कहाँ छैन छाउपडी ?

कहाँ छैन छाउपडी ?

भ्रमदेखि ज्ञानसम्म

त्यति बेला मलाई मर्न मन लागेको थियो । म भर्खर सात वर्षको थिएँ । आमाले भाइ पाएको राम्रैसँग थाहा छ । यसको पाँचछ महिनापछि आमाको दुवै तिघ्राबाट आलो रगत बगिरहेको मैले देखेँ । म डराएर उहाँलाई सोध्दा आमाले 'भगवान्को पापले भएको, सबै केटी मान्छेलाई हुन्छ, तँलाई पनि ठूलो भएपछि यस्तै हुन्छ' भन्नुभयो । यस्तो सुनेपछि मलाई किन हो किन एकदमै पीर पर्‍यो । अर्को वर्ष ऋषिपञ्चमीमा आमाले झोला बोकाएर साथी लैजानुभयो । त्यति बेला मैले पूजा गर्दा के गर्छन्, पण्डितले के भन्छन्, यसको कथा कस्तो छ आदिमा ध्यान दिएँ ।

Radha-Poudelत्यसको एकदुई महिनापछि मेरी दिदीहरू महिनावारी हुनुभयो । उहाँहरूलाई छिमेकीको धन्सारमा लगेर राखियो । मैले खाना पुर्‍याउँन जाँदा 'घरबेटीले यसो भन्यो, उसो भन्यो, खान मन लागेन, पेट दुख्यो' भनेर उहाँहरूले गरेका गुनासो सुन्नुपथ्र्यो । घरबेटीले आमालाई गएर कुरा लगाउँछे भनेर 'तेरी दिदीले पानी छोइदी, पानी पोखी, बिरुवा छोई, मलाई हेरी' आदि-आदि सुनाउँथे । घरमा पुगेपछि फेरि आमाबुवाले आफ्ना त धेरै छोरी छन्, आफ्नोमा राख्न मिल्दैन भनेर पिरल्लिएको सुन्थेँ । दिमागमा यी सबै मडारिइरहन्थ्यो । तर, त्यसलाई बाहिर ल्याएर कसैसामु राख्न भने सक्दिनथेँ । छोरी जन्मेको पाप हो भन्ने मेरो दिमागमा नराम्ररी गड्यो । मलाई मर्न जान मन लाग्यो ।

हरेक पल किन छोरी भएर जन्मिएँ, छोरा भएर पो जन्मनुपर्ने भन्ने लाग्न थाल्यो । त्यसैले मर्न भनी घर छोडेर हिँडे । तर मर्ने कसरी भन्ने थाहा थिएन । दिउँसो घरबाट भागेँ । बेलुकी मकै बारीमा आएर लुकेँ । साँझ आमाले राधा-राधा भनेर बोलाउँदा उहाँको स्वर सुनेर नबोली त्यहीँ लुकिरहेँ । तर, एकछिनपछि आमाको याद आएकाले म निकै भावुक भएँ । तर पनि घर जाने आँट आएन । घरमा पालेको कुकुर लक्ष्यलाई बोलाएर उसको साथी लागेर घर गएँ ।

म हरेक पल मरेर बाँचेँ। छोरी भएर बाँच्नु नै छैन, कसरी मर्ने भन्नेमात्रै दिमागमा आइरह्यो । चौध वर्षको उमेरमा पहिलोपटक महिनावारी भयो । मलाई दिदीहरूको जस्तो धन्सारमा गएर बस्नु थिएन । त्यसैले सबैको कचकच सुन्नुभन्दा भाग्छु भन्ने ठानेँ ।

