संशयमा निबन्ध
नेपाली साहित्यिक वृत्त बहुत बाचाल छ अहिले । नयाँ वर्ष प्रवेशसँगै नयाँ कृतिहरू धमाधम विमोचनको लस्करमा छन् । लेखकहरूको उत्साह चुलिएकै देखिन्छ । आख्यानकारहरू पुस्तक विमोचनसँगै देश दौडाहामा निस्किरहेका छन् । कविहरू अनेकन कवि गोष्ठी र कविता वाचनमा मञ्च तताइरहेका भेटिन्छन् । तर, निबन्ध ? आख्यान र कविताभन्दा पर सिमानामा कतै उँघिरहेको त हैन ?
संशयपूर्ण नजर सल्बलाइरहेझैं लाग्छ ।
एउटा निर्बन्ध विधा हुनुको फराकिलोपन हुँदाहुँदै पनि केही उपविधामा खुम्चिरहेछ निबन्ध भन्ने टिप्पणी बारम्बार पाठक र समीक्षकबाट आउन थालिसकेको छ ।
के निबन्ध वास्तवमै संकटमा छ ?
प्रश्निल भइबस्छु बेलाबखत ।
संशय लहर
नेपाली साहित्यमा पछिल्लो समय ज्यादै रुचाइएको विधा आख्यानमा उपन्यास र गैरआख्यानमा आत्मकथा हो । निबन्धकै एक उपविधा आत्मकथात्मक संस्मरणले पपुलारिटीको शिखरै चुमेजस्तो देखिन्छ । तर, विचार र कलाको सुन्दर संयोजन भएको हार्ड कोर निबन्धको अवस्था भने संकटग्रस्त भएको समीक्षक पाठकहरूले बारम्बार औंल्याउने गरेका छन् । समीक्षक राजकुमार बानियाँ त निबन्ध खुद्रे लेखोटमा खुम्चिसक्यो, छापामा मात्रै सीमित भइसक्यो भन्न पनि पछि पर्दैनन् । उनी निर्धक्क भन्छन्, 'हार्ड कोर निबन्धको संकट नै छ ।' एकातिर बानियाँहरूको संशय चुलिएकै बखत निबन्ध संकटग्रस्त नभई निकै फैलिएको देख्नेहरू पनि छन् ।
नियात्रा, संस्मरण, डायरी, व्यक्तिचित्र, आत्मसंस्मरण, रचनागर्भजस्ता निबन्धका उपविधा निकै फस्टाइरहेको पाइन्छ । विविध धारणा हुँदाहुँदै पनि आत्मसात् गर्नैपर्ने सत्य यो हो, निबन्ध विधा मूलत: संस्मरण र यात्रा संस्मरणमा सीमित भएको छ । आत्मपरक शैलीका गहन चिन्तन भएका वा वस्तुपरक निबन्ध (जसलाई जानकारहरू हार्डकोर निबन्ध पनि भन्ने गर्छन्) भने सुस्ताएकै जस्तो देखिन्छ । वैचारिक निबन्ध टाक्सिएकै हो भन्ने लाग्छ निबन्धकार रोशन शेरचनलाई पनि । त्यस्तै समकालीन निबन्धबारे गुनासो मि िश्रत भाव पोख्छन् निबन्धकार बलराम अधिकारी पनि । अधिकारी भन्छन्, 'निबन्धकारले दिने त विचार नै हो । नत्र भने फिक्सन लेख्दा भइगयो नि ।'
लक्ष्मीप्रसाद देवकोटा, जनकलाल शर्मा, बालकृष्ण सम, हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधानहरूले लेखेजस्तो चिन्तन र अनुभूतिको कलात्मक मि श्रणको उच्चता भएका निबन्धहरू जो निबन्धको निश्चय नै अभाव छ । त्यतिमात्र नभई शैलीगत हिसाबमा बे्रक थु्र गरेका शंकर लामिछानेका जस्ता बौद्धिक प्रयोगधर्मी निबन्धको त हाहाकार नै छ ।
