किन कमजोर छ नेपाली उपन्यास ?

किन कमजोर छ नेपाली उपन्यास ?

'प्रगतिशील उपन्यासका चुनौतीहरू' भन्ने यो विषय अत्यन्त जल्दोबल्दो छ र यस विषयमा धेरै नै छलफल तथा बहस हुनुपर्छ । किनभने अहिले पनि विश्वमा उपन्यासको नेतृत्वदायी प्रवाहमा प्रगतिशील उपन्यास नै सर्वाधिक अगाडि छ । 'नेपाली प्रगतिशील उपन्यास' विषयको मेरो पढाइ एउटा सामान्य पाठकको तहसम्मको मात्रै हो । यसैले म आफ्नो कमजोर पठनअनुभवको आलोकमा मात्र केही कुरा राख्न सक्छु ।

Narayan-Dhakal;अब चुनौतीका कुरा गरौं । एकपटक गाब्रियल गार्सिया मार्खेजलाई आफ्नो नजिकका 'प्रगतिशील'हरूले भने, 'तपाईं उपन्यासमा किन जनताले नबुझ्ने जटिल कुराहरू लेख्नुहुन्छ ? यसरी त तपाईं कसरी प्रगतिशील हुन सक्नुहुन्छ ? ' मार्खेजले त्यसको जवाफमा भने, 'म पनि समाजवादी नै हुँ । मलाई के विश्वास छ भने एकदिन संसारमा समाजवाद आएरै छोड्नेछ । तर, साहित्यमा जीवन र इतिहासको विषय यति जटिल हुन्छ, त्यसलाई सरलीकृत रुपमा लेख्न सकिँदैन ।'

मार्खेज ल्याटिन अमेरिकाका धेरै ठूला राजनीतिक उथलपुथल र निकै ठूला वाम संघर्षका प्रभावहरू भएको समयका स्रष्टा हुन् । उनी क्युबाका वाम नेता फिडेल क्यास्ट्रोका अनन्य मित्र थिए । उनीहरूबीचको त्यो मित्रता विचारको आधारमा गाँसिएको थियो । त्यस्तै कवि रोबेर्तो फर्नादेज रेतामार जो क्युबामा बसेर विचारको मोर्चामा वामपन्थी हस्तक्षेपका विचार उठाइरहेका थिए, तिनीसँग पनि मार्खेजको राम्रो मैत्री थियो ।

उपन्यासको जन्म युरोपमा पुँजीवादको उदयपछि भएको हो । यसैले समालोचकहरू उपन्यासलाई युरोपेली कला भन्छन् । हरेक युगले आफ्नो चेतना र रुचि अनुकूलको विधा जन्माउँछ । उपन्यासभन्दा अगाडि महाकाव्यको युग थियो जो सामन्तवादको साहित्यिक रूप थियो । महाकाव्य अहिले पनि लेखिँदैछ । तर, अहिले लेखिए पनि यो विधा पुराना स्मृतिहरूको पुनरावृत्ति मात्रै हो । अहिले महाकाव्यले धेरै ठूलो संवादधर्मिता र आयतन बोक्न सकेको देखिँदैन ।

मिखाइल बाख्तिन् नामका एकजना मेधावी रुसी समालोचकले भनेझैं उपन्यास बहु स्वरहरू र बहु रंगहरूको समुच्चय हो, त्यसैले यो बेग्लै सार्वभौमिक लक्षण भएको कला हो । मार्खेजले यो कलालाई ल्याटिन अमेरिकामा स्थापित गरेका छन् । खासगरी उनको 'वन हन्ड्रेड एयर्स अफ सोलिच्युड' भन्ने उपन्यास बजारमा आएपछि यो विशिष्टता परिलक्षित भएको हो । यो कृतिमा युरोपेली उपन्यासका कुनै पनि स्वभाव छैनन् । तेस्रो विश्वको एउटा राम्रो मौलिक, राजनीतिक, लोकतन्त्रवादी, जनपक्षीय र प्रगतिशील उपन्यास हो यो ।

हाम्रो देशमा जस्तै मार्खेजको देशमा पनि सतही बोधक्षमता भएका, सस्तो नारा र घिसेपिटे लेखनलाई प्रगतिशील साहित्य मान्ने, राजनीतिले साहित्यलाई नियन्त्रण गर्नुपर्छ भन्ने जडसूत्रवादी चिन्तन भएका, तथाकथित पार्टीको जन्तर लगाएका प्राज्ञहरू थुप्रै थिए । उनीहरूले मार्खेजलाई पनि एकदमै हैरान पारे । प्रगतिशील उपन्यासका चुनौतीको कुरा गर्दा हामीले यो सन्दर्भलाई सम्झिनुपर्छ ।

