क्षेत्रीलाई इनास अस्ट्रेलियाको सहयोग
काठमाडौं : लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित कलाकार दीपक क्षेत्रीलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अस्ट्रेलियाले आर्थिक सहयोग प्रदान गरेको छ । विश्वव्यापी रूपमा सक्रिय संस्था इनासको अस्ट्रेलिया शाखाले सम्बन्धित गायक, संगीतकार, कलाकार, कलाप्रेमीलगायत विभिन्न व्यक्तित्वबाट संकलन गरेको दुई लाख ७० हजार पाँच सय अठार रुपैयाँ आइतबार कलाकार क्षेत्रीको कालिकास्थानस्थित निवासमा प्रदान गरिएको इनास ग्लोबलका सदस्य कुलराज थापाले जानकारी दिए ।
कुलराजका साथमा इनाश गीत संगीत संवद्र्धन समितिकी उपसंयोजक रूपा न्यौपाने एवं गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले उक्त रकम कलाकार क्षेत्रीलाई हस्तान्तरण गरेका हुन । इनास अस्ट्रेलियाले प्रदान गरेको चेक बुझ्दै कलाकार क्षेत्रीले अस्ट्रेलियामा बस्ने कलाकारले आफूलाई गरेको सहयोगप्रति खुसी व्यक्त गर्दै सबैको सहयोगले बाँच्ने विश्वास बढेको बताए ।
महिनाअघि इनास अस्ट्रेलियाको आयोजनामा अस्ट्रेलियाको विभिन्न सहरमा सत्यस्वरूप अस्ट्रेलिया टुर २०१७ आयोजना गरिएको थियो । सो क्रममा सिड्नीमा भएको कार्यक्रममा क्षेत्रीको सहयोगका लागि तीन हजार दुई सय ७९ अस्ट्रेलियन डलर संकलन भएको थियो । कलाकार क्षेत्रीको सहयोग याचना सामाजिक सञ्जालमा आएपछि इनास अस्ट्रेलियाले चार दिनका लागि अस्ट्रेलिया भर सहयोग संकलन गरेको थियो । संकलित रकम इनास अस्ट्रेलियाका अध्यक्ष ईश्वर पोखरेल, इनास सिड्नीका कोषाध्यक्ष समिर आचार्य तथा इनास सिड्नीका अध्यक्ष मनोज अधिकारीले गायकद्वयमार्फत नेपाल पठाएका हुन ।