मार्क्स मीमांसा
'अहिलेसम्मको दर्शनले समाजको परिभाषामात्र गरेको छ, मूल कुरो समाजलाई परिवर्तन गर्नु हो', मार्क्सले १९औं शताब्दीमा मार्क्सवादको आविष्कार गर्दा घोषणा गरे । मार्क्सवाद एउटा सपनाको जन्म थियो, जुन सपनाले अरबौं मजदुर, किसान, श्रमिक र सर्वहारा वर्गको चाहनालाई प्रतिविम्बित गर्थ्यो ।गत मे ५ मा मार्क्स जन्मिएको दुई सय वर्ष पुग्यो । तर, आज पनि मार्क्सको दर्शनको उपादेयतामाथि बहस जारी छ । मार्क्स एक विशेष समयका विशेष दार्शनिक थिए । उन्नाइसौं शताब्दीको युरोपेली समाज राजनीतिक, सामाजिक र आर्थिक उथलपुथलले भरिएको थियो ।
औद्योगिक क्रान्ति चलिरहेको थियो । मालिक र मजदुर वर्गमा तीव्र अन्तरविरोध थिए । यही यथार्थबीच मार्क्सले अन्तत: यो अन्तर्विरोधमा सर्वहारावर्ग विजयी भएर भविष्यमा मानव समाज वर्गविहीन भएर साम्यवादमा पुग्ने भविष्यवाणी गरे । त्यस बेलाको दानवीय पँजीवादविरुद्ध मार्क्स जीवनभर लडे । अन्ततोगत्वा उनको दर्शन बीसौं शताब्दीमा आइपुग्दा इसाई धर्मावलम्बीहरू ईश्वरको अधिराज्यका लागि पृथ्वीको चारै दिशा फैलिएजस्तै मार्क्सको दर्शनका अनुयायीहरू पृथ्वीको चारै दिशा फैलिए ।
मार्क्सवाद समाजको व्याख्या र विश्लेषणमात्र थिएन । यो जीवनदर्शन र शैली थियो, जसमार्फत त्यो महान् भनिएको साम्यवादी सपनालाई साकार तुल्याउन सम्पूर्ण सामाजिक, राजनीतिक र आर्थिक क्रान्ति गर्न जरुरी थियो । यसले आधा विश्वलाई प्रभावित तुल्यायो । विकसित, अर्धविकसित र अविकसित सबैखाले समाजमा आन्दोलनको रूप लियो । मार्क्सले एंग्लेल्ससँग मिलेर १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित गर्दा भनेका थिए— अहिले युरोपलाई साम्यवादको प्रेतले तर्साउन थालेको छ । त्यो प्रेतले पुँजीपति, सामन्त, राजाहरू र पादरीहरूलाई तर्साएको थियो । शोषण, मुनाफा र दमनमा टिकेको समाजविरुद्ध मार्क्स एक प्रेत नै थिए ।
सामन्तवादवाट पुँजीवाद उन्मुख युरोपको दानवीय आर्थिक संरचनालाई वर्गसंघर्षमार्फत हटाएर एक भूस्वर्गको स्थापना हुने सपनाका लागि करोडौं मानिस गैरयुरोपेली समाजलाई पनि यस दर्शनले गोलबन्द गरेको थियो । रोचक कुरो के छ भने, फ्रान्सेली विनिर्माणवादी दार्शनिक ज्याक डेरिडाले सन् ९० को दशकमा साम्यवादको पतन र नवउदारवादी पुँजीवादको विजयपश्चात् 'मार्क्सको प्रेत' नामक पुस्तक लेखे । इतिहासको अन्त्य भनिएको नवउदारवादीहरूको जितले पनि सन्तुष्ट हुन नसकेका डेरिडाले मार्क्स र विनिर्माणवादबीच मेलमिलाप हुनुपर्ने धारणा राखे । उनले यतिसम्म भने, विनिर्माणवाद भनेको मार्क्सवादकै क्रान्तिकारी रूप हो, मूलत: मार्क्सवादविरोधी रुझान भएका डेरिडाले मार्क्सवादसँग सम्झौता गर्न खोजेका थिए ।
दर्शनमा कु