यस कुरालाई अझ स्पष्ट गर्न म एउटा पुरानो सन्दर्भतिर जान चाहन्छु । जस्तो मार्क्स-एङ्गेल्सले आफ्नो समयमा वाम आन्दोलनको झन्डा बोकेर हिँड्ने एमिल जोलालाई भन्दा विचारमा राजतन्त्रवादी रहेका बालजाकलाई बढ्ता महत्र्व दिए । उनीहरूले बालजाकलाई इतिहासको गतिको सही प्रवक्ता भनेर मूल्यांकन गरे । यसले स्पष्ट पार्छ- इतिहासबोध, समाजका चालक शक्तिको पहिचान र सर्वोत्तम कलात्मक सामथ्र्यबिना राम्रो र प्रगतिशील उपन्यास बन्न सक्दैन ।

'पल्पसा क्याफे'देखि अघि र 'पल्पसा क्याफे'देखि पछि भन्ने जस्ता 'फन्टुस्' कालविभाजन बजारका वितण्डा हुन् । हामी गम्भीर नभएर र हस्तक्षेप गर्न नसकेर यस्ता अल्लारे कुरा आएका हुन् ।

साहित्य राजनीतिको निर्देशनमा लेखिने विषय होइन । साहित्यमा राजनीति हुन्छ तर संकीर्ण राजनीतिको मातहतमा साहित्य हुँदैन । लेनिनलाई हामी आदर गर्छौं । उनले समाजवादी आन्दोलनको इतिहासमा धेरै राम्रा काम र कुराहरू गरेका छन् । एउटा साहित्यकारले गर्न नसक्ने काम उनले आन्दोलनमार्फत गरेका छन् तर साहित्यको परिशीलन गर्ने समयमा उनी गल्तीमा फसेका छन् । उनले साहित्यलाई बोल्सेविक क्रान्तिको दाँती र पेचकिला भने । उनको यो भनाइ साहित्यलाई राजनीतिक कार्यनीतिको मातहत राख्ने सोच थियो । लेनिनले भनेको यो कुरा ठीक होइन रहेछ भनेर पछि म्याक्सिम गोर्कीले 'अनटाइमली थट' किताबमा प्रतिवाद गरेका छन् । म्याक्सिम गोर्कीले भने, 'लेनिनलाई साहित्यको बारेमा के थाहा छ र ? उनलाई त राजनीतिको बारेमा मात्रै थाहा छ । थाहा नभएको कुरा किन बोल्ने ? '

प्रगतिशील उपन्यासको नेपाली सन्दर्भ आउँदा 'को अछूत'देखि देखि कुरा सुरु गर्नुपर्ने हुन्छ । मुक्तिनाथ तिमल्सिना वाम आन्दोलनका स्रष्टा त होइनन् तर विचारको हिसाबले यो उपन्यासले नेपाली प्रगतिशील उपन्यासको गोरेटो बनाएको छ भन्नेमा म विश्वस्त छु । त्यति भएर पनि उनले कलाका कुनै पनि मान्यताहरू पालना गरेनन् । विचार र कलाको श्रेष्ठताबिना कलाकृति उत्कृष्ट बन्न सक्दैन । तर, लुसुनले नै एकचोटी भने, 'क्रान्तिका लागि मेरो साहित्य केही काम लाग्दैन ।

तपाईंहरूको बन्दुकमात्र गज्जब काम लाग्छ ।' उनले हाङपु सैनिक एकेडेमीमा लाल सेनामाझ भाषण गर्दा यस्तो भनेका थिए । तर, लु शुनको यस्तो कुरा क्षणिक हुन्छ । मुल कुरा कलाको आफ्नो शक्ति तयारी चाउचाउजस्तो छिटो हुँदैन । कलाले मूल्य निमार्णमा प्रभाव पार्ने एउटा लामो र अनन्त प्रक्रिया हुन्छ । त्यो प्रक्रिया एकदमै घुमाउरो र जटिल हन्छ । कहिलेकाहीँ त लामो समयसम्म लेखक एक्लै पर्छ । लेखक कस्तो हुन्छ भनिन्छ भने जब जहाज डुब्छ, जहाजको कप्तान अर्को बोटमा बसेर डुबेको जहाज हेर्छ तर उसले केही पनि गर्न सक्दैन । लेखकको कृतिले तत्काल गर्न नसक्ने भनेको त्यस्तै हो । तर, जब लेखकले लेख्छ त्यसले पछिपछि गएर मूल्य प्रक्रियामा धेरै ठूलो भूमिका खेल्छ ।

