जेरेमी, हस्तक्षेप र आतंकवाद

 जेरेमी, हस्तक्षेप र आतंकवाद

आजको विश्वका प्रमुख समस्यामध्ये आतंकवादलाई लिने गरिन्छ । केही समयअघि इटालीमा ‘ग्रुप अफ सेभेन' अर्थात् सातवटा विकसित राष्ट्रहरूको सम्मेलनमा समेत आतंकवादलाई प्रमुख रूपमा उठाइएको थियो । भर्खरै भारतका प्रधानमन्त्रीले जर्मनीको यात्रामा समेत उही कुरा उठाए । चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि ‘बेल्ट एन्ड रोड' इनिसियटिभको बेइजिङमा सम्मन्न सम्मेलनमा यो विषय पनि उठाएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरैजसो भाषणमा आतंकवाद प्रमुख समस्या भएको बराबर उठाउने गरेका छन् । राष्ट्रपति ट्रम्पले केही समयअघि साउदी अरेबियाको भ्रमणमा यो विषयलाई प्रमुख रूपमा उठाएका थिए । उनको चिन्ता मुस्लिम धर्म सम्प्रदायका मानिसबाट गरिने आतंकवादी गतिविधिप्रति थियो ।

समयसमयमा विभिन्न देशका नेताहरूले आतंकवादप्रति चिन्ता देखाए पनि आतंकवादको मूल जरो के हो भन्ने सम्बन्धमा ती नेताहरू पुग्न सकेका छैनन् । गत महिना ब्रिटेनको मेनचेस्टरमा लिबियन ब्रिटिस नागरिकले एउटा आत्मघाती बम प्रहार गरी २२ जना ब्रिटिस एवं अन्य देशका केही नागरिकको ज्यान लिएपछि विभिन्न देशका नेताहरूले आतंकवादप्रतिको लडाइँलाई चर्को बनाउने वाचा गरेका छन् । बम प्रहारपछि अमेरिका, रूस, जर्मनी र फ्रान्सका नेताहरूले ब्रिटेनप्रति ऐक्यबद्धता देखाएका छन् ।

वास्तवमा त्यो निन्दनीय एवं अमानवीय घटना थियो र एउटा सांस्कृतिक कार्यक्रम हेर्न गएका निरपराध बालबालिकासहित धेरैको मृत्यु भएको थियो र कैयौं घाइते भएका थिए । आतंककारी घटनाबाट फ्रान्स, जर्मनीलगायतका जनता पनि पीडित भएका छन् । यो सबै घटनापछि ती-ती देशका नेताहरूले सुरक्षा व्यवस्था अझ बलियो बनाउने प्रतिज्ञा गरे, तर त्यसको मूल समस्या कहाँ छ भन्नेमा ध्यान दिएनन् अथवा दिन चाहेनन् ।

यसै सन्दर्भमा ब्रिटेनको विपक्षी लेबर पार्टीका नेता जेरेमी कोरविनले आफ्नो चुनावी भाषणको दौरान मेनचेस्टरमा भएको आत्मघाती बम हमलाजस्तै घटनाहरूको पुनरावृत्ति रोक्न ब्रिटेनले अन्य देशमाथिको हस्तक्षेपकारी कार्य रोक्नुपर्ने बताए । ब्रिटेनले जति-जति हस्तक्षेपकारी कार्य गर्छ, त्यति-त्यति आतंकवादी हमलाको सिकार ब्रिटिस नागरिक हुने खतरा रहेको उनले औंल्याए । उनले ब्रिटेनको विदेश नीतिमा आमूल परिवर्तन नल्याएसम्म सुरक्षा उपायहरू बढाएर मात्र आतंकवादी गतिविधि रोक्न नसकिने बताए ।

जेरेमी कोरविनको भनाइलाई कन्जरभेटिभ दलका नेताहरूले आलोचना गरे । इटलीमा ‘ग्रुप अफ सेभेन' को बैठकमा गएकी ब्रिटिस प्रधानमन्त्री थेरेसा मेले पनि जेरेमी कोरविनको भनाइको आलोचना गरिन् र मेनचेस्टरमा भएको आतंकवादी हमलाको ब्रिटेनको विदेश नीतिसँग कुनै सम्बन्ध नभएको बताइन् । उनले जेरेमीले उठाएको कुरालाई कुनै पनि बहानामा स्विकार्न नसकिने गरी आगामी चुनावमा त्यसको विरोध गर्ने बताइन् ।

