उदयको जिमखाना दैनिकी
आममानिस जागिनसक्दै उमेरले ६ दशक पुग्न लागेका उदय श्रेष्ठ जिमखाना धाइरहेका हुन्छन् । उनी जिमखाना-दैनिकीमा एउटा रोचक कथा जोडिएको छ ।हेर्दै खाइलाग्दा देखिने उदय स्कुल पढ्दा चाहिँ निकै दुब्ला र सिकुटे थिए । निकै दुब्लो र मरन्च्याँसे भएकै कारण उनले आफ्ना विद्यालयका सहपाठीबाट हैरानी खेप्नुपथ्र्यो । चाहे स्कुल होस् या छरछिमेक, पढ्दा होस् या खेल्दा साथीभाइले निकै हेप्न थालेपछि उदय मोटोघाटो र बलियो बन्ने भन्ने ध्याउन्नमा लागे ।
इन्द्रचोकका स्थायी बासिन्दा उदय काठमाडौंका विभिन्न क्षेत्रमा पुगिरहन्थे- व्यायामशाला खोज्दै । ज्याठाको व्यायाम मन्दिरको व्यायामशालालाई उनले नजिकबाट नियालेका थिए । व्यायामशालामा डम्बेल उचालेर मानिसले मोटाघाटा र गठिलो शरीर बनाएको देखेर उदय पनि लोभिए र जसरी पनि जिम गर्ने प्रण गरे । तर, उनको कुरालाई परिवार, विशेषगरी बुवाले स्वीकार गरेनन् । बुवाले नमानेपछि उनले आमालाई मनाए र आजभन्दा ४० वर्षअघि उदय ज्याठाको जिमखाना छिरे ।
सुरुमा उनले घनश्याम मुखियाबाट प्रशिक्षण लिए । हरेक दिन साढे दुई घन्टा व्यायामशालामा पसिना बगाए । जिमखाना धाउन थालेको छोटो अवधिमै उदयको शारीरिक बनावटमा आकाश-जमिनको फरक आयो । लुरे र ख्याउटे उनी हट्टाकट्टा देखिए । त्यसपछि उनलाई सताउने साथीभाइ छेउछाउ पर्नै डराउन थाले । तर, उनले बुवाबाट सहयोग पाएनन् । नचाहिने काममा लाग्यो भनेर सधैं बुवाको गाली खाइरहे पनि उदयले आमाबाट भने सहयोग र हौसला पाइरहे । घरमा विभिन्न परिकार बनाइदिनेदेखि खुराक खानका लागि लुकाइ-छिपाइ पैसा दिने काम आमाले गरिन् ।
आमासँग पढाइ नबिगार्ने सर्तमा जिम सुरु गरेका उनले त्यसलाई कहिल्यै पनि छाडेनन् । सधैं व्यायाममै रमाइरहे । पहिले आफ्नो ज्यान बनाउनका लागि जिम गरेका उदयले पछि बडी बिल्डिङमा आफूलाई लगाए । उनी २०३८ सालमा आयोजना भएको मिस्टर नेपाल र मिस्टर काठमाडौं प्रतियोगितामा सहभागी भए । पञ्चायतकालीन व्यवस्थामा निष्पक्ष निर्णय भएन र उनले मिस्टर नेपालमा दोस्रो स्थान हासिल गरे भने मिस्टर काठमाडौंमा तेस्रो भए ।
'कर्म गरेपछि अवश्य पनि फल पाइन्छ' भन्ने आत्मविश्वास बोकेका उदयले आफूमाथि भएको अन्यायको कहिल्यै पनि विरोध गरेनन् । जसले जे सक्छ त्यही गर्छ भनेर उनले त्यो कुरालाई चुपचाप सहे र कर्मलाई अगाडि बढाइरहे ।'मैले आफूमाथि भएको अन्यायलाई चुपचाप सहेँ । त्यसको विरोध गर्नुमा कुनै तुक देखिनँ । सकिइसकेको कुरामा अल्झिनुभन्दा अर्कै कुरामा ध्यान लगायो भने फाइदा हुन्छ भन्ने ठानेर मैले त्यसलाई सहेँ', उनले निर्धक्कका साथ भने 'एउटै कुराको पछि लागेर जिन्दगीलाई अगाडि बढाउन सकिँदैन ।'
रहरै रहरले व्यायाम मन्दिरको जिमखाना छिरेका उदय पछि त्यही जिमखानाको प्रशिक्षक भए । आफूजस्तै खेलाडी उत्पादनमा सक्रिय रहे । २०४२ सालमा उनी व्यायाम मन्दिरको अध्यक्ष बने । उनी अध्यक्ष भएलगत्तै प्रतिष्ठित 'धर्म श्री' शारीरिक सुगठन प्रतियोगिता सुरु गरे । उदयले आफू अध्यक्ष हुँदा सुरु गरेको प्रतियोगिता अहिले बृहत् रूपमा सञ्चालन भइरहेको छ । 'मैले प्रतियोगिताको बिउ रोपेँ, अहिले त्यो वृक्ष बृहत् भएको छ' उदय भन्छन् ।
