समाधि
ऊ गएपछि, यस्तो भन्न सकिन्थ्यो, 'गयो ।' त्यस्तो भनिएन तर भनियो, 'मान्छे गज्जबको थियो ।' यसको अर्थ सधैंका लागि सिधारिएको होइन । यताउति देखा पथ्र्यो, देखा पर्न छाड्यो । नेताहरू मर्दा यस्तो भनिन्छ, कहीँकतै एउटा रिक्तता पैदा भयो । यस्तो पनि भनिन्छ- अपूरणीय क्षति भयो । अपूरणीय क्षति त के हुनु थियो, मरेको दिनैदेखि त्यो पद वा स्थानका लागि हानाहान र तानातान सुरु भइहाल्थ्यो । त, ऊ गएपछि एउटा रिक्तता पैदा भएको मानियो । तर ऊ फर्केर आउँछ भन्ने धेरैलाई विश्वास थियो, थिएन त्यो सर्भेक्षण गरिएन ।
मान्छे सानो गाँठीको थियो, जता पनि अटाउँथ्यो । धेरै ठाउँ नचाहिने, सजिलो । हराएकोमा पनि धेरै रिक्तता अनुभव गरिएन । एउटा बानी यो थियो, अरूलाई ठाउँ छाडिदिने, स्पेस दिइहाल्ने । समस्या यो थियो कि उसले छाडेको ठाउँ कम हुन्थ्यो, सानो, साँघुरो र भनियो सानो गाँठीको थियो त्यसैले उसले छाडेको स्पेसमा कम मान्छे अटाउँथे । त्यसैले यो भन्न पनि सजिलो र सार्थक थियो कि ऊ गएपछि रिक्त हुन आएको ठाउँ भरिन मुस्किल छ । कारण स्पष्टै छ, सानो गाँठीको मान्छेले छाडेको ठाउँ नै कति फराकिलो हुन्छ र ?
पात्र थियो ऊ । त्यसो त थियो भइसकेको छैन, मुलुकभित्रै कतै होला । वा कुनै एक ठाउँ । जहाँ होला सुखी होला । यस्तो कल्पना गर्न सकिन्थ्यो । खासमा ऊ पिउँथ्यो । बढी नै पिउँथ्यो । उसले जस्तो लगातार चिया कमैले पिउन सक्थे । भनिन्थ्यो, उसलाई नेपाल टिबोर्डले चिया टेस्ट गर्न बोलाएको थियो, राम्रो पारि श्रमिक दिएर तर ऊ गएन । हराएपछि ऊ काल कवलित भएको त छैन, यस्तो विश्वास थियो । ऊबारे धेरै थोक जन श्रुतिमा परिणत भइसकेको भन्नु उपयुक्त हुँदैनथ्यो । यद्यपि ऊ जन श्रुति हुन लायकको मानिस थिएन । सानो गाँठीको थियो । तैपनि बेलाबेला याद दिलाइरहनुपर्ने विशेषता हो, उसको व्यक्तित्वको । विशेषता पनि के थियो र ?
इतिहासबाट पाठ सिक्न त सकिन्छ तर आफूले चाहेजस्तो पाठ सिक्न पाउने गरी स्वेच्छाचारीपूर्वक इतिहासलाई बिगार्दै जाने हो भने के गर्ने नि ?
त्यसै एउटा सानो बेमेलको अस्तित्व थियो ऊ । मुद्रा चिन्तनको हुन्थ्यो । ओशोको जस्तो । ओशोवादी थियो कि ! कठिनाइ थियो यसो भन्न पनि । सर्कलमा ओशोबारे गहन ज्ञान भएको कोही थिएन । थिएन भने पनि ओशोलाई अनुकूल पारेर सम्झिँदा एउटा समयको चरित्रलाई आत्मसात् गर्न पुगिन्थ्यो । कारण यो थियो, हामीमध्ये धेरै ओशोको सम्भोगदेखि समाधिसम्मको दर्शनमा लिप्त हुन चाहन्थ्यौं । यद्यपि समाधिसँग नारिएर आएको अर्को पक्षबारे धेरैलाई ज्ञान भए पनि समाधि लगाउने तरिका थाहा थिएन । यद्यपि बिहेपछि लगालग दुईतीन वटा सन्तान सबैले जन्माउने पुरुषार्थ गरिसकेका थिए । त्यसैलाई उनीहरू समाधि लगाएको भन्थे । तैपनि समाधिबारे धेरैमा भ्रम नै थियो, शब्द 'समाधि' प्रति सबैमा आकर्षण र मोह थियो, आदर पनि ।
त ऊ समाधि लगाउन पाइरहेको थिएन । मजाकमा सर्कल भन्थ्यो - 'यो मान्छे समाधिस्थ हुन पाइरहेको छैन ।' ऊ पनि फिस्स हाँस्थ्यो । समाधिका लागि उसको जोरजाम थिएन भन्नु अनुचित हुनेछ । घर थियो, आमाबाबु थिए, साठीतिरका । उसकी आमा बाबुभन्दा तीनचार वर्षले कान्छी थिइन् । त्यसैले आमाबाबु दुवै साठीका थिए भनेजस्तो नपरोस् । ऊभन्दा माथि तीन दिदी थिए । ती सबै समाधि आकांक्षी पुरुषका फाँदामा गइसकेका थिए, जग्गेमा अग्नि साक्षी राखेर, सिउँदोमा लपक्कै सिन्दूर हालिएर । तर ऊ एउटै थियो घरमा । 'वन एन्ड वन्ली सन', मजाकमा साथीहरू भन्थे । उसको बिहे हुन सकेको थिएन । नजुरेको मात्र हो । जुरेको दिन स्वत: स्वत: बिहे भइहाल्ने थियो । उसका इष्टमित्र नातागोता मातापिता कन्या जुराउन अत्तालिएका थिए । 'बिहे हुनु ठूलो कुरो होइन', ऊ भन्थ्यो । लेखेको नभई देखेको हुँदैन भन्ने भनाइमा उसले दह्रोसित टेकेको थियो।
सर्कलकाहरू बहुतै फराकिलो तरिकाले सोच्दै छन्- ऊ गयो त कहाँ गयो ? मान्छे हावामा बिलाए जस्तो भयो । सानो गाँठीको हुनाले यहीँ गयो भन्न नसकिने टाइपको रहस्य भइदियो । 'तर ठूलै रहस्य त होइन,' सर्कलको कसैले भन्यो । ठूलो रहस्य होइन भन्न उसले सम्पूर्ण महाभारत कण्ठाग्र गरेजस्तो भन्यो । वास्तवमा ठूलो रहस्य नहोला, ऊ गायब हुनुको, तर सानै भए पनि त्यो रहस्य कसैले फुकाउन सकिरहेको थिएन । कालान्तरमा कसैले उत्खनन गरेमा त्यो फेला पर्ने सम्भावना थियो होला । तर खण्डहर पहिल्याएर हुने के थियो र ? एउटा मेटिएको सभ्यताको रोचक कथा अगाडि आउन त सक्थ्यो तर त्यसलाई सजीवता दिन सकिन्नथ्यो । यसो भनुँ, इतिहासबाट पाठ सिक्न त सकिन्छ तर आफूले चाहेजस्तो पाठ सिक्न पाउने गरी स्वेच्छाचारीपूर्वक इतिहासलाई बिगार्दै जाने हो भने के गर्ने नि ?
