एउटा राजीनामाको मनोव्यथा
म एक 'सफल' प्रधानमन्त्री भएर पनि किन राजीनामा दिएँ ? प्रश्न धेरै मानिसहरूको मनमा पलाएको छ । मेरो मनमा पनि उब्जिएको छ । दिनुपर्ने कुनै खास कारण थिएन । संसद्मा मेरो बहुमत छँदै थियो । नभएको खण्डमा मेरै प्रतिपक्षले चाहिँदो समर्थन जुटाइदिने आश्वासन दिएकै थिए । देशमा कुनै संकट परेको पनि थिएन । ममाथि कुनै अविश्वासको प्रस्ताव पेस भएको पनि थिएन । दक्षिण कोरियाका राष्ट्रपतिको विरोधमा जस्तो विशाल जुलुस मेरो विरोधमा निस्केको पनि थिएन ।
भेनेजुयलाका राष्ट्रपतिको राजीनामाको माग गर्दै अहिले पनि ठूलो जुलुस निस्कँदै छ, तर उनले सत्ता छोडेका छैनन् । त्यो देख्दा त म त साह्रै सोझा र सीधा मान्छे रहेछु भन्ने लाग्छ । मेरा सत्ता सहमार्गीहरूले भद्र सहमतिको कुरा निकाल्नेबित्तिकै मैले खुरुक्क राजीनामा दिइटोपलें । हुन त तिनकै प्रधानमन्त्रीले यस्तै सहमति भएअनुसार सत्ता छोडिदिनुस् भन्दा पटक्कै मानेका होइनन् । हुन त मरिसकेका मानिसको के कुरा गर्नु ? राजनीतिमा लागेका मानिसहरू बाँचे पनि मरेसरह नै हुने रहेछन् र मरे पनि बाँचेकैै हुने रहेछन् । त्यसकारण सन्दर्भ मिलेको बेलामा चर्चामा आइहाल्छन् । त्यसकारण मैले उनलाई सम्झेर अन्यथा गरेजस्तो लाग्दैन । मैले आलोचनात्मक स्मरण गरे पनि उनको आत्माले शान्ति पाओस ।
नेपालीहरूले मलाई राम्ररी चिनेकै छन् । म अप्रत्यासित निर्णय गरेर चमत्कार गर्न प्रख्यात छु । मैले १० वर्षसम्म जनयुद्ध चलाउँदा नेपाली जनताले दसैं राम्ररी मनाउन पाऊन् भनेर कतिपटक नसोचिएको रूपमा युद्धविराम गरेको थिएँ । घमासान लडाइँ चलेको बेला अचानक शान्ति हुँदा मानिसहरू चकित हुने गर्दथे । मैले पहिलोपटक प्रधानमन्त्रीको पदबाट राजीनामा पनि चटक गरे झैं दिएको थिएँ । कटवाललाई खोस्न मेरै सहयोगीले मलाई बसिखान दिएनन् । त्यसैले अचानक निकालिदिएको त म नै अचानोमा परें । त्यो बेला पनि मैले राजीनामा नदिइनहुने अवस्था थिएन । म अनेक संवैधानिक र राजनीतिक किसिमले लड्न सक्थें, तर मेरो मन न हो छोडिहालें । मेरो बानी नै यस्तै छ- मनमा लाग्यो कि गरिहाल्ने । यस्तो देख्दा तपाईंहरू आश्चर्य मान्नुहोला । बेलामौकामा मलाई पनि आफैंसित आश्चर्य लाग्छ ।
तपाईंहरूलाई थाहै छ- यसपटक म प्रधानमन्त्री बन्न खोजेको पनि थिइनँ । परिस्थितिवश मलाई बन्नुपर्यो । होइन भने मैले आफ्नै सहयात्रीको विरोधमा अविश्वासको प्रस्ताव संसद्मा किन पेस गर्थें र ? मैले सो काम आफूखुसी गरेको थिइनँ । त्यो त तपाईंहरूलाई थाहै छ किन गरें भनेर । जे भए पनि मैले उनीहरूले भने भनेका काम त गरिन नि ! द्रूतमार्ग उनीहरूलाई नै चाहियो भनेका थिए । मैले दिइनँ । आफ्नै देशको सेनालाई सुम्पिदिएँ । ओबोर सम्झौतामा पनि हस्ताक्षर नगर भन्थें । जे त पर्ला भनेर जाने बेलामा हस्ताक्षेर गरिदिएँ ।
