युगकै पहिलो चुनाव

युगकै पहिलो चुनाव

स्थानीय तह र स्थानीय निकाय भनेको धेरै फरक विषय हो । स्थानीय निकाय भनेको केन्द्र मातहतका निकाय जो विकेन्द्रीकरणको सिद्धान्तअनुरूप ऐननियमबाट गठन भएको हुन्छ । तह भन्नाले मुलुकको समग्र राज्यशक्तिको संरचनागत एक तह हो । यो संवैधानिक हुन्छ वा संविधानले नै यसलाई राज्यको संरचनाभित्रको एक तहको मान्यता दिएको हुन्छ । नेपालका संविधानमध्ये संविधानसभाबाट जारी भएको संविधान हो । त्यसैले यो संविधानको नाममा साल लेखिएको छैन । किनकि यस प्रकारको संविधान पहिलो हो, जसले नेपालमा पहिलोपटक स्थानीय तहको व्यवस्था गर्‍यो । यसअगाडिको संविधानले स्थानीय तहको स्थापना गरेको थिएन ।

ram-narayan-bidari२०१५ सालको संविधानले स्थानीय निकाय झन् कमजोर खालको बनाएको थियो । २०४७ को संविधानले पनि स्थानीय निकाय केन्द्रमातहत अधिकारविहीन बनाएको थियो । हालसम्मका सबै संविधानले स्थानीय निकायको रूपमा राखेर केन्द्रबाट शासित रूपमा राखिएका थिए । पञ्चायती संविधानले नाम मात्रको रूपमा संविधानमा गाउँ पञ्चायतको व्यवस्था गरेको थियो । यतिसम्म पनि २०४७ को संविधानले व्यवस्था गरेको थिएन । नेपालको संविधानले पहिलोपटक नेपालमा स्थानीय तहको व्यवस्था गरेको छ । भारतमा पनि यस्तो स्थानीय तहको व्यवस्था छैन । नाम मात्रको ग्राम पञ्चायत छ । जो अधिकारविहीन छन् । स्विट्जरल्यान्डको व्यवस्था भने स्थानीय तहलाई अधिकार दिएको छ । युरोपेली कैयौं देशमा नगरपालिकाको अधिकार बढी दिएको पाइन्छ, तर संवैधानिक हैसियतसहितको स्थानीय तहलाई स्थानीय सरकारको हैसियतमा कमै मुलुकमा राखिएका छन्, जसमध्ये नेपालको संविधानले स्थानीय सरकारको हैसियतमा स्थानीय तहलाई राखेको छ ।

अब सामान्यत: मुलुकको सरकार खोज्न नेपालको सिंहदरबार धाउनु पर्दैन । आफ्नै गाउँ र नगरमा स्थानीय सरकार फेला पर्छ ।

राज्यको संरचनामा नै तीन तहको सरकारको व्यवस्था गरिएको छ- संघ, प्रदेश र स्थानीय तह । संविधानको व्यवस्थाअनुरूप स्थानीय तह भनेको स्थानीय राज्य हो । स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको व्यवस्था गरिएको छ । त्यसैले नेपालले यो नयाँ व्यवस्था ल्याएको छ । यो स्थानीय निकाय वा यसभन्दा अगाडिको गाविस, नगरपालिका, जिविसको निरन्तरता होइन । यो बिल्कुल नयाँ युग हो र नयाँ व्यवस्था हो । स्थानीय जनताले आर्थिक, राजनीतिक तथा न्यायिक अधिकार प्राप्त गरेको पहिलो अवसर हो । यसअगाडिका स्थानीय निकाय र राज्यको संरचनगत यो स्थानीय तहबीच कुनै पनि साइनो छैन ।

यो कुरालाइ संविधानको भाग ५ अध्ययन गर्दा देखिन्छ । जसनुसार राज्यशक्ति नै बाँडफाँट गरिएको छ । संघ, प्रदेश र स्थानीय तहलाई राज्यको अधिकार बाँडफाँट गरिएको छ । स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको विषयमा कानुन बनाउने, बजेट बनाउने, नीति र योजना तय गर्ने र कार्यान्वयन गर्ने गर्न सक्नेछन् । स्थानीय स्रोतको रोयल्टी स्थानीय समुदायले समन्यायिक ढंगबाट प्राप्त गर्नेछन् । प्राकृतिक स्रोत र साधनको उपयोग गर्न स्थानीय समुदायले लगानी गरी सो आधारमा प्रतिफल लिन प्राथमिकता पाउनेछन् । राज्य शक्तिको प्रयोग स्थानीय तहले पनि गर्न सक्नेछ ।

