मंगोल सुन्दरीका प्रतिभा
काठमाडौं : आफ्नो पालो आएपछि स्टेजमा पुगिन् धरान निवासी जेन लिम्बू । गीत गुन्जियो, 'राम्री पनि भा'की छु ।' गीतको तालमा उनी छमछमाउन थालिन् । त्यही प्रतियोगिता, स्टेज अनि गीतमा दुई वर्षअघि त्यही उपाधिका लागि डा. निमा पुन नाचेकी थिइन् । दुई वर्षअघि उनी प्रतियोगी थिइन् भने यसपटक निर्णायक ।
एक्सन इन्टरटेनमेन्टको आयोजनामा भएको मिस मंगोल नेपाल २०१७ का सहभागीले शनिबार राजधानीमा जेनले जस्तै 'मिस ट्यालेन्ट' उपाधिका लागि आआफ्नो प्रतिभा देखाए । प्रतियोगीले नृत्य, गीत, पेन्टिङ, विचार अभिव्यक्ति, वाद्यवादन, अभिनय, क्यारिकेचरमार्फत आआफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् ।
प्रतियोगितामा जेनका साथै सोफिया महर्जन, दुर्गा थापामगर, मीना लामा, निशा राई, सुरक्षा जबेगु, कन्चन योञ्जन, खुसी मगर, केट्रिन कुलुङ, नेहा खड्गीले नृत्य गरेका थिए । त्यसैगरी, प्रेमकला राई, अरिना राई, रेनुका लामा, महिना राई, सल्मा पुन, हाङमा निङलेखु, रेभा सुनुवार र करुना पुनले पनि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा मीना लामा र निशा लिम्बूले पेन्टिङ, अनिता लामा र रेश्मा मोत्तानले गीत गायन, सुविक्षा मगर, प्रिया राजभण्डारी र शारदा थापाले विचार अभिव्यक्ति एवं भूमिका थापा र तृष्णा लामाको नाट्य प्रस्तुति रहेको थियो ।
प्रतियोगिताको उत्कृष्ट १५ मा पुग्न ट्यालेन्ट राउन्डको प्रस्तुतिलाई २५ प्रतिशत आधार मानिने भएकाले सहभागीहरू सशक्त रूपमा प्रस्तुत भएका थिए । मिस ट्यालेन्ट उपाधि विजेताले उत्कृष्ट १५ मा सिधै प्रवेश पाउनेछ । प्रतियोगीको प्रस्तुतिलाई चलचित्र सम्पादक नरेन्द्र खड्का, कलाकार उत्तम केसी, सञ्चारकर्मी डब्बु क्षेत्री, संगीतकार शान्तिराम राई, म्युजिक भिडियो निर्देशक विज्ञान राई र मिस मंगोल नेपाल २०१५ डा. निमा पुनले मूल्यांकन गरेका थिए ।
मिस मंगोल नेपालको यो नवौं संस्करण हो । यस संस्करणमा शिरमा ताज सजाउने सपनासहित विभिन्न १७ जिल्लाका ३० प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका छन् । सिंगापुर इन्टरप्राइजेजको शीर्ष प्रायोजनमा भएको प्रतियोगितामा वायो हुस्की, हट सिक्स इनर्जी ड्रिंक, स्काई एजुकेसन कन्सल्टेन्सी, सल्भ एन्ड केयर, मिसुमी कस्मेटिकलगायतको साथ छ । प्रतियोगितको अन्तिम प्रतिस्पर्धा जेठ २७ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ ।