यो भनाइ, त्यो गराइ
हामीहरू सबैजसोको हातमा मोबाइल छ तर मोबाइल र त्यसको कुनै पनि पार्टपुर्जा हामी कहाँ बन्दैन । तिनलाई आयात गर्नुपर्छ र गर्छौं । दुई÷चार वर्ष नयाँ र महँगो मोबाइल किन्नुपर्छ र किन्छौं ।
धेरैजसोको मोटरसाइकल वा गाडी छ, सडकमा धेरै गुडेको देखिन्छ तर मोटरसाइकल वा गाडी कुनैको पनि पार्टपुर्जाहरू हामी कहाँ बन्दैन । तिनलाई चाहिने पेट्रोल बाहिरबाट आयात गर्नुपर्छ । ओली सरकारको पालामा हामीले कति दु:ख भोग्नुपर्यो जब भारतले हामीलाई पेट्रोलको नाकाबन्दी गर्यो । मुलुकको दीर्घकालीन हित र स्वावलम्बी चरित्र हाम्रो एजेन्डा बन्न सकेको छैन ।
धेरैजसोले किनिराखेको डेस्कटप काम नलाग्ने भई ल्यापटप किन्छन् तर हामी बिग्रेको बनाउन सक्दैनौं । नयाँनयाँ महँगो ल्यापटप आयात गर्छौं र किन्छौं । धेरैजसोले अनेक प्रकारका विद्युतीय सामान प्रयोग गर्छन् तर कुनै पनि त्यस्ता सामान हामी कहाँ बन्दैन । सबैजसो बाहिरबाट आयात गरिन्छ । सीपबिनाको प्रविधिले परनिर्भरितालाई नै प्रोत्साहित गर्दोरहेछ ।
अचेल हामीले लगाउने नयाँनयाँ चम्किला लुगा, खानेकुरा, तरकारीदेखि दाल, चामल र मीठामीठा पौष्टिक खाद्यान्न सबै हामीले आयात गर्छौं । कृषि प्रधान भनिने देशका लागि योभन्दा ठूलो अक्षमता अर्को के होला र ? हामीहरू अनेकौं विलासीका सामान प्रयोग गर्दछौं तर ती सबै आयात गर्नुपर्दछ । हामीकहाँ बन्दैनन् । देशमा ठूलाठूला राम्राराम्रा घरहरू बन्दैछन् तर ती सबैको लागि चाहिने कच्चापदार्थहरू, श्रम, सीप, आदि बाहिरबाट ल्याउनुपर्छ, ल्याइन्छ ।
मेरो लामो प्राज्ञिक अनुभवमा यी प्रश्नको जवाफ पाउन या बुझ्न सकिनँ । हामीले खोजेको कस्तो हो ?
हामी बिरामी हुँदा उपचारका लागि प्रयोग हुने अनेकौं औषधिहरू सबै बाहिरबाट ल्याउनु पर्दछ र ल्याइन्छ । यी सबैको उत्पादन क्षमता नेपालमा नभएको हैन । तर, परा िश्रत राजनीतिक संस्कृतिले त्यसलाई निरुत्साहित गरेको छ ।
हामी कहाँ नयाँ स्कुल, कलेज, विश्वविद्यालय खुल्दैछन् तर ती सबैमा विदेशीको हात र व्यवस्थापन छ । हामीकहाँ साइकलदेखि हवाईजहाज सबै बाहिरबाट किन्नुपर्दछ । हामीकहाँ बन्दैन तर पनि हामी हवाईजहाज चढ्छौं । हामी कहाँ अनेकौं फ्याक्ट्री र औद्योगिक उत्पादन गर्ने मेसिन औजारहरू छन् तर ती सबै बाहिरका स्रोतमा भर गर्नुपर्दछ । बाहिरबाट कच्चा पदार्थहरू आएनन् भने हाम्रो उद्योगधन्दाहरू ठप्प हुन्छन् । हामी कहाँ ठूलाठूला होटेल, लज, रेस्टुराँ छन् तर ती सबै बाहिरीको हातमा छन्, हामी नेपालीहरू नाम मात्रका त्यहाँका नोकरीदार छौं ।
अझ अचम्म हामी कहाँ अनेकौं राजनीतिक पार्टी छन् तर ती सबैलाई विदेशीको इसारामा चल्नु पर्दछ । हामी स्वतन्त्र सार्वभौमिक देश भन्दछौं तर हामीलाई लागेका कुराहरू स्वतन्त्र भएर बोल्न पनि सक्दैनौं । हाम्रो भेषभूषा सबै बाहिरी ढाँचाको भएको छ । हामीले नेपालीपन बचाउन सकेका छैनौं । हाम्रो भाषा बोलचाल सबै विदेशीको जस्तो भइसक्यो । धेरैले अंग्रेजी र विदेशी भाषा बोल्छन्, हाम्रो भाषा विस्तार लोप हुँदैछन् ।
