जादुमयी खप्तड

जादुमयी खप्तड

'प्रेम केवल मानसिक शान्तिमात्रै होइन, शारीरिक रोगको पनि असल वैद्य हो,' झिंग्रनादेखि २१ किलोमिटर उकालो हिँडेको थकान खप्तडबाबाको यस प्रेमिल भनाइले हरिदिन्छ ।उदाउँदो पूर्वीय घामका किरणले पाटनका थुम्काहरू खुल्थ्यो । पाटनको कोखेलामा फैलिएको धुपी-सल्लाहरू सुसेल्न थालिसकेका थिए । वनै रातो देखिन्थे लालीगुराँसको फूलले । गोरेटोका दुवै किनार ऐँसेलु पाकेर हाँगाहाँगा झुकेका थिए ।

khaptad_1

'छैइघट्टा' र 'छैइपानी'जस्ता खोलोले चार जिल्ला छुट्याइदिएका छन् । चिसो स्याँठले मारेको साउती कुनै अप्सरा परीले सुसेली हालेझैं लाग्थ्यो । खप्तड राष्ट्रिय निकुञ्जभित्र लुकेको पाटनक्षेत्र पुग्न खप्तडबाबा सम्झिदिए पुग्छ । उनीप्रतिको विश्वासले ३२ सय मिटर उचाइ उग्लन अभिप्रेरित गरिरहन्छ ।

khaptad_4

डिङडुङऽ डिङडुङऽ गाईभैंसीको गलामा झुन्डिएको घाँडोले खप्तडलाई थप संगीतमय बनाएको थियो । त्यसै संगीतका तालमा भुइँभरि फुलेका अनेक जातिका फूल नाचिरहेका थिए । अथाह सौन्दर्य थपिदिएको छ डाले फूलले । सेता, पहेँला, राता, नीला फूल हेर्दा लाग्थ्यो पूरै पाटन सिंगारिएको छ ।

khaptad_2

हामीले खप्तड आ श्रम पुग्दा आर्मीका जवानहरू सरसफाइमा जुटिरहेका थिए । एमबीबीएस डाक्टर बाबा खप्तडले २००२ सालदेखि २०५३ सालसम्म यस क्षेत्रलाई आफ्नो ध्यानकेन्द्र (साधना केन्द्र) बनाएका रहेछन् । प्राकृतिक जडीबुटीले भरिभराउ उक्त ठाउँ अहिले ऐतिहासिक ठाउझैं लाग्छ । धेरै 'कहावत' र आश्चर्य लाग्ने घटना बाबासँग जोडिएको सुन्दा नयाँ पिँढीलाई रहस्य लाग्छ । बाबाले प्रयोग गर्ने सामग्री कुटीमा अझै सुरक्षित छन् । कुटी आकर्षक छ । थप आकर्षक त के भने बाबाले बेलायतबाट ल्याएर रोपेको बाबासाग नामक फूलले कुटीलाई सुगन्धमय पारेको छ ।

तीन नदीको संगम त्रिवेणी

बडो पौराणिक र ऐतिहासिक स्थलको रूपमा बुझिन्छ । जेठ २१ गते गंगा दशहराको भव्य मेला लाग्दै छ । उक्त स्थानमा कयौं भक्तजनको भीड लाग्ने कुरा स्थानीय गोठाले मानबहादुर रोकाय बताउँछन् ।३२ सय मिटर उचाइमा सहस्रलिंग भेटिन्छन् । बेडमानको ढुंगाबीच अवस्थित सहस्रलिंगसम्म पुग्न हेडक्वाटरबाट पूरै चार घन्टा लाग्यो हामीलाई ।

khaptad

आर्मी हेडक्वाटरलाई केन्द्रबिन्दु मानेर हिँड्दा खप्तड पाटन र खप्तड दह पुग्न एक घन्टा लाग्यो । खप्तड पाटनको सौन्दर्यले हरेक आगन्तुकलाई एकदम मोहित पार्छ । पाटनको ढाँचा नै कुनै मालीले मिलाएर काटेको बिरुवाझैं देखिन्थ्यो तर वास्तवमा पाटन, अप्सराको सुन्दर र आकर्षण वक्षस्थलको उभारझैं देखिन्थ्यो जसले साह्रै मोहित पाथ्र्यो ।पाटनका धुपीसल्ला, कुनै खेलको मैदानमा उभिएर हेरिरहेका दर्शकझैं देखिन्थेँ । अनि तिनको छायामा फक्रेका थिए अनेक रङका फूल ।

