पातालकी चेलीको आस्था

 पातालकी चेलीको आस्था

क्रिस्टिना नाम हो उनको । अविवाहित अमेरिकी नागरिक । मेरो छोरा सर्यातको कलेज सहपाठी । कलिलो उमेरदेखि नै क्रिस्टिनाको जीवनलाई भित्रभित्र धमिराले खाइरहेथ्यो । यानी १८ वर्षदेखि उनको शरीरभित्र काल हुर्किंदै थियो । जडिबुटीमा विश्वास राख्ने अमेरिकीमध्येमा उनी पनि एक थिइन् । प्राकृतिक चिकित्सक एक चाइनिज डाक्टरसँग उनले उपचार गराउँदै आएकी थिइन् । आत्मबल र आयुर्वेदिक औषधिमाथिको अगाध विश्वासका कारण उनी असाध्य रोग क्यान्सरसँग पौंठेजोरी खेल्दै जीवनका घडी तन्काउँदै थिइन् । विदेशीहरूको यो एउटा विशेष गुण मान्नैपर्छ । यस्तो रोगले ग्रस्त पार्दा पनि उनीहरू निराश बनी कमजोर भएको देखाउन चाहँदैनन् र पहिलेजस्तै साधारण जीवन बिताउँछन् । कसैको सहानुभूतिका भोका रहँदैनन् । कसैले विशेष चासो राखेको पनि मन पराउँदैनन् ।

दुई वर्षअघि छोराको विवाहमा उनी त्यति टाढादेखि खुसी साट्न नेपाल आइन् र अरूले जस्तै रमाइलो गरिन् । रोगग्रस्त जस्तो कुनै छनक देखिएन । लामो समयदेखिको रोगी भनिए पनि उनमा त्यस्तो केही देखिएन र कसैले पनि त्यो थाहा पाएनन् । विवाहपछि छोराले साथीहरूलाई चितवनको टाइगर टप्स घुमाउन लग्यो, त्यसमा उनी पनि सामेल थिइन् । उनले खुब रमाइलो मानिन् रे । त्यहाँबाट फर्किएपछि अरू साथीहरू आआफ्नो स्थानमा फर्किए पनि उनी फर्किन चाहिनन् । प्रकृतिप्रेमी उनी नेपालको प्राकृतिक सुन्दरताको रसपान गर्न चाहन्थिन् ।

त्यसैले उनी सबभन्दा पहिला पोखरा गइन् । नेपालमा बसुन्जेल उनको ख्याल गर्नु हाम्रो जिम्मेवारी हो भन्ने सोचेर छोराले उनी कहाँ बसेकी छिन्, के गर्दैछिन् भनी बुझ्न खोज्यो । पोखरा छँदा नजिकै पैदल यात्रामा पनि गइन् रे । पोखराबाट फर्किएर हाम्रै घरमा बसिन् । उनी उतैबाट ल्याएको जडिबुटी औषधि दैनिकजसो खान्थिन् । उनी पहिरनमा सारी, लेहंगा लगाउन मन पराउँथिन् । छोराको विवाहमा त्यस्तै लुगा लगाएकी थिइन् । खानामा खासै बन्देज थिएन ।

छोराको सल्लाहअनुसार उनी दस दिनको लागि विपश्यना गइन्, ध्यानमा बसिन् । ध्यान गर्दा उनलाई कुनै दैवी शक्तिको संयोजन भएजस्तो भयो रे, अर्कै जगत्मा पुगेजस्तो लाग्यो रे, मन र शरीर फूलको थुंगाजस्तो हलुंगो भयो रे, जीवनको अर्थ बुझेजस्तो लाग्यो रे । उनलाई अलौकिक आनन्दको अनुभूति भयो रे । अझ आफूभित्र रहेको रोगसँग लड्न सक्ने हिम्मत र आत्मबल बटुलेको उनले अनुभव गरिन् रे । विपश्यनाबाट फर्किंदा उनी निकै प्रसन्न र तरोताजा देखिन्थिन् । अमेरिका फर्किने बेला गहभरि आँसु पार्दै उनले भनेकी थिइन्, नेपाल असाध्य रमाइलो लाग्यो । प्राकृतिक सुन्दरतासँगसँगै यहाँका मानिसको व्यवहारले मलाई मोहित बनायो । चाँडै फेरि नेपाल आउँछु- फर्किने बेलामा उनले वाचा पनि गरिन् ।