निबन्धको झड्कामा मस्तिष्क रन्थनाउन चाहने पाठकसँग गुनासोभन्दा अरू छैन । त्यस्ता मथिंगल
हान्ने निबन्ध आउन नसक्नुका विविध कारण होलान् । धेरैले औंल्याउने चाहिँ विषयगत कमजोरी नै हो । हुनसक्छ, हामी सीमित विषयको घेरामा नै अल्झिरहेका छौं । हाम्रो अध्ययनको दायरा नेपाली साहित्यकारले लेखेको भन्दा टाढा र कोरा साहित्यभन्दा पर पुगेकै छैन । विविध विषयको अध्ययन अभावकै कारण निबन्धको विषय खुम्चिएको हो । रोशन शेरचनलाई लाग्छ, हामीले हाम्रा निबन्धहरूमा बहुलविषय ल्याउन सकेनौं । निश्चय नै । विविध विषयसँग खेल्नका लागि जरुरी छ फराकिलो अध्ययन । लेखकहरूको अध्ययन संस्कारप्रति शंकालु छन् समीक्षकहरू । साहित्यकारले लेखेकोलाई मात्र हामीले साहित्यिक कृतिको रूपमा हेर्ने र पढ्ने गरिरहेका छौं, उनीहरू टिप्पणी गर्छन् ।
चैतन्य मि श्र, हर्क गुरुङ, तीर्थबहादुर श्रेष्ठ, दयानन्द वज्राचार्य, सौरभ, आहुति लगायतले विविध विषयमा लेखिरहेका लेखहरू सुन्दर निबन्धकृति हुन् । तर, धेरै लेखक पाठकले ती फरक विषयमा लेखिएका निबन्धहरूलाई साहित्यिक लेखनका रूपमा आत्मसात् नै गर्न सकेका छैनन् । यो एकखाले खुम्च्याइ नै हो । यही खुम्च्याइका कारण निबन्धमा विविध विषय आउन नसकेको दाबी गर्छन् राजकुमार बानियाँ । बानियाँकै भनाइ स्वीकार्छन् निबन्धकार शेखर खरेल पनि । खरेललाई लाग्छ, निबन्ध लेख्न विषयको अभाव हैन । अन्य विषयको अध्ययन, चिन्तन, साथै भ्रमण संस्कार कमजोर भएका कारण हाम्रा निबन्धको घेरा अलि सीमित भएको हो ।
अलिकति देवकोटा, अलिकति लामिछाने, अलिकति प्रधान अनि अलिकति आफैंजस्तो हुने टापटिपे प्रयासमा घरको न घाटको जस्तो बेहाल भएका छन् आजका निबन्धकार ।
निबन्ध लेख्न निर्भीकता जरुरी हुन्छ किनकि यसमा आख्यानमा जस्तो कल्पनाशीलताको लेप लगाएर भाग्न पाइँदैन । साथै आख्यानकारलाई जस्तो यो त लेखकको कल्पनामात्र हो भन्ने छुट पनि हँदैन निबन्धकारलाई । निबन्ध पाठकसँग प्रत्यक्ष संवादमा रहने विधा हो । निबन्धकार आफ्नो अभिव्यक्तिप्रति जवाफदेही हुन्छ, हुनुपर्छ । तथ्यपरक लेखनका लागि त अध्ययनको दायरा निकै नै फराकिलो हुन जरुरी छ । समीक्षकहरूले बारम्बार उठाउने गरेको मुख्य विषय आजका लेखकहरूको संकटग्रस्त अवस्था हो । अध्ययनको संकट, चिन्तनको संकट र शैली र विषयमा फराकिलोपनको संकट ।
