अतिवादविरुद्धको संघर्ष
यतिबेला पश्चिमी सभ्यता र विकासको केन्द्र मानिएको युरोप र आफूलाई पूर्वीय सभ्यताको केन्द्रको रूपमा दाबी गर्ने भारत दुवै अशान्तिको केन्द्रस्थलको रूपमा देखा पर्दै गएका छन् । विगत केही वर्षयता युरोप मुस्लिम अतिवादीहरूको प्रहारको केन्द्र बनिरहेको छ । छोटै समयभित्र मुस्लिम अतिवादीहरूले युरोपका बेल्जियम, फ्रान्स, जर्मनी र बेलायतजस्ता देशहरूलाई पटक-पटक आक्रमणको केन्द्र बनाएका छन् । जसले गर्दा गरिब एवं अविकसित मुलुकहरू मात्र हिंसा र आतंकको केन्द्रभूमि हुने गर्छन् । विकसित र धनी मुलुकहरूलाई त्यसले केही प्रभाव पार्दैन भन्दै गरिब मुलुकहरूको आन्तरिक विषय व्यवस्थापनमा निर्णायक बन्ने पश्चिमाहरूको मान्यता अब झूटो साबित हुन पुगेको छ । उनीहरू आफैं असुरक्षाको भावनाद्वारा नराम्रोसँग ग्रस्त हुन पुगेका छन् ।
उनीहरूले अब अतिवादविरुद्ध विश्वका सबै राष्ट्रहरू एकजुट हुनुपर्ने आवाज उठाउन थालेका छन् । यसै क्रममा हाम्रो दक्षिणको छिमेकी मुलुक भारत पनि कश्मिरी पृथकतावादीहरूको अतिवादी व्यवहारबाट अतालिन पुगेको छ । उसले छिमेकी पाकिस्तानमाथि आफूप्रशासित कश्मीरका पृथकतावादीलाई उक्साएको र आफ्नो भूभागमा आतंककारीहरूको घूसपैठ गराएको भन्ने दोषारोपण गर्दै आएको छ । उसले पाकिस्तानले आफ्नो आन्तरिक मामिलामा दखल दिने कार्य गरेकाले आफूले कहिले पाकिस्तानको सीमा क्षेत्रभित्र प्रवेश गरेर सर्जिकल स्ट्राइक गर्ने त कहिले पाकिस्तानी सेनाका बंकरहरू ध्वस्त पार्ने कार्य गरेको भन्ने जस्ता कुरा जोडतोडले प्रसार गरिरहेको छ । यस क्रममा भारतले पाकिस्तानमाथि आफ्नो भूभागमा अतिवादीहरूको घूसपैठ गराएको मात्र नभई ती क्षेत्रमा प्रहरी एवं सैन्य बलमाथि ढुंगा हिर्काउने र युवालाई उक्साउने कार्य गरेको आरोपसमेत लगाउने गरेको छ । यसले भारत यतिबेला अतिवादबाट युरोपजत्तिकै आतंकित भएको देखाउँछ ।
भारत नेपालका केही राष्ट्र एवं जनविरोधी पात्रहरूलाई च्यापेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको छ । उसले अब नेपालका केही अंगीकृत नागरिकताधारी व्यक्तिहरूमार्फत देशको भूभाग नै टुक्य्राइदिनेसम्मका धम्कीहरू दिन थालेको छ । भारतीय दूतावासको भूमिका भनेकै दुई देशबीचको कूटनीतिक सम्बन्ध सञ्चालन नभएर नेपालमाथि आफ्नो हस्तक्षेप सुदृढ तुल्याउने मात्रै हुने गरेको छ ।
निश्चय पनि अतिवाद र आतंकवाद जुनसुकै रूपको भए पनि मानवताविरोधी क्रियाकलापहरू हुन् । विश्व जनमतले त्यस किसिमको प्रवृत्तिको एक स्वरमा विरोध र एकजुट भएर प्रतिकार गर्नुपर्छ । तर विश्व जनमत के कुरामा पनि प्रस्ट हुनुपर्छ भने, बलियो र सम्पन्नलाई जे पनि गर्न छुट हुने, कमजोर र विपन्नले ती कुराहरू त्यत्तिकै सहेर बस्नुपर्ने भन्ने कदापि उचित हुन सक्दैन । त्यसैगरी कसैले आफूले भनेबमोजिम गर्यो भने जतिसुकै खराब कार्य पनि ठीक, तर आफ्नो चाहनाअनुरूप भएन भने त्यही कार्य आतंकवादी हुने भन्ने पनि सही होइन । तर अहिले विश्वमा त्यही भइरहेको छ । विश्व व्यवस्था न्याय र विवेकबाट नभई शक्ति र हठबाट परिचालित भइरहेको छ।
