युगलको अमूर्त कला
काठमाडौं : कलाकार डा. सञ्जिता खातुमले धेरै पटक आमालाई सोधेकी थिइन्, ‘खुदा कस्तो हुन्छ ? उसको हात खुट्टा हुन्छ कि हुँदैनन् ? ' उनले खुदा अर्थात् भगवान्को कुनै स्वरूप भेटिनन् । उनको ‘खुदा' अमूर्त छ । उसको कुनै आकार छैन, रङ छैन । छ त केवल भावना ! भगवान् जस्तै भावना पनि अमूर्त हुन्छ । तिनै भावनालाई चित्रमा व्यक्त गर्दा कस्तो आकार दिने ? जस्तो महसुस गर्छिन्, त्यस्तै रङ क्यानभासमा पोत्छिन् अनि बन्छ अमूर्त चित्र ।
तिनै अमूर्त कला यतिबेला काठमाडौंको ठमेलस्थित मिथिला ‘ऐँ आर्ट ग्यालरी'मा प्रदर्शन भइरहेका छन् । बुझ्ने भएदेखि सुरु भएको सञ्जिताको अमूर्त दृष्टिलाई श्रीमान् डा.सञ्जयकुमार सहनीले अझै बाझिदिए । प्रकृतिसँग भिज्न रुचाउने भारतीय कलाकार सञ्जय र सञ्जिताको चित्र एकैसाथ प्रदर्शन भइरहेका छन् । ‘हलचल' शीर्षकमा भइरहेको युगल प्रदर्शनीमा कलाकारको फरक विशेषता देखिन्छ । जीवनका सहयात्री भए पनि दुवैको पृष्ठभूमि फरक छ ।
सञ्जिता मुसलमान धर्मावलम्बी, सञ्जय हिन्दू धर्मावलम्बी । दुवैको पहिलो धर्म ‘कला' बनेको छ । कलाको धर्मलाई आ आफ्नै विशेषताले निभाइरहेका छन् । १७ वर्षे प्रेमसम्बन्धलाई तीन वर्ष अघिमात्र विवाहबन्धनमा बाँधेका थिए । प्रेमी प्रेमिकाको रूपमा १७ वर्ष रहँदा होस् या श्रीमान् श्रीमतीको रूपमा सम्बन्ध बढाउँदा कलाको धर्म पहिलो बनेको छ ।
परिवारलाई मनाएर विवाह गर्न उनीहरूले १७ वर्ष पर्खिए । यी दुई धर्मावलम्बीबीच विवाह सहज रूपमा विरलै हुन्छ । जति बलियो प्रेमसम्बन्ध छ, त्यति नै भरपर्दो साथ पाएका छन्, एकअर्काको । कुनै दिन एउटै विषयमा चित्र बनाउँदा दुवैको उस्तै चित्र बनेको छैन । यसैबाट थाहा हुन्छ, उनीहरूको सोचमा भिन्नता छ, शैलीमा फरकपन छ तर दुवैको सोचलाई सम्मान गर्ने समानता पनि छ ।
‘चित्रमा जस्तै जीवनमा पनि भिन्नता र समानता छन् । जीवन होस् या क्यानभास दुवैमा विचारको सन्तुलन जरुरी छ', यही सन्तुलनले यी दुवैलाई पारिवारिक र व्यावसायिक जीवनमा सँगसगै अघि बढाएको छ । चित्रमा प्रयोग भए जस्तै उज्यालो सुन्तला रङको कुर्तामा सञ्जिता र फिका हरियो रङको कुर्तामा सञ्जय देखिए । उनीहरूको चित्रमा पनि यस्तै रङ संयोजन देखिन्छ । गर्मीको समय भएकाले शीतल रङ हरियो र नीलो बढी प्रयोग भएका छन् ।
सञ्जय २० वर्षदेखि फूलको विषयमा चित्र बनाउँदै आएका छन् । यी दुईको चित्रमा ‘टेक्सचर' निकाल्ने शैली गजबको लाग्यो ग्यलरीका सञ्चालक क्युरेटर श्यामसुन्दर यादवलाई । दुवै एउटै फ्रेममा बाँधिएर चित्र बनाउँदैनन् । अवचेतन मनमा भएका भावनालाई चित्रमा प्रस्तुत गर्छन् । जुन अमूर्त नै हुन्छ ।
यतिबेला उनीहरू कलाको एसिया यात्रामा निस्किएका छन् । नेपालको प्रदर्शनी लगत्तै बंगलादेश पुग्नेछन् । शनिबार सुरु भएको प्रदर्शनी पाँच दिनसम्म चल्नेछ।