संविधानले लिएको उद्देश्य र राज्यका निर्देशक सिद्धान्त एवं नीतिहरू स्थानीय तहले पनि संरक्षण र पालना गर्न गराउन संघ, प्रदेशजस्तै स्थानीय तहले पनि जिम्मेवारी पाएको छ । संविधानको अनुसूची ८ र ९ मा स्थानीय तहको अधिकार र साझा अधिकारहरूको सूची नै किटान गरिएको छ । राजस्वको स्रोत र बाँटफाँट पनि संविधानले नै किटान गरेको छ । राजस्व वितरण गर्ने व्यवस्था पनि संविधानको धारा ६० ले नेपाल सरकारलाई बाध्यात्मक रूपमा कर्तव्य तोकेको छ ।

नेपाल सरकारको दयाले होइन, समानीकरणको आधारमा अनुदान वितरण गर्नुपर्ने व्यवस्था गरेको छ । मुलुकको राजस्व र सञ्चित कोषको बाँडफाँट पनि सन्तुलित र पारदर्शी रूपमा गर्ने व्यवस्थाको ग्यारेन्टी संविधानमै गरिएको छ । कुनै पनि समुदाय वा वर्गलाई वञ्चितीकरण गर्न वा क्षेत्रीय रूपमा असन्तुलन गर्न पाइने छैन । गरिबी र असमानताको न्यूनीकरण गर्न तिनै तहले ध्यान दिएर वा संघीय कानुन बनाउँदा पनि यी कुरालाई ध्यान दिनुपर्ने आवश्यकता किटान गरिएको छ ।

यसरी राज्यलाई तीन तहमा संरचना गरिएको छ । स्थानीय तह पनि एक संरचना हो । यसले आफ्नो क्षेत्रभित्र राज्य हैसियतले काम गर्ने कुरा निश्चित गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सम्बन्ध पनि संविधानले सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने कुरा किटान गरी तीन तहको राज्य सरकारको ग्यारेन्टी गरेको छ । स्थानीय तह कसैको मातहतको निकाय होइन भन्ने स्पष्ट गरेको छ । यी नै सिद्धान्त र संवैधानिक व्यवस्थाअनुरूप स्थानीय तह स्वायत्त, प्रभावशाली एवं शक्ति सम्पन्न छन् । त्यसैले यो चुनाव पनि नयाँ हो । यो संगठन पनि नयाँ हो । यो व्यवस्था पनि नयाँ हो । यो स्थानीय निकायको निरन्तरता होइन । यो निरन्तरताको क्रमभंग हो । यो जनयुद्ध, जनआन्दोलको फल हो । यो माओवादीको उद्देश्यअनुरूप आएको छ ।

यो समाजवादउन्मुख राज्य बनाउने उद्देश्यअनुरूप जान खोजेको छ । जसरी यो संविधान आयो त्यसको पृष्ठभूमि सबैले अवगत गरेकै कुरा हो । त्यसलाई यहाँ उल्लेख नगरिए पनि सबैले स्मरण गर्न आवश्यक छ । केन्द्रीय सरकार, प्रान्तीय सरकारजस्तै शक्तिशाली स्थानीय सरकारको व्यवस्था संविधानले गरेकाले अब गाउँमा जनताले चुनेका प्रतिनिधिले सरकार चलाउँछ । यो केन्द्रीय वा प्रान्तीय सरकारको शक्ति विकेन्द्रीकरण जस्तो हँदै हैन ।