यो सब साइड टक थियो । रहस्य त उसैसित समाधिस्थ थियो । जेलाई रहस्य भनियो, त्यो उसैलाई थाहा थियो । उसको बयान पाउन सकिन्नथ्यो । ऊ धेरै बोल्ने जीव पनि थिएन । बीचमा खुम्चिएर बस्थ्यो र अरूले भनेको कुरामा हाँस्थ्यो । त्यो पनि ठूलो स्वरमा होइन, केवल कुनै अदृश्य शक्तिले दबाइरहेजस्तो । मुलुकमा केही भयो भने विदेशी हात छ भनेजस्तो । उसको हाँसोमा कुन विदेशीको हात हुन सक्थ्यो ? जस्तै हामी खुलेर हाँस्न सक्दैनौं, कतै फेरि धेरै हाँसेमा नाकाबन्दी भइहाल्ने पो हो कि ? तर ऊ गम्भीर मनन् गरिरहेको ज्ञानमार्गी जस्तो देखिन्थ्यो । यो खतराको संकेत थियो ।
सर्कल भन्थ्यो बढी गम्भीरता एउटा बिरामी हो जस्तै सबै राष्ट्रिय समस्यालाई सरकार भन्थ्यो गम्भीरतापूर्वक लिइएको छ तर परिणाम केही आउँदैनथ्यो । खासमा ज्ञानमार्गमा हिँड्दाहिँड्दा अब ज्ञानद्वारमा पुगियो पुगियो भन्ने बेला हाँसियो भने सब साधना भ्रष्ट भएर पुन: शून्यमा फर्किनु पर्ला भन्ने भयले ऊ थोरै हाँस्थ्यो । लोकव्यवहार पनि रहोस्, ज्ञानमार्ग पनि नछुटोस् । तर जीउको गाँठी सानो भएकाले मानिसहरू ऊभित्र त्यति धेरै ज्ञान खाँदिएको होला भन्ने पत्याउँदै पत्याउँदैनथे । एउटा पुरानो उखानमा जस्तो, फिस्टोले आमालाई फुइँ दिन बाँसको टुप्पोमा बसेर त्यसलाई निहुराएर भनेथ्यो । तर ऊ फिस्टो जत्ति मुखर पनि थिएन । फिस्टो वातावरण खज्मजिने गरी कति बोल्दो हो तर मुखर चाहिँ हुन्छ । दुई विशाल छिमेकीका बीचमा यताका नेता फिस्टा भएको लागू हुन्छ तर नेताहरू आफ्ना जनताका अगाडि बाँसको टुप्पो निहुरायौं भन्न छाड्दैनन् !
सर्कलले लख काट्यो- ऊ अविवाहित छ त्यसैले मुखर छैन । सर्कलका सबै विवाहित थिए र चटारोमा हुन्थे । गुनासोहरू गनगन गरिहन्थे । पसलमा बसेर एक कप चिया खान फुर्सद हुँदैनथ्यो । फुर्सद निकाल्न गाह्रो छ भन्थे ती । अरूको पालोको चिया खाएपछि आफ्नो पालोमा पैसो तिर्नुपर्ने बाध्यता थियो । गृहस्थीका पनि अनेक बाध्यता थिए । उनीहरू बाध्यता खप्टाउन चाहँदैनथे । त्यसैले बिहेपछि चिया खाने मेलोबाट पन्छिन्थे।
यो थियो कि संसार आफ्नै गतिमा चल्छ । कसैमा यसलाई रोक्ने हुती छैन । संसारको आफ्नै क्यालेन्डर छ । सर्कल वा सोसाइटीलाई अरूको मतलव थिएन तर संसारप्रति उनीहरू विश्वस्त थिए । जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने सिद्धान्तमा अटल । नराम्रो पनि राम्रैका लागि हुन्छ भने राम्रो त झन् राम्रोका लागि हुने नै भयो । कथाको निष्कर्ष होइन यो पिक्चर बाँकी छ तर ट्रेलर पार गरेर आइसकियो ।
कथाको प्रसंग अगाडि बढाउँदा भन्न सकिन्छ, ऊ जो थियो एक अत्यन्त गम्भीर प्रकृतिको व्यक्ति थियो । ऊ गम्भीर हुनुको सरोकार यहाँ यत्ति कि उसका आमाबाबु र दिदीहरूले उसको बिहेलाई दृष्टिगत गरी घर बनाइदिएका थिए । अघि नै भनियो ऊभन्दा माथि दिदीहरू मात्र छन् र ऊ कान्छो हो । त पात्रलाई हामी 'कान्छो' भनेर सम्बोधन गर्न सक्छौं ।