खप्तड दह खोँचमा थियो । चारैतिर पहाडले घेरिएको खप्तड दहको सौन्दर्य, तालमा देखिने छायाले समेत देखाउँथ्यो । धुपीसल्लाका छायाहरू एकाग्र भई पौडिरहेका थिए । दहको पश्चिम किनारमा हरिया घाँसे मैदानले थप सुन्दरता थपिदिएको थियो । दलदल र कहिल्यै पानी नसकिनु अनि छिन-छिनमा पानी बर्सिनु खप्तड दहको आकर्षक विशेषता हो । पानीको थोपाथोपामा मिसिएर असिना झर्दा मानिस कम्ता रोमाञ्चक हुँदैन । गहिरो र फराकिलो दह खप्तडको काख आफैं रहस्यको लाग्छ ।

khaptad_3

बझाङमा पर्ने नागढुंगा हेडक्वाटरबाट चार घन्टा हिँड्नुपर्छ यहाँ पुग्न । ढुंगामा बेरिएर नाग बसेको साँच्चिकै झैं लाग्छ । पौराणिक र लोककथा बोकेको नागढुंगा जाँदा घोडादाउन बाटोमै पर्छ । घोडादाउन नाम आफैंमा पौराणिक कथानक झैं छ । घोडादाउनभरि ठूलाठूला पाटन पर्छन् । ती पाटन धानको रासको थुप्रोलाई भर्खरै किसानले नाङ्लो हम्काएर छोडेझैं लाग्छ । त्यसैमाथि पाटनको शिरभरि फूलबुट्टे पछ्यौरा ओडाएझै लाग्थ्यो । भुइँफूलले सुवासिलो सुगन्ध दिइरहेका हुन्छन् ।

दुई सय ७० जातिका चरा भेटिन्छन् खप्तड राष्ट्रिय निकुञ्जमा । अझ पाटनका फाँटमा चिलका जोडी खुब भेटिन्छन् । तीनले घन्टौं बात मारेझैं लाग्छ । हामीले तिनको आसपासमा जाने कोसिस गर्‍र्यौं तर तिनीहरू प्रेमिल ठाउँ खोजेर उडे । यहाँ फुल्ने प्रत्येक फूलमा प्रेम भेटिन्छ ।

khapta_5

चार जिल्ला बझाङ, बाजुरा, अछाम र डोटीलाई छोएर निर्धक्क बसेको खप्तडले बाह्रलेक बोक्ने रामासोहन (अछाम), चार हजार एक सय ४३ मिटरमा बडिमालिका (बाजुरा) र चार हजार तीन सय सात मि.मा सुर्मा सरोबर (बझाङ) शिरमा बोकेर बसेका छन् । पाटनका शिरहरू देउताहरूको थलोको रूपमा पनि बुझिन्छ खप्तड । सात हजार मि. उचाइको अपि र सैपालजस्ता हिमालबाट झर्ने पानीको स्पर्शले हरेक पर्यटकलाई लोभ्याउँछ।

khaptad_6

बेचैनी मनको अमुक ओखती भइदिन सक्छ खप्तड । यहाँ भीआईपी आ श्रमसमेत पाइन्छ । पर्यटन बोर्डले पर्यटकको सुविधाको लागि दसबाह्र कोठाको अतिथि भवन भनाइदिएका छन् । सामान्य लाग्ने क्यान्टिनको पनि सुविधा हामी पाउन सक्छौं । दुई सय २५ स्क्वायर किमिमा रहेको खप्तड राष्ट्रिय निकुष्ज सन् १९४९ मा स्थापना भएको थियो । १४ सय मि.देखि ३३ सय मि.को उचाइमा रहेको खप्तड धार्मिक तथा सांस्कृतिकसाथ पर्खिरहेको छ नवआगन्तुक पर्यटकहरूलाई ।

यात्राको चौथो दिनमा खप्तडलाई पृष्ठभूमिमा पारेर सिलगढी झर्दा खप्तडबाबाको एक भनाइ देखिन्छ होर्डिङबोर्डमा- मानिस आफ्नो विचारले विष्ठाका कीरा र आफ्नै विचारले नरबाट नारायण बन्दछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.