किन अझै सन्दर्भिक छ बीपीको मेलमिलाप ?

किन अझै सन्दर्भिक छ बीपीको मेलमिलाप ?

०२३ सालमा सबैभन्दापछि गिरिजाप्रसाद कोइराला रिहाइ हुनुभयो । रिहाइपछि श्री ५ महेन्द्र, सुन्दरीजलको सैनिक जेलमा रहेका बीपी कोइराला र कलकत्तामा रहेका सुवर्णशमशेरबीच सम्बन्ध सेतुको भूमिका निर्वाह गर्नुभयो । जुन प्रयत्नले बीपीलगायत नेताहरूको रिहाइ र भारत निर्वासनमा रहेका नेताहरूको आममाफीको वातावरण तयार पार्ने काम गर्‍यो । यो गोप्य पहल श्री ५ महेन्द्र, बीपी, सुवर्णशमशेर र गिरिजाबाबुबीच भएको थियो । बीपीको रिहाइको लागि राजा महेन्द्रलाई अन्तर्राष्ट्रिय दबाब परिरहेको थियो । एक दिन गिरिजाबाबुले राजासँग यस सम्बन्धमा अरू कसैलाई भन्नुहुन्छ कि हुँदैन भनेर सोध्दा राजाले प्रधानमन्त्री सूर्यबहादुर थापालाई भने हुन्छ, भनेछन् ।

Bipin-Koirala_1अर्को भेटमा राजा रिसाएर गिरिजाबाबुसँग जंगिएछन्, किन तिमीले भारतीय राजदूत राजबहादुरलाई भन्यौं ? राजा चाहन्थे, आफ्नै पहलमा बीपीहरू रिहा हुनुपर्छ, बाह्य हस्तक्षेपले हैन । सरकारबाट प्रधानमन्त्रीलाई भने हुन्छ भनेपछि प्रधानमन्त्री थापासँग यस प्रसंगमा कुरा भएको थियो । स्पष्ट भयो- प्रधानमन्त्रीबाटै भारतीय पक्षलाई सूचना प्रवाह भएको रहेछ । बीपी रिहाइको पृष्ठभूमि तयार पार्ने हेतुले कांग्रेसका कार्यवाहक सभापति सुवर्णशमशेरले १५ मे १९६८ मा राजासमक्ष सहयोग प्रस्तावको वक्तव्य दिनुभयो । अन्ततः २५ साल कात्तिक १४ गते बीपी, गणेशमान सिंहलगायत नेताहरू छुट्नुभयो भने भारतमा निर्वासित नेताहरूलाई आममाफी भयो ।

बीपीको रिहाइपछि ६ महिनासम्म सार्वजनिक वक्तव्य नदिने, बीपीले भारतमा स्वास्थ्य परीक्षणपछि बीपी र राजा महेन्द्रबीच नेपाली राजनीतिको निकास खोज्ने राजा र गिरिजाबाबुबीच गोप्य सहमति भएको थियो । उपचारपछि बीपी विराटनगर पुग्नुहुँदा भव्य स्वागत भयो । एलिट क्लब विराटनगर धरानमा उहाँले कार्यकर्तालाई सम्बोधन गर्नुभयो । भाषणको सिलसिलामा शान्तिपूर्ण आन्दोलनको सम्भावना नरहँदा सशस्त्र विद्रोह गर्ने अधिकार जनतामा निहित रहन्छ भन्ने सैद्धान्तिक कुरा उठान गर्नुभयो । परिणामस्वरूप अब बीपीलाई पञ्चायती सरकारले फेरि थुन्दैछ भन्ने व्यापक हल्ला भयो ।

सबैको लागि नेपाल सामरिक महत्वको छ । भूराजनीतिक अवस्थितिको महत्व बोकेको नेपाल अति नै संवेदनशील अवस्थामा छ । नेपालका सबै शक्ति र व्यक्तिहरूबीचको मेलमिलापले मात्र नेपालको अखण्डता, सार्वभौमसत्ता जोगाउन सकिन्छ भन्ने बीपीको मेलमिलाप नीतिको सान्दर्भिकता अझै बढेको छ ।

तत्कालीन कोशी अञ्चलाधीश बद्रीविक्रम थापा (जो ०७ साले क्रान्तिमा सैनिक भड्काउने अभियोगमा कठोर जेल सजाय पाएका थिए) मार्फत प्रधानमन्त्री सूर्यबहादुर थापा र कांग्रेस नेता सूर्यप्रसाद उपाध्यायले खबर सम्प्रेषण गरेछन् । आठ वर्षको कारावासपछि रिहाइ भएका बीपीलाई पुनः जेल जाने या भारतीय निर्वासनमा जाने ? एउटा विकल्प रोज्नुपर्ने अवस्थामा उहाँले निर्वासन रोजेको देखिन्छ । अन्तर्यमा बीपी र राजाबीच समझदारी बिथोल्न बाह्य शक्तिको तानावाना थियो त्यो, जुन कुरा बीपीले ०३३ सालमा नेपाल फर्किने क्रममा पंक्तिकारलाई बताउनुभएको थियो । भारत निर्वासनमा आउने मेरो निर्णय गलत थियो भन्ने निष्कर्षमा बीपी पुग्नुभएको थियो ।

भारतमा रहँदा निर्दलीय पञ्चायत व्यवस्थाविरुद्ध सशस्त्र आन्दोलनको तयारीमा उहाँ लाग्नुभयो । हातहतियारको रक्षा गर्न पनि ०३० सालमा हवाईजहाज अपहरण गरियो । विराटनगरबाट काठमाडौं उडानको नेपाल वायु सेवा निगमको जहाज तीस लाख भारु लिएर जाँदै थियो । साहसी तीन युवा दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेलले उक्त जहाज फारबिसगन्जमा अवतरण गराए । ओखलढुंगा र सोलु जिल्ला कब्जा गरी नेपालभित्रै सशस्त्र क्रान्तिको आधारभूमि तयार पार्ने हेतुले आक्रमण भयो । २९ जना होनाहार युवा राज-लक्ष्मण उपाध्याय, महेश कोइराला, पेसल दाहाल आदिले शहादत प्राप्त गरे ।

भारतमा इन्दिरा गान्धीले सन् १९७६ मा संकटकाल लागू गरिन् । त्यसविरुद्ध समाजवादी नेता जयप्रकाश नारायणको नेतृत्वमा आन्दोलन भयो । त्यसमा बीपी कोइरालाको सक्रिय सहभागिता रह्यो । परिणामस्वरूप बीपीका राजनीतिक गतिविधिमा कडा निगरानी राख्न थालियो । नेपाल सीमाको ५० माइलसम्म कार्यकर्तासँग भेटघाट गर्न रोक लगाइयो । सन् १९७२ मा सिक्किम भारतमा विलय गराइयो । सयौं युवा कार्यकर्ताको हताहतीले सशस्त्र संघर्षबारे पुनर्विचार गर्न बीपी उद्यत् रहनुभएको बुझ्न सकिन्छ । बाहिर बसी प्रजातन्त्र पुनस्र्थापनामा जोड दिएर संघर्ष गर्दा राष्ट्रियता धरापमा पर्ने र मुलुकको आर्थिक अवस्था जर्जर भइरहेको परिप्रेक्षमा बीपीले नेपाल फर्कने मनस्थिति बनाउनुभएको बुझिन्छ ।

यसै सन्दर्भमा बीपीले रामराजाप्रसाद सिंहमार्फत पंक्तिकारलाई नेपालमा रहेका कांग्रेसी साथीहरूको के राय छ ? कांग्रेसबाहिरका विशिष्ट राजनीतिज्ञको उहाँ नेपाल फर्कनेबारे के धारण छ ? बुझेर उहाँलाई जानकारी दिनू भन्ने खबर आयो । बीपीले उल्लेख गर्नुभएका व्यक्तित्वको राय यस प्रकार रहेको छ- सूर्यप्रसाद उपाध्याय नेपालमा उहाँको ज्यान जोखिममा छ । भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले उहाँमाथि गरेको व्यवहारको प्रतिक्रियास्वरूप उहाँ फर्कन लाग्नुभएको हो । फर्कन हुन्न ।सूर्यबहादुर थापाको भनाइ पनि लगभग उस्तै थियो ।

प्र. नेपाली कांग्रेसका महामन्त्री परशुनारायण चौधरीको रायअनुसार बीपी जेलमा हुँदा सुवर्णजीले क्रान्ति गर्नुभयो । सुवर्णजी मुलुक फर्कनुभयो, बीपी भारत निर्वासनमा गएर क्रान्ति सुरु गर्नुभयो । पार्टीमा दुई लाइन स्पष्ट देखियो । उहाँ फर्कनुभयो भने अब एउटा लाइन देखिन्छ ।टंकप्रसाद आचार्य— बीपीले सशस्त्र संघर्ष गर्दा धेरैको शहादत भयो । उहाँले कि माफी माग्नुपर्छ कि त सजाय भोग्नुपर्छ ।

डा. केआई सिंह—बीपी राष्ट्रवादी नेता हुनुहुन्छ । सिक्किम भारतमा विलय गरेपछि उहाँलाई भारतीय नियत चिन्ताजनक लागेको हुनुपर्छ । उहाँको नेपाल फर्कने निर्णय साहसिक र देशभक्तिपूर्ण दुवै हो ।डा. डिल्लीरमण रेग्मी— आफू पनि बीपीभन्दा कम नभएको, तर धेरै शंकालु भएकाले धेरैलाई विश्वास गर्न सकिनँ । नेता बन्न सकिनँ । उहाँले धेरैलाई विश्वास गर्नुभयो । नेता हुनु भयो र धोखा पनि पाउनुभयो । आफू पनि पञ्चायती व्यवस्थाविरुद्ध भएको र शान्तिपूर्ण आन्दोलनद्वारा प्रजातन्त्र पुनस्र्थापनाको पक्षमा छु । पञ्चायतविरुद्धको शान्तिपूर्ण आन्दोलनमा आफू पनि बीपीको साथमा रहेको रेग्मीले पंक्तिकारसँग बताउनुभएको थियो ।

डा. केशरजंग रायमाझी (सोभियत पक्षधर, पछि राजसभाका सभापति)— बीपीले आफ्ना बहिनी ज्वाइँ पाकिस्तानी कूटनीतिज्ञ ज्याकी अक्रममार्फत नेपालका राजासँग सम्बन्ध स्थापित गरिसक्नुभएको छ । ढिलै भए पनि उहाँको नेपाल फर्कने निर्णय स्वागतयोग्य छ ।

संविधानविद् एवं वरिष्ठ अधिवक्ता गणेशराज शर्मा— बीपीको नेपाल फर्कने निर्णय ऐतिहासिक एवं दूरगामी छ । नेपाली राष्ट्रियता संकटमा परेको र एक्लै राजाको प्रयासले मात्र समाधान हुन सक्दैन । पेसाले वकिल पनि भएकाले उहाँमाथि सातवटा फासी पनि हुन सक्ने राज्य विप्लवका मुद्दाहरू थिए । राष्ट्रको अस्तित्व नै संकटमा भएको संगीन परिस्थितिमा आफ्नो ज्यानको जोखिम मोल्न सक्ने साहस बीपीमा छ ।

नेपाली कांग्रेसमा संलग्न हामी युवाको र सवा नौ वर्ष जेल जीवन बिताएर छुट्नुभएका कांग्रेसका संस्थापक सदस्यसमेत रहेका कृष्णप्रसाद भट्टराई भेला भई बीपीको नेपाल फर्कने सम्बन्धमा दुईचार दिन गहन विचार-विमर्श भयो । हामी सबैको निष्कर्ष के रह्यो भने स्वेच्छाचारी सत्ता छ । बीपीको ज्यान जोखिममा पर्छ । उहाँको जीवन नै तलमाथि पर्‍यो भने कांग्रेसको भविष्य के होला ? चिन्ता हामीमा थियो । त्यसैले बीपी स्वदेश फर्कनु हुन्न । बीपी बाहिर हुनुहुन्छ र त नेपालमा शान्तिपूर्ण आन्दोलन हामीले गरिराखेका छौं ।

हामीलाई ठूलो भरोसा मिलेको छ । ऊर्जा मिलेको छ । हामी एक्लै छैनौं । बीपीको निर्वासनले यहाँका शासकहरूलाई एउटा मनोवैज्ञानिक दबाब पर्छ भन्ने हाम्रो निष्कर्ष थियो । मुलुकभित्र रहेका कांग्रेसीहरूमा एउटा अनावश्यक विवाद मच्चाइएको थियो- बीपी गुट र सुवर्ण गुटको भारतीय निर्वाचनबाट फर्किएका नेताकार्यकर्ता सुवर्ण पक्षका र नेपालभित्र रहेका, जेल परेका युवा पंक्ति बीपी पक्षधरका रूपमा विभाजित गर्ने दुष्प्रयास भइरहेको थियो । पंक्तिकार नेपाल विद्यार्थी संघको संस्थापक सभापति हुँदा २०२७ सालको माघ महिनामा हामी बाह्रजना विद्यार्थी नेताहरू भारत भ्रमणमा गएका थियौं ।