हामी हाम्रो पहाड, तराई, हिमाल घुम्दैनौं तर बेलायत अमेरिका विदेश भ्रमण गरेपछि हामी आफूलाई ठूलो अनुभवी ठान्दछौं । हामीकहाँ ठूलाठूला राष्ट्रिय, अन्तर्राष्ट्रिय, सेमिनार, वर्कसप, कन्फेरेन्स आदि हुन्छन् तर त्यो सबै विदेशीले चलाएको हुन्छ । नेपाली खाली नाममात्र या निमित्त पात्र हुन्छन् । हामीकहाँ अनेकौं अनुसन्धानका कार्यहरू हुन्छन् तर ती सबै निष्फल बेकार भई उपयोगिता दिन सक्दैनन् । हामी कहाँ अनेकौं विकासका कार्य गर्ने संस्थाहरू छन् तर तिनका कुनै प्रभावकारिता देखिँदैन । नाम मात्रका छन् ।
हामीकहाँ वैदेशिक सहायताअन्तर्गत धेरै पैसा आएको देखिन्छ तर तिनको उपयोग भई प्रयोगमा आएको देखिँदैन । हामी कहाँ रेमिट्यान्सबाट धेरै पैसा आएको देखिन्छ तर पनि गाउँ घरहरूका मानिसहरू गरिबै धेरै छन् । हामीकहाँ धेरै जवान केटाकेटीहरू छन् तर ती सबै धेरैजसो बिदेसिएका छन् । देशका लागि छैनन् आफ्नो ज्यान, पसिना, रगत विदेशलाई दिन्छन् । हामीकहाँ लाहुर जाने प्रवृत्ति र संस्कृति २१औं शताब्दीमा आएर पनि हटेको छैन ।
हामी 'वुमन इम्पावरमेन्ट' का कुरा गर्दछौं तर हाम्रा छोरीहरू विदेशमा बेचिन्छन् । हामीकहाँ अनेकौं धार्मिक संस्था र प्रवचन आदि हुन्छन् तर सबै देखावटी र खोक्रा छन् । हामी ठूलो एकादशी आदि दिनहरू मनाउँदैनौं तर 'भ्यालेन्टाइन डे' मनाउने भइसकेका छौं ।
हामी हाम्रो देशलाई कृषि प्रधान देश भन्छौं तर कृषिका सबै सामान र कृषि खाद्यान्न र उपजहरू आयात गर्दछौं । हामी हाम्रो देशलाई जलशक्ति भएका देश भन्दछौं तर जल शक्तिबाट उत्पन्न बिजुली बाहिरबाट किन्छौं । हामी हाम्रो देश विकास र समृद्ध भएको भन्छौं तर धेरैजसो गरिब छौं ।
हामी राम्रो परिवर्तन हुन्छ भनेर हुलदंगा, नेपाल बन्द, विद्रोह, जुलुसहरू आदि गर्दछौं, राजनैतिक परिवर्तन गर्छौं तर ती सबै कुनैबाट पनि हामी राम्रो र सुखी सन्तोषी बन्न सकेका छैनौं । हामीकहाँ समस्या समाधानका लागि अनेकौं अध्ययन टोली, आयोगहरू बन्छन् र तिनले रिपोर्टहरू पेस गर्दछन् तर ती सबै निष्क्रिय भइदिन्छन् । डा. गोविन्द केसीले १०÷१० पटक भोक हडताल गर्दा पनि केही भएन, मेडिकल कलेजहरूको सुधारमा ।
हामी कहाँ अनेकौं विकास कार्यहरू जनतालाई काम दिन सक्ने भएका छन् भन्छन् तर हामी राम्राभन्दा मान्छेलाई जागिर र मौका दिन्छौं । जनताको करको पैसा जथाभावी खर्च गर्न हुँदैन भन्छौं तर हामी भोजभतेर मजा तथा नचाहिँदो विदेशी भ्रमणहरूमा बढ्ता खर्च गर्दछौं र सहुलियतहरू लिन्छौं । हामी राम्रो काम गर्नेलाई पुरस्कार दिनुपर्छ भन्छौं तर दिने बेलामा काम गर्नेलाई भन्दा चाकडी चुकुली गर्नेलाई दिन्छौं । अनि हाम्रा राजनीतिक नेताहरू जनताको सेवा गर्दछौं भन्छन् तर उनीहरू सबै आफ्नो दुनोमात्र सोझ्याउँछन् ।
हाम्रा राजनैतिक कार्यकर्ताहरू यो गर्नु हुँदैन भन्छन् तर नेताले भन्यो भने जे पनि गर्दछन् । हाम्रा न्यायकर्ताहरू राम्रो सत्य न्याय दिनुपर्छ भन्छन् तर दिने बेलामा मत्स्य न्याय दिन्छन् । हाम्रा सांसदज्यूहरू जनताको लागि कानुन हित कार्य गर्न संसद् पुगेका हुन् तर उनीहरू भत्ता खाने र पार्टीमा बढ्ता दुनो सोझ्याउने गर्दछन् । जनताको लागि भन्दा बढ्ता ।मेरो लामो प्राज्ञिक अुनभवमा मैले यी प्रश्नहरूको जवाफ पाउन या बुझ्न सकिनँ । हामीले खोजेको कस्तो ? अब जनता जनार्दनले नै भनी दिनुपर्यो ।