होस्टेलको खाना कति स्वच्छ

होस्टेलको खाना कति स्वच्छ

‘इन्जिनियरिङ पढाउने भनेर काठमाडौं होस्टेलमा राखेर प्रवेश परीक्षाको तयारी गर्न पठाएको हेर्नुस् न एक महिनामै यस्तो बिरामी भएर आयो । खानाकै कारणले बिरामी भइरहने भएपछि घरै फर्कियो ।' छोरालाई इन्जिनियर बनाउने सपनाका साथ इटहरीबाट काठमाडौं होस्टेलमा राखेको एक महिनामै छोरो घर फर्किएपछि छिमेकी दिदी यस्तै गुनासो गर्दै हुनुहुन्थ्यो । काठमाडौंका हरेकजसो चोक टोलमा खुलेका होस्टेलले खुवाउने खानाको गुणस्तरका बारेमा होस्टेलमा बस्नेहरू सबै सन्तुष्ट देखिँदैनन् । अहिलेसम्म यसको नियमन कतैबाट भएको सुनिँदैन ।

काठमाडौं बाहिरबाट अन्य सिलसिलामा आउनेहरूसमेत होस्टेलमा बस्ने गरेको पाइन्छ । एक त काठमाडौंमा कोठा पाउनै गाह्रो, पाइहाले महँगो र बस्ने, सुत्नेदेखि पकाउने, खानेसम्मको व्यवस्था गर्न झन्झटै छ । छोटो समयका लागि बस्नेहरूका लागि त झन् काठमाडौं बस्ने काम सकिएपछि किनिसकेका सामानहरू कहाँ लाने भन्ने झमेला छ । त्यसैले बाहिरबाट आउनेहरू लाउने लुगा र व्यक्तिगत सामानमात्र ल्याए पुग्ने होस्टेलमा बस्नै सहज ठान्छन् ।
काठमाडौंमा खुलेका होस्टेलहरूले बाहिरबाट आएकाहरूको जीवनशैली सहज बनाइदिएका छन् । तर होस्टेलमा खुवाइने खानाको गुणस्तरका कारण धेरैजना स्वास्थ्य समस्यामा परिरहेका छन् ।

होस्टेल बस्ने सबैजसोको गुनासो त्यहाँ खुवाउने खानाको गुणस्तरका बारेमा हुन्छ । नयाँ बानेश्वरको एक होस्टेलमा बस्ने एकजना बैनीले धेरै पटक खानामा कीरा भेटिने गरेकाले खानाकै पीरले कोठा खोजेर बाहिर सरेको सुनाइन् । धेरैजनाको गुनासो सुनिएपछि म पनि होस्टेलमा बस्ने एक जना भाइमार्फत खाना खानकै लागि एक बिहान होस्टेल पुगेँ । त्यस दिन उक्त होस्टेलमा खाएको खाना, त्यहाँको किचनको अवस्था, भाँडाकँुडा र वरिपरिको सरसफाइको स्थिति हेर्दा उदेकलाग्दो थियो ।

भाइका अनुसार लेउ पलाएको, फोहोर अस्तव्यस्त भएको किचन, राम्ररी नपखाली पकाइएको तरकारी, ढुंगा लाग्ने अररो भात, कपाल जेलिएको साग, कीरा भेटिइरहने दाल÷तरकारी, बिट वा छेउमा जुठो÷चिल्लो लत्पतिएको थालजस्ता घटना होस्टेल जिन्दगीका सामान्य दैनिकी जस्तै हुन् । मनमनै सोचेँ यदि होस्टेलका खानाको पनि नियमित अनुगमन हुन्थ्यो भने यस्तो समस्या कम हुन्थ्यो कि ? तर गर्ने कसले ? खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ? वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग ? वा अरू कोही ? अहिलेसम्मको दृष्टान्त हेर्दा यसमा कसैको ध्यान गएको देखिँदैन । यस्तो समस्याबाट हजारौं मानिस पीडित भइरहेका छन् ।

 अस्वच्छ खानामा हुने जीवाणु वा अन्य पदार्थले सामान्य पखालादेखि क्यान्सरसम्म गरी दुई सयभन्दा बढी रोगहरू निम्त्याउन सक्छ।

पूर्ण व्यावसायिक प्रयोजनका लागि सञ्चालित होस्टेलहरू कतिपय त दर्तासमेत नभएको र एकाधबाहेक करको दायरामा नआएका कारण काठमाडौं भित्र कति संख्यामा होस्टेल छन् भन्ने यकिन नै नभएको यस क्षेत्रका जानकारहरू बताउँछन् । कतिपय सञ्चालकको तर्कमा होस्टेल भनेको पेइङ गेस्टका रूपमा बस्ने भएकाले घरजस्तै हो भन्ने पनि हुँदो रहेछ । तर व्यावसायिक रूपमा सञ्चालन भइरहेका होस्टेलहरू होटेल व्यवसाय कै एउटा पक्ष हो । फरक यति मात्र छ होटलमा क्षणभर वा छोटो समयमै ग्राहक फेरिन्छन्, होस्टेलमा अलि लामो समय पछि । संविधानले समेत हरेक व्यक्तिलाई प्रत्याभूत गरेको स्वच्छ तथा पोषणयुक्त खाना खान पाउने नागरिकको खाद्य अधिकारलाई होस्टेल होस् वा होटेल वा अरू कसैले हनन् गर्नु हुँदैन ।