सन् १९७१ को मध्यावधि चुनावमा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी व्यस्त हुँदाहुँदै पनि भारतीय राजदूत राजबहादुरले सञ्जय गान्धीमार्फत हामीलाई उहाँसँग भेट गराउनुभएको थियो । सुवर्णजीले तीन महिनादेखि उहाँलाई भेट्न सक्नुभएको रहेनछ । उहाँले हामी सबैलाई होटेल अशोकामा ब्रेक फास्ट गराउनुभयो । के कुरा भयो त्यो महत्वपूर्ण हैन, भेट भयो त्यो नै महत्वपूर्ण कुरा हो भन्नुभयो उहाँले । नेविसंघ आफूले हेर्ने र तरुण दल बीपीले हेर्ने बताउनुभयो । वनारस पुगेर बीपीलाई भेट्यौं । बीपीले यही कुरा दोहोर्‍याउनु भयो । दुई नेताहरूबीच सुमधुर सम्बन्ध थियो त्यतिबेला । यसबारेमा पनि बीपीसँग कुरा गर्ने भन्ने हाम्रो निर्णय थियो । यी सबै कुरा बीपीकहाँ पुर्‍याउन किसुनजीसमेतको निर्णयले पंक्तिकार ०३३ भदौ २७ गते सारनाथ (वनारस) पुग्यौं । मलाई भित्र पस्न सुरक्षा गार्डले रोक्यो ।

अहिलेजस्तो सञ्चारको व्यवस्था थिएन । मैले उहाँलाई आउने कुराको खबर गर्न सकेको थिइनँ । मलाई मूल गेटमै रोकेको उहाँले बरन्डाबाट देख्नुभएछ र सुरक्षाकर्मीलाई मलाई भित्र पठाउन इसारा गर्नुभयो । त्यो दिन साँझ केही कुरा भएन । भोलिपल्ट बिहान बीपी, गणेशमानजी र सुशीला आमा तीनजना हुनुहुन्थ्यो । गिरिजाबाबु टुप्लुक्क आइपुग्नुभयो । काठमाडौंमा बीपीहरूको नेपाल फर्कने क्रममा कसको के प्रतिक्रिया थियो ? मैले अक्षरशः सविस्तार गरें ।

मलाई लागेको थियो, टंकप्रसाद आचार्य र डा. रायमाझीको नकारात्मक प्रतिक्रियाप्रति उहाँको असन्तोष रहला । तर उहाँले सूर्यप्रसाद उपाध्याय र सूर्यबहादुर थापाको प्रतिक्रियाको कडा प्रतिवाद गर्नुभयो । उहाँको आरोप थियो, उनीहरू भारतीय संस्थापनको पक्षधर थिए । कांग्रेस आईका अध्यक्ष देवकान्त वरुवा जो बीपीका साथी पनि थिए, लाई बीपीलाई रोक्न इन्दिरा गान्धीले पठाएकी थिइन् । बीपी मान्नुभएन, उनी निराश फर्किए । बीपी परशुनारायण चौधरीमाथि यसरी जंगिनुभयो कि आफू नेपाल फर्कनुअघि एकपटक भेट्न आऊ भन्दा भारतीयको डरले आएनन् । आपूm फासीमा झुन्डिएपछि पार्टीको एउटा लाइन हुन्छ भन्ने ।

कुराकानीका क्रममा गणेशमानजी र सुशीला आमा मलाई बीपी नेपाल फर्कनु हुँदैन भन्नुहुन्छ । गणेशमानजी त भारत बस्नु पनि मृत्युवरण नै हो —स्लो प्वाइजनिङ', नेपाल फर्कनु भनेको आत्महत्या हो । आत्महत्याभन्दा स्लो प्वाइजनिङ ठीक हो । हामी शुभचिन्तकहरूको चिन्ता भावनात्मक थियो । बीपीको निर्णय चित्त बुझेको थिएन । तर तर्क-वितर्क गर्न सक्ने मेरो बौद्धिक क्षमता थिएन । बीपीको राष्ट्रिय÷अन्तर्राष्ट्रिय विश्लेषण थियो । भातरमा श्रीपेचबिनाकी राजा इन्दिरा गान्धी थिइन् ।

इरानमा शहन शाह थिए । बंगलादेशमा राष्ट्रपति जिया उर रहमान थिए । पाकिस्तानमा जियाउल हक सैनिक शासक थिए । यो दक्षिण एसिया नै अशान्त क्षेत्र भइराखेको थियो । शीतयुद्ध चरण उत्कर्षमा थियो । शक्ति राष्ट्रहरूको क्रीडास्थल थियो, दक्षिण एसिया । नेपाल अछूतो रहने कुरै रहेन । बाह्य शक्तिको खेलमा नेपाल फसिसकेको थियो । नेपालको प्रजातन्त्रको आन्दोलन हामी नेपालीको हो । जनशक्तिको प्रतीक नेपाली कांग्रेस र राज्य शक्तिको प्रतीक राजसंस्थाबीच राष्ट्रिय मेलमिलाप अपरिहार्य छ । दुवै शक्ति मिलेर बाह्य शक्तिसँग मुकाबिला गर्नुपर्छ । अहिले हामीले प्रजातन्त्रलाई मात्र जोड दियौं ।

