मध्यरातमा प्रेमिकाको हत्या
काठमाडौं : दोलखाका प्रशान्त तामाङ र रामेछापकी सञ्चिता पाख्रिनबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो।
पछिल्लो समय प्रशान्त चाबहिलस्थित सञ्चिताको डेरामा नियमित आवतजावत गर्थे। सञ्चितालाई केही महिनाभित्रै श्रीमती बनाउने निर्णयमा पुगेका २४ वर्षीय प्रशान्तले जेठ ४ गते तिनै युवतीको हत्या गरेको खुलासा भएको छ।
घटना भएको दुई सातापछि दोलखाबाट पक्राउ परेका प्रशान्तले आफूलाई सञ्चिताले धोका दिएको र आवेशमा हत्या गरेको प्रहरीसँग बताएका छन्। २३ वर्षीया सञ्चिताको हत्या भएको चार दिनपछि मात्र प्रहरीले चाबहिलस्थित उनी बस्ने कोठामा सडेगलेको अवस्थामा शव भेटेको थियो।
प्रहरीसँगको प्रारम्भिक बयानमा प्रशान्तले जेठ ४ गते सञ्चिताले मोबाइल किन्न पैसा चाहियो भनेपछि पैसा पुर्याउन आफू बेलुका त्यहाँ पुगेको बताएका छन्।
‘उनको पेटमा मेरो बच्चा थियो। उनकै आग्रहमा अब केही महिनामै विवाह गर्ने निर्णय लिएका थियौं तर त्यो साँझ उनले एबर्सन गरेको र मसँग विवाह नगर्ने बताइन्। विवाद हुँदै जाँदा रिसाएर ममाथि नै आक्रमण गरिन्। त्यसपछि मैले पनि होस गुमाएँ’, प्रशान्तको भनाइ उद्धृत गर्दै अनुसन्धानमा खटिएका प्रहरी भन्छन्।
प्रेमिकाको हत्या गरेलगत्तै भारततर्फ लागेका उनी पछि दोलखा फर्किएका थिए। भक्तपुरको बालुवाखानीमा काम गर्ने प्रशान्तले सञ्चितालाई समय–समयमा खर्चसमेत दिने गरेका थिए। प्रहरीले कर्तव्यज्यान मुद्दा चलाउने तयारी भइरहेको जनाएको छ।