अमेरिका फर्किने बेलामा गहभरि आँसु पार्दै क्रिस्टिनाले भनेकी थिइन्, ‘प्रकृतिको देश नेपाल असाध्य रमाइलो लाग्यो । यहाँका मानिसका व्यवहारले मोहित बनायो । म चाँडै नेपाल आउनेछु ।' तर उनको सपना पूरा हुन पाएन ।

उनी मेरा छोराबुहारीसँग सम्पर्कमा रहिरहन्थिन् । एक वर्षअघि उनले निराश भएर फोन गरेकी थिइन् । उनको उपचार गर्ने आयुर्वेदिक डाक्टरको परिवारलाई कसैले हत्या गरिदिएछ । अब उनले पाइरहेको त्यो प्राकृतिक चिकित्सा नपाउने भइन् । त्यही औषधिले उनको आयु तन्किएको थियो । अब त्यो नपाएपछि के हुन्छ होला ? उनी निराश र हतोत्साह हुन थालिन् ।

एक महिनाअघि एक दिन क्रिस्टिनाको आमाले मेरो छोरालाई फोन गरिन् । क्रिस्टिनालाई आईसीयूमा राखेको छ । मुटुको चारैतिर क्यान्सर फैलिएर शल्यक्रिया गर्नुपर्‍यो । उनकी आमाले रुँदै भनिन्, ‘नेपालबाट फर्किएपछि भन्ने गर्थिन्, ‘अहिलेसम्म घुमेको देशमध्ये नेपालजस्तो सुन्दर अरू कुनै देश छैन । नेपालीहरू साह्रै सहयोगी, दयालु र मायालु हुँदा रहेछन् । एकपटक फेरि जसरी भए पनि म नेपाल जान्छु । उनी जीवनका अविस्मरणीय रमाइला क्षण भनेको नेपालमा बिताएका दिनहरू नै हो भन्छे । उसको जीवनको केही क्षण रमाइलो गराइदिएर ठूलो गुन लगायौ, त्यसको लागि तिमीलाई धन्यवाद ! अर्को कुरा, तिमीहरूको धर्मप्रति पनि उसलाई अगाध आस्था छ ।'

कालको मुखमा पुगिसकेका जोकोहीलाई भगवान्ले पनि के गर्न सक्छन् र ? तैपनि मनलाई सन्तोष पार्न क्रिस्टिनाको स्वास्थ्यलाभको कामना गर्दै हामीले घरमा पूजा लगायौं । फोटो र भिडियो पठाइदियौं । पृथ्वीको अर्को पाटोमा बसेका हामीले उनको नाममा भावनात्मक अभिव्यक्ति प्रकट गर्‍यौं, जसलाई हार्दिकताका साथ ग्रहण गर्दै उनले सनदेश पठाइन्, ‘तिमीहरूको हार्दिकता र आफ्नोपनले ममा सकारात्मक शक्ति प्राप्त भइरहेको छ । धेरै-धेरै धन्यवाद ! अब म पनि चाँडै घर फर्कनेछु ।'

हामी पनि अत्यन्त खुसी भयौं, अन्त्यमा बिरामी क्रिस्टिनालाई अलिकता मात्र भए पनि खुसी र सन्तोष दिन सकेकोमा । निकै दिनपछि एक दिन उनको आमाले फोन गरिन् । उनले रुँदै भनिन्, ‘क्रिस्टिना यस संसारमा रहिनन्, उनको फेरि नेपाल आउने धोको अधुरै रह्यो । उनलाई नेपालको रीतिरिवाज धर्मसँग आस्था थियो । मिल्छ भने उनको आत्माको शान्तिको लागि पूजा लगाइदिन सक्नुहुन्छ कि ?

पाताल देशकी क्रिस्टिना हाम्रो धर्म-संस्कृतिसँग जोडिन पुगिन् । जात, धर्म, वर्ग, देशको आधारमा उनी पृथक देखिए पनि आखिर हामी सबै यही धराका समान प्राणी हौं । आत्मा सबैको एउटै हो अनि हामी सबैको आत्मा पुग्ने ठाउँ पनि एउटै हो । मैले सम्झिएँ, ‘प्रिय क्रिस्टिना, तिमीलाई यस धरामा फेरि जन्म लिनु छ भने नेपालमै जन्म लिनू ! तिम्रो आत्माको चिरशान्तिको कामना गर्दै अवश्य पूजा लगाउनेछौं र तिम्रो आत्माले पनि शान्ति पाउनेछ !'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.