इराकी राष्ट्रपति सद्दाम हुसेन र लिबियाका नेता कर्नेल गद्दाफीहरू निरंकुश शासक थिए होलान्, आतंकवादी थिएनन् । तिनीहरूको दोष अमेरिका र उसका पक्षधरहरूले भनेजस्तो नगर्नु मात्र थियो । त्यसबापत उनीहरूले अमानवीय एवं गैरकानुनी रूपमा मारिनुपर्यो । विचार गरौं त, ती दुई शासकले जुन रूपमा मारिनुपर्यो, त्यही गति अमेरिका, बेलायत वा तिनका समर्थक राष्ट्रका शासकहरूले भोग्नुपरेको भए ती राष्ट्रहरूको कस्तो प्रतिक्रिया हुने थियो होला ? के त्यो कार्य आतंकवादी कार्य होइन ? यसैगरी यतिबेला सिरियामा जे भइरहेको छ, के त्यसको लागि सिरियाली राष्ट्रपति मात्र दोषी छन् ? सिरियाको वर्तमान अवस्थाको लागि सिरियाली राष्ट्रपतिभन्दा बढी दोषी शक्ति राष्ट्रहरू छन् । जुन कारणले गर्दा यतिबेला लाखौं निर्दोष सिरियाली नागरिकले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ । आफ्नो मुलुकबाट विस्थापित हुनु परिरहेको छ ।
यस सिलसिलामा हाम्रो छिमेकी राष्ट्र भारतका गतिविधिबारे पनि ध्यान जानु आवश्यक छ । आफ्नो छिमेकी राष्ट्र श्रीलंकामा एलटीटीई नामक संगठनलाई उक्साउने, आ श्रय, तालिम र हतियार उपलब्ध गराउने राष्ट्र भारत नै थियो । तर पछि गएर उसले त्यसै शक्तिलाई दमन गर्न सेना पठाउने काम गर्यो । यस किसिमको आत्मघाती कार्यको परिणामस्वरूप प्रधानमन्त्री राजीव गान्धीले ज्यान गुमाउनुपर्यो । भारतको यसै किसिमको व्यवहार र कार्यशैलीका कारण यतिबेला भुटान र अफगानिस्तानबाहेक दक्षिण एसिया क्षेत्रका कुनै पनि राष्ट्रसँग उसको सुमधुर सम्बन्ध रहेको पाइँदैन । यसरी विश्वमा देखा परिरहेको अतिवाद र आतंकवादको विकासका पछाडि शक्तिशाली, समृद्ध र विकसित भनिने राष्ट्रहरू नै बढी जिम्मेवार रहेको पाइन्छ । जुन कुरोले कमजोर र गरिब राष्ट्रहरू त पीडित हुने गरेकै थिए, अब आएर ठूला, शक्तिशाली र सम्पन्न राष्ट्रहरूसमेत प्रभावित हुन थालेका छन्।
यतिबेला विश्वको प्रभुत्वशाली शक्ति अमेरिकाका सहयोगी युरोपेली राष्ट्रहरूसमेत एकपछि अर्को गर्दै अतिवाद र आतंकवादको चपेटामा पर्दै जानुको पछाडिको मूल कारण आतंकवादीहरूको चेत फेरिनु हो । अर्थात् यसअघि आतंकवादीहरूको काम आतंक फैलाउनु मात्र हुने गर्दथ्यो । तर अब उनीहरूले निशाना पहिल्याएर आतंकवादी क्रियाकलाप गर्न थालेको देखिन्छ । यसले आतंकवादीको कार्य आतंक गराउनु मात्र नभएर उनीहरूको पनि कुनै ध्येय हुन्छ भन्ने देखाउँछ ।
निश्चय पनि, आतंकवाद विश्व शान्तिको लागि प्रमुख खतरा हो । विश्व शान्तिलाई कमजोर तुल्याउने सबै क्रियाकलाप आतंकवादी नहुन सक्ने भए पनि शान्तिविरोधी अन्य क्रियाकलापलाई पनि सामान्य ठान्ने भूल गर्नु हुँदैन । भारतकै व्यवहार हेर्दा उसले कश्मीरको विषयलाई लिएर पाकिस्तानको तर्फबाट हुने सबै क्रियाकलापलाई आतंकवादी एवं घूसपैठ बताउने गरेको छ । तर ऊ आफैंले छिमेकीविरुद्ध गरेका त्यसै किसिमका क्रियाकलापलाई भने उचित र जायज भन्ने दाबी गर्छ । भारतले पाकिस्तान एवं चीनसँग बेलाबखत सीमा क्षेत्रका भूभागलाई लिएर विवाद सिर्जना गर्ने, अर्को राष्ट्रको सीमातर्फ फायरिङ गर्ने, आफूले आणविक शक्तिको विकास गरेको कुरालाई प्रचार-प्रसार गरेर धम्क्याउने जस्ता कार्य गरिरहन्छ ।