व्यायाम मन्दिरमा उनी दुई वर्ष एक कार्यकालमात्र अध्यक्ष भए । त्यस अवधिमा थुप्रै काम गरे पनि आफूलाई सन्तुष्टि भएको काम भने धर्म श्री भएको उनी बताउँछन् ।उनले २०४४ सालमा व्यायाम मन्दिर छाडे । व्यायाम मन्दिरको अध्यक्ष र प्रशिक्षक छाडेपछि उदय जजमेन्टतर्फ लागे । वि.सं २०४६ देखि जजको भूमिका निर्वाह गर्न थालेका उदय एसियन लाइसेन्स प्राप्त जज हुन् । उनले भारतको बनारसमा भएको वल्र्ड च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका थिए । यसबाहेक घरेलु प्रतियोगितामा पनि उनले निर्णायकको भूमिका निर्वाह गर्दै आएका छन् । अहिलेसम्म उनले एक सयभन्दा बढी प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।
उनी जहाँ गए पनि साथीभाइ पछि लाग्ने र जिम सिकाउन आग्रह गर्न थालेपछि उदयले बाध्य भएर २०४५ सालमा ताहाचलमा जिमखाना खोले । जिमखाना खुलेपछि उनले सोचेभन्दा पनि बढी मानिस आउन थाले । मानिसको चहलपहल बढेपछि उत्साहित भएका उनले सधैं यही पेसालाई निरन्तर रूपमा अगाडि बढाउने योजना बनाए ।
सबैका लागि ताहाचल उपयुक्त नदेखिएपछि उनले पुतलीसडकमा जिमखाना सारे । त्यहाँ आधुनिक उपकरण थपे । आफैं इन्स्ट्रक्टर भएर जिम चलाए । थुप्रैलाई गठिलो शरीर बनाउन सिकाए । शारीरिक प्रतियोगितामा सहभागी हुन योग्य बडी बिल्डर तयार गरे ।
उदय अहिले पनि जिमखाना चलाइरहेका छन् । बागबजारमा 'अक्सफोर्ड जिम एन्ड फिटनेस सेन्टर' चलाइरहेका उनी हरेक दिन एक डेढ सय जनालाई जिम र फिटनेससम्बन्धी तालिम दिन्छन् । उनले इन्स्ट्रक्टर भएर अहिलेसम्म हजारौंलाई जिम र फिटनेसका जानकार बनाइसकेका छन् ।'जीवनको लामो समय यसैमा बिताएँ । अब यस पेसाबाट अलग हुने कल्पना पनि गरेको छैन । बाँचुञ्जेल यही पेसामै समर्पित हुन्छु' उदयले आफ््नो भावी योजना सुनाए ।
सुरुमा ३० लाखभन्दा बढी लगानी गरेका उनको जिम आधुनिक उपकरणले सुसज्जित छ । 'अहिले नयाँ प्रविधिलाई सधैं फलो गरिरहनुपर्छ । नयाँ र एड्भान्स प्रविधि अपनाउन सकिएन भने पछि परिन्छ' उनले भने ।जिमखाना धाउनेले मासिक ५-६ हजार रुपैयाँ खर्चनै पर्ने हुन्छ । तर, प्रतियोगितामा सहभागी हुनेले भने यति खर्च गरेर पुग्दैन । महिनामा कम्तीमा ५० हजार खर्च गरे मात्रै गठिलो शरीर बनाउन सकिने उदयले बताए ।
पछिल्लो समय शारीरिक सुगठनमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएको अनुभव उनको छ ।'पहिलेभन्दा बडी बिल्डिङ क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ । हाम्रा खेलाडीले पनि विदेशमा पदक जित्न थालेका छन् । शारीरिक सुगठनमा पनि नयाँ सम्भावनाहरू देखिएका छन् । त्यसैले अहिले पनि आफूले जिम रोजेर ठीकै गरिएछ जस्स्तो लाग्छ,' उनले भने ।
तर, फिटनेस सेन्टरको व्यवसायबाट भने उनी त्यति सन्तुष्ट छैनन् । 'रहरै रहरमा सुरु गरेको पेसाबाट अलग हुने अवस्था त छैन तर पनि यस पेसाबाट उति सन्तुष्ट छैन । अहिले जताततै जिमखाना खुलेका छन् । प्रतिस्पर्धा पनि उस्तै छ । यही पेसाबाट परिवार पाल्न सक्ने अवस्था छैन,' उनले दु:खेसो पोखे 'तर आफूले जानेको यही पेसा भएकाले यसबाट अलग भने कहिले पनि हुन्न । जस्तोसुकै परिस्थितिमा पनि यही पेसालाई अगाडि बढाउँछु ।'
मोटो र बलिष्ठ शरीर, हँसिलो मुहार र मृदुभाषी उदय हत्तपत्त कसैको पनि विरोध गर्दैनन् । 'मानिसले कर्ममा लेखेको कुरा पाउँछ, देखेको पाउँदैन' भन्ने मान्यतामा अडिग उनले जीवनमा धेरै सुनौला अवसर गुमाए । चाहे वैदेशिक भ्रमणको अवसर होस् या विदेशमा बसाइँको अवसर- उनले जे गुमाए पनि पछुतो रत्तिभर पछुतो छैन । भन्छन्- 'जुन कुरा मेरो भाग्यमा लेखेकै थिएन, त्यस कुरामा मैले पछुतो किन मान्नु ।'