बोक्रे बौद्धिकताको खेती
नेपालका एकाथरी बुद्धिजीवीहरू सधैं सुझाव दिने तहमा बस्न रुचाउँछन् । उनिहरूको काम बिहान फोनमार्फत काठमाडौंका ठूला मानिएका एफएम स्टेसनहरूमा अन्तर्वार्ता दिनु, दिउँसो टेलिभिजनका पर्दाहरू चहार्नु र साँझ शक्ति केन्द्रहरूले डिनरको लागि गर्ने आमन्त्रण नगरेको खण्डमा एकदुई चुस्की लगाएर भए पनि पत्रपत्रिकाको लागि लेख लेख्दिनु हो । काठमाडौंमा आयोजना हुने गोष्ठी र छलफल कार्यक्रममा प्रमुखताका साथ अथिति आसन ग्रहण गर्न रुचाउने ती बुद्धिजीवी मोफसलका कार्यक्रममा प्लेन टिकट र बन्द खामको प्रायोजनमा डुल्ने गर्छन् ।
देश भयंकर द्वन्द्वपछाडिको राजनीतिक परिवर्तन र त्यसले निम्त्याएको अस्थिरताको पछाडि कुदिरहेको छ । आँखा चिम्म गरेर मन नपरेकोलाई उछितो काढ्नु र मनपरेकालाई काखी च्यापेर बोल्नु लेख्नुलाई आफ्नो धर्म सम्झिने त्यस्ता खालका कैयौं बुद्धिजीवीहरू र तिनलाई मात्र पूजा गर्न रुचाउने खालका सामाजिक सञ्जाल प्रयोगकर्ता र अनलाइन मिडियाहरूसँग आजभोलि तर्कचाहिँ टन्नै तर विकल्प शून्य हुने गरेको छ ।
एकपटक ठूलै प्रकारको बुद्धिजीवीको उपाधि धारण गरेका र तीन-चार विषयमा पीएचडी गरेका एकजना महानुभावले पंक्तिकारसँग भनेका थिए, 'साला ! आजभोलि त न मिडियाले हामीलाई वास्ता गर्छन् न त जनताले ! हामीले हासिल गरेको शिक्षा र देशलाई गरेको योगदानको कदर कसैले गरेनन् ।' यो उनलाई गरिएको बेवास्ताप्रतिको कुण्ठा थियो, तर आजभोलि उनी प्रायः मिडियामा छाउन थालेका छन्, उनको बुद्धिको व्यापार राम्रैसँग चलेको छ ।
राजनीतिमा सम्भावना सदैव कायम रहिरहन्छन् । कुनै नेता या विश्लेषकले कुनै राजनीतिक घटनाक्रमको बारेमा कुनै नौलो कुरा ठोकुवा गरेर भन्छ भने त्यसले तत्कालको जनमतलाई क्यास त गर्न सक्छ, तर त्यस्तो सस्तो प्रतिक्रियाले उसलाई सम्भावनाको आकलन गर्न नसक्ने व्यक्तित्वको बिल्ला भिराइदिएको हुन्छ ।
कुनै पनि वस्तुको लम्बाइ, चौडाइ र उचाइ मात्र हेरेर त्यसको बारेमा गरिने अध्ययनको प्रचलन एक्काईसौं शताब्दीमा पुरानो भइसक्यो । त्यसलाई त्यसको क्षयीकरण या निक्षेपणको गति, समय र सामाजिक आवश्यक आयाममा मापन गर्न जरुरी छ ।
बुद्धिजीवीहरूको समाजशास्त्र के हुन्छ ? उनीहरूले राजनीतिक नेतृत्वलाई दोष थोपरिदिए मात्र देशप्रतिको जिम्मेवारी पूरा भएको मान्न सकिन्छ ? हामीले इतिहास पढेका छौं- भोल्टेयर, मन्टेस्क्युको कुनै नेता थिएनन् । उनीहरूको विचार नै फ्रान्सको राज्यक्रान्तिको प्रमुख कारक बनेको थियो, तर त्यसबाट पाठ सिक्न नचाहनेहरूले नेपालको राजनीतिको बारेमा अन्टसन्ट बोलेर आफू बुद्धिजीवी हुनुको भ्रम पालिरहेका छन् ।
