद्धान्त अमेरिकामा साहित्यिक आन्दोलनका रूपमा फैलिएको थियो । पाठमा मात्रै सीमित भएर समालोचना गर्नुपर्नेमा जोड दिन्छ । सन् १९४० दशकको सुरुतिर ऐलेन टेट र जोन क्रो र्‍यानसमहरूले यो आन्दोलन सुरु गरेका थिए । पछि यो बेलायतमा पनि प्रसिद्ध भयो ।

र्‍यानसम र टेटजस्ता न्यु क्रिटिक्सहरू औद्योगिक पुँजीवादका आलोचक त थिए तर पनि उनीहरूलाई मार्क्सवाद मन पर्दैनथ्यो । टेटले 'रियाक्सनरी एसेज् अन पोयट्री एन्ड आइडियाज्'को भूमिकामा राजनीति र कविता मिलाउन नहुने लेखेका छन् । उनको विचारमा यस्तो गर्नु 'आध्यात्मिक नरभक्षिता हो ।' मार्क्सवाद अथवा कुनै वादको अध्ययन हुनुपछाडिको कारण यस्ता विचारहरूको लडाइँबाट बौद्धिक विकास कसरी हुन्छ भन्ने थाहा पाउनु पनि हो । विचारहरूको यसरी न्वारन हुन्थ्यो अमेरिकी विश्वविद्यालयहरूमा । अहिले पनि हुन्छ । हामीले गर्न बाँकी छ ।

सन् १९५० र ७० को दशकको अमेरिकी प्राज्ञिक कथा पनि रमाइलो छ । बिट्स जेनेरेसन, मौलिक अधिकारका लागि सक्रियता, नववामपन्थ, युद्धविरोधी प्रतिवाद, अश्वेत राष्ट्रवाद, हिप्पी, नारीवादजस्ता विचार र आन्दोलनको इतिहास सुन्दा टाइम मेसिनमा अमेरिका पुगे हुन्थ्यो जस्तो लाग्छ ।

'नव-वामपन्थ' त सन् १९६० को दशकमा विश्वविद्यालयका विद्यार्थीको समूह थियो । लिग फर इन्टरनेसनल डेमोक्रेसी (एलआईडी) र स्टुडेन्ट्स फर अ डेमोक्रेटिक पार्टी (एसडीएस) नै नव-वामपन्थ आन्दोलनको पछाडि थियो । मिचिगान विश्वविद्यालयको त्यो बेलाको इतिहास रमाइलो छ । नव-वामपन्थलाई पार्टी र चुनावी राजनीति (इलेक्ट्रोल पोलिटिक्स) अति नै खेदजनक लाग्थ्यो । चुनावी राजनीति नै प्रजातन्त्रको मेरुदण्ड होइन।

नव-वामपन्थ सन् १९६० देखि ७० को दशकसम्म व्यापक परिवर्तनका लागि चलेको आन्दोलन हो जसमा अश्वेतदेखि समलिंगी, गर्भपतनदेखि लैंगिक विषय आदिमा उदारवादी परिवर्तनको माग गरिएको थियो । नव-वामपन्थी अमेरिकी साम्राज्यवादी युद्धको विरोधी थिए ।

कोलम्बिया विश्वविद्यालयका प्राध्यापक भिन्सेन्ट लिच लेख्छन्, 'नव-वामपन्थ रोमान्टिक निहिलिस्ट हुन थाल्यो भन्ने आलोचना भयो ।' इर्भिन होले लेखे, 'नववामपन्थले क्यास्ट्रो र हो ची मिन्हजस्ता तेस्रो विश्वका निरंकुश शासकको समर्थन गर्न थाल्यो ।' नव-वामपन्थको अस्तित्वको समाप्तिपछि, एडोर्नो, बेनामिन, बाख्तिन, ग्राम्सी आदि अमेरिकी विश्वविद्यालयमा प्रसिद्ध भए । नयाँ युरोपेली मार्क्सवादको प्रसिद्धिका लागि जेमिसनको हात छ किनभने उनले धेरै किताब लेखे । नव-मार्क्सवाद मार्क्सवादको संशोधन गर्ने लेखन र चिन्तनलाई भनिन्छ ।

माथि उल्लिखित नव-मार्क्सवादीहरूका धेरै योगदान पछिल्लो उत्तर-मार्क्सवादको विकासमा छ । अनेक नव-इतिहासवादी र उत्तर-औपनिवेशिक समालोचनाले मार्क्सवादलाई कट्टरताबाट सांस्कृतिक अध्ययन र समालोचनातिर लगे । उत्तर-औपनिवेशिक सिद्धान्त युरोपेली उपनिवेशवादको विरोधमा आएको हो । उत्तर-औपनिवेशिक समालोचनाले औपनिवेशिक साहित्य र संस्कृतिको पुनर्परीक्षण गर्छ । उत्तर-औपनिवेशिकतावादीको विचारमा युरोपले बाँकी विश्वलाई सभ्यता प्रदान गरेको नभई आफैं युरोपबाहिर गएर सभ्यता सिकेको हो ।

विश्वविद्यालयको मार्क्सवाद चुनावी संस्थाले निर्धारित गर्दैन । न त कुनै कम्युनिस्ट पार्टीले । प्राज्ञिक बोधले मार्क्सवाद अथवा कुनै वादलाई विमर्शात्मक बनाउँछ । विश्वविद्यालयमा सिद्धान्तले निष्पक्षता ल्याउँछ ।

कोलम्बिया विश्वविद्यालय नै यस्ता विचारको थलो थियो र अझ पनि छ । गायत्री स्पिभाक यही परम्पराको उत्तर-मार्क्सवादी हुन् । अरू प्रसिद्ध उत्तर-मार्क्सवादीहरू सान्ताल मुफ, अर्नेस्टो ल्याक्लो, एतियन बालिबर, स्लाभोज जिजेक र जेमिसन हुन् । स्टेफन ग्रिनब्लाट र एडवर्ड सइदजस्ता लेखक हामीले खुब पढ्यौं । केन्द्रीय अंग्रेजी विभागमा अहिले पनि यिनीहरूको कृति पढाइन्छ ।

स्पिभाक आइएसरमा आउँछिन् । उनको योगदान मार्क्सवादी-नारीवाद र विनिर्माणलाई अनुबन्धन गर्नु हो । नत्र 'ऐल स्कुल'मा विनिर्माण अतिवाद उन्मुख भइरहेको थियो । उनले विनिर्माणका विचार भित्र्याउँदै मार्क्सवादलाई पनि अति आदर्शवाद बन्नबाट बचाइन् । मेरा वरिपरिका नबुझ्ने 'विद्वान्'हरू पनि स्पिभाकको महत्र्व बुझ्छन् । उनी आएपछि यी अदृश्य हुन्छन् । मलाई अचम्म लाग्छ । यी सिद्धान्तविरोधी आडम्बरहरू हुन् जसलाई संरचनात्मवाद अथवा मार्क्सवादी समालोचनामा पाँच मिनेट बोल्न भने चुप लाग्छन् तर साहित्यिक र सांस्कृतिक सिद्धान्त र समालोचनालाई गाली गर्न चुनावी घोषणापत्र पढेजस्तो चिच्याउँछन् । मेरी विद्यार्थी विभूषणा भन्छिन्, 'साहित्यको सिद्धान्तलाई कट्टरताबाट बचाउने त साहित्यिक सिद्धान्तहरू नै हुन् ।' यो भनेको के हो भने हाम्रोमा साहित्यिक सिद्धान्तलाई धेरै कठोर र नबुझ्ने भनिन्छ तर यसलाई बुझ्ने बनाउन साहित्यिक सिद्धान्तकै प्रमुख भूमिका रहन्छ ।

सन् १९७० तिर नव-वामपन्थका विचार र बर्मिंघम स्कुलको 'सेन्टर फर कन्टेम्पररी कल्चरल स्टडिज'बाट नव-इतिहासवादको विकास भयो । नव-इतिहासवादले इतिहासको मार्क्सवादी व्याख्याको पुनर्परीक्षण गर्छ । आर्थिक सम्बन्धहरूले इतिहास निर्माण गर्छ भन्ने मार्क्सवादी सिद्धान्तको यिनीहरू आलोचना गर्छन् । उनीहरूको विचारमा इतिहास र साहित्य उस्तैउस्तै हुन् । दुवै काल्पनिक धरातलमा निर्माण भएको ठान्छन् । स्टेफन ग्रिनब्लाटजस्ता नव-इतिहासवादी मार्क्सवादलाई कडा सिद्धान्त ठान्थे उनीहरूले साहित्य र संस्कृतिसँग जोडेर नरम बनाए । नव-इतिहासवाद अमेरिकी विश्वविद्यालयमा ७० को दशकतिर प्रचण्ड रूपमा आयो । तर पनि एउटा प्रश्न राखूँ— किन निरंकुशताको समयमा राष्ट्रगीत धेरै निर्माण गरिन्छ ? अथवा बेलायतमा सुक्खा परेको बेलामा किट्सले शरदलाई 'तुवाँलो र परिपक्वताको ऋतु' किन भने ? यस्ता नव-इतिहासवादी व्याख्याका लागि अभिलेखनात्मक समालोचना गर्नुपर्छ । नव-इतिहासवादी अनुसन्धान पुस्तकालय र घरमा बसेर हुँदैन । यो एक प्रकारको अनुसन्धानात्मक समय यात्रा हो ।

