सीमा तोड्दै कलाकार
काठमाडौं : बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा कलाकार अहिले भौगोलिक सीमा तोडिरहेका छन् । ‘क्रसिङ बोर्डर' शीर्षक कला प्रदर्शनीमा फरक देशका कलाकारले एकै ठाउँमा आआफ्ना कला प्रदर्शन गरेका हुन् ।
पाकिस्तानमा भएको कार्यशालामा तयार भएका इचिङ, लिथोग्राफ र ड्रइङलाई कोरियन कलाकार ह्यु जु किमले नेपालसम्म ल्याएका हुन् । नेपाल कोरिया, पाकिस्तान, अस्ट्रेलियालगायत विभिन्न देशका कलाकारको पृथक् शैली र सीप प्रदर्शनीमा देखिएको छ । प्रदर्शनीमा नेपाली कलाकारका पुरानै काम देखिए पनि विदेशी कलाको स्वाद नौलो लाग्छ ।
द्वन्द्व झेलिरहेका पाकिस्तानी नागरिकको त्रासलाई पाकिस्तानका कलाकारले प्रस्तुत गरेका छन् । समाजमा राजनितिक विषयको प्रभाव कलामा देख्न सकिन्छ । अरू देशका कलाकारले भने दैनिक जीवनका क्रियाकलाप उतारेका छन् । कलाबाट कलाकारको रुचीहरु पनि झल्किएका छन् । घुम्न रुचाउने कलाकारको प्रिन्टमा यात्राको फरक दृश्य देखिन्छ । नेपाली कलाकारले धर्म सँस्कृतिलाई प्राथमिकता दिएका छन् ।
ग्यालरीमा प्रवेश गर्नासाथ ढोकैनिर राखिएको चित्रले मनलाई रंगीन बनाइदिन्छ । नीलो रङ बढी प्रयोग भएको चित्रमा अरू रङको सम्मि श्रण सुन्दर लाग्छ । जुन कलाकार किमले बनाएको चित्र हो । सुन्दर फूलहरूको जरामुनि गर्भवती महिलाको चित्र छ । महिलाले जन्माउने सुन्दर जीवनलाई यस चित्रले राम्रोसँग व्याख्या गरेको छ । त्यसैको माथिपट्टि फूलहरू र आधा सूर्य देखिएको चित्र टांगिएको छ । किमको चित्रले फूलमार्फत जीवनको सुन्दरता वर्णन गरेको छ । ४१ जना कलाकारको प्रदर्शनी असार ४ गतेसम्म चल्नेछ ।