जेरेमीले उठाएको विषय सत्य हो, तर थेरेसा मे अथवा डोनाल्ड ट्रम्प जस्ता नेताहरू त्यो तीतो सत्य स्विकार्न तयार छैनन् । हामीलाई थाहा छ- इराकमाथि अमेरिकी नेतृत्वमा भएको आक्रमणको पछाडि सबैभन्दा बढी अन्धसमर्थन ब्रिटेनले गरेको थियो र तत्कालीन ब्रिटिस प्रधानमन्त्री टोनी ब्लेयरले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसलाई पनि जित्ने गरी इराकी राष्ट्रपति सद्दाम हुसेनलाई दानवसँग तुलना गरी अनेकौं अपमानजनक उपमा दिएका थिए ।

बहुसंख्यक ब्रिटिस जनता इराकमाथिको युद्धको विरोधी थिए र सन् १९९१ र सन् २००३ मा लन्डनका प्रमुख सडक र चोकमा लाखौं संख्यामा जनताले ब्रिटेनको संलग्नताको विरोध गर्दै इराकप्रतिको ब्रिटेनको नीतिको विरोध गरेका थिए । कतिपय जनपक्षीय समाचारपत्रले ब्रिटेन अमेरिकाको पुच्छरजस्तो भएको भनी व्यंग्यात्मक शैलीमा कार्टुन र लेखहरूसमेत प्रकाशित गरेका थिए ।

टोनी ब्लेयरले सद्दाम हुसेनसँग आम विनाशकारी हतियार छन् भनी ब्रिटिस जनतासँग झूटो बोलेका थिए । यसैगरी अमेरिकी राष्ट्रपति जर्ज बुसले पनि सद्दाम हुसेनका आम विनाशकारी हतियारले अमेरिकालगायतका देशहरूलाई खतरा भएको भनी झूटो कुरा गरेका थिए । पछि ब्रिटिस सरकारले इराक युद्ध ब्रिटिस सरकारको संलग्नतामाथि धेरै आलोचना भएपछि एउटा जाँचबुझ आयोग गठन गर्‍यो र त्यस आयोगले सद्दाम हुसेनसँग त्यस्ता कुनै हातहतियार नरहेको रिपोर्ट दियो । आयोगले टोनी ब्लेयरलाई ब्रिटेनलाई अनावश्यक रूपमा युद्धमा प्रवेश गराएकोमा दोषी ठहर्‍याएको छ र अहिले टोनी ब्लेयरलाई कुनै सजाय नदिएको भए पनि उनी ब्रिटिस जनतासामु खुलेर हिँड्न र बोल्न नसक्ने अवस्थामा छन् ।

अहिले उनकै पार्टीका नेता जेरेमीले त्यही तीतो सत्यप्रति लक्षित गरी ब्रिटेनले हस्तक्षेपकारी नीति त्याग्नुपर्ने बताएका छन् । उनको इसारा अमेरिका र ब्रिटेनले इराक, अफगानिस्तान, सिरिया र लिबिया जस्ता देशहरूमा खेलेको हस्तक्षेपकारी भूमिकाप्रति लक्षित थियो । साथसाथै उनले नेटोमा आबद्ध देशहरूका सैनिकहरूले गरेको हस्तक्षेपकारी भूमिकाप्रति पनि इशारा गरेका थिए । जेरेमीले यस्ता हस्तक्षेपकारी गतिविधि नरोकिएसम्म ब्रिटेनलगायतका देशहरूमा आतंककारी गतिविधि रोक्न गाह्रो हुने बताए ।

आगामी चुनावपछि सत्तामा जान सक्ने सम्भावना रहेको पार्टीका नेताले भनेका यी कुराले निकै महत्वव राख्छन् । वास्तवमा जतिजति विदेशी शक्तिको हस्तक्षेप बढ्छ, उतिउति आतंककारी गतिविधि पनि बढ्छन् । अमेरिकाले इराकमाथि गरेको हस्तक्षेपले आज त्यहाँ विदेशी सैनिकको उपस्थितिको विरोधमा अनेकौं आतंककारी घटना भएर हजारौं निरपराध मानिसले दिनहुँजस्तै ज्यान गुमाउनुपरेको छ । त्यसैगरी अफगानिस्तानमा अमेरिकी सेनाको हस्तक्षेपको लगभग दुई दशक बित्दा पनि आज त्यो देश आतंककारी गतिविधिको सिकार भइरहेको छ ।

केही दिनअघि मात्र अफगानिस्तानको राजधानी काबुलको कूटनीतिक नियोगहरूको क्षेत्रलाई लक्षित गरी गरिएको आत्मघाती बम हमलामा ८० जनाभन्दा बढीको मृत्यु भयो भने पाँच नेपाली नागरिकसहित सयौंको संख्यामा अन्य मानिस घाइते भएका छन् । त्यसैले आतंकको मूल जरो विदेशी शक्तिको हस्तक्षेपकारी भूमिकासँग गाँसिएको छ भन्ने जेरेमीको भनाइ यथार्थमा आधारित छ ।

