स्कुलभित्रको अधिनायकवाद
देशभर नयाँ शैक्षिक सत्र भर्खरभर्खर सुरु भएको छ । सामान्यतया विद्यालय तहमा पठनपाठनको समय भनेको १० देखि ४ बजेसम्म हो । यद्यपि काठमाडौंको एक प्रतिष्ठित स्कुलमा कक्षा १० मा पढ्दै गरेकी समिता ढकाल बिहान ६ बजे नै स्कुल पुग्नुपर्छ र साँझ ६ बजेमात्र घर फर्कन्छिन् । उनका अनुसार 'अनिवार्य विज्ञान, अनिवार्य गणित र अतिरिक्त गणितजस्ता हरेक 'गाह्रा' भनिने विषय दैनिक दुईदेखि तीन पिरियडसम्म पढाइ हुन्छ । दैनिक ११/१२ घन्टा स्कुलमा बित्ने गर्छ । त्यो समय खास अतिरिक्त क्रियाकलाप केही हुँदैनन् ।' अर्थात्, विद्यार्थीको काम विषयवस्तु अभ्यास गर्नु र परीक्षामा गतिलो 'ग्रेड' प्राप्त गर्ने गन्तव्यमा पुग्नु हो ।
दिनभर पढिएका अधिकांश विषयको गृहकार्य हुने गर्छ । घर पुगेर हतारहतार खाजा खाएर इमानदारीसाथ गृहकार्य गर्न बस्नुबाहेक अन्य सुविधा उनलाई उपलब्ध छैन । 'गृहकार्य गर्दागर्दै राति अबेला हुन्छ । सुत्न नपाउँदै उज्यालो भएजस्तो हुन्छ । आँखा मिच्दै सबेरै उठ्नुपर्छ । र, स्कुलतिर हिँड्नैपर्छ । त्यही प्रक्रिया हरेक दिन दोहोरिन्छ', उनी भन्छिन् ।
मेरो एकजना छिमेकीकी छोरी कक्षा ५ मा पढ्छिन् । किताब-कापीको गहु्रँगो झोला बोकेर 'गह्रौं मन'का साथ स्कुल पुग्छिन् । रित्तो दिमागका साथ फर्किने भएर नै होला, छिमेकीले घरमै बेलुका ट्युसनको व्यवस्थासमेत गरिदिएका छन् । 'यी छात्रा पढ्दै पढ्दिनन्, त्यसैले पढाइमा कमजोर छिन्', स्कुल यसै भनेर पन्छिन्छ । अभिभावक यसै कुराले चिन्तित छन् । छात्रा पढाइमा कमजोर छिन् तर उनी नृत्य गर्नमा सानैदेखि रुचि राख्छिन् र अब्बल पनि छिन् । नृत्य गर्नसक्ने उनको विशेष खुबीप्रति अभिभावक खुसी छैनन् । किनकि नृत्य गर्नु इज्जतिलो पेसा होइन भन्ने परिवारको ठहर छ । यो कामले भोलि खान नपुग्ला भन्ने चिन्ता छ ।
त्यसैले किताबै पढोस् भनेर सानो कक्षामा पनि ट्युसन राखिदिएर छोरीको जीवनमा थप बोझ थपिदिएका छन् । स्कुलले पनि उनको प्रतिभालाई थप विकसित पार्न सहयोग गर्नुपर्नेमा कमजोर भनेर होच्याइदिन्छ । स्कुलको परीक्षामा विभिन्न विषयको जाँच लिइन्छ । तर, उनीजस्ता अतिरिक्त प्रतिभा भएका विद्यार्थीको प्रतिभा जाँच्न कुनै परीक्षाको व्यवस्था छैन । परीक्षा प्रणाली उनीजस्ता सिर्जनात्मक व्यक्तिका लागि निर्मम छ ।
म आफैं पनि आधा दशकदेखि शिक्षण पेसामा आबद्ध छु । स्कुल, कलेजका विद्यार्थीको मनोविज्ञान, चाहना र गुनासासँग परिचित छु । शिक्षण संस्थाभित्र हुने क्रियाकलापबारे धेरथोर ज्ञान राख्छु । शिक्षाका विभिन्न पाटोका बारेमा विशेष चासो राख्छु र त्यसमा रुचि पनि छ । मेरो आफ्नो अनुभव पनि छ, शिक्षाको मर्मविपरीत शिक्षालयभित्र अनेक विकृति देखिएका छन् ।
बच्चाप्रति स्कुलको पहिलो आक्रमण छ- बच्चाका सम्पूर्ण भावना, चाहना र स्वतन्त्रतामाथि अघोषित प्रतिबन्ध लगाइदिने ।