'को अछूत'को कुरा गर्दा कलाका धर्महरूलाई लेखकले गहिराइमा परिपालन गरेनन् । त्यस्तै हामी हृदयचन्द्रसिंह प्रधानको बीचमा पनि जान सक्छौं । उनका 'स्वास्नीमान्छे' र 'एक चिहान' दुई उपन्यास छन् । 'स्वास्नीमान्छे' विचारको हिसाबले 'एक चिहान'भन्दा पनि उन्नत दर्जाको प्रगतिशील उपन्यास हो जसमा महिलामाथि हुने उत्पिडनका धेरै पक्ष छन् । खासगरी वेश्यावृत्ति गर्नु परेको कारणलाई समाजको दोष भनेका छन् हृदयचन्द्रले ।

भारतमा आर्य समाजीहरूले वेश्याहरूलाई उद्धार गर्ने कुरा उठाएका थिए । यो सन्दर्भ प्रेमचन्दको 'सेवासदन' उपन्यासमा छ । 'स्वास्नीमान्छे' विचारका हिसाबले त्यस्तै किसिमको प्रभावबाट लेखिएको उपन्यास हो । तर, यसमा पनि कलाको बल कमजोर छ । काठमाडौंका गरिब किसानबार लेखिएको 'एक चिहान' पनि त्यस्तै अर्को उपन्यास हो ।

डीपी अधिकारीले 'आसमाया' र 'धर्ती अझै बोल्दैछ' उपन्यास लेखे तर उनी पनि कमजोरीबाट जोगिन सकेनन् । व्यक्ति इतिहासको उपज हो । इतिहास पनि व्यक्तिहरूको निर्मिति हो । समाज र व्यक्तिको अन्तरसम्बन्ध हुन्छ । अधिकारीका उपन्यासमा सम्बन्धहरूको जटिलता व्यक्त गर्ने कुरामा ध्यान नपुगेको देख्छु र अहिलेसम्मको प्रगतिशील उपन्यासको समस्या पनि यही हो । 'आसमाया'मा दरबारमा काम गर्ने र त्यहाँबाट फालिएकी महिलाको दु:खको कथा छ । प्रेम गरेर अन्तरजातीय विवाह गरेको त्यो लोग्ने पनि मरेपछि अर्कोसित विवाह गरेको, अन्तिममा गुरुजु खलकले घरबास उखेल्न गरिरहेको षड्यन्त्र त्यसको कथानक हो यो । यस्तो लेख्दा अधिकारीले सिंगो समाज र इतिहासको जगमा उपन्यासलाई उठाउन सकेनन् । इतिहासको जगमा सम्बन्धहरूलाई उठाउन सकिएन भने उपन्यासको कलात्मक प्रामाणिकता हुँदैन ।

धनुषचन्द्र गोतामले 'घामका पाइला' उपन्यास लेखे । बंगाली उपन्यासहरूबाट प्रभावित भए पनि त्यो उपन्यासमा राम्रा संकेतहरू छन्, नेपालको संक्रमणका कुराहरू छन् । अनि नेपाली समाजका परिवर्तनका तथ्यहरू छन् । तर, त्यो उपन्यासका पनि केही कमीहरू छन् । गोतामेले जुन समयको चित्र कोरेका छन् त्यसमा प्रयोग भएको रङ त्यति गाढा छैन । त्यही लाममा रमेश विकल, पारिजात, जगदीश घिमिरे, खगेन्द्र संग्रौला, प्रदीप नेपालदेखि मसम्म छौं । यहाँ हामी त्योभन्दा पछाडिका पनि धेरै नामहरू लिन सक्छौं । सबभन्दा पछिल्लो समय 'जनयुद्ध'सम्मका उपन्यासहरू पनि कला, विचार र इतिहासबोधका समस्याहरूले आक्रान्त छन् । ऋषिराज बरालको 'समरगाथा' र घनश्याम ढकालको 'रातो आकाश' यसका थप दृष्टान्त हुन् ।

प्रगतिशील साहित्यको इतिहासमा एउटा दुर्घटना भएको छ । त्यो दुर्घटना खासगरी स्टालिनकालमा भएको हो । हामीमध्ये कतिपय स्टालिनलाई असल मान्छे र नेता मान्ने पनि हुन सक्छौं । त्यसमा मेरो आपत्ति छैन । तर, स्टालिनकालमा साहित्य र कलाको धेरै अधोगति भएको छ । उपन्यासको पनि एकदमै भ्रष्टीकरण भएको छ । त्यस समय सोभियत लेखक संघको छातामुनि रहेका लेखकले उपन्यासमा पार्टीका कार्यनीतिक कुराहरू मात्र लेखे । चीनमा सांस्कृतिक क्रान्ति हुँदा पनि त्यस्तै खालको अवस्था देखियो । सांस्कृतिक क्रान्तिमा त कस्ता किसिमका विकृतिहरू प्नि आए भने शेक्सपियरका नाटकहरूलाई प्रतिबन्ध लगाउने काम भयो, लुसुनको 'नयाँ वर्षको बलिदान'जस्तो निकै राम्रो जनपक्षीय कथालाई समेत प्रतिबन्ध लगाइयो । त्यसपछि त्यहाँ साहित्यको नाममा कुनै जीवन नभएका, उन्माद र नाराले भरिएका कुराहरू धेरै लेखिए ।

