नोरिएगा तन्त्रका हर्ताकर्ता
यही जेठ १५ गते (२९ मे) मा म्यानुएल नोरिएगाको मृत्यु भएछ । नोरिएगा सन् १९८३ देखि १९८९ सम्म ६ वर्ष पनामाको तानाशाह राष्ट्रपति थिए । उनले शासन, शक्ति र सरकारी साधनको दुरुपयोग गर्दै कोकिन र अन्य लागूपदार्थ अमेरिका, फ्रान्स र अन्य देशहरूमा तस्करी गरेर, विदेशी कालो धन धुनेलगायत जे गरेर हुन्छ, अनाप-सनाप सम्पत्ति सोहर्न थाले ।
एउटा देशको सर्वोच्च शासकको यस्तो कुख्यात शासनबाट अमेरिका र अरू देश धेरै क्रूद्ध थिए । सन् १९८८ मा अमेरिकाको एउटा अदालतले लागूपदार्थ ओसारपसार मुद्दामा नोरिएगालाई ३० वर्ष कैद सजाय गर्योस, तर नोरिएगा पनामाको राष्ट्रपति रहिरहे । सन् १९८९ मा अमेरिकाले पनामामाथि आक्रमण गर्योा । नोरिएगा भागेर पनामास्थित भ्याटिकनको राजदूतावासमा शरण लिए । अमेरिकाले लाउड स्पिकर प्रसारण र मनोवैज्ञानिक युद्धका अन्य साधन प्रयोग गर्न थाल्यो ।
केही दिनपछि नोरिएगाले आत्मसमर्पण गरे । उनलाई अमेरिका पुर्यापएर कैदमा राखियो । उनले फ्रान्समा पनि अपराध आयोजित गरेकोमा त्यहाँको अदालतले पनि अनुपस्थितिमै उनलाई कैद सजाय सुनाएको हुँदा केही वर्ष अमेरिकामा थुनी फ्रान्सलाई सुपुर्दगी गरियो । फ्रान्समा पनि केही सजाय भोगेपछि उनलाई पनामामा पनि सजाय गरिएको हुँदा त्यहाँ थुनामा राख्ने सर्तसहित पनामा पठाइयो ।
म्यानुएल नोरिएगा एउटा उदाहरण हुन् । द्रव्य पिसाचले टाउकोमा वास गरेपछि नेताहरूले कतिसम्म नीच र निम्न कर्म गर्न सक्छन् । तर नोरिएगा मात्र होइन, अरू नोरिएगा झैं लागूपदार्थ नियतिको धन्धा नगरे पनि विदेशी कालो मुद्रालाई धुने देशको अर्थतन्त्र र जनताले तिरेको राजस्व मार्ने, विदेशी कम्पनी र विदेशी वा स्वदेशी ठेकेदारहरूलाई देश र जनताको ठूलो अहित गर्दै निजी सम्पत्ति आर्जन गर्दछन् ।
नेपालका यस्ता महान् द्रव्य पिसाचहरूको नाम अहिले नलिऊँ, तर अरू पनि देखिएका छन्, जस्तै- हाइटीको जिन डुभालिएर, पेरूको निर्वाचित राष्ट्रपति फुजीमोरी, फिलिपिन्सको जोसेफ इस्ट्राडा, पाकिस्तानको निर्वाचित राष्ट्रपति असिफ अली जरदारी र हालै मात्र नाजायज काम गरी आफ्नो मित्रलाई गैरकानुनी रकम लाभ गराएकोमा महाभियोग लागी हटाइएकी दक्षिण कोरियाकी राष्ट्रपति पार्क ग्युन हे ।
हरेक दिन अखबारहरूमा हाम्रा नेताहरूका काला कर्तुतहरू प्रकाशित हुन्छन्, तर यिनीहरूलाई केही हुँदैन । मुठीभर नेताहरू, कमिसन एजेन्टहरू, तस्करहरू अपराधका फ्याउरे डनहरू, विदेशी मुद्रा र विदेशी खाताहरूबाट लेनदेन चलाउनेहरूको शासन सञ्जाललाई कुन तन्त्र भन्ने ?