विद्यालय तहको शिक्षाले व्यक्तिको भविष्यबारे नक्सा कोरिदिने जिम्मेवारी बोक्छ । सरकारी स्कुल विद्यार्थीको भविष्यप्रति गैरजिम्मेवार देखिन्छन् । राम्रो रिजल्ट देखाउने नाममा निजी विद्यालयले शिक्षालाई थप विकृत र बोझिलो तुल्याएका छन् । धेरै निजी विद्यालयको आफ्नै भवन छैन । एउटा घर भाडामा लिएर स्कुल चलाइएको छ । आवस्यक खुला मैदान र पर्यावरण छैन । प्रयोगशालाबिना विज्ञानजस्ता विषयको रटान चलिरहेको छ ।
ससाना बच्चाहरूलाई किताबको यस्तो भार थमाइएको छ, मानौं किताबको संख्या बढाएपछि विद्यार्थीमा ज्ञान बढ्ने गर्छ । लज्जाजनक पारि श्रमिक दिएर शिक्षकको श्रमको चरम शोषण भएको छ । पाठ्यपुस्तकको 'क्वालिटी' हेरेर होइन बढी कमिसन दिने प्रकाशक हेरेर पाठ्यपुस्तक किन्न लगाइएको हुन्छ । हरेक वर्षजसो प्रकाशनगृह फेरेर पुस्तक किन्न लगाएर अभिभावकलाई हैरान पारिएको छ । अतिरिक्त क्रियाकलाप औपचारिकता निर्वाह गर्ने गरी टारिएको छ । घरको पूरै समयलाई पुग्ने गरी गृहकार्य प्रदान गर्ने गरिन्छ । विद्यार्थीले भनेअनुसार पढेन भने भौतिक दण्ड दिने परम्परा अद्यावधि कायम छ ।
विद्यार्थीका भावनाको दमन
हरेक बच्चा स्कुलको पहिलो दिन अद्भुत उत्साह, उत्सुकता, आत्मविश्वास र हक्की स्वभावका साथ प्रवेश गर्छ । तर, अब यसपछिका स्कुले दिनहरूमा यी गुण कहिल्यै देख्न पाइँदैन । बच्चाप्रति स्कुलको पहिलो आक्रमण छ- बच्चाका सम्पूर्ण भावना, चाहना र स्वतन्त्रतामाथि अघोषित प्रतिबन्ध लगाइदिने । स्कुले जीवनका बच्चाहरू स्वभावैले बढी जिज्ञासु र प्रश्न गरिरहने स्वभावका हुन्छन् । तर, कक्षाकोठाभित्र विद्यार्थीका प्रश्न उठाउने र बहस गर्न पाउने स्वभावमाथि अंकुश लाग्छ । कैयौं शिक्षकले यस्तो नगर्ने हो भने कक्षा नियन्त्रण गर्न सकिन्न भन्ने मान्यता बोक्छन् ।
तर, यस्तो संस्कृतिमाथि गम्भीर आपत्ति जनाउँदै शिक्षाविद् डा. विद्यानाथ कोइराला भन्छन्, 'शिक्षकलाई कक्षाकोठामा 'कोर्स' पढाउने भन्दा पनि 'डिस्कोर्स' गराउन पठाइएको हो । कोर्समात्रै रटाउने हो भने त रेकर्ड गरेर पटकपटक सुनाइदियो वा टीभीबाट देखाइदिए पुगिहाल्यो नि । आजलाई जोड्दै कक्षालाई चलायमान बनाउन ज्यूँदो शिक्षकलाई कक्षाभित्र पठाइएको हो ।'
कक्षालाई चुपचाप गराएर शिक्षकले अगाडिबाट धाराप्रवाह विषयवस्तु यसरी खन्याइदिन्छ कि मानौं विद्यार्थी भनेका ज्ञानको थोपा नभएका रित्ता भाँडा हुन् । शिक्षाको दार्शनिक दृष्टिकोणले पनि यसो भन्दैन । शिक्षा त्यस्तो विषय होइन जुन बाहिरबाट लाद्न सकियोस् । जोन हल्टका शब्दमा 'शिक्षा त्यस्तो कुरा होइन, जो अरू कसैले विद्यार्थीलाई देओस् वा दिन सकोस् । शिक्षा त त्यो हो जसलाई हरेक व्यक्तिले आफैंका निम्ति आफैं नै प्राप्त गर्छ ।'
सरकारी विद्यालयलाई विद्यार्थीको अधिकारमाथि दमन गर्ने कुनै स्वतन्त्रता नभए पनि ती विद्यालय पनि कारागार नै बनेको बताउँछन् अर्का शिक्षाविद् डा. मनप्रसाद वाग्ले । 'सरकारी स्कुल पनि कारागार नै बनेका छन् । निजी स्कुलको कुरा गर्ने हो भने त्यहाँ राणा शासन छ । कठोर अनुशासनका नाममा कलिला बालकमाथि अनावश्यक मानसिक बोझ लाद्नमा ती स्कुल व्यस्त छन् । सञ्चालकको मुनाफा प्राथमिक बनेको छ', उनको टिप्पणी छ ।