उता राष्ट्रिय खतरापट्टि ध्यान दिएनौं । राष्ट्र जोगाउन राजासँग मेलमिलापको विकल्प छैन । राजा आफ्नो निजी स्वार्थले पनि राष्ट्रवादी शक्ति हो । एकताको प्रतीक हो । अहिले नेपाली कांग्रेसमाथि तीनवटा अभिभारा छ । पहिलो राष्ट्रियताको जगेर्ना, दोस्रो प्रजातन्त्र प्राप्ति, तेस्रो मुलुकको आर्थिक समृद्धि । मेलमिलापको नीति कुनै व्यक्तिगत रूपले भावावेशमा लिएको नीति हैन । राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरेर यो निर्णय लिइएको हो । आफूमाथि राष्ट्रविप्लवका अभियोग छन् । जीवनको जोखिम छ । राष्ट्रको जीवनको अगाडि आफ्नो जीवनको कुनै अर्थ रहँदैन । सुवर्णजी र बीपीबीचका मतान्तरको प्रसंगमा उहाँले सुवर्ण शमशेरको फोन मिलाइदिन्छु, आफैं कुरा गर । कलकत्ता वा पटना कहाँ भेट्ने ? आफू तयार रहेको बताउनुभयो । सुवर्णजी निष्ठावान् नेता हुन् । कांग्रेसलाई कहिल्यै धोखा दिनुभएन । नेपालको श्री सम्पत्ति पञ्चायती सरकारले कब्जा गर्‍यो । केवल कलकत्ताको घर बेचेको छ । ट्याक्सको मामला छ । भारतीय दबाबमा उहाँले मलाई भेट्न सक्नुभएन ।

नेपाल फर्कने निर्णयअनुसार गणेशमानजी, शैलजा आचार्यलगायतका नेताहरूसहित ०३३ साल पुस १६ गते पटनाबाट जहाजमा फर्कनुभयो । किसुनजी पंक्तिकार, दमननाथ ढुंगाना आदिलाई बिहान ७ बजे नै गिरफ्तार गरिसकेको थियो । हजारौं कार्यकर्ता विमानस्थलमा भेला भए । निरंकुश सरकारले अन्धाधुन्ध लाठीचार्ज गरेछ । बीपी, गणेशमानजीहरूलाई अर्को बाटोबाट गिरफ्तार गरी लगेछ ।

बीपीले भविष्यवाणी गरेअनुसार दक्षिण एसिया अशान्त क्षेत्र भएको छ । बीपी जेल परेपछि भारतको संकट काल हट्यो, निर्वाचनमा इन्दिरा गान्धीको पराजय भयो । इरानका शाहन शाह पदच्युत गरिए । बंगलादेशका राष्ट्रपति जिया उर रहमान मारिए । पाकिस्तानका प्रधानमन्त्री जुल्पिीकर अली भुट्टोलाई फाँसी दिइयो । यी घटनाक्रमहरूले नेपाल अछूत रहेन ।

एकपछि अर्को नियन्त्रित राजनीतिक अस्थिरता भोग्न हामी अभिशप्त छौं ।हाम्रा दुई छिमेकी राष्ट्र चीन र भारत उदीयमान शक्ति राष्ट्र हुन् । भारत पाकिस्तान सम्बन्ध चिसिएको छ । अब युद्ध होला कि (? ) भन्ने स्थिति उब्जिएको छ । रूसी राष्ट्रपति पुटिनको यस क्षेत्रमा चासो बढ्दो छ । सिंगो युरोप इस्लामिक उग्रवादको निशानामा छ । अमेरिकाको डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि विश्व राजनीतिमा अमेरिकी प्रभाव खस्कँदो अवस्थामा छ । आर्थिक शक्तिका रूपमा चीनको महत्वाकांक्षा बढ्दो छ । सबैको लागि नेपाल सामरिक महत्वको छ । भूराजनीतिक अवस्थितिको महत्व बोकेको नेपाल अति नै संवेदनशील अवस्थामा छ । नेपालका सबै शक्ति र व्यक्तिहरूबीचको मेलमिलापले मात्र नेपालको अखण्डता, सार्वभौमसत्ता जोगाउन सकिन्छ भन्ने बीपीको मेलमिलाप नीतिको सान्दर्भिकता अझै बढेको छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.