सांस्कृतिक अध्ययन अथवा कल्चरल स्टडिजको जन्म अमेरिकी प्राज्ञिक मार्क्सवादको देन हो । यो साहित्य समालोचनालाई समाज र संस्कृतिसँग जोडेको परम्परा हो । सन् १९७० को दशकदेखि यसले प्रसिद्धि पाएको हो । यो विधामा मिसेल फुको र ग्राम्सीका सिद्धान्तहरूको योगदान धेरै छ । नव-इतिहासवादीहरूले संस्कृति अध्ययनको विकासमा पद्धतीय योगदान गरेका छन् । अमेरिकी अध्ययनले त्यही संस्कृति अध्ययनलाई अति राम्ररी आत्मसात् गरेको छ । कल्चरल स्टडिज, नव-इतिहासवाद, उत्तर-औपनिवेशिकता उत्तर-मार्क्सवादी सिद्धान्त हुन् जसले नव-मार्क्सवादी गुरुहरूबाट विषयवस्तु र तरिका लिएका छन् । जेमिसन, सइद, स्पिभाकजस्ता धेरै प्राज्ञको चर्चा यही लर्कोमा गर्न सकिन्छ ।

जेमिसन त्रिविको केन्द्रीय अंग्रेजी विभागको निम्तोमा ९० को दशकको मध्यतिर नेपाल आएका थिए । उनको मार्क्सवादी विचार पश्चिम केन्द्रित छ । उनले उपभोक्तावादी पुँजीवाद र उत्तर-औद्योगिक अथवा पछिल्लो-पुँजीवादी (लेट क्यापिटलिज्म)समाजको अध्ययन गर्छन् । त्यसैले उनलाई उत्तर-आधुनिकतावादी मार्क्सवादी भन्न सकिन्छ । अमेरिकी अथवा पश्चिमी अंग्रेजी प्राज्ञिक शब्दकोशमा नव-मार्क्सवादी र उत्तर-मार्क्सवादीलाई एउटै समूहमा राख्न हुन्न । हुन त साधारण सन्दर्भमा मार्क्सपछिका युरोपेली मार्क्सवादीहरू र नव-मार्क्सवादीको प्रभाव उत्तर-मार्क्सवादी स्पिभाकमा धेरै परेको छ र उनको उत्तर-औपनिवेशिक कृतिमा त्यो प्रभाव देखिन्छ । तर, दुवै मार्क्सवादहरू अविच्छिन्न छन् ।

हामीकहाँ मार्क्सवादलाई कोरा ढंगले बुझ्ने चलन छ । मार्क्सवादलाई समयक्रमसँग बुझ्न जरुरी छ । विश्वविद्यालयमा मार्क्सवादलाई समाज र संस्कृतिसँग जोडेर लिइन्छ । त्यसरी जोडेर अध्ययन गर्दा नै मार्क्सवादका यी नयाँ रूपहरूको विकास भएको हो । तर, मार्क्सवादका यी नयाँ रूपबारे चर्चा गर्नासाथ मार्क्सवाद बिगारेको आरोप लगाइन्छ । त्यो संकुचन हो । हामीलाई फराकिलो हुन आवश्यक छ । यसै क्रममा म एउटा प्रसंग सम्झन्छु ।