पाठ्यपुस्तकको रटान
हाम्रो स्कुलको शिक्षाले स्मृतिलाई केन्द्रमा राखेका छन् । हरेक बच्चाले स्कुलबिना पनि तीनचार वर्षको उमेरभित्र आफूले जिवनभरि सिक्नुपर्ने शब्दमध्ये ५० प्रतिशत शब्दको अर्थ सिकिसकेको हुन्छ । ती शब्दको अर्थ कसरी सिक्छ ? बाआमाले रट्न लगाएर होइन । बच्चाले बाआमाका क्रियाकलाप गहिरोसँग नियाल्छ । कुन शब्द निकाल्दा के गर्छन्, व्यवहार हेर्छ । यसबाट शब्दको अर्थ बुझ्छ ।
तर, स्कुलमा पढाउने नेपाली शिक्षकले के गर्छन् ? गाह्रा भनिएका शब्दको अर्थ रट्न लगाउँछन् । व्यावहारिक उदाहरणद्वारा शब्दको अर्थ बुझाउने कष्ट गर्नतिर लाग्दैनन् । कविता सिर्जना गर्न होइन, किताबको कविता हुबहु कण्ठ गर्नै लगाउँछन् । गणितमा प्राथमिक तहमा पढ्ने बच्चालाई बीससम्मका 'दुना' रट्न लगाइएको हुन्छ । विज्ञानका परिभाषा रट्न लगाइएको हुन्छ । इतिहासका तिथिमिति कण्ठ गर्न लगाइन्छ । यस्तै कुरा कण्ठ गर्न विद्यार्थीले सक्यो वा सकेन जाँच्न परीक्षा लिइन्छ । परीक्षामा जसले बढी अंक ल्याउन सक्यो उसलाई 'ट्यालेन्ट' र कम अंक ल्याउने लाई 'कमजोर'को बिल्ला भिराइन्छ ।
हामीकहाँ चल्दै आएको परीक्षाले विषयवस्तुको रटान गर्न सक्यो/सकेन भनेर मात्र जाँच गर्न सक्छन् । कोरा तथ्य याद गर्न नसक्दैमा व्यक्ति मन्दबुद्धिको रहेछ भन्ने निष्कर्ष निकाल्नु अपराध हुन्छ । सिर्जनाको फूल फुलाउन सक्ने व्यक्तिको मस्तिष्कले 'सुगा रटाइ'लाई महत्र्वहीन ठानिदिएको पनि हुनसक्छ । असामान्य कहलिने व्यक्ति सामान्य मान्छेले जे गर्छन् त्यो गर्दैनन् ।
विज्ञान, खेल, संगीत, वक्तृत्व, नृत्य र कला क्षेत्रमा प्रतिभाशाली विद्यार्थीलाई सिकाइ र परीक्षा प्रणालीले सम्बोधन गर्न सकेको छैन । बरु, केही गर्न र हुन खोज्ने विद्यार्थीको हुटहुटीलाई निचोरेर फ्याँक्ने काम गरेको छ । कक्षाभित्रका सिंगो गतिविधि पनि व्यक्तिलाई परीक्षामा उत्तीर्ण गराउने उद्देश्यमा लत्रेका छन् । लाग्छ, शिक्षा परीक्षामा उत्तीर्ण हुनका लागि हो ।
आजको युगमा स्मृतिको काम गर्न कम्प्युटरको आगमन भएको छ । केही दशकपहिला कम्प्युटरको आकार एउटा सानो कोठाजत्रो हुन्थ्यो । आजका कम्प्युटर सानो टेबलमा अट्नसक्ने भएका छन् । केही समयपछि गोजीमा अट्न सक्ने कम्प्युटरको विकास हुनेछ । र, हरेक विद्यार्थीको गोजीमा कम्प्युटर हुनेछ । आज नै गणितका कैयौं समस्याको हल विद्यार्थीले क्यालकुलेटरबाट निकाल्न थालिसके । गणितका फर्मुला त्यही मिनी कम्प्युटरमा भरेर राख्छन् । परीक्षामा खोलेर हेर्छन् । त्यसैले विद्यार्थीलाई स्मृतिमा अड्काएर राख्नु भनेको पुरानै समयमा जमेर बस्नु हो ।