दिदीको भर्खर विवाह भएको थियो । उहाँको घर जाने बाटो पनि थाहा थिएन । आँखा अस्पताल जाने बाटो पनि दिदीकै घर जाने बाटो भएकाले अड्कल लगाउँदै दिदीको घर पुगेँ । दिदीले 'किन आएको' भनेर धेरै सोध्दा पनि मैले भनिनँ । पछि उहाँले आफै थाहा पाउनुभएछ । पाँच दिनको दिन घर फर्किएँ । स्यानिटरी प्याडको जमाना आइसकेको थिएन । पुरानो कपडाको टुक्रालाई प्याडको रूपमा प्रयोग गरिन्थ्यो तर त्यो लगाउने तरिका थाहा थिएन । हरेक पटक पिसाब गर्दा मिलाउनको सकस हुन्थ्यो । महिनावारी भएको बेलामा पिसाब फेर्न जानुपर्छ भनेर पानी पनि खाइनँ । यसरी कष्टमै बिते ती दिन ।

साढे १५ वर्षको उमेरमा नर्सिङ क्याम्पस पोखराबाट स्टाफ नर्स पढ्दै गर्दा एनाटोमी फिजियोलोजी विषयमा महिनावारीबारे स्पष्ट रूपमा पढाइयो । त्यो पढ्दा निकै मजा आयो । महिनावारीलाई पाप ठान्ने र मर्छु भन्ने लाग्ने भ्रम सबै पखालियो ।

महिनावारीका क्रममा छुन नहुने, बार्नुपर्ने आदि रूढिकै कारण किशोरीहरूलाई पढाइमा अप्ठेरो परेको पाएँ । कतिले त कक्षा नै छोडेको पनि पाइयो । हरेक महिना महिनावारीकै कारण तीनदेखि पाँच दिनसम्म कक्षा छाड्ने गरेको पाइयो ।

महिनावारी हुनु त महिलाको ठूलो शक्ति रहेछ । योबिना त सृष्टि नै अगाडि नबढ्ने रहेछ । तैपनि समाजमा किन यसबारे नकारात्मक मान्यता बसाइएको होला भन्ने लाग्यो । अनि घरमा बिदामा आएको बेला पहिलोपटक बाआमालाई पाठेघरको चित्र बनाएर पढाएँ ।
बाले सुरुमा त 'के-के भन्छे, जे-जे पायो त्यही पढाउँछे' भनेर गाली पनि गर्नुभयो । तर म 'किन स्कुल पठाएको यही सिक्छु भनेर होइन' भन्दै कराएँ । त्सपछि मेरो घरमा महिनावारीको समयमा बार्न छाडिहालियो ।

एउटै टालो तीन पुस्तालाई

महाराजगन्ज क्याम्पसमा बीएनको थेसिस गर्दा मैले महिनावारी स्वच्छताबारे गरेँ । त्यति बेला गोकर्णमा एउटै कपडाको टालो सासू, बुहारी र छोरीले लगाएको समेत पाएँ । राम्रोसँग नपखालेकाले फोटो खिच्दा टालोमा सुकेको रगतको टाटा पनि देखिन्थ्यो । अहिले मैले विद्यावारिधि गर्ने क्रममा र विभिन्न कार्यक्रमको सिलसिलामा पनि गाउँगाउँमा जाँदा यस्ता उदाहरण धेरै भेटेको छु । पेन्टी र महिनावारी हुँदा प्रयोग गरिएको कपडा अरूले देख्छन् भनेर पेटीकोट, धोतीलगायतका अरू लुगाले छोपेर सुकाउने र राख्दा पनि घरको सबैभन्दा अन्तरकुन्तरमा राख्ने गरेको पाएँ । अझै पनि धेरै गाउँमा त महिलाले पेन्टी नै नलगाई धोतीमात्रै लगाउने चलन पनि छ ।

यसले गर्दा उनीहरूले लगाएका धोती रगताम्मे समेत हुने गरेको छ । किशोरीहरूले भने महिनावारी भएपछि सुरुवाल लगाउन थालेका छन् । कोहीले एउटा त कोहीले दुइटा सुरुवाल लगाउँछन् । कतै रगत लागिहाले अर्को फेर्छन् त कतै त्यसैले चार दिन पनि पुर्‍याउने गरेको पाएकी छु । कति ठाउँमा भने महिलाले अलि बाक्लो मुजा बनाएर धोती लगाउने र त्यहीभित्रका मुजाहरूलाई बस्दा बेरेर बस्ने गरेको पनि देखियो ।