त्यसबाट हाम्रो देशलाई फाइदा नै फाइदा हुन्छ भन्ने त थाहा थियो । तर के गर्ने आफ्नै सहयात्री त्यो फाइलमाथि बसेको बसेकै, छोड्दै नछोड्ने । बल्लबल्ल उम्काएर सही गरेर पठाएँ । त्यही कुरामा हिमालपारिका छिमेकीको ठूलो खप्की खाएँ । मसँग रिसाएर मेरो मुखै हेर्दिनँ भनेर बसेका रहेछन् । बल्लतल्ल यसपालि मनाएर आएको छु । पछि के गर्ने हुन् भन्न गाह्रै छ । उनीहरू धेरै बोल्दैनन् । इशाराबाट बुझ्नुपर्छ । साह्रै गाह्रो छ । अर्को छ छुच्चो । यसो गर्दे उसो गर्दे भनेर दिनरात कराइराख्छ । गरिदिऊँ तपाईं-हाम्रो नोक्सान हुने । नगर्दिऊँ धम्काइहाल्ने । हेग पठाइदिन्छु भन्ने । कस्तो मान्छे परेछ भने दिक्कै लाग्छ सम्झँदा पनि । कुग्रामबासः कुजनस्यः सेवा । खराब ठाउँमा बस्दा र दुर्जनको सेवा गर्दा आगो नभई जीउ डढ्छ भन्छन् । मलाई उसको मुख सम्झनेबित्तिकै त्यस्तै लाग्ने भयो । त्यसकारणले मलाई यो प्रधानमन्त्रीको पदमा बसिराख्न मनै लागेन । छाडिदिएँ ।
गणतन्त्र ल्याइयो, हिन्दु राज्यलाई फालियो, संघीयता लागू गरियो । तर के गर्नु यी परिवर्तन समाहित भएको संविधान भने आफूले भनेजस्तो ल्याउन पाइएन । जसको पतनको लागि लडिएको थियो, त्यसैलाई मान्नुपर्यो । मलाई केको रहर छ र यो संसदीय व्यवस्था जोगाइराख्न ?
बसिराखूँ पनि कसरी ? अरूको काम गर्दागर्दा हैरान भएँ । नयाँ आईजीपी नियुक्ति गर्ने कुरा कति सजिलो थियो । तर अरूको कुरा सुन्दा कत्रो बबन्डर भयो । उनकै गृहमन्त्रीलाई चित्त नबुझेको काम मलाई गर्न कर लगाइयो । काम कुरा बिग्रेपछि त्यसमा मेरो कुनै हात छैन भनेर सार्वजनिक बक्तव्य निकालें । चोरको खुट्टा काट् भन्दा स्वाट्ट खुट्टा तानेजस्तै भयो । त्यसको दोष अनावश्यक रूपमा मेरो टाउकोमा आयो । यसमा केकति घोटाला भएको थियो मलाई थाहै भएन, तर धान खाने मुसो चोट पाउने भ्याकुतो भन्ने चरितार्थ भयो । त्यतिले पनि नपुगेर प्रधानन्यायाधीशमाथि नै खनिन पुग्नुपर्यो । तिनले के नि अपराध गरेकी थिइन् र तिनमाथि महाभियोग लगाउनुपर्ने ? तिनले त हामीले भनेका नियुक्ति आदि गरिदिएकै थिइन् । आफूलाई चित्त नबुझे पनि यो कुर्सीमा बसेपछि यस्तै नचाहिँदो काम गर्नुपर्दो रहेछ । त्यसैकारणले पनि त्यहाँ बसिराख्न मन लागेन र छोडिदिएँ ।
अर्को झमेला पर्यो, यी मैदानका साथीहरूसित । हुन त मैले नै भौगोलिक स्वायत्तता, जातीय पहिचान र अधिकार र उत्पीडित वर्गको मुक्तिका नाराहरू निकालेको हुँ । तर यिनीहरूले त्यही हतियार लिएर मैमाथि आइलागे । यिनीहरू आखिर मेरो घाँटीमा अड्केको हाडजस्तै भए । न ओकल्न सक्छु न त निल्न सक्छु । जे भए पनि म सत्तामा हुँदासम्म यिनीहरूलाई फकाइफुलाइ थामथुम पारेर राख्न सकें । हुन त मलाई थाहा थियो- उनीहरूले भनेजस्तो संविधानमा संशोधन गर्न सकिन्न । मलाई पनि चित्त बुझेको होइन । तर उनीहरू र उनका सहयोगीहरू नउक्सियून् भन्नको लागि यो कुरा उठाइराख्न करै लाग्यो । यसबारेमा प्रतिपक्षसँग पनि शीर्षस्तरमा गोप्य समझदारी भएकै हो । आखिर मेरो कार्यकालको अन्तिम समयसम्म यसलाई तानेर ल्याउन सफल भइयो । अब हेर्छु नि मेरा उत्तराधिकारीले कसरी यो पेचिलो समस्या उल्झाउँदा रहेछन् ! यसको समाधान मैसँग मात्र छ भनेर खुबै दावा गर्दै हिँड्ने गरेका छन् । जे भए पनि मेरो टाउको त हलुँगो भएको छ । उहाँलाई मेरो शुभकामना !