निबन्धका केही उपविधाको अवस्था झन् कमजोर देखिन्छ । कुनै बेलाको निकै चर्चित निबन्ध विधा हास्यव्यंग्य कुनै बखत निकै चर्चित विधा थियो तर आज केही पत्रिकामा लेखिने हप्ते लेखमा मात्र सीमित भइसकेको छ । केशवराज पिँडाली, भैरव अर्याल, श्रीधर खनाल, तेजेश्वरबाबु ग्वंग:हरूका जस्ता हास्यव्यंग्य निबन्ध पक्कै लेखिइरहेका छैनन् अचेल । खगेन्द्र संग्रौला, किशोर नेपालहरू थोरबहुत व्यंग्य छेड्छन् आफ्ना निबन्धमा तर अर्याल, पिँडाली, गोतामे या राजकुमार पाँडेहरूले लेख्नेजस्तो फुल फ्लेज्ड हास्यव्यंग्य निबन्ध भने आज लेखिन सकेको छैन ।
पहिले निकै फस्टाएको निबन्धका यस्ता उपविधाहरू आशातीत रूपमा अघि बढ्न नसकेको कारण पनि निबन्धप्रति संशय लहराएकै समय हो ।
अनुभूतिको तीव्रता
अनुभूतिको गर्तबाट निस्किएका भाव साह्रै सशक्त हुन्छन् । त्यसमा पनि अझ पीडाको तीव्र अनुभूतिले त जोकोहीलाई अँट्ठ्याइहाल्छ । निजी अनुभूतिको सँगालो संस्मरणात्मक निबन्धहरू या आत्मकथात्मक निबन्धहरू लेखन या पाठकहरूको रोजाइको हिसाबले पनि निकै अगाडि देखिन्छ । पछिल्लो समय त नेपाली साहित्यमा सबैभन्दा बढी चर्चामा रहेको विधा नै आत्मकथा हो । आत्मकथा छुट्टै विधाका रूपमा स्थापित देखिए पनि यो निबन्धभित्रकै एक उपविधा भएको समालोचकहरू मान्दछन् ।
वस्तुपरक, वैचारिक वा दार्शनिक निबन्धहरूको संकट भएको टिप्पणी उठिरहेकै बखतमा फेरि आत्मपरक, संस्मरणात्मक निबन्धहरू भने निकै नै मौलाएको देखिन्छ । गणेश रसिकको 'दसगजामा उभिएर' नामक संस्मरण असाध्यै रुचाइएको कृति हो । झमक घिमिरेको 'जीवन काँडा कि फूल होस्' वा 'आनी छोइङ'को 'फूलको आँखामा' दुवै नै नेपाली साहित्यमा बिक्री वा चर्चाको हिसाबले सनसनी मचाएका आत्मसंस्मरणहरू हुन् ।
सम्भवत: विचारको खरो सुक्खापनले भन्दा अनुभूतिको कोमलताले नै धेरैको मन छुने गर्छ । अनुभूतिप्रधान निबन्ध लेखेर ख्याति पाएका निबन्धकार श्रीओम श्रेष्ठ रोदन त किटेरै भन्न पछि पर्दैनन्— निबन्धमा अनुभूति एकदमै आवश्यक छ । अनुभूतिबिनाको निबन्ध त निबन्ध नै होइन ।
अनुभूति वा विचारका पक्षी विपक्षीका आफ्नै खाले तर्क वितर्कहरू होलान् । तर, निश्चय नै हामी सधैं मस्तिष्कबाट मात्रै चल्न सक्दैनांै । हामीभित्रको कोमलपन, मानवीय संवेग, अनुभूतिहरूले हामीलाई कुनै न कुनै तरिकाले असर गरेकै हुन्छ । यही मानवीय गुणका कारण हामी अरूका पीडा वा अनुभूतिबाट बढी नै प्रभावित हुन्छौं । त्यसैले पनि होला, निबन्ध लेखनमा संस्मरण नै हावी भएको । गम्भीरतापूर्वक नियाल्ने हो भने आज लेखिइरहेका निबन्धमा संस्मरणात्मक निबन्धकै पल्ला भारी भेटिन्छ । छुट्टै साहित्यिक उचाइ बनाइसकेका किशोर नेपालदेखि शारदा शर्मा वा रोशन शेरचनसम्मकै निबन्धसंग्रहमा पनि संस्मरणात्मक अनुभूतिप्रधान निबन्धको राम्रै संकलन भेटिन्छ । पाठकलाई मज्जाले तान्ने संस्मरणात्मक अनुभूतिले नै हो ।
शारदा शर्माको 'अग्निस्पर्श'भित्रका अन्य वैचारिक निबन्धहरूले भन्दा नारी संवेदनाका भावले नै धेरैको मन छोएको हुनुपर्छ । नारायण ढकालको 'गिन्सबर्ग, बुटपलिस र खापीभित्रको नगरा' पाठकको मनमस्तिष्क चिरकालसम्म ढक्ढकाइरहने संस्मरण भएको छ । रोशन शेरचनका विचारप्रधान खरा निबन्धभन्दा हजुरआमासँगको संस्मरण समेटिएको 'हजार मुजा' एउटै आकाश नामक निबन्ध नै पाठकको मनमा रहन सफल छ ।
श्यामलको भूपि या कृष्णचन्द्रसिंह प्रधानसँगको संस्मरण होस् वा रेशम विरहीको 'स्विपर मालती'भित्रको अनुभूतिको तीव्रता, त्यसैले नै हामीलाई बढी छोएको छ । गीता त्रिपाठीको 'म एक्लो र उदास उस्तै'मा उतारिएको पीडाको अभिव्यक्ति होस् वा आमा हुनुको खुसीका पाटाहरू उतारिएको रजनी ढकालको अतिरिक्त मूल्य अथवा मोमिलाका अस्तित्व चेतले ओतप्रोत भएका आत्मपरक शैलीका निबन्धहरू नै किन नहोस् पाठकले निकै धेरै रुचाएका छन् ।लेखन र पठनको सन्दर्भ नियाल्दा अनुभूतिप्रधान संस्मरणात्मक निबन्धहरूको अवस्था राम्रै देखिन्छ ।
यात्रा छलाङ
जंगबहादुरको बेलायत यात्राबाट सुरु भएको यात्रावृत्तान्तका वर्णन अहिले निबन्धको एक सशक्त उपविधा बनिसकेको छ । लैनसिंह बाङ्देल, यादव खरेल वा तारानाथ शर्माहरूले नेपाली पाठकमाझ यात्रा निबन्धलाई निकै पपुलर बनाएका हुन् । पछिल्लो समय देशमा आएको अनेकन सामाजिक, राजनीतिक, आर्थिक परिवर्तन, बदलिँदो समय, नयाँ जीवनशैली र संस्कारको विकाससँगै लेखकहरूमा पनि देशविदेश घुम्ने हुटहुटी बढेको देखिन्छ । घुमाइका बखत देखेका भोगेका अनुभूति लेख्ने प्रचलन पनि उत्तिकै मौलाएको छ ।
कतिपय लेखक लेख्नकै लागि घुम्छन् भने कति घुमेर केही भेटिए वा मनमा लागे लेख्छन् । त्यो लेखकीय स्वतन्त्रता पनि हो । उषा हमालको 'सागओल अजरबैजान' निकै मन पराइएको यात्राकृति हो । हमालले आफूले देखेका दृश्य मात्र भन्दा पनि अजरबैजानको इतिहास, राजनीति, जनजीवन संस्कृतिको विषयमा अनेकन पाटाहरू खोलिदिएकी छन् । यात्रा विषयमा लेख्ने लेखकहरूको लिस्ट निकै लामो भइसकेको छ । तर, यात्रामा यात्राका वर्णनमात्रै हावी छ या केही गुदी पनि ? भन्नेचाहिँ मूल प्रश्न हुनसक्छ ।
पछिल्लो समय अनगिन्ती यात्रा संस्मरणहरू आएका छन् । युरोप, अमेरिकादेखि नेपालकै विभिन्न स्थानका संस्मरणहरू छ्यापछ्याप्ती भएका छन् । यात्रा कृतिकारहरू अनेकन पुरस्कार र सम्मानका हकदारसमेत भइसकेका छन् नै । त्यो सुखद प्रसंग हो । यात्रा लेखनमा आएको गतिले उत्साह थपे पनि एकपटक अडिएर सोच्न जरुरी छ, हामी कस्ता नियात्रा लेख्दैछौं ?