सबैतिर छाउपडी

नर्सिङ पढेर काम गर्न थालेपछि नै मैले पश्चिममा त छाउपडी हुन्छ भन्ने थाहा पाएँ । मेरो घर चितवन । त्यहाँ मेरा दिदीहरू गोठमा गाईबस्तुसँग बसेको छाउपडी नै रहेछ भन्ने पनि बुझेँ । छाउपडी बारेकाहरूले गर्ने काम र मेरा दिदीहरूले गर्ने काम त एउटै रहेछ । मेरा दिदीहरूले त छाउपडी प्रथालाई नै अगाडि बढाइरहेका रहेछन् भन्ने लाग्यो । त्यसपछि यही क्षेत्रमा निरन्तर काम गर्न थालेँ ।

सन् २००१ मा जुम्लामा गएर छाउपडीको विरोधमा काम गर्न थालेँ । गाउँगाउँमा गएर सुत्केरी हुँदादेखि लिएर महिनावारी हुँदा के खानु हुन्छ के-के हुँदैन भन्नेबारे बुझाएँ ।त्यस्तै चार वर्ष एक संस्थाको कार्यक्रम व्यवस्थापक भएर मधेसमा किशोरीहरूसँग काम गर्ने मौका पाएँ । त्यति बेला महोत्तरी, सर्लाही र बागलुङ पुगेँ । त्यति बेला महिनावारीका क्रममा छुन नहुने, बार्नुपर्ने आदि रूढिकै कारण किशोरीहरूलाई पढाइमा अप्ठेरो परेको पाएँ । कतिले त कक्षा नै छोडेको पनि पाइयो । हरेक महिना महिनावारीकै कारण तीनदेखि पाँच दिनसम्म कक्षा छाड्ने गरेको पाइयो । बागलुङमा कोदो रोपिरहेको बारीमा गएर होस् वा धामीझाँक्रीहरूसँग गएर तालिम दिएकी छु ।

तोडियो अन्धविश्वास

पर्वतदेखि दुई दिन हिँडेर पुगिने सरपुवा भन्ने ठाउँमा रहेको एउटा मन्दिरमा केटीहरूलाई जान दिइन्न थियो । महिनावारीकै कारण जान नदिइँदो रहेछ । मैले लौ हेरौं त त्यो मन्दिरमा गएर केही हुन्छ कि हुँदैन भन्ने आँट गरेँ । तर केही भएन । सन् २००९ मा मेरो आमा बित्नुभयो । त्यति बेला मेरी बहिनीको महिनावारी भएको थियो । ऊ पनि आईए पढेर पत्रकारितामा लागेकी भएकाले मैले तिमीलाई आत्मविश्वास छ भने नबारौं, अगाडि बढौं भनेर सम्झाएँ । त्यसपछि भाइ, म र बहिनी भएर महिनावारी भएकै बेलामा आमाको १३ दिनको किरिया पनि गर्‍यौं ।

शान्तिको बाधक

महिनावारीबारेको गलत चिन्तन राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा शान्तिको बाधक हो । सशक्तीकरण र मानवअधिकारको पनि बाधक हो । दिगो विकास लक्ष्य-२०३० मा स्पष्ट रूपमा महिनावारी भनेर कहीँ पनि नलेखिएको भए पनि ६.२ टार्गेटले विद्यालयमा राम्रो गर्नु छ भने छात्राका लागि शौचालय निर्माण गर्नुपर्छ, छात्रामैत्री शौचालय हुनुपर्छ भनेको छ । जबसम्म शौचालय नै हुँदैन, हामीले लैंगिक समानतादेखि स्वास्थ्य सुधारमा केही पनि प्रगति हासिल गर्न सक्नेछैनौं । दिगो विकास लक्ष्य हासिल गर्न महिनावारी स्वच्छता एउटा 'प्रिकन्डिसन' हो । शौचालय बनाएर, यसको संख्या बढाएर र स्यानिटरी प्याडको चर्चामात्रै गरेर हामी सफल हुन सक्दैनौं ।