प्रसिद्ध लेखक जर्ज अरबेलले आफ्नो ‘सुटिङ एन एलिफेन्ट' शीर्षकको लेखमा घुमाउरो पाराले अन्य देशका जनतालाई दास बनाउन खोज्दा ती देशले आफ्नो स्वतन्त्रता पनि गुमाएका हुन्छन् भनेका छन् । त्यो लेखमा उनले आफू द्वितीय विश्वयुद्धअगाडि तत्कालीन बर्मामा प्रहरी अधिकृत भई काम गर्दा कसरी आफ्नो इच्छाविपरीत एउटा हात्तीलाई मार्नुपर्‍यो भन्ने कुरा लेखेका छन् । उनले त्यो हात्ती बहादुरी देखाउन नभई तत्कालीन बर्माका जनताको आँखाको अगाडि कायर नदेखिनको लागि मारेका थिए । उनले त्यो हात्तीको मृत्युलाई उपनिवेशवादको समय लाग्ने तर अवश्यम्भावी मृत्युको रूपमा देखाएका छन् ।

जर्ज अरवेलले भने झैं आज अमेरिका, ब्रिटेन, फ्रान्स र जर्मनीजस्ता देशका जनताले स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार क्रमशः गुमाउँदै गएका छन् । व्यक्तिगत स्वतन्त्रताको लागि गर्व गर्ने यी देशहरूका गल्ली-गल्ली र चोक-चोकमा चौबीसै घन्टा हतियारधारी सैनिकहरूले गस्ती गरिरहेका हुन्छन् । रेल, हवाई जहाज र बसको यात्रा गर्दा लामो जाँच पास गर्नुपर्ने हुन्छ । कतिबेला कुन ठाउँ घटना हुन्छ भन्ने आतंक आज ती देशका निरपराध जनतामा छ । आज मेनचेस्टर घटनामा एउटी आठ वर्षीया बालिकाले ज्यान गुमाउनुपर्‍यो भने ब्रिटेन, अमेरिकालगायत नेटोसँग सम्बद्ध देशका सैनिकहरूले विदेशी भूमिामा लड्दा ज्यान गुमाउनुपरेको छ ।

अमेरिका र ब्रिटेनको इराकमाथिको आक्रमणपछि आज ती देशहरूमा युद्धविरोधी थुपै्र संगठनहरू खोलिएका छन् र ती संगठनमा आफ्ना छोराछोरीलाई इराकमा गुमाएका बाबुआमाहरूले नेतृत्व दिइरहेका छन् । ती बाबुआमाले जर्ज बुस र टोनी ब्लेयरले जनतालाई भ्रममा पारेर निर्दोष अमेरिकी र ब्रिटिस नागरिकलाई युद्धमा पठाई मारेको आरोप लगाएका छन् । अहिले अमेरिकन र ब्रिटिस निर्दोष नागरिक अन्य देशको भ्रामणमा जाँदा सुरक्षित महसुस गर्दैनन् । त्यहाँका सरकारले नै उनीहरूको स्वतन्त्रता खोसेका छन् । निसंकोच रूपमा सहर-बजारमा भीडभाड हुने क्षेत्रमा घुम्न सक्दैनन् ।

रात्रिकालीन जीवन अब त्यहाँ खतरनाक र महँगो भएको छ । हतियारधारी सैनिकको उपस्थितिले ती देशका कलिला बालबालिका मनोवैज्ञानिक रूपमा त्रसित छन् । त्यसैले आज जर्ज अरवेलले ८० वर्षअगाडि लेखेको लेखको महत्वव उत्तिकै छ । अरवेल आफैं एउटा श्वेत नागरिक थिए, तैपनि उनले त्यो लेख लेख्ने साहस गरेर केही चेतावनी दिए, आफ्नै देशका शासकहरूलाई ।

तर भनिन्छ- मानिसले इतिहासबाट सिक्दैन र दुःखद घटनाहरूको पुनरावृत्ति हुन्छ । आज ब्रिटेन र अमेरिकाले पनि इतिहासबाट सिकेका छैनन् । उनीहरूले भियतनाम युद्धमा ज्यान गुमाएका र इराकी युद्धमा मारिएका आफ्नै नागरिकको आवाज बिर्सेका छन् । अझै पनि उनीहरूमा उपनिवेशवादी सोच विद्यमान छ र हतियारको बलमा संसारलाई मुठीमा राख्न सकिन्छ भन्ने दम्भ अझै पनि छ । त्यसो गर्दा उनीहरूका नागरिक कति निरिह बनेका छन् भन्ने उनीहरूले बुझेका छैनन् ।