यसरी आफूले आफ्नो राष्ट्रको सीमा क्षेत्रको सुरक्षार्थ यी हदसम्मका कार्यहरू गर्ने भारतले नेपालको सीमामा भने निरन्तर अतिक्रमण गरिरहन्छ । समय-समयमा भारतीय सीमा सुरक्षा बल एवं प्रहरीहरू नेपालको भूभागमा अनधिकृत रूपमा प्रवेश गर्दै नेपालको सार्वभौमसत्ताको अतिक्रमण गरिरहन्छन् । भारत नेपालका केही राष्ट्र एवं जनविरोधी पात्रहरूलाई च्यापेर यहाँको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहन्छ । त्यति मात्र नभएर उसले अब नेपालका केही अंगीकृत नागरिकताधारी व्यक्तिहरूमार्फत देशको भूभाग नै टुक्य्राइदिनेसम्मका धम्कीहरू दिन थालेको छ । भारतले यस किसिमको कार्य परोक्ष नभएर खुलारूपमै गरिरहेको छ । यतिखेर भारतीय दूतावासको भूमिका भनेकै दुई देशबीचको कूटनीतिक सम्बन्ध सञ्चालन नभएर नेपालमाथि आफ्नो हस्तक्षेप सुदृढ तुल्याउने मात्रै हुने गरेको छ ।
अन्यथा विचार गरौं त, भारतले यहाँका केही बिकाउ र मधेसी नामधारी नेताहरूलाई बोक्दै नेपालविरुद्ध गरेका क्रियाकलाप ठीक हुन् भने उसले कश्मीरमा मिरवाइज, गिलानी र सब्बीरहरूले गरेका क्रियाकलापलाई कसरी राष्ट्रद्रोही भन्न सक्छ ? भारतले बर्सेनि सार्वभौम मुलुक नेपालको सीमा मिच्ने गरेका कार्यहरू उचित छन् भने उसले पाकिस्तानले कश्मीर हाम्रो भूभाग हो भनी गरेका दाबी कसरी झूटो भन्न सक्छ ? अझ पाकिस्तानको कश्मीरमाथिको दाबी भारत विभाजन कालदेखिकै र आजसम्म समाधान हुन नसकेको विषय हो । त्यसैगरी पटकपटक नेपाली भूभागमा अनधिकृत रूपमा हुने गरेको भारतीय सुरक्षाकर्मीहरूको प्रवेश जायज हो भने भारतले भन्ने गरेजस्तो कश्मीरलगायतका भारतीय भूभागहरूमा हुने गरेको पाकिस्तानी घूसपैठ कसरी नाजायज हुन सक्छ?
अनि भारतीय सुरक्षाकर्मीहरूले नेपाली सीमा क्षेत्रका भूभागमा प्रवेश गरी नेपाली नागरिकको सम्पत्ति लुटपिट, उनीहरूमाथि कुटपिट र गोली प्रहार गरी हत्या गर्ने गरेको घटनालाई सामान्य मान्ने हो भने पाकिस्तानका तर्फबाट घूसपैठ गराइएका आतंकीहरूले भारतीय सीमा सुरक्षा बलका सदस्यहरूमाथि गरेको भनिएको त्यसै किसिमको कार्यलाई कुन रूपमा हेर्ने ? के भारतले नेपालमाथि गरिरहने यी ज्यादतीपूर्ण कार्यहरूबाट अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भइरहेको छैन ? के यी कार्य आतंकवादी क्रियाकलापको श्रेणीमा पर्दैनन् ? यस प्रसंगमा अझ विचारणीय कुरा त के छ भने भारतले पाकिस्तानका तर्फबाट आफूविरुद्ध गरेका भनिएका क्रियाकलाप तेस्रो पक्षद्वारा गरिएका छन् । तर नेपालविरुद्ध भारतको तर्फबाट हुने क्रियाकलाप सरकारी तहबाट हुने गरेका छन्।