दूषित खाना र स्वास्थ्य

खानेकुरालाई विशेषगरी विभिन्न जीवाणु वा अखाद्य रसायनले दूषित बनाइरहेको हुन्छ । विषाक्त खानाको उपभोगले फुड पोइजनिंग वा फुड इन्टक्सिकेसन हुन सक्छ । होस्टेल, होटेल वा घर नै किन नहोस्, हामीले खाने खाना स्वच्छ भएन भने विभिन्न स्वास्थ्य समस्याहरू निम्तिन्छन् । दूषित वा गुणस्तरहीन खानाका कारण झाडापखाला लाग्ने, बान्ता हुने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, ज्वरो आउने, कमजोरी महसुस हुने, शरीर झमझमाउनेजस्ता असर देखिन सक्छन् । दीर्घकालमा पोषक तत्वको कमीका कारण कुपोषण हुने तथा अन्य गम्भीर स्वास्थ्य असरहरू देखिन सक्छन् ।

अस्वच्छ खानामा हुने जीवाणु वा अन्य पदार्थले सामान्य पखालादेखि क्यान्सरसम्म गरी दुई सयभन्दा बढी रोगहरू निम्त्याउन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर यस्तो खानाबाट ६ सय मिलियन मानिस पीडित भइरहेका छन्, जसमध्ये करिब चार लाख २० हजारको मृत्यु भइरहेको छ । धेरैजसो होस्टेल बस्नेहरू किशोरावस्थाका वा भर्खरै किशोरावस्था पार गरेको उमेरकाहरू हुने भएकाले यो समयमा पोषणको आवश्यकता झनै विशेष र महत्ववपूर्ण हुन्छ । भिन्न शारीरिक तथा मानसिक वृद्धि विकासका लागि महत्ववपूर्ण अवधि भएकाले किशोरावस्थालाई पोषण सुधारका दृष्टिले अवसरको दोस्रो आँखीझ्याल पनि भन्ने गरिन्छ । सुनौलो भविष्यको सपना देखेर काठमाडौंको होस्टेलमा बस्ने कतिपयको खानाकै कारण पढाइमात्र बिग्रिरहेको छैन, घर नै फर्किनुपर्ने बाध्यता पनि आइरहेको छ ।

होस्टेलका खाना स्वाद, स्वच्छता वा अन्य कुनै कारणले गर्दा कम खाने, खान मन नलाग्ने भई ज्यान दुब्लाउँदै जाने र ख्याउटे देखिने तत्काल झट्ट देखिने असर हो । तर शरीरभित्र विभिन्न सूक्ष्म पोषक तत्ववको पनि कमी भइरहेको हुन्छ, असर दीर्घकालमा मात्र देखिन सक्छ । अझ किशोरीहरूका लागि त झन् महिनावारी सुरु हुने समय भएकाले उक्त समयमा गर्नु पर्ने स्याहार र खानुपर्ने पोषिलो खानाको अभावका कारण समस्या हुन सक्छ ।

होस्टेलको किचनलाई सधैं सफा राख्ने, उज्यालो आउने, भेन्टिलेसनहरू भएको ठाउँमा किचन बनाउने, खाना बनाउने कच्चा पदार्थ किन्दा, भण्डारण गर्दा, तयार गर्दा, पस्किएर दिँदा स्वच्छतालाई केन्द्रमा राख्ने, खाना पकाउने, पस्कने, खाने ठाउँ तथा वरिपरिको वातावरण सफा राख्ने, खाना पकाउने व्यक्तिहरूले आफ्नो कपाल, नङ, लुगाजस्ता खानामा पर्न सक्ने वा खानालाई दूषित बनाउन सक्ने कुराहरू तथा आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिने हो भने मात्र यो समस्या समाधान भएर जान्छ ।

बाहिरबाट पढ्नका लागि वा अन्य कुनै प्रयोजनका लागि यहाँ आएर होस्टेलमा बस्नेहरूका लागि बस्ने र आफ्नो काम वा पढाइ अगाडि बढाउने विकल्पका रूपमा होस्टेलहरूले सेवा दिइरहेका छन् । अब यस्ता होस्टेलहरूको सेवालाई अझ व्यवस्थित बनाउँदै खानाको गुणस्तर र स्वच्छताका बारे गम्भीर हुन जरुरी छ । यसका लागि सरोकारवाला निकायबाट नियमित अनुगमन गरी सुधारको बाटोमा जान जरुरी छ । होस्टेल सञ्चालकले गुणस्तरीय सेवा उपलब्ध गराउनु दायित्व सम्झी होस्टेलले आफूलाई सुधार गर्न जरुरी छ । होस्टेलका उपभोक्ताले पनि स्वास्थ्यसँग जोडिएका गम्भीर विषयमा गुणस्तर कायम गर्नका लागि सेवा प्रदायकलाई सुझाव, शालीन दबाब तथा सहयोग गर्न जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.