गंगादशहरा मेलामा गोसाइकुण्डको भेटी संकलन
नुवाकोट : पवित्र तीर्थ गोसाइकुण्डमा यस वर्ष लागेको गंगादशहरा मेलामा भक्तजनले चढाएको भेटी संकलन गरिएको छ । कुण्ड र शिव मन्दिरमा गरि ३० हजार रुपैया भेटी संकलन गरिएको हो । गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले कुण्डमा २९ हजार आठ सय ८७ रुपैया भेटी संकलन भएको जानकारी दिनुभयो । कुण्डको नजिकै रहेको मन्दिरका पुजारीले भेटी संकलन गरी ल्याएपछि धुन्चेमा गणना गरिएको हो ।
यही जेठ १२ देखि २१ गतेसम्म प्रसिद्ध गोसाइकुण्डमा लागेको यस वर्षको गंगादशहरा मेलाका अवसरमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा दर्शन र स्नान गरेको समितिले जनाएको छ । पौराणिक कालमा राजा भगीरथले आफ्ना ६० हजार छोराको मुक्तिका लागि तपस्या गरी गङ्गा(भागीरथी) नदीलाई पृथ्वीमा ल्याएको दिनलाई गंगा दशहरा मानिन्छ ।
यस अवसरमा १० प्रकारका पाप नाश हुने विश्वासकासाथ गंगा स्नान गरिने ज्येष्ठ शुक्ल दशमीको दिन नै दशहरा पनि पनि हो । समुद्री सतहबाट १४ हजार एकसय फिटको उचाइमा रहेको धार्मिक पौराणिक गोसाइकुण्डमा प्रत्येक वर्ष दशहरा र रक्षाबन्धनका अवसरमा विशेष मेला लाग्छ ।यस वर्ष गोसाइकुण्डमा मेला भर्न गएका एक यात्रुलाई मात्र लेक लाग्ने समस्या देखिएकाले उनलाई नेपाली सेना र नेपाल प्रहरीले बोकेर बेँसी झारेको र एक महिला तीर्थालुको नुहाउँदा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डिएसपी फणीन्द्र प्रसाईंले बताउनुभयो ।
पौराणिक कथन अनुसार परापुर्व कालमा देवता र दानवबीच युद्ध हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा पुगेर भगवान शिवले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूल धाराको उत्पति भएको किंबदन्ती छ । उक्त त्रिशूल धाराको पानीबाट गोसाईकुण्डको उत्पत्ति भएको भन्ने पनि किंबदन्ती रहेको मेला आयोजक गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सन्जिव डिएमले वबताउनुभयो ।
गोसाइकुण्डमा स्नान गरि गोसाइबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफुले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनी हजारौं भक्तजनहरु कुण्डमा स्नान गर्न आउने गर्दछन् । रसुवाको पर्यटकिय तथा पवित्र धार्मिक तिर्थस्थल गोसाइकुण्डमा लाग्ने गंगा दशहरा मेलामा बर्षेनी हजारौ तिर्थयात्रीहरुले कुण्डमा स्नान गरि मेला भर्ने गरेका छन् ।
गोसाइकुण्डमा जनै पूर्णिमा र गंगादशहरा गरि बर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् । गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ मा रहेको गोसाइकुण्ड समुन्द्रीसतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको छ । धार्मिक पौराणिक गोसाइकुण्डमा यात्रु र पर्यटकलाई केन्द्रित गरी खोलिएको होटलमा स्वच्छ खाना र सहज रूपमा बासको व्यवस्थाले गङ्गादशहरा पर्वमा आएका सबै यात्रु आकर्षित भई फर्कने गरेको व्यवसायी ढिण्डुप तामाङले जानकारी दिनुभयो । समुद्र मन्थनबाट प्राप्त हलाहल विषको सेवनबाट डाह भई शितलता प्राप्त गर्न पार्वतीको माइती हिमालय पर्वतमा जान हिँडेका शिवले निलाद्री पर्वतमा त्रिशूल रोप्दा पानीको तीनधारा बगी नीलखेतमा जम्दा गोसाइँकुण्ड उत्पत्ति भएको र शिव त्यहीँ शयन गरेको बताइन्छ ।
गोसाइकुण्ड जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने तीर्थ मानिन्छ । यस याममा बाटामा हिँड्दा झारको गन्ध कम, सुख्खा मौसम, हिँड्न सहज, ठाउँ ठाउँमा खाजा नास्ता र बास बस्ने व्यवस्था, बिरामी पर्दा हेलिकप्टर झिकाउन सकिने व्यवस्था गरिएको थियो । गोसाइकुण्डमा गङ्गादशहरा पर्वअन्तर्गत यस वर्ष पाँच हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेकोे स्थानीय व्यवसायीले बताएका छन् । गोसाइकुण्डमा रक्षाबन्धनका दिनमा पनि ठूलो मेला लाग्छ ।