यद्यपि भारतका नेपालविरोधी क्रियाकलापहरूमा यहाँका राष्ट्र एवं जनविरोधी सरकार र दलीय नेतृत्वबाट प्रतिवाद हुन सकेको छैन । तर राष्ट्रवादी नेपाली जनताले यस किसिमका कार्यहरूको निरन्तर विरोध र प्रतिवाद गर्दै आएका छन् । के भारतीयहरूसँग यी कुराको प्रतिवाद गर्ने कुनै तर्कपूर्ण एवं नैतिक आधार छ ? अहँ छैन । उनीहरू एकोहोरो शक्ति र बलमिच्याइँबाट छिमेकीहरूलाई नियन्त्रणमा राख्न चाहन्छन् । जसले गर्दा दक्षिण एसिया नै एउटा अशान्त क्षेत्रमा परिणत हुन पुगेको छ । विगतमा नेपालद्वारा प्रस्तुत शान्ति क्षेत्र प्रस्तावको विरोध भारतले यसै ध्येय प्राप्तिको लागि गरेको थियो भन्ने स्पष्ट भएको छ । यसबाट भारत दक्षिण एसियाकै नम्बर एक आतंककारी शक्ति भएको प्रस्टिन्छ । भारतको यस किसिमको व्यवहारमा सुधार नआएसम्म दक्षिण एसियामा आतंकवादी क्रियाकलापमा कमीको त कुरै छोडौं, यसले अझै प्र श्रय पाइरहनेछ ।
यद्यपि युरोपेलीहरूले यतिबेला एकपछि अर्को गर्दै आतंकवादी आक्रमण व्यहोरिरहेका छन् । त्यसप्रति दुःख व्यक्त गर्नुपर्छ । ती कार्यहरूको निन्दा गर्नुपर्छ । यसो भनिरहँदा के पनि बिर्सनु हुँदैन भने युरोपेलीहरूको नेपालप्रतिको पछिल्लो समयमा प्रस्तुत व्यवहार भारतको भन्दा फरक छैन । यद्यपि केही युरोपियन मुलुकहरूले लामो समयदेखि नेपालको विकासमा आर्थिक एवं अन्य सहयोग पुर्याइरहेका छन् । यो कुरा सकारात्मक नै भए पनि उनीहरूको जोड नेपालमा जातीय द्वन्द्व चर्काउने र त्यसकै आधारमा इसाईकरणको प्रवद्र्धन गर्नु रहेको पाइन्छ । यसबाट युरोपेलीहरूले नेपाललाई गरेको सहयोग निस्वार्थ थिएन भन्ने कुरा त प्रमाणित हुन्छ नै, यससँगै उनीहरूले पनि भारतीयहरूले जस्तै नेपाललाई सक्षम र सबल होइन, कमजोर तुल्याउन चाहेको देखिन्छ ।
कूटनीति र मित्रताको नाममा युरोपेली र भारतीयहरूले नेपालको आन्तरिक मामिलामा खेल्ने गरेको यस किसिमको फोहोरी खेल एउटा मित्रले अर्को मित्रसँग गर्ने व्यवहारभित्र पर्दैन । यसबाट कतै युरोपेलीहरूले नेपालसँग राष्ट्रनिर्माता पृथ्वीनारायणको पालाको रिस त फेरिरहेका छैनन् ? प्रश्नहरू उठ्ने गरेका छन् ।
यतिबेला युरोपेली मुलुकहरू एवं भारतीयहरू एकातिर आफूहरू अतिवाद र आतंकवादबाट पीडित भइरहेको र यसबाट मुक्तिको लागि विश्व जनमतले आफूहरूलाई सघाउनुपर्छ भन्दै रोदन गरिरहेका छन् भने अर्कोतिर उनीहरूले नेपालजस्ता मुलुकहरूको आन्तरिक मामिलामा विभिन्न स्वरूपमा हस्तक्षेप गर्ने र तिनलाई कमजोर तुल्याउने कार्य पनि गरिरहेका छन् ।
ती पात्रहरूको यस किसिमको व्यवहारबाट नेपालले निकै नोक्सानी सहनुपरेको त छँदैछ, त्यसभन्दा बढी यसले ती मुलुकको अन्तर्राष्ट्रिय विश्वसनीयतामा समेत प्रश्न उठाएको छ । हुन त एकपटकको साम्राज्यवादी युरोप र तिनै साम्राज्यवादीहरूको सेवक बन्ने अवसर पाएको भारतको मानसिकता त्यस किसिमको हुनु कुनै अनौठो भएन । तापनि तिनीहरूले ख्याल राख्नुपर्छ, आफ्नो व्यवहारमा सुधार नल्याई अरूबाट सहयोगको अपेक्षा गर्नु कुनै अर्थमा युक्तिसंगत हुन सक्दैन ।