नेपालमा बुद्धिजीवी हुनु एकदमै सजिलो छ । पहुँचका आधारमा बुद्धिजीवीहरूको तह निर्धारण हुन्छ । उनीहरूको उठबस र लबाइखवाइको आधारमा उनीहरूलाई मान्यता दिइन्छ । तर हामीले हाम्रा छिमेकी देशहरूमा हेर्यौं भने व्यावसायिक प्रायोजनार्थबाहेक राष्ट्रिय मुद्दाका बारेमा निकै कम व्यक्तिहरू बोल्ने गर्छन् र उनीहरूले बोलेको कुराले राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा ठूलो महत्व बोकेको हुन्छ ।
आजभोलि सामाजिक सञ्जालहरूको माध्यमबाट त्यस्ता व्यक्तिहरूको चालढाल र क्रियाकलापलाई नजिकबाट हेर्न सकिन्छ । केही सञ्जालका प्रयोगकर्ताहरूले उचालिदिएको भरमा राष्ट्रिय राजनीतिको बारेमा धारणा बनाइहाल्ने र त्यसैमा रमाउने खालका क्षूद्र र मन्द बुद्धि भएका त्यस्ता मान्छेहरू प्रायः सार्वजनिक जीवनका भोका हुने गर्छन्।
के कुरा साँचो हो भने नेपालको परराष्ट्र नीति स्थिर छैन । राजनीतिक अस्थिरताले निम्त्याएको अस्थिर नीतिलाई आफूखुसी व्याख्या गर्ने छुट जोकोहीलाई पनि दिइएको छ । त्यस्ता व्यक्तिहरूले जनताले चुनेर पठाएकाहरूले भन्दा बढी राजनीतिलाई प्रभाव पार्ने गरेका छन् । आफूखुसी या सरकारी छात्रवृत्तिमा पढेका, व्यवसाय या अध्यापन या निजामती जागिरलाई साथसाथै डोर्याएकाहरूले जबसम्म कुनै अमूक दल या शक्ति केन्द्रको झोला बोक्दै देशको बारेमा सबभन्दा माथि चढेर टिप्पणी गर्छन् तबसम्म देश त्यस्ता बुद्धिजीवीहरूबाट पीडित भइरहेको हुनेछ ।
दसौं वर्ष विदेशमा कुनै प्रोजेक्टमा महँगो जागिर खाएर बसेका र नेपालको तरल राजनीतिबाट फाइदा उठाउन सक्ने देखेपछि नेपाल फर्केर रातारात विश्लेषक हुने रोगले पनि देशलाई अनौठो तरिकाले गाँजेको छ । उनीहरूका थेसिस, सोच र सम्भावना नेपालअनुकूल छ कि छैन भनेर आम जनताले त्यति चासो राखेको पाइँदैन । जनता नै मौन बस्ने भएपछि उनीहरूको बोक्रे बौद्धिकताको सुई माथि जाने नै भयो । केही समय बौद्धिक व्यापार गरिसकेपछि कुनै अमूक दलको झोला बोक्नु त्यस्ताको सामान्य नियति हो ।
केही समयपहिला भर्खरै नयाँ घोषणा भएको साझा पार्टीका संयोजक रवीन्द्र मि श्रलाई बडो संगीन आरोप लगाइयो । मि श्र ठीक होलान् या नहोलान्, तर नेपालमा आफूले मागिखाने भाँडो खोसिने चिन्तामा उनलाई हतार-हतारमा देश टुक्रयाउने अभियानमै सामेल भएको भनेर आरोपित गर्ने काम गरियो । न त मि श्रमाथि लागेको आरोप पुष्टि भयो, न त ती महाशयले माफी नै मागे । त्यो फगत मिडियामार्फत स्थापित हुन खोजिएको निम्नस्तरको प्रयास मात्र थियो ।
शोध र अनुसन्धान जनताको घरदैलोमा गएर गरिन्छ । नेपाल वायु सेवा भवनको तल्लो तलामा रहेको भारतीय पुस्तकालयमा बसेर हुँदैन । सीमासम्बन्धी बोल्ने-लेख्ने हो भने जंगे पिलरमाथि कापी अड्याएर लेख्न सुरु गर्नुपर्छ । क्षेत्रीय मुद्दाहरूमा बोल्न खोज्नेहरूले राजनीतिक तहमा देखिएको अन्तर्विरोधभित्रै घुसेर त्यसलाई अनुभव गर्नुपर्छ । विकास निर्माणको बारेमा बोल्नेहरूले नेपालको माटोमै बसेर झुपडीदेखि महलसम्मको अध्ययन गर्नुपर्छ । वैदेशिक रोजगारको विषयमा लेख्नेहरूचाहिँ म्यानपावर चलाएर बसेकाको जिम्मेवारी होइन । राजनीतिक स्थिरताको बारेमा लेख्ने काम कुनै अमूक पार्टीको झोला भिर्नेहरूको होइन ।
