'आक्रमणको दोष पाकिस्तानमाथि नलगाऊ'

'आक्रमणको दोष पाकिस्तानमाथि नलगाऊ'

इस्लामाबाद : संयुक्त राज्य अमेरिकाका लागि पाकिस्तानकी राजदूत मलिहा लोधीले अफगानिस्तानमा भएका आतंकवादी आक्रमणको दोष पाकिस्तानमाथि लगाउन बन्द गर्नुपर्ने बताएकी छन् । अफगानिस्तानले आतंकवादी आक्रमणमा अनावश्यक रूपमा पाकिस्तानलाई दोष दिने गरेको बताइन् ।

लोधीले यस्ता आरोपका पछि कुद्नुभन्दा अफगानिस्तानले आफ्नो सुरक्षा व्यवस्था बलियो बनाउन सुझाव दिएकी छन् । भ्वाइस अफ अमेरिकालाई अन्तर्वार्ता दिँदै उनले आतंकवादसँग पाकिस्तान लड्न तयार भएको पनि बताइन् । आतंकवादी तत्वसँग लड्न अफगानिस्तानलाई मद्दत गर्न पाकिस्तान उत्सुक भएको उनको भनाइ थियो । यसका लागि अफगानिस्तानले केही कदम चाल्नुपर्नेमा जोड दिइन् । अफगानिस्तानले आफ्नो आन्तरिक विषय संसारभर छरपस्ट पारेर आफूले आफैंलाई कमजोर बनाउने गरेको उनको दाबी थियो ।

लोधीले भनिन्, ‘अफगानिस्तानमा भएका हिंसक घटनाबाट स्पष्ट हुन्छ, आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले त्यहाँ आफूलाई सशक्त रूपमा विस्तार गर्दै छ ।' आईएसको यस्तो विस्तार कसैका लागि पनि हितमा नहुने उनले स्पष्ट पारिन् । यस घटनाबाट दक्षिण एसियाका सबै मुलुक प्रभावित हुने उनले स्पष्ट पारिन् । उनले भनिन्, ‘हालैको आक्रमण अफगानिस्तान र उसको छिमेकी मुलुक पाकिस्तानलाई पनि खतरनाक छ ।' पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध बिगार्न चाहने तत्वहरूले काबुल आक्रमण गरेको उनले दाबी गरिन् । आतंकवाद र हिंसक तत्वलाई पराजित गर्न सबै मिलेर एकजुट हुनुपर्नेमा उनले जोड दिइन् ।

अफगानिस्तानी गुप्तचर अधिकारीहरूले काबुल आक्रमणमा पाकिस्तानलाई आधार बनाएर आतंक मचाउँदै आएको हक्कानी सञ्जालको हात रहेको बताउँदै आएका छन् । उनीहरूले पाकिस्तानी गुप्तचर संस्था आईएसआईले तालिबान समर्थित हक्कानी सञ्जाललाई सहयोग गर्ने गरेको दाबी गर्दै आएका छन् । काबुल आक्रमणमा ९० जनाको मृत्यु भएको थियो । आक्रमणबाट ३ सय ५० जना घाइते भएका थिए । लोधीले दुई देशबीचको सम्बन्ध बिगार्न चाहनेहरूको काम भएकाले अफगानिस्तानले त्यो बुझ्नुपर्ने धारणा सार्वजनिक गरिन् ।

यसै आक्रमणको विरोधमा अमेरिकामा बसोवास गर्दै आएका अफगानमूलका व्यक्तिहरूले शुक्रबार अमेरिकास्थित पाकिस्तानी दूतावास बाहिर विरोध प्रदर्शन गरेका थिए । उनीहरूले अफगानिस्तानमा आतंक मचाउँदै आएका संगठनलाई पाकिस्तानले सहयोग गरेको बताएका थिए । उनीहरूले पाकिस्तानविरोधी ब्यानर र पोस्टर प्रदर्शन गरेका थिए । ‘आतंकवादीलाई आर्थिक सहयोग रोक' लगायत पाकविरोधी थुप्रै नारा लगाएका थिए ।

सन् २००१ पछि अफगानिस्तानमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो । उक्त आक्रमणमा करिब १५०० किलोग्राम विस्फोटक पदार्थ प्रयोग गरिएको अधिकारीहरूकको भनाइ छ । यो आक्रमण कूटनीतिक संस्था भएका क्षेत्रमा गरिएको थियो । आक्रमणमा ५० वटा गाडी ध्वस्त भएका थिए ।

हजारौं संदिग्ध आतंकवादीका बैंक खाता रोक्का

पाकिस्तानले संदिग्ध आतंकवादी भएको बताउँदै करिब ५ हजारभन्दा बढी व्यक्तिका बैंक खाता रोक्का गरेको छ । सन् २०१४ मा पेसाबरस्थित स्कुलमा भीषण आक्रमण भएपछि पाकिस्तानले यस्तो कदम चालेको हो । उनीहरूको तीन करोड रुपैयाँ सरकारले रोक्का गरेको बताइएको छ । पाकिस्तानी गृहमन्त्रालयका एक अधिकारीले भने, ‘पाकिस्तानले आतंकवादीका बैंक खाते रोक्का गराएको छ । उनीहरूको परिचयपत्र निलम्बन गरेर उनीहरूमाथि कारबाही गरिएको छ ।' उनले पेसाबर आक्रमणपछि सुरक्षाका लागि २० सूत्रीय यानेजना बनाइएको र यसै अनुरूप यस्तो कारबाही गरिएको उनले स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.