काठमाडौं छाडी अलि तल माथि दुईचार दिन घुम्ने बित्तिकै निबन्ध लेखिहाल्ने लेखकको कमी छैन । लेख्नकै लागि भनेर एकहप्ते घुमाइ गर्ने अनि तीन सय पृष्ठको निबन्धसंग्रह निकालिहाल्ने लेखकहरूको पनि बिगबिगी नै छ । यस्तो लेखनले यात्रानिबन्धको गुणात्मकतालाई भने कतातिर लैजाला भन्ने शंका उत्पन्न हुन्छ । कतिपय यात्रावृत्तान्तमा आउने गुगलीय वर्णनभन्दा पनि त्यहाँको समाज, परिवेश, भाषा, जीवनशैली लगायतका नितान्त नौलो विषयवस्तुप्रति विशेष चासो राख्ने गर्छन् आजका सजग पाठकहरू । निकै फस्टाएजस्तो देखिएका यात्रा संस्मरणहरू वास्तवमै पठनयोग्य छन् छैनन् भनी मनन गर्ने बेला भइसकेको छ ।
निबन्धको मिसयुज
निबन्धमा झ्याँगिएका हाँगाबिँगा र फराकिलो भएको दायरा गम्दा निकै आनन्दित हँदाहुन् पाठक ।
'साहित्यवृत्तभन्दा पर अन्य क्षेत्रका लेखक पनि निबन्धमा समेटिएका छन् । धेरै भन्दा धेरै पाठक र सर्जक समेट्ने विधा हो निबन्ध ।' निबन्धकार रजनी ढकालले यसो भनेको सुनिरहँदा लाग्छ, कम्तीमा निबन्धको पाठकका लागि यो स्वर्णिम समय हो ।
फेरि केही पाठक-समीक्षकको टिप्पणीले पहिलो गाँसमै ढुंगा पारिदिन्छ । पत्रकार लक्षण श्रेष्ठ त ठोकुवा गरेरै भन्छन्, 'निबन्ध साँच्चै कमजोर छ । व्यक्तिचित्र, संस्मरण र यात्रावर्णनमै मात्र सीमित पाइन्छ । तीन दशकमा यति धेरै राजनीतिक, सामाजिक उथलपुथल हुँदा एउटा पनि गतिलो विचारक नजन्मनु निबन्धको सीमितताको प्रमाण हो । निबन्धमात्र होइन, साठीको दशकमा त आख्यानमा पनि गतिलो केही लेखिएकै छैन । साठीको दशकमा आख्यानले दुईचारबाहेक गतिलो पात्र निर्माण गर्नै सकेको छैन ।'
एकछिन गम्न बाध्य पार्छ उनको टिप्पणीले । पपुलारिटी, बजार र बिक्रीको हिसाबले आख्यानले छलाङ नैै मारेको दाबी गरिहेकालाई श्रेष्ठको टिप्पणीले कडै झड्का दिन्छ ।
आजका निबन्धकारले एकातिर देवकोटा र लामिछानेको छायाबाट छुट्कारा खोज्नु छ भने अर्कातिर आफ्नो छुट्टै शैली निर्माणको भयंकर चुनौती पनि छ । यही रन्कोमा अलिकति देवकोटा, अलिकति लामिछाने, अलिकति प्रधान अनि अलिकति आफैंजस्तो हुने टापटिपे प्रयासमा घरको न घाटको जस्तो बेहाल भएका छन् निबन्धकार । यो निश्चय नै निबन्ध सकसमा परेको समय हो ।
निबन्धका अनेकन उपविधा छन् र भविष्यमा अझ अरू पनि थपिँदै जालान् । जे जति फैलावट र विशेषताहरू थ्पिँदै गए पनि निबन्धका केही आफ्ना निहित गुण छन् नै । त्यही गुणले नै निबन्धलाई आख्यान र कविताभन्दा भिन्न छु भनी दाबी गर्ने सामथ्र्य प्रदान गरेको छ । स्वीकारौं वा नस्वीकारौं, निबन्धको जरा विचार नै हो ।
त्यही विचारलाई अनुभूतिको गहिराइसँग मिलाएर कलात्मक ढंगले पस्कन सक्दा नै एउटा सुन्दर निबन्ध तयार हुन्छ । धेरै पाठक र समीक्षकले खोजेको हार्डकोर निबन्ध भन्नु पनि विचार र अनुभूतिको सन्तुलत भएको अभिव्यक्ति नै हुनुपर्छ । वास्तवमा त्यस्ता निबन्धहरूको संकट बेहोरिरहेकै छ आजको नेपाली साहित्य । रोशन शेरचन भन्छन्, 'लेखिसकेपछि अरू केही नभए पनि निबन्ध त हुन्छ हुन्छ । कि राम्रो निबन्ध हुन्छ या खराब।' हो हामी निबन्धको यही फराकिलो दायराको मिसयुज गरेर मन लागेको जे पनि लेख्दै निबन्ध लेखेको दाबी त गर्दैछैनौं ?