मेरा एउटा विद्यार्थी छन्, नाम भन्दिनँ किनभने उनको अनुमति लिएको छैन । माओवादी विद्रोहको बेला उनले एउटा चिनियाँ उपन्यासमा थेसिस लेख्छु भने । मैले नव र उत्तर-मार्क्सवादीको किताबको सूची दिएँ । भर्खरै रुकुम र रोल्पाबाट त्रिभुवन विश्वविद्यालय आएका विद्रोहीले भने, 'सर म जेमिसन, स्पिभाक र इगलटन जस्तालाई पढ्दिनँ ।' मैले सोधेँ, 'किन ...? ' (झन्डै लेख्दालेख्दै उनको नाम भन्दिएको !) उनको तीव्र जवाफ थियो, 'यिनीहरू बिग्रिएका मार्क्सवादी हुन् ।' त्यति भनेपछि म त कहाँ छोड्छु ? मैले उनलाई एउटा किताब दिएँ । पछि एउटा 'बिग्रिएको' राम्रो थेसिस पनि लेखे र एउटा केटीको प्रेममा पनि परे । यो मेरो जित थियो, बिग्रेको मार्क्सवाद र प्रेमको जित । यस्ता विद्यार्थी बनाउन पाए, म पनि चुनाव जित्छु ।

विश्वविद्यालयको मार्क्सवाद चुनावी संस्थाले निर्धारित गर्दैन । न त कुनै कम्युनिस्ट पार्टीले । प्राज्ञिक बोधले मार्क्सवाद अथवा कुनै वादलाई विमर्शात्मक बनाउँछ । विश्वविद्यालयमा सिद्धान्तले निष्पक्षता ल्याउँछ ।
सबाल्टर्न स्टडिजको कुरा नगरी मार्क्सवाद र विश्वविद्यालयको कथा अधुरो हुन्छ । रणजित गुहाको नेतृत्वमा रहेको प्राज्ञिक वर्गले यसको विकासमा ठूलो योगदान गरेका छन् । सबाल्टर्नको दृष्टिकोणबाट भारतको इतिहास लेख्ने विद्वान्हरूलाई बुझ्न तीनवटा तथ्य छन्— भारतीय स्वतन्त्रतामा सबाल्टर्नको भूमिकाको अध्ययन, यस्तो भूमिकाको अध्ययन गर्दा विभिन्न सामाजिक तथ्य, लैंगिक, राष्ट्रियता, वातावरणजस्ता विषयका पनि अध्ययन र स्पिभाक (उनी सबाल्र्टन समूहकी होइनन्)को 'सबाल्र्टन' शब्दको विनिर्माणवादी व्याख्या ।

एन्जो ट्राभर्सोले कर्नेल विश्वविद्यालयमा सन् २०१३ मा 'लेफ्ट मेलान्कोलिया' शीर्षकको कोर्स पढाएका थिए र पछि सन् २०१६ मा 'लेफ्न-विंग मेलान्कोलिया : मार्क्सिज्म, हिस्ट्री एन्ड मेमोरी' नामको किताब पनि प्रकाशनमा ल्याए । वामपन्थी संवादको विशद पुँजीवादी प्रभुत्वलाई चुनौती दिन नसकेको कथा लेखेका छन् उनले । हालको समस्या पश्चिमी एसिया र उत्तरी अफ्रिकाका आन्दोलनहरू हुन् । निरंकुश शासक त विलीन भए तर अर्को प्रतिस्थापन भएका छन् । यी आन्दोलन विकारमा परिवर्तित भए । यी वामपन्थी क्रान्ति नभए पनि क्रान्ति त थिए । क्रान्तिले कहिलेकाहीँ विषाद पनि ल्याउँछ । ट्राभर्सोको विचारमा कम्युनिज्मको असफलतामा नारीवादी आदर्श समाजको कल्पना पनि थाकेको थियो । नारीवादी युटोपियाको पतनले प्रतिगामी पहिचान राजनीति जन्मायो । यसले फेरि शिक्षण संस्थामा नारीवादको ठाउँमा वुमन स्टडिज ल्यायो जसले रेस (जाति) र लिंगलाई दमनको कारण हुन् भन्ने तथ्यलाई पन्छाएर अतिभौतिक चिन्तनतिर लग्यो । यो अमेरिकी र पश्चिमी अवस्था हो, ट्राभर्सो भन्छन् ।

