चितवन काण्ड : प्रमुख निर्वाचन आयुक्तको पुत्ला जल्यो
काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनःमतदान गर्ने निर्णयविरुद्ध एमालेको युवा संगठन युवा संघ नेपालले आन्दोलन सुरु गरेको छ।
माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि विवादित बनेको भरतपुर महानगरपालिका वडा १९ मा पुन मतदान गर्ने आयोगको निर्णयविरुद्ध युवा संघ आन्दोलित भएको हो।
युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालले भने, ‘आयोगको निर्णयको युवा संघ नेपाल घोर निन्दा र भत्सर्ना गर्दछ।’
आयोगको निर्णयविरुद्ध युवा संघले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको पुत्ला जलाएका छन्। युवा संघले आयोगलाई गलत निर्णय सच्याउन आग्रह समेत गरेको छ।
‘यो निर्णय तुरुन्तै सच्याउन युवा संघ नेपाल सम्बद्ध पक्षलाई आग्रह गर्दछ’, प्रवक्ता कटवालले भन्नुभयो, आयोगको निर्णयले भोलि हार्ने पक्षले सबैले मतपत्र च्यात्ने नजिरको विकास हुन्छ, त्यसैले पनि यो निर्णय सच्याएर पुनःमतगणना गर्नपर्छ।’