मलाई मेरा दौंतरी नेताहरूमाथि सारै टिठ लागेर आउँछ । मैले जस्तो स्पष्ट कुरा कसैले गरेजस्तो लाग्दैन । तैपनि कुरै बुझ्दैनन् । साँच्चै भन्ने हो भने नेपाली जनताले नै मेरो मनको कुरा बुझेका छैनन् । जनतालाई बुझाउन नसक्दा एउटाले श्रीपेच नै गुमाए । त्यसैले डर लागिराख्छ । मलाई १७ हजार मान्छे मार्यो भनेर दिनरात गाली गरिरहन्छन् । मान्छे जन्मेपछि त्यसै पनि मर्छन् । कुनै महान् उद्देश्यको लागि मर्नु गौरवको कुरा हो । त्यसमा पनि स्वार्थरहित भएर काम गर्दा कसैको ज्यान जान्छ भने त्यसलाई हत्या मानिँदैन भन्ने सत्य हाम्रै धार्मिक ग्रन्थमा लेखिएको छ ।
यस्य नाहङ्कृतो भावो बुद्धिर्यस्य न लिप्यते, हत्वापि स इमाँल्लोकान्न हन्ति न निबध्यते । जुन मानिसमा कर्ताको भावना छैन र जसको बुद्धि सांसारिक पदार्थ र कर्ममा लिप्त छैन, उसबाट कसैको मृत्यु हुन गए भने पनि त्यसलाई हत्या मानिँदैन र पाप लाग्दैन । यो लेखिएको गीताको अठारौं अध्यायको सत्रौं श्लोकमा । यसको मर्म राम्ररी बुझ्ने मानिसहरूले ममाथि हत्याको दोषारोपण कदापि लगाउन सक्दैनन् । यस्तो गुह्य कुरा बुझ्न नसक्ने मानिसहरूलाई म के भनूँ ?
म प्रधानमन्त्री बनेकोमा र छोडेकोमा केके नि भयो भनिठान्छन् । मलाई भने यो मामुली लाग्छ । नेपालमा कत्रा-कत्रा परिवर्तन ल्याउन सकियो ! गणतन्त्र ल्याइयो, हिन्दु राज्यलाई फालियो, संघीयता लागू गरियो । तर के गर्नु यी परिवर्तन समाहित भएको संविधान भने आफूले भनेजस्तो ल्याउन पाइएन । जसको पतनको लागि लडिएको थियो, त्यही पुरानै संसदीय प्रणालीलाई मानेर बस्नुपर्यो । त्यसैमा अल्मलिनुपर्यो । मलाई केको रहर छ र यो संसदीय व्यवस्था जोगाइराख्न ? सके त अहिले पनि फालिदिने थिएँ । नसकेर मात्र गम खाएर बसेको छु । तर मौका आयो भने यसलाई फालिहाल्नेछु । शक्तिशाली राष्ट्रपति बनूँला र के-के चमत्कार गरेर देखाउँला भनेको त खालि प्रधानमन्त्रीको कुर्सीमा बस्ने र उठ्ने चमत्कारसिवाय अरू देखाउनै सकिएन । यो पद त मेरो लागि तृण बराबर हो । मेरो असली रूप र चमत्कार नेपाली जनताले देखेकै छैन । एकपटक त्यही देखाउन पाऊँ भनेर प्रार्थना गर्दैछु ।