कतिपय बुद्धिजीवीहरू विदेश भ्रमणका सौखिन हुन्छन् । एयरपोर्टमा हात हल्लाउँदै गरेका उनीहरूका फोटाहरू सार्वजनिक हुन्छन् । तर उनीहरूले विदेशमा गएर देशको कुन एजेन्डामा छलफल गरेर कुन खालको निष्कर्ष ल्याउँछन् भन्नेमा स्वयं अनभिज्ञजस्ता देखिन्छन् । कसैले भ्रमण प्रायोजन गरिदिँदैमा उनीहरूले देशको गरिमा उच्च राख्नको लागि नै गएका हुन् भन्ने कुरा तथ्यसंगत होइन ।
एमालेका अध्यक्ष केपी ओलीको भनाइलाई सापटी लिने हो भने त्यस्ता बुद्धिजीवीलाई 'फर्सी बुद्धिजीवी' भनिन्छ । बाहिरबाट हेर्दा सर्लक्क परेको जस्तो देखिने तर भित्र कुहिएको नियत बोकेकाहरूले नेपालको बौद्धिक जगत्लाई नै कुरीकुरी गरिरहेका जस्ता देखिन्छन् ।
पंक्तिकारले त्यस्तालाई संक्रमणकालीन या यथास्थितिवादी बुद्धिजीवी भन्न रुचाउँछ । उनीहरूसँग निकासको लागि केही हुँदैन मात्र फोस्रो तर्क हुन्छ । तर गलत नियत राखिएका सही तर्कहरूले सही नियतसहितको अवधारणालाई प्रभावित पार्न सक्दैन । कन्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोलीबाट मारिएका गोविन्दलाई गोली लाग्नेबित्तिकै काठमाडौंबाट त्यस्ता बुद्धिजीवीहरूबाट आउने विविध धारणाले पूरै भूराजनीतिक शक्ति सन्तुलन नै खल्बल्याउने कोसिस गर्छन् । उनीहरूको नैतिकताको मापन हुँदैन । यदि हुन्थ्यो भने सबभन्दा कम रेटिङ पाउँथे । उनीहरूको वचनमा दम हुन्थ्यो भने त्यसले राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा नै प्रभाव पार्न सक्थ्यो।
व्यक्तिको प्रभाव रहिरहने नेपाली राजनीतिमा असल, इमानदार र विश्वसनीय 'थिंक ट्यांक' का विचारहरूलाई गौण रूपमा प्रस्तुत गरिन्छ । अर्थात् नेपालमा इमानदार बुद्धिजीवीहरू निकै कम छन् ।एउटा उदाहरण काफी छ, नेपालमा भएको राजनीतिक परिवर्तनप्रति अनुदार रहेको एउटा बौद्धिक खेमाले निरन्तर बदलिएको शासन व्यवस्थासँग किचकिच मात्र गरिरह्यो । इमानदारीपूर्वक विकल्पमा छलफल गर्न चाहेन । यदि उनीहरूको विश्लेषणमा दम र तर्कमा सत्यता हुन्थ्यो भने देशले परिवर्तनपछिको यो कठिन समय सहजै पार गर्न सक्थ्यो । जनता आतंकित पारेर समाज भाँड्ने जमातलाई बुद्धिजीवी मानेर पूजा गर्ने हाम्रो समाजको सामाजिक संरचना पनि शंकाको दायरामा आउँछ ।
समग्रमा भन्ने हो भने राजनीतिको दिशा र गतिसँग नेपालका प्रायः बुद्धिजीवीहरूको 'वेभ लेन्थ' मिल्दै मिल्दैन, यद्यपि इमानदारीलाई अहिलेसम्म जोगाएर राखेका व्यक्तित्वहरू पनि नेपाली समाजमा धेरै छन् र कतिपय बौद्धिक सिन्डिकेटको मारमा पर्ने गरेका छन् । कुनै पनि वस्तुको लम्बाइ, चौडाइ र उचाइ मात्र हेरेर त्यसको बारेमा गरिने अध्ययनको प्रचलन एक्काईसौं शताब्दीमा पुरानो भइसक्यो । त्यसलाई त्यसको क्षयीकरण या निक्षेपणको गति, समय र सामाजिक आवश्यकतालगायतका आयाममा मापन गर्न जरुरी छ ।