अन्तर्राष्ट्रिय मञ्चमै आलोचित

महिनावारीबारे रूढि मान्यता मलाई बच्चैदेखि एकदम चित्त दुखेको विषय हो । सन् २०१३ मा शान्ति निर्माणबारे मनिलामा भएको एक अन्तर्राष्ट्रिय सम्मेलनमा मैले 'साँच्चै दिगो शान्ति चाहन्छौं भने हामीले महिनावारीबारे बोल्न सुरु गर्नुपर्छ' भन्दा नेपाली साथीले नै अन्तर्राष्ट्रिय मञ्चमा मेरो आलोचना गरे । सन् २०१३ मै काभ्रेको एक कार्यक्रममा संविधानविद्, सभासद्, सञ्चारकर्मी सबै सँगै राखेर सोध्दा केटीहरू महिनावारीकै कारण महिनाको तीन दिन स्कुल नआउने थाहा भयो । तर, महिनावारीबारे बोलौं भन्दा साथीहरूले आलोचना गर्नुभयो ।

त्यति बेला मलाई लाग्यो, महिला अधिकारकर्मी वा मानवअधिकारकर्मी यसबारे बोल्दैनन् । अस्ति भर्खर अछाममा १५ वर्षकी छोरी र १८ वर्षकी आमाको छाउपडीकै कारण मृत्यु भयो तर कोही पनि महिला नेत्री बोल्नुभएन । राष्ट्रपतिदेखि सिड सदस्यसम्म सबै चुप ।

सहर नै बुझ्दैन

गाउँमा गएर कुरा गरेर वा चार घन्टा बोलेँ भने करिब ८० प्रतिशत मानिसलाई त विश्वस्त पार्न सक्छु । धामीझाँक्री र नपढेका मानिससँग काम गरेको छु । उनीहरूलाई सम्झाउन र उनीहरूको व्यवहारमा परिवर्तन गर्न त्यति गाह्रो परेन । उनीहरू आफैं नेतृत्व गरेर त्यो कामलाई पार लगाई आफैं महिनावारी वा छाउपडी मुक्त समुदाय भनेर घोषणा गर्छन् ।

तर सहरमा बस्ने अनि यूएनलगायतका निकायमा काम गर्ने, महिला सशक्तीकरणमा काम गर्ने, शान्ति निर्माणमा काम गर्ने मानिस नै समस्याका जड बनेका छन् । उनीहरूले बाहिरबाहिर महिनावारी बार्नुहुन्न भने पनि आफंैले भित्रभित्रै बारिरहेका हुन्छन् । देखिने छाउपडीको विरोध गरे पनि दिमागमा भने छाउपडी नै बोकेर हिँड्छन् ।

संविधानको अधिकार

संविधानमा १० वटा नीति प्रत्यक्ष रूपमा योसँग मिल्छ । महिलाको हक, छुवाछूतको हक, पानीको अधिकार, शिक्षाको अधिकार, रोजगारीको अधिकार लगायतका सबै अधिकार हेरियो भने संविधानको प्रस्तावनामा नै स्पष्ट रूपमा लेखिएको छ— छुवाछूत र विभेद गर्न पाइन्न । संविधानमा लेखेर के भयो र ? हाम्रा हस्तीहरू वा अधिकारकर्मी भनेका, संस्थाको ठूल्ठूला तहमा बसेका मानिस नै यसलाई तोड्न तयार छैनन् ।

संविधानमा छ, नीति छैन तर बनिहाल्छ । तर, हामीले वार्ता गर्नुपर्‍यो । महिनावारीका बारेमा वार्ता गरौं । जति बेला महिला र पुरुष यो सृष्टिमा प्रकृतिले भगवान्ले ल्याए महिनावारी आएको हो । तर, हामीले यसका बारेमा कहिल्यै पनि खुलेर कुरा गरेनौं । लुकायौं, छुपायौं, भ्रमका कुरा राख्यौं । त्यसैले हामी शंकै शंकामा बाँचिरहेका छौं । देउता आयो, देउता रिसायो भनिरहेका छौं । त्यसैले हामीले अब यसबारे खुलेर कुरा गरौं ।
(रामकला खड्कासँगको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.