कान्छोको घर बन्यो । बाबुले घर बनाइदिऊँ कि बिहे गरिदिऊँ भनेर छोरालाई सोध्दा दूरदर्शी छोरोले 'बा, घर बनाइदिनुस्, बिहे त म आफैं गरुँला' भनेथ्यो रे । तर यहाँ कथामा त्यस्तो भएन । बाबुआमाले कान्छोको घर पनि बनाइदिए, बिहे पनि गरिदिए । कान्छोको बिहेप्रति गाउँ समाजमा यस्तो धारणा बन्यो, घर नबनाइदिएकाले बिहेकी केटी नजुरेको रहेछ । घर पनि बन्नु र केटी पनि टक्रिनुलाई शुभ सञ्जोग माने तिनले । बिहे भयो ।
नातिको न्वारनमा तीन हजार पैंतीस सय जतिलाई पाँचतारेमा भोज खुवाएजस्तो रौनक त भएन, रौनक नभनुँ, भव्य त भएन तर कान्छोको बिहे धूमधामसित भयो । बिहे एउटा सामाजिक कार्य हो । सर्कलले यस्तो भन्यो । सामाजिक कार्यमा सबैको सहयोग रहनुपर्छ । कान्छोको बिहेमा त्यसैले उनीहरू सरिक भए र धूमधामले खानेपिउने काम गरिदिए ।
बिहेपछि बुहारीबारे सासूससुरामा राम्रो धारणा बन्यो । बुहारीले जानेकी थिई, मिसाए मात्र फोहोर छुट्याए मोहोर । बुहारीको फोहोर र मोहोर छुट्याउने बुद्धि र दक्षताले सासूससुरा चकित थिए र मक्ख पनि । असल बुहारी फेला परी भन्ने प्रभाव कायम हुन आयो । अचेलका बुहारीको मापदण्ड यही थियो । बुहारी हुलेपछि केही समय रमाइलै गरी बित्यो । समय खोलोजस्तै बगिरहन्छ भन्छन् । खोलो सुक्न सक्छ, समय रोकिँदैन । अचेलको ग्लोबल वार्मिङ, वन फँडानी र वातावरणीय असन्तुलनले खोलो सुकेर गायब हुन सक्छ । निरन्तर बगिरहने खोलो समयको गर्भमा बिलाउन सक्छ र एकादेशमा पुग्न सक्छ ।
तै कान्छो एकादेशमा गइसकेको थिएन । जानेवाला छ । यो कथाको आरम्भमै पनि संकेत गरिसकिएको छ । खोलो सुक्नु र कान्छो हराउनुमा संगति छैन तर कताकता संगति छ । खोलो सुक्यो तर कान्छोले समाधि लगाउन सकेन । बिहे भएको तीन वर्षपछि बूढाबूढीमा नातिको मुख हेर्ने रहर ओइलाउँदै गयो । नाति भइदिए बिँडो थाम्ने हुन्थ्यो, नभए नातिनी नै सही । तर खोलो सुकेको रहेछ, समाधि लागेन । तुलनीय यो छ, सम्भोगबाट समाधिसम्म भन्ने कथनको तात्पर्य जेसुकै होस् तर कान्छोले समाधि लगाउन सकेन । यद्यपि उसको बिग्रेको मेसिन ठीक गर्ने प्रयास धेरैले गरे ।
तीनतीन वर्षसम्म केही नहुँदा आमाबाबु पनि घोर निराश भए । कान्छाकी श्रीमती मालती पनि दबाबमा परी । भित्रभित्रै दक्षिणी छिमेकीको संविधान जारी नगर, स्थगित गर भनेजस्तो दबाब पनि आइरह्यो, कान्छाको अर्को बिहे गरिदिऊँ । तर कोही जब्बर जो त्यो समाजमा बढी नलेज राख्थ्यो उसले ठोकेर भन्यो— 'दुवैको मेडिकल जाँच हुनुपर्छ । खोट एकैतिरको हुँदैन ।' यो दाबी सुनेर मालती अलिकति उज्याली भई । उसले प्रत्यक्षमा केही भनिन । नारीले मौन रहेर सहनुपर्छ भन्ने संस्कार अभैm गइसहेको थिएन । भन्न सक्थी ।
