नारायणी किनारमा हरिबहादुर
भरतपुर : गर्मी मौसम । साँझ परेपछि नारायणी नदीकिनारमा घुम्न आउनेको संख्या धेरै हुन्छ । शनिबार नदी किनारको वातावरण बेग्लै बन्यो । टेलिभिजनमा मात्र देखिने हास्यकलाकारलाई प्रत्यक्ष देख्न पाउँदा दर्शक खुसी थिए । आफूलाई मनपर्ने कलाकार हरिवंश आचार्य आफ्नै पुस्तक ‘हरिबहादुर'सहित भेट्न पाउँदा उनका प्रशंसकहरू थप खुसी देखिए ।
गर्मीमा शीतल खोज्न पुगेकाहरू मनपर्ने कलाकारलाई पनि नदीकिनारमा भेट्न पाएपछि दंग भए । कार्यक्रमबारे अग्रिम जानकारी नभए पनि अचानकै दर्शकको बाक्लो उपस्थिति भयो । हरिवंश ‘हरिबहादुर' उपन्यासको प्रवद्र्धनका लागि यहाँ आएका हुन् ।
उहाँले प्रहसनमार्फत पुस्तककाबारे बताउनुभयो । दर्शकलाई हँसाउने मात्र होइन किताब किन्न पनि हरिवंशले प्रेरित गर्नुभयो । लेखकसँग पुस्तक हस्ताक्षर गराउने पुस्तकप्रेमीको पनि नदीकिनारमा लामै लाम थियो । युवादेखि बुज्रुकसम्मले उनको किताब किने । लेखक आचार्यले प्रहसनपछि पुस्तकभित्रको छोटो अंशसमेत पाठकसामु सुनाउनुभयो ।
नेपाली समाजमा हरिबहादुरहरूको संख्या उल्लेख्य भएकाले पुस्तकभित्र कुनै न कुनै रूपमा उनीहरूको चरित्र देख्न पाइने उहाँले बताउनुभयो । उपन्यासभित्रको मुख्य पात्र ‘हरिबहादुर' संगतका कारण कुख्यात बन्नु परेको बताउनुभयो भन्नुभयो, ‘हरिबहादुरले पनि सानैदेखि बौद्धिक वातावरण पाएको भए प्रख्यात व्यक्ति बन्न सक्ने थियो ।' पछिल्लो समय नेपाली राजनीतिमा समेत हरिबहादुरहरूको बिगबिगी रहेको उहाँले व्यंग्य गर्नुभयो ।
देशव्यापी किताब यात्राको लागि हरिवंशसहितको टोली चितवन आइपुगेको हो । किताब यात्रा जेठ १३ गते पोखराबाट सुरु भएको थियो । यात्रा बुटवल, दाङ, सुर्खेत, कोहलपुर, धनगढी र देवदहहुँदै नारायणगढ आइपुगेको हो । यसपछि बिर्तामोड, धरान, ईटहरी, विराटनगर, सिन्धुलीमा कार्यक्रम हुने छ । ‘यो यात्राको उद्देश्य किताब बेच्नु होइन', लेखक आचार्यले भन्नुभयो ‘नेपालमा पठन संस्कृतिको विकास भएको छ, किताबको माध्यमबाट हाम्रो एकता बाध्न खोजिएको हो ।'
प्रहसनमा कलाकार तथा लेखक आचार्यलाई सञ्चारकर्मी सुमन कार्र्कीले साथ दिनुभएको थियो । कार्कीले पनि प्रहसन गर्नुभयो र दर्शकलाई हँसाउनुभयो ।
पुस्तकको बिक्रीभन्दा पनि नेपाली पठन संस्कृतिलाई विकास गर्ने उद्देश्यले ‘हरिबहादुर किताब यात्रा' आयोजना गरिएको फाइप्रिन्टका प्रमुख अजित बरालले बताउनुभयो । ‘चिना हराएको मान्छेले सफलता पाएको भन्दै दोस्रो यात्रा गर्नुभयोको बरालले बताउनुभयो । ‘चिना हराएको मानछे भान्छामा पुगेको छ', बरालले भन्नुभयो, ‘पुस्तकप्रतिको आकर्षण बढाउन यो यात्रा गरिएको हो ।' बरालले किताबमा रुचि नहुनेले किताब किनेको बताउनुभयो । फाइन प्रिन्टले आयोजना गरेको किताब यात्राका क्रममा चितवनसम्म आउँदा २० हजार प्रति पुस्तक बिक्री भएको उहाँले बताउनुभयो।