मार्क्स कुनै मौलिक दार्शनिक थिएनन् । विशेष गरेर उनले त्यस बखतसम्म उपलब्ध युरोपेली राजनीतिक, आर्थिक दर्शन र तत्र्व मीमांसाको वाद, प्रतिवाद र संश्लेषण गरेका थिए । यिनले जर्मन दार्शनिक हेगेलबाट द्वन्द्ववादको अवधारणा लिएका थिए । वाद, प्रतिवाद र संश्लेषणको यस द्वन्द्ववादबाट उनले अर्को दार्शनिक फायरवाखबाट भौतिकवादको अवधारणा लिएर द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको प्रस्तावना तयार गरेका थिए । हेगेलविरुद्ध दार्शनिक रूपमा उनले 'कु' नै गरेका थिए । हेगेल इसाई आत्मवादी दार्शनिक थिए । हेगेलबाट अध्यात्मलाई त्याग गरेर मार्क्सले क्रान्तिकारी द्वन्द्ववादमात्र लिए र भने, 'हेगेलको दर्शन टाउकोले टेकेर उभिएको छ । मैले खुट्टाले टेकाएर उभ्याएँ ।' मार्क्स पछिल्लो कालखण्डमा अर्थ-राजनीतिमाथि केन्द्रित भए र पुँजीवादको सम्पूर्ण अध्ययन गरे । उनी पुँजीवादी अर्थशास्त्री एडम स्मिथबाट प्रभावित थिए ।
समाजवादको अवधारणा फ्रान्सेली दार्शनिक चाल्र्स फ्युरेरबाट लिएका थिए । १६औं शताब्दीमा थोमस मुरले युटोपिया लेखी धरतीमाथि स्वर्गको काल्पनिक समाजवाद विचार ल्याएका थिए ।इसाई र यहुदी परम्पराका मार्क्स यी दुई धर्ममा स्थित स्वर्गको अवधारणाबाट अचेतन रूपले प्रभावित भई पछि आफ्नो भाष्यमा त्यसको उल्लेख गरेको कुरा राजनीतिक मनोवैज्ञानिकले गरेका छन् ।
मार्क्सवाद समाजको व्याख्या र विश्लेषणमात्र थिएन । यो जीवनदर्शन र शैली थियो, जसमार्फत त्यो महान् भनिएको साम्यवादी सपनालाई साकार तुल्याउन सम्पूर्ण सामाजिक, राजनीतिक र आर्थिक क्रान्ति गर्न जरुरी थियो।
युरोपेली दार्शनिक परम्पराबाट नि:सृत मार्क्सवाद युरोपेली थियो । तर, यसको मानवीय स्वरूप र शोषणमुक्त समाजको आह्वानले यस दर्शनले बीसौं शताब्दीभरि एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका र अफ्रिका सबै भूगोललाई प्रभावित गर्यो । सन् १९४७ मा कम्युनिस्ट लिग गठन गरेका मार्क्सको दर्शन लागू गराउन मजदुरवर्गले कम्युनिस्ट पार्टीमार्फत सामाजिक क्रान्तिको बाटो अपनाए । मार्क्स ठान्दथे— पदार्थले मानिसको चेतना निर्धारण गर्छ र सामाजिक उत्पादनले उसको चरित्र निर्धारण गर्छ । मानव जातिको इतिहास वर्गसंघर्षको इतिहास मान्ने मार्क्स एसियाली समाजको अध्ययनमा पूर्ण थिएनन् जति युरोपेली समाजका लागि थिए । प्रसिद्ध चिन्तक एवं लेखक एडवर्ड सइदले मार्क्स पनि ओरिएन्टलिस्ट अर्थात् पूर्ववादी नै भएको आरोप लगाएका छन् ।
मार्क्सको प्रयोग र दुष्प्रयोग
तात्कालीन सोभियत संघका क्राान्तिकारी लेनिनले सन् १९१७ मा साम्यवादको प्रयोग सोभियत संघमा गरे । समाजवादी सरकार स्थापनापश्चात् नयाँ समाजमा नयाँ मान्छेको जन्म हुने विश्वास गरियो । समय बित्दै जाँदा त्यहाँ सर्वहारा वर्गको अधिनायकत्वको नाममा कम्युनिस्ट पार्टी अर्थात् पोलिटब्युरोको अधिनायकत्व लागू गरियो । पछि स्टालिनको कालखण्डमा लाखौं मानिसको हत्या गरियो । लाखौं मानिसलाई श्रम शिविर पुर्याइयो । पुँजीवादी संसारभन्दा समाजवाद उन्नत हुने दाबी गरिएको त्यस राष्ट्र सन् १९९० मा आइपुग्दा पुँजीवादी संसारसँगको शीतयुद्धमा पराजित भयो ।
सोभियत संघले पूर्वी युरोपमा साम्यवादी सरकार खडा गर्यो । सैनिक हस्तक्षेपमार्फत साम्यवादी शासनप्रणाली निर्माण गर्न पुग्यो । शीतयुद्धको प्रतिस्पर्धामा अफगानिस्तानमा समेत सैनिक हस्तक्षेप गर्यो सोभियत संघले । अल्वानियाका अनवर होक्सा, रुमानियाका निकोलाई चाउचेस्कुजस्ता अलोकप्रिय जनविरोधी शासक जन्मिए । करिब आधा शताब्दीसम्म चलेको यस शीतयुद्धमा सन् १९९० मा आएर सोभियत संघको विघटन भयो । र, पूर्वी युरोपबाट साम्यवादी शासन प्रणाली ढल्यो ।
मार्क्सवादको प्रयोग असफल साबित भयो । हुन त सन् २० को दशकमा अमेरिकी समाजशास्त्री डेनियल बेलले विचारधाराको अन्त्य भन्ने थेसिस लेखे । सन् १९९० मा प्रसिद्ध अमेरिकी राजनीतिशास्त्री फान्सिस् फुकुयामाले 'इतिहासको अन्त्य' भएको दाबी गर्दै प्रजातन्त्र र पुँजीवादी अर्थव्यवस्था नै मानवजीवनको अन्तिम शासनप्रणाली भएको दाबी गरे ।
मार्क्सको राजनीतिक प्रयोग माओले सन् १९४९ मा चीनमा गरे । यो मार्क्सको तेस्रो विश्वमा गरिएको सफल प्रयोग थियो । तर, यसबाट पनि अपेक्षित परिणाम नआएपछि सन् १९७८ मा चीन पुँजीवादी अर्थप्रणालीतर्फ लाग्यो । माओ र उनका नीतिहरूले चीनमा लाखौंको नरसंहार भयो । कम्बोडियामा साम्यवादको नाममा कलंक नै बन्यो । सन् ७० को दशकमा भएको राजनीतिक प्रयोगले त्यहाँ व्यापक रूपमा नरसंहार गरे पोलपोटले । भियतनाम र मंगोलिया अहिले खुला बजार अर्थतन्त्रमा गइसकेका छन् ।
उत्तर कोरियाको किम इल सुङको जुछे विचारधारा पारिवारिक वंशको शासनमा परिणत भएको छ र ऊ विश्वशान्तिका लागि आणविक कार्यक्रममार्फत खतरा बनेको छ । क्युबा पनि ७० वर्ष लामो असफल प्रयोगपश्चात् अहिले अमेरिकासँग सम्बन्ध सुधार्न तम्सिएको छ । मार्क्सवादको राजनीतिक प्रयोगका क्रममा विभिन्न देशमा आआफ्नो प्रकारका प्रयोग भए । यस्तै प्रयोगमा पेरुमा गोन्जालोको नेतृत्वमा भएको माओवादी जनविद्रोह र नेपालमा प्रचण्डको नेतृत्वमा भएको जनविद्रोहहरू पनि पर्छन् ।
मार्क्सवादको नाउँमा विभिन्न वामपन्थी सम्प्रदाय जन्मे । अहिले शास्त्रीय रूपमा भन्ने हो भने संसारमा कहीँ पनि साँचो अर्थमा समाजवादी सरकार छैन । युरोप र अमेरिकाको वामपन्थलाई पश्चिमी मार्क्सवाद पनि भनिन्छ, जुन गैरपश्चिमीभन्दा भिन्नै छ । युरो कम्युनिज्म यस्तै विशेष प्रकारको प्रयोग थियो । समग्रमा भन्नुपर्दा मार्क्सवादको एउटै उद्देश्य हो— राजनीतिक पुँजीवादी विश्व व्यवस्था बदलेर त्यहाँ समाजवादी विश्व व्यवस्था ल्याउने । सोभियत प्रोजेक्ट त्यस्तै प्रयोग थियो । अहिले त्यो प्रोजेक्ट कसैसँग छैन र विश्व अरू समस्याले ग्रस्त बन्दै गइरहेको छ।
वृद्धिमा हस्तक्षेप : चोम्स्कीदेखि जिजेकसम्म
मार्क्सको २००औं जन्मजयन्ती मनाइरहँदा भन्नुपर्छ— मार्क्स प्राज्ञिक क्षेत्रमा जिउँदाजाग्दा छन् । तर, मार्क्सको एउटै रूप छैन । नारीवादीदेखि समलिंगी अध्ययनसम्म, उत्तर आधुनिकतादेखि उत्तर मार्क्सवादसम्म— यस विचारधाराको उपस्थित छ । मार्क्स विश्वदर्शनको इतिहासमा सबैभन्दा बढी विरोध र समर्थन गरिएका दार्शनिक हुन् । उनी बीसौं शताब्दीका सबैभन्दा प्रभावशाली दार्शनिक हुन् । अहिले हामी सूचना र ज्ञानमा आधारित समाजमा बाँचिरहेको काल उत्तर मानव कालखण्ड हो ।
उत्तर आधुनिकताले 'मार्क्सवादको मृत्यु'को घोषणा गरे पनि नोम चोम्स्कीदेखि स्लाभोज जिजेकसम्म अहिले पनि आफूलाई मार्क्सवादी ठान्छन् । विगत पाँच दशकदेखि अमेरिकी सत्ता र शक्तिको विरोध गर्दै आएका साम्राज्यवादविरोधी चोम्स्की अझै पनि वैकल्पिक विश्व सम्भव भएको बताउँछन् । समकालीन दर्शनका रकस्टार स्लाभोज जिजेक अहिले पनि आफूलाई कम्युनिस्ट ठान्छन् ।
हर्वर माक्र्युज र जुर्गन हबर मासहरूले मार्क्सवादलाई नयाँ बौद्धिक अनुहार दिए । इटालीका कम्युनिस्ट एन्टोनियो ग्राम्सीले मार्क्सवादको बौद्धिक र सांस्कृतिक अध्ययनमा हेजोमोनी अर्थात् प्रभुत्वको अवधारणा अगाडि ल्याए । त्यस्तै फ्रान्सका संरचनावादी मार्क्सवादी लुइआल थुसे, बेलायतका टेरिइगल्टन, अमेरिकाका फेडरिक जेम्सन आदिले मार्क्सवादको प्राज्ञिक, साहित्यिक र सौन्दर्यात्मक अध्ययनका विमर्श तयार गरे । विश्वभरि नै विश्वविद्यालयमा मानविकी अर्थशास्त्र र समाजशास्त्र संकायमा मार्क्सवाद अनि यसको बौद्धिक आयामको बारेमा अध्ययन अध्यापन गराइन्छ ।
नेपालमा मार्क्स
युरोपमा मार्क्सले कम्युनिस्ट घोषणापत्र लेख्दै गर्दा नेपालमा जंगबहादुर शाह दरबारमा शक्ति सञ्चय गरिरहेका थिए । यसबाट दुवै ठाउँको चेतनाको स्तर थाहा पाउन सकिन्छ । २००६ मा नेपालमा कम्युनिस्ट पार्टी गठन भयो । पुष्पलालले पहिलोपल्ट कम्युनिस्ट घोषणापत्र अनुवाद गरे । तर, नेपालका कम्युनिस्टहरू प्रारम्भदेखि नै विभिन्न गुट-उपगुटमा विभाजित भए । उनीहरूमाथि विश्व कम्युनिस्ट आन्दोनलको प्रभाव व्यापक रूपमा पर्यो, तर उनीहरूले विश्व कम्युनिस्ट आन्दोलनलाई प्रभावित पर्न सकेनन् । शीतयुद्धकालमा रुसी र चिनी खेमामा विभाजित कम्युनिस्टहरू नेपालमा साम्यवादी विचारधाराको होहन, इस्यु बेस्ड राजनीति गरिरहेका छन् ।
शीतयुद्धकालमा तत्कालीन सोभियत संघको रादुगा र प्रगति प्रकाशनका मार्क्सवादी लेनिनवादी साहित्य र पेकिङ प्रकाशनका मार्क्सवादी-माओवादी विचारधारा पढेर नेपालको एउटा पुस्ता साम्यवादी बन्यो । यी साहित्य मार्क्सवादको विश्वव्यापी प्रचारप्रसारका लागि सस्तो मूल्यमा प्रकाशन गरिन्थ्यो।