हाम्रा प्रगतिवादी उपन्यासमा स्टालिनकालीन प्रभाव अचाक्ली छन् । ऋषिराज बरालको 'समरगाथा' यसको उम्दा उदाहरण हो । यसमा उनले माओवादी लङमार्चको कुरा लेखे । यो लेख्नुपर्ने विषय पनि हो । किनकि त्यो हाम्रो इतिहास हो । तर, समाज र इतिहासमा वर्गीय मूल्यसँगै जोडिएका अरू धेरै आयाम हुन्छन् । उपरी संरचनाका जटिलता र जञ्जाललाई नठम्याइँ कसरी सही इतिहास बन्छ भन्ने कुरामा बरालको उपेक्षा देखिन्छ ।

घनश्याम ढकालको उपन्यास 'रातो आकाश'मा पनि उपन्यासमा रहने थोरै मात्र स्वभाव छन् । यो उपन्यास उपन्यास नभएर पार्टीका बैठकहरूको प्रतिवेदनको आलेखजस्तो छ । यता आएर 'जनयुद्ध'को जमिनमा टेकेर धेरै उपन्यास आएका छन् तर ती कुनैले पनि इतिहासमाथि न्याय गर्न सकेका छैनन् । रवीन्द्र श्रेष्ठको 'उदास शनिबार' आयो । दीपशिखाको 'रात फुलेको याम' आयो । विष्णु भण्डारीको 'पहेँलो घाम' आयो । सारांशमा भन्दा हामी सबैले (इन्क्लुडिङ मी) इतिहासमाथि न्याय गरेका छैनौं । जीवन र समाजबारे हाम्रो बुझाइ नै कमजोर छ ।

अहिले हामी धेरै विचारको कुरा गर्छौं । तर, विचारको हिसाबले नै हामी सबैभन्दा कमजोर छौं । कुन विचारको कुरा गरेको ? विचारधाराको शृंखला हेर्नुहुन्छ भने सन् १९६० देखि यता विचारहीनताको समय सुरु भएको छ । मानव इतिहासको यो कालखण्डलाई विचारको हिसाबले हेर्दा यो सर्वाधिक अँध्यारो समय हो । हिजो स्थापना गरिएका महाआख्यानहरू काम नलाग्ने भएका छन् र नयाँहरूले पनि समग्रमा मानवीय संकटलाई सम्बोधन गर्न सकेका छैनन् । हामीले सपना देखेको सोभियत संघ ढल्यो । एकथरी भन्लान्- ढल्नुपथ्र्यो ढल्यो, किनकि त्यो त संशोधनवादी मार्गमा थियो । तर, यसरी कुतर्कको सहायता लिएर हामीले आत्मतुष्टि गर्न हुन्छ ? जब संसारभरि नै विचारहीनताको जगजगी छ भने फोस्रो आत्मरतिले मुक्तिको महाआख्यान कसरी बन्छ?
हाम्रो समाजमा अस्तित्वमा रहेका राजनीतिक पार्टीहरू बेकम्मा भइसकेका छन् । अरुको छोडौं, जो वामपन्थी छन् तिनीहरूले पनि संस्कृतिको मामलामा कुनै गतिलो काम गरेका छैनन् । तिनीहरूको सांस्कृतिक आन्दोलनको दिशामात्र होइन राजनीतिक आन्दोलनको दिशा पनि गलत छ । एउटा यस्तो जहाज अगाडि बढिरहेको छ कि अघिल्तिर ठूलो चट्टान छ र त्यो जहाज त्यहाँ ठोकिनेवाला छ । नेपालको कम्युनिस्ट आन्दोलनको जहाज त्यही भीमकाय चट्टानमा ठोकिनेवाला छ । त्यसैले प्रगतिशील लेखक संघजस्तो जिम्मेवार संस्थाले केही जोखिम उठाउनैपर्छ । नवीन विचार खोज्नुपर्छ ।