उनले दुई किसिमका पराजयबारे चर्चा गरेका छन्— वीरतापूर्वक लडेको क्रान्तिको युद्धमा हारले पनि महिमा ल्याउँछ तर अर्कोतिर निर्वासित क्रान्तिकारीले हारे पनि आफ्नो साथीहरूबिच प्रेम पाउँछ । सोभियत संघको विखण्डन पछिको वामपन्थी हार पूर्वी युरोपको जातिसंहारमा परिणत भयो । क्रान्तिकारी आदर्शले केही गर्न सकेन भन्दाभन्दै २०औं शताब्दीको पनि अन्त्य भयो । राम्रा र नराम्रा विषय अब स्मृतिमा मात्रै छन् । क्रान्तिकारीलाई न हारको गौरव छ न त मित्रहरूको प्रेम छ । बितेको शताब्दीको सम्झनामात्र छ । यही हो मेलान्कोलिया ।

मलाई भने मार्क्सवाद र स्मृतिबारे पढाउन मन छ । स्मृति र राष्ट्रियता पनि विश्वविद्यालयमा पढाउन आवश्यक विषयवस्तु हुन् । ट्राभर्सोको चिन्ता वास्तविक हो तर मलाई थाहा छ सिद्धान्तका कुरा (सञ्जीव उप्रेतीको शब्दसमूह सापट लिन्छु) विश्वविद्यालयबाट भाग्दैन । हेइडगरले भनेका थिए, सिद्धान्त मन पर्दैन भने विश्वविद्यालयमा प्रवेश दिनुहुन्न ।

विश्वविद्यालय बाहिरको मार्क्सवादको चर्चा गर्दा किट्सको 'अजिम्यान्डियास' कविताको सम्झना आउँछ :
'मैले एउटा पुरातन देशको यात्रीलाई भेटेँ
उसले भन्यो, 'दुइटा विशाल मुढो विहीन, मरुभूमिमा
उभिएको पाषाण खुट्टा देखेँ'
मेरा विचारहरू मूर्तिमा परिवर्तित हुन्छन् । बालुवा र धुलोमा परिणत गरिन्छ । तर, विश्वविद्यालयहरूले चर्किएका अंगप्रत्यंगहरूलाई टिप्दै हरेक 'वाद'को अध्ययन गरेका हुन्छन् । ट्राभर्सोले जे भने पनि चिन्ता गर्नु पर्दैन । विश्वविद्यालयको अध्ययनशील मन हुन्छ । हरेक प्रसंग सम्झनाका कथा बनेको हुन्छ । कक्षाकोठादेखि अखबारका लेखहरूमा । अन्त्यमा फेरि एउटा कविताको सानो खण्ड अनुवाद गर्छु । यी पंक्तिहरू कोलरिजको 'द राइम अफ त एन्सिएन्ट मारिनर'का हुन् :
'त्यो बेलादेखि, अनिश्चित प्रहारमा,
वेदना फर्किन्छ,
र जबसम्म अप्रिय कथा भन्दिनँ,
यो मुटमा जलन हुन्छ !'
मार्क्सवादको कथा अप्रिय त छँदैछैन तर अप्रिय बनाइएको छ । 'पुँजी'को पहिलो भागमा कार्ल मार्क्सले सेक्सपियरको 'मच अ डु अबाउट नथिंग' नाटकका पात्र डोग्बेरीको भनाइ उद्धृत गर्छन्, 'रूपवान् मानव हुनु, भाग्यको कोसेली हो तर पठन र लेखन प्रकृतिबाट आउँछ ।' यही प्रकृतिको तथ्य विश्वविद्यालयले समेटेको छ, मार्क्सवाद होस् वा विनिर्माणवाद ।

मार्क्सवादको पुरातन शास्त्रीय विचारहरूको बोलवाला छैन जसमा आर्थिक पक्ष सबैभन्दा मुख्य निर्धारक हुन्थ्यो जसअनुसार समाज र संस्थाको आधार आर्थिक हो भन्ने बुझिन्छ । इतिहासको चरित्र सामाजिक समूहहरूबीच लगातारको संघर्ष हो । अतिरिक्त मूल्य निर्माण गर्ने मजदुरलाई फाइदा नहुनु र यही अतिरिक्त मूल्य भएको वस्तुलाई कमोडिफाई गर्नु मार्क्सवादको गहन खोज हो । तर पनि मार्क्सवादबाट मार्क्सवादहरू हुनुको पछाडिका घटनाहरूको चर्चा गरियो । त्यो गर्नू मार्क्स र मार्क्सवादलाई प्रणाम गर्नु हो । मार्क्सले डिनर खाँदा, परिवारले प्रार्थना गर्दा, कुनै एकजनालाई सेक्सपियरको पंक्ति पढ्न भन्थे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.