महिला सशक्तीकरणको जमाना थियो । नारी बोल्न स्वतन्त्र थिई । बोलिन, उसले संयम लिई । तर पछि कान्छोबाट समाधि नलागेपछि नारीको मौलिक र जन्मजात अधिकार मातृत्वको रक्षाका लागि हिँडी । ऊ हिँडी, यो क्लाइमेक्स थियो कथाको तर बीचैमा यो भन्न कथाकार बाध्य भएको छ किनभने ऊ हिँडेकै थिई । क्लाइमेक्समा पुगेपछि विमोचित हुने कुरो अहिले नै खोलुवा गरिदिनाले कथा खल्लो हुन सक्थ्यो । तर मालती हिँडी, त्यसपछि पनि कथा जारी रह्यो तर हिँड्नु उसको निर्णय थियो । त्यसलाई धेरै महिमामण्डित गरेर लेख्नु व्यर्थ थियो किनभने मालतीको पलायनले (यहाँ पोइल गएको भनिएन) कान्छोको जीवनमा घना ट्रेजडी घटित भएको थियो । मतलव, उसलाई जीवनको एउटा तीतो यथार्थ थाहा लाग्यो- ऊ समाधि लगाउन सक्दैन ।
त्यसो होइन, कथाकारको विचारमा कान्छोलाई समाधि विफल हुने पहिलो रातबाटै थाहा थियो (होला) । तर यहाँ बीचमा अनेक क्षेपक थिए जुन भन्दा (मतलव लेख्दा) कथा अलि लामै हुनेछ । सो कथाकार क्षमाप्रार्थी छ । दुई पंक्तिको कथा पनि हुन्छ तर त्यसमा मजा लाग्दैन कथाकारलाई, अलि थालभरि पस्किएको भात खान पाइए हुन्थ्यो भन्ने स्वभावको छ कथाकार ।
विवाह भएको समय वरिपरि सर्कलमा कान्छो हाँसीखुसी उठबस गथ्र्यो, पहिले जस्तै । तर समय घर्किंदै गएपछि अलिअलि गर्दै उसको हँसिलो अनुहार मलिनिन थालिसकेको थियो । उसका लागि खुम्चिएर बस्नु पर्ने स्पेस पनि कम लाग्न थाल्यो, दुब्लाउँदै चाउरिँदै गएकाले । यसरी तीन वर्ष उसले बितायो । धेरैले जिस्क्याएर भने— 'के हो कान्छा, दिन बितिसके, समाधि लागेन ? ' यस्तो प्रश्नको ऊ सामना गर्दैनथ्यो । उसलाई लाग्थ्यो मुलुकको राजनीतिमा इमानदारी खोजिँदैछ, जुन विषयबारे उसलाई वितृष्णा लाग्थ्यो । त्यसैले त्यस्तो सोधिएको दिनपछि साता जति ऊ गायब रहन्थ्यो । सर्कलमा चर्चा हुन्थ्यो, कान्छो समाधि लगाउन असमर्थ छ । त्यो हाँसोको विषय बन्दैनथ्यो । गम्भीर चर्चाको विषय पनि बन्न सक्दैनथ्यो किनभने धेरैका बीच यो भ्रम थियो- मालतीमा कमजोरी छ कि कान्छोमा । यसको निष्कर्ष निस्किन सक्दैनथ्यो र सर्कल उठेर घरघरतिर जान्थ्यो ।
दलीय सहमति नबन्दा बैठक निष्कर्षहीन भयो भन्ने समाचार अनुरूप सर्कलको आचरण थियो । तर कुरो लिक हुन्थ्यो, उसका आमाबाबु उसको अर्को बिहे गरिदिने चक्करमा छन् । यस विषयमा मत विभाजन हुन्थ्यो । सहमतिको प्रयासको खाँचो थिएन । कान्छोले अर्को बिहे गर्नु उपयुक्त हुन्छ वा हुँदैन ?
समस्या यो थियो कि मालती किन हिँडी ? त्यो होइन । मालती घर छोडी नहिँडेको भए ?
कुनै अर्को उपायले सन्तान उत्पन्न गरेर घरमा सानले बस्न सक्दी हो । कान्छोले पनि समाधि नलागेपछि बुझ पचाएर मालतीलाई क्षमा गर्दो हो । उसका आमाबाबुले आफ्नो नाति÷नातिनीको डीएनए टेस्ट गरेर विरासत सुम्पिने कुरो पनि थिएन । कान्छो चुप लागेपछि सबैले त्यो सन्तानलाई उनीहरूकै हो भन्ने मान्यता निर्विवाद दिने थिए । यी सबै सम्भावना विचार गर्दा यस्तो लाग्यो कथालाई अनेक इन्डिङ दिन सकिन्थ्यो । कथामा रोचकता पनि पैदा गर्न सकिन्थ्यो । सस्पेन्स । त्यस्तो सस्पेन्स कथाले दिन सक्थ्यो ।