प्रगतिशील उपन्यासकारका सम्भावना के हुन् भने उनीहरू प्रचलित रुढिग्रस्त विचारहरूभन्दा अगाडि हुनैपर्छ । अग्रगामी सोच नै उनीहरूलाई एकमात्र जाँच्ने कुरा हो । चलेका, स्थापित भएका, किताबमा लेखिएका र दस्तावेजमा लेखिएका घिसेपिटे विचारहरूको अनुकरण गरेर प्रगतिशील लेखकको आफ्नो वैचारिक पहिचान बन्न सक्दैन ।

सारांशमा भन्नु पर्दा प्रगतिशील यथार्थवादी उपन्यासकै भविष्य छ संसारमा । त्योबाहेक अरू उपन्यासको भविष्य छैन । जो वास्तवमा समाजसँग र इतिहाससँग गाँसिएको हुन्छ, त्यसले मात्र सार्थक संवाद गर्न सक्ने सामथ्र्य राख्छ । मार्क्सले भनेजस्तै, समाजहरू उत्पादन सम्बन्धद्वारा निर्धारित हुन्छन् । मूल्य, विश्वास र नैतिकता उत्पादन सम्बन्धद्वारा निर्धारित हुन्छन् । त्यो जगमा बसेर उपन्यास लेखिनुपर्छ र उपन्यास लेख्दा उपन्यासको आफ्नो सार्वभौमिक जुन नियम र कला छ त्यसलाई पच्छ्याएर लेख्नुपर्ने हुन्छ । म अहिले यही सोचले आक्रान्त भएर रचनाकर्ममा लीन छु । सायद अर्को वर्षको आरम्भसम्ममा मेरो नयाँ उपन्यास बजारमा आउँला ।

उपन्यास युरोपबाट उपनिवेशमार्फत हाम्रोमा आएको हो । उपनिवेशमा जसरी पँजीवादी शोषण भित्रियो उपन्यास पनि त्यसरी नै आयो । उपनिवेशवादीहरूले ल्याएको उपन्यास तेस्रो विश्वका स्रष्टाहरूले पढे । पहिले उनीहरू प्रभावित भए । क्रमश: पछिपछि उनीहरू आलोचक भए । हुँदाहुँदा पँजीवादी संसारबाट आएको उपन्यासले राष्ट्रिय मुक्ति आन्दोलनका झन्डा पनि उठायो । त्यसको गज्जबको उदाहरण प्रेमचन्दलाई लिन सक्छौं ।

प्रेमचन्दले बारम्बार भनेका थिए, म स्वराज प्राप्तिको आन्दोलनको पक्षमा छु । त्यसैले हाम्रो ऐतिहासिक दायित्व हो, उपन्यासलाई परिवर्तनको उद्देश्यसँग मिलान गर्नु । उपन्यासकारले लेख्दा उसले लेख्ने कलात्मक संकेतहरू, उसले सिर्जना गर्ने कलात्मक ध्वनिहरूमा ऊ अत्यधिक सजग हुनुपर्छ । मानिसहरूका सम्बन्धका जटिलताहरू, आधारहरू, संकेतहरूमा बढ्ता सजग हुनुपर्छ । सबभन्दा बढ्ता सजग हामीले हाम्रो इतिहास र हाम्रा मानिसहरूसँग हुनुपर्छ । किनभने पहिले आफ्नै मान्छे नबुझीकन संसारभरका जति किताब पढे पनि केही बुझिँदैन । आफ्नैपनालाई नबुझिकन मौलिक कला हुँदैन । हामीले अहिलेसम्म प्राप्त गरेका प्रचलित ज्ञानहरूको सीमालाई नाघेर उपन्यास लेख्न सक्यौं भने मलाई लाग्छ यी चुनौतीहरू हामी सामना गर्न सक्छौं ।

अहिलेको सिंगै नेपाली उपन्यासको दिशा र यात्रा नै ठीक देख्दिनँ म । लेखक बजारमा गयो, त्यो नराम्रो होइन तर लेखक बजारभन्दा कमजोर हुन थाल्यो, त्यो चिन्ताको विषय हो । बजारले त्यस्तो चिज उत्पादन गर्ने भयो जो धेरै बिक्छ । लेखक आफ्नो अस्मितामा नबाँचेर बजारको तानाशाहीको सिकार भएपछि रूपान्तरणका अभीष्ट छायामा पर्छन् । नाफाको निम्ति विक्ने मालहरूमात्रै उत्पादन गर्दा कलाका जोखिम बढ्छन् । यता आएर बजारले इतिहास नै करेक्सन गर्ने कुरा पनि ल्यायो । 'पल्पसा क्याफे'देखि अघि र 'पल्पसा क्याफे'देखि पछि भन्ने जस्ता 'फन्टुस्'काल विभाजन बजारका बितण्डा हुन् । यसमा हामी गम्भीर नभएर, हामीले हस्तक्षेप गर्न नसकेर यस्ता अल्लारे कुराहरू आएका हुन् । त्यसैले प्रगतिशील लेखक संघले वैचारिक, कलात्मक र रचनात्मक हस्तक्षेप गर्नु पर्‍यो । बजारले जुन किसिमको राजनीति गर्दैछ त्यो सर्वथा हानिकारक छ भन्ने बुझ्नुपर्‍यो ।