आफैंले कानुन बनाउने, आफैंले न्यायिक कार्य गर्ने र आफैंले कार्यपालिकाको काम गर्ने काम स्थानीय तहको सरकारले गर्छ । स्थानीय तहमा नै जनताको सबैजसो काम सम्पन्न गर्ने निकाय हुन्छन् । जनताको नागरिकता, लालपुर्जा, पासपोर्ट स्थानीय तहबाटै जारी हुन्छ । प्रशासन, अदालत, विकास बजेट स्थानीय तहमै हुन्छन् । एक गाउँपालिकामा करिब एक सयजना कर्मचारी हुन्छन् । नगरपालिकामा वडैपिच्छे विभिन्न कार्यालय सञ्चालित हुन्छन् । गाउँपालिकामा पनि आवश्यकतानुसार कार्यालय रहनेछन् । वडा केन्द्र हुनेछ । नेपालमा पहिलोपटक स्थानीय जनताले धेरै अधिकार पाउने गरी यो स्थानीय तह बनाइएको छ । यी गाउँपालिका, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख उपप्रमुखले राष्ट्रिय सभाका सदस्यको मतदाता भएर राष्ट्रिय राजनीति र संघीय संसद्मा आफ्नो वर्चस्व कायम गर्छन् ।

यो निर्वाचनपछि संघ (केन्द्र) ले योजनाका बजेट सोझै गाउँपालिका र नगरपालिकामा पठाउने व्यवस्था हुन्छ । केही सरकारी कार्यालयबाहेक प्राय: सबै सरकारी कार्यालयका काम गाउँ वा नगरपालिकाबाट हुन्छन् । जिल्लास्तरका कार्यालय सामान्यत: हट्नेछन् । जिल्ला अदालत, सरकारी वकिलको कार्यालय जस्ता केही कार्यालय मात्र रहनेछन् । कयौं कार्यालय प्रदेश स्तरमा रहनेछन् ।

अहिलेको नेपालको संविधानले भने स्थानीय तहलाई स्थानीय सरकारको रूपमा राखी यसलाई विधायिकी अधिकार, न्यायिक अधिकारसमेत प्रदान गरिएको छ । भारतमा पनि ग्राम पञ्चायतलाई अधिकार दिएको छैन । त्यहाँ नाम मात्रको संघीयता वा स्थानीय तह राखिएको छ । सामन्त र पुँजीपतिलाई नेता बनाउन मात्र राज्यको पुनर्संरचना गरिएको नेपाल र भारतको व्यवस्था हेरेर खासगरी मधेसका जनता दिक्क भएका थिए । अब नेपालको संविधानले स्थानीय जनतालाई स्थानीय स्रोतमा मालिक बनाएको छ । अब विकासको बजेट केन्द्रसँग अनुरोध गर्ने माग गर्ने होइन । यो अधिकारको कुरा भएको छ, स्वत: उपलब्ध हुन्छ । आफ्नो लागि कानुन पनि बनाउन पाउने अधिकार स्थानीय जनताले पाएका छन् । प्रदेश सरकार, संघीय सरकारसँग आफू सरकार नै भएर साझा काम गर्ने हैसियत प्राप्त गरेका छन् ।

अब सामान्यत: मुलुकको सरकार खोज्न नेपालको सिंहदरबार धाउनु पर्दैन । आफ्नै गाउँ र नगरमा स्थानीय सरकार फेला पर्छ । नेपालको संविधानले नै पहिलोपटक स्थानीय तहलाई अधिकार किटान गरिदिएको छ । जस्तै: नगरमा आफ्नै अधिकारसम्पन्न प्रहरी हुन्छन् । सहकारी संस्थाहरू स्थानीय तहले नै नियमन गर्छ । प्रदेश र संघको कुनै पनि हस्तक्षेप हुन सक्दैन । आफ्नो कानुन आफैं बनाउँछन् । विभिन्न कर संकलन र लागू पनि यही स्थानीयले गर्छन् । विकास आयोजना पनि आफैं तय गर्छन् । माध्यमिक शिक्षा सञ्चालन पनि स्थानीय तह आफैंले गर्छन् । स्थानीय सडक, सिँचाइ पनि आफैंले तय गर्छन् । केन्द्रसँग योजना माग गरिरहनु पर्दैन । खानेपानी, साना जलविद्युत्, वैकल्पिक ऊर्जा विषय पनि स्थानीय तहबाटै हुन्छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.