स्तर नभए पनि । तर मालतीले त्यसो गरिन । कथा पनि खल्लोखल्लो हुने खतरामा पुग्यो । केही छैन । कथाले आफ्नो नियति भोगोस् । कथाकारको मिलेमतोमा अर्को इन्डिङ दिन सकिएन । मालतीले स्वनिर्णय गरी । पढेलेखेकी रहिछ । निरक्षर भए पनि समाधि नलाग्ने पुरुषसित कति बसिरहने ? मातृत्वको हुटहुटी पनि केही चीज हो, साथै शारीरिक तृष्णा भन्नु पनि अहम् विषय नै हो । उसरी धार्मिक गुरुहरूले विषयवासनाको तृष्णा परित्याग गर्नु नै मानव कल्याणको मार्र्ग हो भनेका छन् तर खै त्यो कुरो सांसारिक महिला मालतीले मानिन ।
तर, यो तर ठूलो छ र कथाको बटम लाइन पनि यसैमा टिकेको छ । यद्यपि बटम लाइन जस्तो केही छैन यहाँ तर कथाकारले भन्यो— बटम लाइन । मतलब कि गफ अघि बढाउने तारतम्य वा विषयको विस्तार । त, यस्तो भयो कि कान्छो पनि हिँड्यो । वृद्ध आमाबाबुलाई छाडेर । वृद्ध आमाबाबुलाई छाडेर हिँड्यो भन्दा हाम्रो चेतनामा अन्ध आमाबाबुलाई खर्पनमा राखेर तीर्थतीर्थ डुलाइहिँड्ने श्रवणकुमारको बिम्ब अगाडि आउँछ । कान्छोले त्यो बिम्ब भंग गर्यो । व्यक्तिभित्रको स्वचैतन्य पुञ्ज अर्कै हुन्छ । मतलब, कान्छोले स्वतन्त्र निर्णय गर्यो र उसले स्वेच्छापूर्वक घर छाडेर हिँड्यो । बाध्यता पनि थियो होला कि समाधि लाग्न सकेन ।
मालती हिँडी । समाजमा कलंकित र लाञ्छित भएर के बसिरहनु ? मालती, ऊ पनि स्वेच्छापूर्वक हिँडेकी थिई । त्यसपछि कान्छाको लागि मोहको त्यान्द्रो नै के रह्यो र ? मालती कोसँग गई, त्यो थाहा हुन सकेन । कालान्तरमा कसैले देखे कि देखेनन् त्यसको अभिलेख पनि छैन । यो यस्तो त थिएन कि जुनसुकै र जस्तोसुकै असफल प्रधानमन्त्रीको तस्बिर अभिलेखका लागि सिंहदरबारमा अनिवार्य टांगियोस् । त, मालतीको खोजखबर गर्ने कुरो पनि भएन । साबिक घर छाडेर हिँड्ने दुस्साहस गर्ने नारीलाई अभैm कसैले राम्रो भन्ने गरिसकेको छैन । उसले पनि सती सावित्रीको बिम्ब भंग गरी । उसले कान्छाको घरबाट सरसम्पत्ति गरगहना कुम्ल्याएकी थिइन । त्यसो नभएपछि हल्लीखल्ली गर्दै निर्वाचन कार्यालयमा नारा जुलुसका साथ मनोनयनपत्र दर्ता गराउन गएझैं प्रहरी थानाहुँदो रिपोर्ट लेखाउन दलबलसहित जाने विषय बनेन ।
तामझामसाथ मनोनयनपत्र दर्ता गराए पनि उम्मेदवारले भोटर लोभ्याउन गरेका वाचा पूरा गर्ने होइनन् र थाना प्रहरीले पनि चोरीको माल बरामद गर्न गाह्रै पर्ने कुरो हो । समान-समान, विनविन नि ।
कान्छो पनि पछि रहेन । ऊ पनि बाटो लाग्यो । कता गयो, त्यसबारे इतिहास मौन छ । तर ऊ हिँडेपछि उसका आमाबाबु पनि विरक्तिए । दिदीहरूमा तिनको सेवा गरेर शेषपछि सम्पत्ति हात पार्ने होड लाग्यो । कोही कानुनवेत्ता थियो तीमध्ये, जसले यो उपाय सुझायो कि यसो गरे बूढाबूढीको शेषपछि सम्पत्ति छोरीहरूले पाउँछन् । त्यसो भएपछि पनि कान्छो फर्केन । फर्कने सवाल पनि थिएन कि ऊ कतै बसेर चियो गरिरहेको होस् । ऊ गयो, कता हो कता । कता हो कता भन्नु आवश्यक थिएन, तर कति भने ऊ गएको गयै भयो, ठाउँठेगान थाहा नहुने गरी । दुईचार पटक मानिस हराएको सूचना राष्ट्रिय र स्थानीय खबरकागत र एफएममा दिइयो । तर निरर्थक ।