यति भन्दाभन्दै यहाँ एउटा हेक्का रहोस्, साहित्यको इतिहास लेख्ने बेलामा हामीले युधीर थापालाई पनि उपेक्षा गर्न मिल्दैन । लोकप्रिय साहित्यको कुरामा हामी त्यति धेरै नकारात्मक छैनौं । लोकप्रिय साहित्य पनि सामाजिक संवादको एउटा माध्यम हो । तर प्रश्न छ— त्यसले ढिलो वा चाँडो सामाजिक परिवर्तनमा कति भूमिका खेल्छ ? मैले यहाँ सामाजिक परिवर्तन भनेको त्यो कुनै सिंगै युगको उथलपुथलमात्र होइन । तपाईं र मेरो संवादको निम्ति मैले कति लेखेँ र तपाईंले मलाई कति पढ्नुभयो ? हामीबीच कत्तिको सार्थक संवाद भयो ? मूल्य निर्माणको प्रक्रियामा यो प्रभावकारी भयो कि भएन ? मैले भन्ने कुरा यही हो । जब सिंगै उपन्यासको गति चाहिँ ठीक बाटोमा छैन भने त्यसको निदानको एउटै बाटो छ, हामीले मेहनत गर्न पुगेको छैन ।

म ज्यादै कम काम गर्न सक्ने मान्छे हुँ । एउटा काम एकचोटी मात्रै गर्छु । पार्टी संगठनमा लाग्ने बेलामा मैले लेख्दै लेखिनँ । गाउँगाउँमा गएर पार्टी संगठनमात्रै गरेँ । त्यो समय म पार्टी संगठनमा लाग्दा मित्र विमल निभा र श्यामलहरूले मलाई जिस्क्याँउथे- नारायण ढकाल आँखा छोपेको घोडाजस्तो भएर राजनीतिमा हिँड्यो । मैले लेख्न छोडेकोमा उनीहरू चिन्तित थिए । मैले एकैपटक ती दुवै काम गर्न नसकेर त्यस्तो भएको हो । म सँगैसँगै दुईवटा काम गर्नै सक्दिनँ । पछि पत्रकारितामा आउँदा दिनको एउटा सम्पादकीय लेखेपछि त्यो दिनको मेरो काम पूर्ण भयो । चाँडै थकानले गर्दा केही गर्न सक्दिनँ म । तर, कतिपयले त दिनभरिमा सिंगै पत्रिका पनि लेख्छन् रे भन्ने पनि सुनेको छु । यो लक्षणले मेरो उपन्यासकारितालाई धेरै प्रभावित पारेको छ । अहिले लेखिरहेको उपन्यासको परिमार्जनमा ढिलाइ भएको यसैले गर्दा हो ।

हामी अझै विश्व साहित्यमा जोडिन सक्छौं भन्ने कुरामा मलाई विश्वास छैन । आफैंले आफ्नै कृति पढ्दा थाहा पाउँछु कि मैले राम्रो लेखिरहेको छैन भनेर तर नढाँटी भन्नपर्छ, म राम्रो लेख्न कोसिस गरिरहेको लेखक हुँ । मैले विश्व साहित्यमा जोडिने भनेको युरोप वा अमेरिकामा होइन । हामीजस्तै मुलुक जो राष्ट्रिय आन्दोलनको दौरान ब्यँझिए, तिनीहरूसित हो । ती कतिपय देशहरूको साहित्यभन्दा पनि हामी धेरै पछि छौं । एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा धेरै ठूलाठूला लेखक आइसके जसको एकदमै प्रभावशाली सञ्चार विश्वभरि हुन्छ, जसले विचार र अभिव्यक्तिमा बेस्सरि हल्लाउँछन् । जस्तो चिनुवा अचेवेदेखि लिएर न्गुगी वा थोङ्गो जो अहिले पनि आन्दोलनरत छन् । तर, हामी अहिलेसम्म पनि कोसिस र परीक्षणकै अवस्थामा छौं ।