तर नेपाल र अरू देशमा फरक देखिन्छ । अरू देशमा जत्तिकै र जस्तै ठूलो पद प्राप्त गरेको व्यक्ति भयो भने पनि भ्रष्टाचार गरेकोमा त्यस व्यक्तिमाथि अदालतमा मुद्दा दायर हुन्छ र सजाय पनि हुन्छ । तर नेपालमा ठूला पद प्राप्त राजनीतिज्ञले कर्मचारी वा पूर्व कर्मचारीलाई आफूखुसी वा विदेश इसाराबमोजिम भ्रष्टाचारको विषय हेर्ने हाकिमहरू पजनी गर्छन् र सजाय त के आरोपसमेत नलागी सधैं उन्मुक्त रहन्छन् । कैयौं उदाहरण छन् । छिमेकी भारतमा हेरौं । पाँचपटक विधान सभा र तीनपटक लोकसभाको चुनाव जितेका सुखरामले केन्द्रमा सञ्चारमन्त्री रहँदा भ्रष्टाचार गरेको आरोपमा पाँच वर्ष कैदको सजाय पाए र तिहाड जेल बसे ।
अर्को टेलिकम्युनिकेसन मन्त्री अन्दिमुथाई राजा पनि टुजी स्पेक्ट्रम काण्डमा १५ महिना तिहाड जेलमा बसेपछि सर्वोच्च अदालतले मन्त्रालय छिर्न नपाउने र उनको प्रान्त तमिलनाडु जान नपाइने सर्तमा मुद्दा छिनोफानो नहुन्जेललाई जमानतमा रिहा गरेको छ । मुद्दा चलिराखेको छ । भ्रष्टाचार गरेकाले हरियाणाका मुख्यमन्त्री ओमप्रकाश चौटाला ८१ वर्षको उमेरमा दस वर्ष कैद भोग्दै जेलमा छन् ।
छिमेकी बिहारमा पशुचारा घोटाला काण्डमा नौ सय ५० करोड सरकारी खजानालाई फर्जी काम गरी नोक्सान परेको आरोपमा मुद्दा लागेपछि मुख्यमन्त्री पद छाडी लालु यादवले आफ्नो पत्नी राबडी देवीलाई मुख्य मन्त्री बनाए । एउटा मजाक खुब प्रचलित भयो विहारमा- अरू ठाउँ भैंसीले चारा खाएपछि दूध दिन्छ, तर बिहारमा सरकारी चारा खाएपछि दूधको ठाउँ सोझै राबडी (दूधको मिठाई) दिन्छ । राँचीको विशेष अदालतका प्रभासकुमार सिंहले विहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मि श्रलाई चार वर्ष कैद र लालु यादवलाई ६ वर्ष चुनाव लड्न नपाउने र २५ लाख जरिबानाको सजाय गरे ।
म्यान्डुएल नोरिएगा उसको देश पनामा पक्राउ परेन किनभने जेसुकै र जस्तोसुकै अपराध गरे पनि ऊ सर्वोच्च शासक थियो र पनामामा प्रजातन्त्र थिएन । ऊ सैनिक 'कु' र जुन्टा (उच्च सैनिकहरूको शासकमण्डली) मार्फत राष्ट्रपति भएको थियो । त्यसैले उसलाई उसको देशमा केही हुन सकेन । तर लागूपदार्थ ओसारपसारले परेसान अमेरिकाले सैनिक हस्तक्षेप गरेर उसलाई पक्राउ गरेर अमेरिका लगेको थियो ।
अरू हामीले माथि उल्लेख गरेका उदाहरणमा अरू देशमा भ्रष्टाचार गरेकोले ठूलाठालु राजनीतिज्ञहरूले पनि सजाय पाएको देख्यौं । भारतमा समेत सजाय पाएको देख्यौं । तर नेपालमा किन यस्ता महाभ्रष्ट नेताहरूले सजाय पाउँदैनन् ? के फरक छ त नेपाल र भारतमा ? उत्तर सुन्दा पढ्दा कसैकसैलाई मनमा कस्तो-कस्तो पनि लाग्न सक्ला कि, किन भारतमा समेत ठूला भ्रष्टहरूलाई सजाय हुन्छ, तर नेपालमा हुँदैन ? कारण यो हो कि भारतमा त्रुटियुक्त भए पनि प्रजातन्त्र छ भने नेपालमा छैन ।