मालती पनि हिँडी, कान्छा पनि हरायो भनेपछि कथालाई तार्किक निष्कर्ष दिनु जरुरी भयो । कान्छो हिँडेपछि कथा अवरुद्ध भयो । कथालाई कसको काँधमा बसालेर अघि बढाउने । तर बीचमा सर्कलमा एउटा गाइँगुइँको हल्ला आयो । धेरै समयपछि । विश्वास गरिहाल्ने कुनै ठोस आधार त थिएन तर कथाको टुङयाउनीका लागि यो उपयुक्त गाइँगुइँ थियो । गाइँगुइँ यस कारण भनियो कि कान्छाका आमाबाबुले यो सुने भने लौ न छोरोलाई जसरी खोजेर पनि ल्याइदेओ भन्न सक्थे र समाज र सर्कल संकटमा पर्न सक्थ्यो । सर्कलले भन्यो साडी र दारीले बूढाबूढीलाई बिगार्न दिनु भएन । साडीको प्रतिनिधि मालती थिई जो हिँडिसकेकी थिई र ज्ञात अवस्थामा थिई तर दाह्रीको प्रतिनिधि जो कान्छो हो ऊ अज्ञात अवस्थामै थियो । अनुमानकै भरमा सर्कलले यो निकर्ष निकाल्यो- कान्छोले यस समय दाह्री पालेको हुनुपर्छ ।
गाइँगुइँमा पनि यस्तै थियो । कसले हो बाह्र वर्षमा एक पटक लाग्ने प्रयागको महाकुम्भ मेलामा एक अलि बैंसकै र कान्छोजस्तो अनुहार र सानो गाँठीको नागाबाबा देख्यो रे । उसले नजिकै गएर हेर्ने प्रयास पनि गरेको थियो रे तर त्यो नागाबाबाले उसलाई देखेपछि एक पटक आँखामा आँखा जुँधाएर हेरपछि जोगीहरूको भीडमा गायब भयो रे । त्यस दिन नागाबाबाहरूको जत्थाको स्नान थियो रे । अगाडिअगाडि हात्तीमा त्यस जत्थाको मठाधीश महन्त बाबा आसीन थिए रे र चारैतिर भालाबर्छा र चिम्टा बोकेका नागाबाबाहरूको लस्कर थियो र तिनलाई त्यहाँको पुलिसले अगुवाइ गरिरहेको थियो रे । साथै विवरणमा यो पनि थियो कि त्यो कान्छो जस्तो लाग्ने नागाबाबाले दाह्री र जटा पालेको थियो रे । नागाबाबाहरूले जस्तै अंग छेडेर साङ्लो झुन्ड्याएको थियो रे।
स्वाभाविक थियो, कथाकारले सोच्यो, समाधि नलागेकोमा दण्डित गरिएको होस् स्वयम्को अंगलाई । सर्कलमा धेरै दिन त्यो चर्चामा रह्यो । खोज्न जाने हो कि भन्ने पनि भयो । तर सर्च पार्टी गठन हुन सकेन । खोज्न कहाँकहाँ भौंतारिने ? कुन मठका नागाबाबा हुन् ती ? सोध्दै गए जोगीको हुँदैन जात र ठेगान भनेर चिम्टाले बजाएर पठाउने पो हुन् कि ?
हुन त यो अनुमानै हो । सर्कलको स्मृतिमा कान्छो जीवितै रहेको प्रमाण पनि मान्न सकिन्छ यसलाई । कथाकारलाई खुसी पनि लागेको छ कि उसको जन्मजयन्ती वा अरू केही नमनाए पनि कान्छोलाई सर्कलले बिर्सन सकेको रहेनछ । तर कथाकारलाई एउटा खुल्दुली भइरह्यो, कान्छोले आखिर त्यो समाधि लगाउन नसक्ने असमर्थलाई छेडेर त्यसमा साङ्लो झुन्ड्याउने काम किन गर्यो ? यसको उत्तर छैन तर सोच्न बाध्य पार्छ कि जसका कारण उसको समाधि लाग्न सकेन त्यसलाई कान्छोले प्रतिशोधका लागि छेडेर यातना दिएको हुन सक्छ । मानिसको मनोविज्ञानका अनेक आयाम छन् । बुझ्न गाह्रो हुन्छ । कान्छो नै हो त्यो नागाबाबा भने कथाको अन्त्यले निकै उचाइ प्राप्त गर्यो भन्न सकिन्छ ।