समाजवादी यथार्थवादभन्दा अगाडि यथार्थवाद अथवा आलोचनात्मक यथार्थवादको समय थियो । यथार्थवाद सामन्तवादको विरुद्धमा एउटा वैचारिक दार्शनिक र राजनैतिक अभियानका रूपमा आएको थियो । यो कुनै एउटा प्रविधिमात्र नभएर समग्र दृष्टिकोण भएर आएको थियो । आलोचनात्मक यथार्थवाद पनि त्यही भित्र थियो । यो स्वयम् पुँजीवाद माथि पनि प्रश्न चिह्न उठाउने हिसाबले आएको थियो । समाजवादी यथार्थवाद चाहिँ गोर्कीको 'आमा' उपन्यास आइसकेपछि आयो । 'आमा' उपन्यासको एउटा विशेषता के छ भने त्यसमा पराकाष्टाको आशा छ । त्यसरी नै गोर्कीभन्दा अर्कोलाई पढ्दा मैले निराशाको पराकाष्टा पनि पढेको छु । जस्तो काफ्कामा निराशाको पराकाष्टा भेट्न सकिन्छ ।

म जसरी गोर्कीलाई सम्मान गर्छु, काफ्कालाई पनि त्यत्तिकै सम्मान गर्छु । पहिलो विश्वयद्धपछि मार्क्सवादभित्र फ्रयांकफर्ट भन्ने एउटा स्कुल आयो । त्यसले धेरै बहसहरू गर्‍यो । हुन त त्यो स्कुललाई धेरै जडसूत्रवादीहरूले संशोधनवादी, बुद्धिको मात्रै कुरा गर्ने, शब्द र कर्मको एकता नभएको जमात भनेर आरोपहरू पनि लगाए । तर त्यो सत्य होइन । विश्व समाजवादी आन्दोलनको विचारको इतिहासमा फ्र्यांकफर्ट स्कुल धेरै ठूलो मोड र परिघटना थियो । खासगरी वाल्टर बेन्जामिनले काफ्कालाई धेरै सम्मान गरेका छन् । वाल्टर बेन्जामिन आत्महत्या गरेका व्यक्ति हुन् । तर, उनको आत्महत्या पलायनवादी आत्महत्या होइन ।

फाँसिस्टहरूले उनलाई मार्ने नै भएपछि तिनीहरूको हातबाट मर्नुभन्दा म आफैं मर्नु ठीक भनेर मरेका हुन् । यस्ता व्यक्तिले काफ्काको महत्र्वालाई उठाए । काफ्का अँध्यारोबाट जिन्दगीलाई हेर्थे । उज्यालोबाट जिन्दगीलाई हेर्ने गोर्की थिए । हाम्रो जिन्दगीमा अँध्यारो उज्यालो दुवै पक्ष छन् ।

पछि समाजवादी यथार्थवाद कोरा सूत्रका रूपमा आयो, कठमुल्लावादी चुट्किलाका रूपमा आयो । म आफंै त्यसको सिकार भएको छु । मलाई आलोचना गर्नेहरू यस्तै काँटका छन् । तर मलाई त्यसमा गुनासो छैन । म बुटपालिस आन्दोलनबाट आएको हुँ । बुटपालिस आन्दोलन एउटा अराजकतावादबाट नै गुज्रिएर आएको हो । भियतनाम युद्ध भइरहेको बेलामा केही अमेरिकी कविहरू जो मार्क्सलाई रुचाउँथे, युद्धको विरोध गर्थे, गाँजा खान्थे, समलैंगिक कुराहरू गर्थे । एलेन गिन्सबर्ग तिनको केन्द्रमा थिए । तिनले लिएर आएको आन्दोलनबाट म प्रभावित थिएँ । पछि मलाई हामीकहाँ त्यो आन्दोलन टिक्दैन कि जस्तो लागेर प्रगतिशील आन्दोलनमा लागेँ । तर, हंग्री जेनेरेसनलाई अहिले पनि म स्नेह गर्छु ।

म भन्छु, हामी अलि फराकिलो होऔं । फराकिलो बन्ने संकेतहरू हामी देख्न थालेका पनि छौं । हिजो ग्राम्सीलाई संशोधनवादी भन्नेहरूले अहिले उनलाई पढ्नुपर्छ भनिरहेको देख्छु । यो सकारात्मक छ । हामी त हिजै भन्थ्यौं, उनलाई पढ्नुपर्छ । लोकप्रिय साहित्यको बारेमा ग्राम्सीको जत्तिको सुल्झिएको विचार तपाईं कहीँ पाउनुहुन्न । आज हामी काम न काजका किताबहरू धेरै बिके भन्छौं । यस विषयमा ठोस विश्लेषण गर्ने पहिलो प्राज्ञ उनै थिए । लोकप्रिय साहित्यको विश्लेषण गर्दा सबैभन्दा पहिले मार्क्सलाई सम्झाउने चिन्तक ग्राम्सी नै थिए।