आजको युगमा वैज्ञानिक प्रविधिको ज्ञान सबै ठाउँमा पुगेको छ र आफूले उत्पादन गरेका घातक हतियारको सिकार आफैं हुने खतरा बढिरहेको छ । त्यसैले शान्ति, स्वतन्त्रता र आतंकवाद, परतन्त्रताको बीचमा केलाई रोज्ने भन्ने निर्णय उपनिवेशवादी सोच भएका सरकार र देशले छिट्टै लिनुपर्छ ।

आजको यस्तो अवस्थामा बीसौं शताब्दीका निर्भीक चिन्तक ओशो रजनिश पनि उत्तिकै सान्दर्भिक छन् । उनले आफ्ना धेरै प्रवचनहरूमा सेनाका अधिकृतहरू र प्रमुखहरूलाई अन्यायपूर्ण युद्धको लागि राजनीतिक नेतृत्वले आदेश दिए पनि त्यसलाई अस्वीकार्य गर्नुपर्छ भनेका छन् । उनले भनेका छन्- सेना प्रमुखहरूले अन्धाधुन्ध रूपमा राजनीतिक नेताको आदेशलाई मानेर युद्धमा देशलाई होम्ने गर्नुभन्दा निडरतापूर्वक त्यसको विरोध गर्नुपर्छ । ओशो रजनिशले जीवित छँदै इराक युद्धको विरोध गरेका थिए र त्यो युद्धले गर्दा संसारमा खतरनाक स्थिति आउने चेतावनी दिएका थिए ।

अमेरिकामै नोम्स चोम्स्की जस्ता दार्शनिक अझै जीवित छन् र उनले पनि बारम्बार अमेरिकन विदेश नीति खासगरी युद्धमुखी विदेश नीतिको विरोध गरेका छन् । उनको आरोप छ- आज अमेरिकामा लत्ता, कपडा, अथवा खाद्य पदार्थमा उद्योगधन्दा नगन्य छन् र सबैजसो कारखाना हतियार निर्माणको लागि बनाइएका छन् । उनले लेखेका छन्- अमेरिकामा आज युद्धपोत र पनडुब्बी बनाउने कारखानामा हजारौंहजार मानिस काम गर्छन् र ती चीजहरू युद्धको लागि विभिन्न देशमा बेच्ने गरिन्छ । युद्ध नभएमा अमेरिकाको अर्थव्यवस्था धाराशायी हुने कुरा पनि उनले लेखेका छन् । त्यसैले समय छँदै अमेरिकामा ब्रिटेन जस्ता देशका नेताहरूले ओशो रजनिश, जर्ज अरवेल र नोम्स चोम्स्की जस्ता व्यक्तिहरूले दिएको चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्छ।

आजको युगमा वैज्ञानिक प्रविधिको ज्ञान सबै ठाउँमा पुगेको छ र आफूले उत्पादन गरेका घातक हतियारको सिकार आफैं हुने खतरा बढिरहेको छ । आजको परस्परमा निर्भर भएको संसारमा केही देशले आफ्नो साम्राज्य र उपनिवेश बचाइराख्न विदेशी भूमिमा युद्ध थोपर्ने काम गर्दा त्यसले आत्मविनाश पनि गर्छ भन्ने कुरा बुझ्नुपर्छ । ब्रिटेनमा एउटा नेताले देखाएको साहस स्वागतयोग्य छ, तर उनको तार्किक आवाजलाई हराउने र निस्तेज पार्ने प्रयास पनि भइरहेको छ । हामी आशा गरौं- जेरेमीले उठाएको आवाजले सकारात्मक परिवर्तन ल्याउनेछ ।

हामी सबैले उनको आवाजलाई समर्थन गरेर युद्धपिपासु नेताहरूमाथि दबाब दिन सक्छौं । त्यस्ता युद्धपिपासु नेताहरू अन्य देशमा पनि छन् र यो आवाज संसारभरि नै पुर्‍याउनुपर्छ । कुनै पनि देशलाई अर्काको देशमा सैनिक अड्डा राख्ने अधिकार दिनु हुन्न । सबै देशबाट विदेशी सेनाहरू फिर्ता हुनुपर्छ र इतिहासले दिएको पाठ स्वीकार गर्नुपर्छ । समय थोरै छ, त्यसैले शान्ति, स्वतन्त्रता र आतंकवाद, परतन्त्रताको बीचमा केलाई रोज्ने भन्ने निर्णय उपनिवेशवादी सोच भएका सरकार र देशले छिट्टै लिनुपर्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.