भारत पनि पूर्ण प्रजातान्त्रिक देशहरूको सूचीमा पर्दैन । तर त्रुटिपूर्ण भए पनि प्रजातान्त्रिक देशहरूको सूचीमा पर्छ । नेपाल प्रजातान्त्रिक देशहरूको सूचीमा छैन । सन २०१७ को फ्रिडम इन द वल्र्ड वा २०१६ को डेमोक्रेसी इन्डेक्स हेर्नुस् । विकिपिडियाहरूमा सजिलै पाइन्छन् । १६७ देशहरूको प्रजातन्त्रको वर्गीकरणमा भारतको स्थान बत्तीसौं भएर १० अंकमध्ये ७.८१ अंकका साथ छ । नेपाल ४.८६ अंकको साथ एक सय देशहरूभन्दा पनि चुत्थो १०२ औं स्थानमा छ र प्रजातान्त्रिक देशहरूको सूचीबाहिर हाइब्रिड रिजिमको श्रेणीमा छ ।
अर्को सार्क देश श्रीलंकाको पनि त्रुटिपूर्ण भए पनि प्रजातान्त्रिक ७६ देशहरूको सूचीमा पर्छ । श्रीलंकामा युद्ध चल्दा पनि चुनावहरू कहिल्यै रोकिएन । सीधासादा शब्दमा सर्वसाधारण नेपालीले बुझ्ने भाषामा भन्दा नयाँ संविधान २०७२ बनाएपछि पनि नेपाल 'प्रजातन्त्रको परीक्षामा फेल छ ।'अन्तर्राष्ट्रिय कसौटीमा आज पनि नेपालको प्रजातन्त्र खोटो छ, तर नेपालको वर्तमान शासन प्रणालीलाई वर्णसंकरतन्त्र भनेर मात्रै पनि सही चित्रण हुँदैन होला ।
ठूला नेताहरूलाई राजस्व लुट्ने र केही पनि नहुने निरंकुश स्वच्छन्दता छ । सांसद पद बिक्री गर्ने, राजदूत पद बेच्ने, प्रहरी उच्चतम र उच्च पदहरू डाक लिलाम गर्ने, न्यायाधीशहरूको लिस्ट आफ्ना अरौटेभरौटे र अर्बौंको ठेक्कापट्टा नोटले भरिएको सुटकेस, अस्ति त झन् एउटा प्रहरी उच्च पदस्थले सुटकेसमा पनि होइन, बोरामै बुझाउनेलाई दिने मुठीभर नेताहरूको आजको शासकलाई के भन्ने ? के सबैभन्दा उपयुक्त हुन्छ होला । हरेक दिन अखबारहरूमा यिनीहरूका काला कर्तुतहरू प्रकाशित हुन्छन् । तर यिनीहरूलाई केही हुँदैन । मुठीभर नेताहरू, कमिसन एजेन्टहरू, तस्करहरू अपराधका फ्याउरे डनहरू, विदेशी मुद्रा र विदेशी खाताहरूबाट लेनदेन चलाउनेहरूको शासन सञ्जाललाई कुन तन्त्र भन्ने ?
अलिअलि भएको न्यायिक स्वतन्त्रता र स्वच्छतालाई पनि समाप्त पार्ने नियतका साथ पटकपटक आक्रमण गर्ने नेतातन्त्रलाई के भन्ने ? न्यायाधीशले अलिकति निर्भीकता देखायो कि तेजोबध गर्न हुने-नहुने सबै कर्म गर्ने शासनलाई के तन्त्र भन्ने ? प्रेस स्वतन्त्रता समस्या र संकटहरूले ग्रस्त छ । यस्तो वर्तमान शासनका शासनकर्ताहरूलाई के भन्ने ? चोरतन्त्रका हर्ताकर्ता ?
उहिले ग्रिक भाषाबाट एउटा क्लेप्टोक्रेसी भन्ने शब्द बनेको रहेछ, जसको अर्थ नेपालीमा अनुवाद गर्दा चोरहरूको शासन वा चोरतन्त्र हुन्छ । नोरिएगा यसको सटिक उदाहरण थिए । इस्ट्राडा र अरू माथि उल्लेख भइसकेका नामहरू पनि यसका उदाहरण छन् ।नेपालको वर्तमान शासनतन्त्रलाई वर्णसंकरतन्त्र, खोक्रो प्रजातन्त्र, आंशिक प्रजातन्त्र र खोटो प्रजातन्त्र मात्र भन्दा कुरा साह्रै अपूरो, अधुरो र अस्पष्ट हुन्छ ।