फ्रान्सेली भाषामा लेखिएको युजिन सुइको 'द मिस्ट्री अफ पेरिस' भन्ने किताब धेरै युरोपियन भाषामा अनुवाद भयो । त्यो किताब लाखौं प्रति हातहातै बिक्यो । त्यो बालजाकको समय थियो । बालजाक हेर्‍याहेर्‍यै भए । उनी चिन्तित भए- 'म यस्तो मेहनत गरिरहेको छु, किताबहरू पढिरहेको छु, बुद्धिजीवीहरूसँग बहस गर्छु । हरेक बहसको मोर्चामा म नडगीकन आफ्नो कुरा राखिरहेको छु । तर, यस्तो फन्टुस् मान्छेको किताब चाहिँ हातहातै बिकिरहेको छ !'

त्यसपछि पहिलोपटक मार्क्सले त्यो किताब किन लोकप्रिय भयो भनेर लेखे । हिंसा, यौन, सतही कुराहरू, उन्मादहरू किन धेरै बिक्छन् ? लुकीलुकी किन मान्छेले पोर्नोग्राफी पढ्छन् ? त्यसको विश्लेषण गर्दै मार्क्सले मान्छेको माइन्ड सेट कसरी बन्छ भन्नेबारे प्रष्ट पारे । मार्क्सको त्यो लेख अहिले लोकप्रिय साहित्यमापन गर्ने आद्यबिन्दु बन्न पुगेको छ ।

एउटा तर्क छ, 'पल्पसा क्याफे' किन धेरै बिक्छ ? किनभने त्यो प्लस टुका विद्यार्थीले पढ्न सक्छन् । अर्को एउटा तर्क के गरिन्छ भने धेरै बिक्ने किताबले गर्दा गम्भीर किताबहरू ओझेल परे । अर्को तर्क छ, म हल्काफल्का युधीर थापा पढेर आएको त्यसकारण यताको गम्भीर मोडमा आइपुगेँ । वास्तवमा यस्ता विषयले प्रगतिशील लेखकहरू विचलित बन्नु ठीक छैन । युधीर थापा नपढीकन पनि गम्भीर कुरा लेख्न सकिन्छ । पढ्दा पनि बेठीक हुँदैन । किनभने पठन संस्कृतिको बारेमा गोर्कीले जति बेजोड कुरा कसले गरेको छ ? उनले बाल्यकालमा जे पाए पनि पढे । उनले कतै भनेका छन्- नपढेको भएँ म ज्यानमारा हुन्थेँ ।

नेपाली उपन्यासको कुरा गर्दा तोल्सतोयको युगलाई अझै हामीले नाघ्न सकेका छैनौं । मार्खेजले सम्पूर्ण युरोपको मानकलाई भत्काएर नयाँ मानकको स्थापना गरे, त्यो समय भेट्टाउन त हामीले धेरै पापड बेल्न बाँकी छ । मार्खेजले लेखेको उपन्यास 'वन हन्ड्रेस अफ सोलिच्युट' हेर्दा जोकरको कथा जस्तो लाग्छ, तर त्यस्तो होइन । त्यहाँ यस्तो गहिरो व्यंग्य र वियोगको कथा छ जो सतही हास्य किताब हो कि जस्तो पनि लाग्न सक्छ । तर त्यो सत्य होइन । एक सय वर्षसम्म उपनिवेशवादले जुन किसिमले शोषण गर्‍यो त्यो त्यहाँ देखाइएको छ ।

बहुराष्ट्रिय नाफाखोर युनाइटेड फुट कम्पनी त्यहाँ गएपछि मजदुरहरूमाथिको लुटपाट र तीन हजार मजदुरहरूको हत्याले हामीलाई तर्साउँछ । त्यस्ता वियोगका कथा हाम्रोमा पनि छन् तर हामीले आफ्ना विषय साहित्यमा ल्याउनै सकेनौं । खासगरी वाम लेखकहरूले चाहिँ केही गर्नै सकेनन् । म वामपन्थी लेखकहरूप्रति किन पनि धेरै आलोचक छु भने मैले बढीभन्दा बढी सम्भावना यतै देखेको छु ।(२०७४ जेठ ५ गते प्रगतिशील लेखक संघले आयोजना गरेको परिसंवाद कार्यक्रममा आख्यानकार ढकालले व्यक्त गरेको विचारको सम्पादित अंश ।)
प्रस्तुति : राजु स्याङ्तान


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.