यस्तो जड संस्कृतिलाई तोड्न शिक्षकले चाह्यो भने सक्छ भन्छन् शिक्षाविद् कोइराला । 'खेलमा रुचि राख्ने विद्यार्थीलाई खेल्दाखेल्दै पनि विज्ञान र गणित सिकाउन सकिन्छ । नयाँ प्रविधि आएपछि त्यसलाई प्रयोग गर्दै सिकाउन सक्नुपर्छ । तर, शिक्षकको त्यतातिर ध्यान नै गएन । शिक्षकको पढाउने शैली नै 'लो क्वालिटी'को भयो', उनको भनाइ छ ।
शिक्षकले शिक्षालाई यति साँघुरो घेरामा कैद गरे कि मानौं शिक्षा लिन पाठ्यपुस्तकबाहेक अरू सबै बाटा बन्द छन् । रोचक कुरा त यो छ, स्वयं विद्यार्थी भने सकेसम्म पाठ्यपुस्तकको मुख हेर्न चाहन्न । शिक्षकको अगाडिमात्र पढेको नाटक गर्छ । किनकिी किताबमा त्यस्तो कुनै आकर्षित कुरा छैन जसले उनीहरूलाई किताब दोहोर्याउन मन लाग्ने बनाइराखोस् ।
कामचलाउ भौतिक संरचना
देशका निजी स्कुल प्राय: सहरी क्षेत्रमा छन् । तीमध्ये धेरै स्कुल एउटा घर र त्यसको आँगन भाडामा लिएर सञ्चालन गरिएका छन् । ट्वाइलेटसँगै कक्षाकोठा जोडिएको हुन्छ । दुईतीनजना मान्छे बस्नका लागि बनाइएको कोठामा ३०/३५ जना विद्यार्थीलाई कोचिएको हुन्छ । कक्षाकोठामा हावाको बहाव ठप्प हुन्छ । एउटा कक्षाको हल्लाले अर्को कक्षामा ध्वनि प्रदूषण गराउँछ ।
विद्यालय तहमा विज्ञान विषय अनिवार्य विषय हो । दुर्भाग्य, धेरै स्कुलमा प्रयोगात्मक कक्षाका लागि सुहाउँदो प्रयोगशाला छैन । सयौं विद्यार्थीका लागि आवश्यक पर्ने खेलमैदान र खुला ठाउँ छैन । स्कुल हाताभित्र पर्यावरणलाई बेवास्ता गरिएको छ । सरकारको 'संस्थागत विद्यालय सञ्चालन तथा मापदण्ड निर्देशिका'को ठाडो उल्लंघन गरिएको छ । चोकैपिच्छे पसलजसरी स्कुल खोलिएका छन् । सरकार लाचार छ ।
अतिरिक्त क्रियाकलापलाई नाममात्रको बनाइएको छ । स्कुलको क्यालेन्डरमा सिर्पm वर्षको एकपटक वक्तृत्वकलाले स्थान पाएको छ । गायन, नृत्य, खेलकुद, साहित्यजस्ता सिर्जनाको विकास गराउने कार्यक्रम वर्षमा एक/एकपटक गर्ने गरी दया गरिएको हुन्छ । अतिरिक्त क्रियाकलापलाई सिकाइको अभिन्न अंग बनाउनबाट शिक्षण संस्था चुकेका छन् ।
विद्यार्थीका लागि जेल
व्यक्तिले जेलको उकुसमुकुसमा गुज्रिन कुनै अपराध गर्नु पर्दैन । निजी स्कुलले सानै उमेरदेखि नै यसको स्वाद चखाइसकेको जस्तो देखिन्छ । स्कुलभित्र विद्यार्थीलाई तानिराख्ने त्यस्तो कुनै रसिलो कार्यक्रम छैन जसले उनीहरूलाई स्कुल जाऊँजाऊँ बनाइराखोस् ।
स्कुल बिदाको दिन विद्यार्थीले सबैभन्दा बढी आनन्द अनुभूत गर्छन् । र, अर्को बिदाको दिनको प्रतीक्षा गरेर बस्छन् । अझ एसएलसी (अहिले नाममात्र परिवर्तन भएर 'एसईई' बनेको छ) को भय देखाएर त्यस तहमा पढ्ने विद्यार्थीलाई बिहान झिसमिसेदेखि साँझ अबेलासम्म स्कुलमा थुनिन बाध्य तुल्याइन्छ । त्यसैले कोइराला फेरि अगाडि थप्छन्, 'प्राइभेट स्कुलको काम भनेको विद्यार्थी ल्याउने, थुन्ने र ठोक्ने हो । सरकारी स्कुलले विद्यार्थीप्रति बेवास्ता गर्ने गर्छन् ।' विद्यार्थीले भोग्नु परेको यो उकुसमुकुस र छटपटी देख्दा लाग्छ, निजी स्कुलले वैधानिक तर अमानवीय अपराध गरेका छन् ।