ठमेलमा श्यामश्वेत ‘हार्मोनी
काठमाडौं : बुधबार ठमेलस्थित मिथिला ऐँ आर्ट ग्यालरीमा चार देशका कलाकारले श्यामश्वेत रङमा जीवन समेट्ने प्रयास गरे । बीके आर्ट ग्यालरीको आयोजनामा ‘हार्मोनी' शीर्षकको कार्यशालामा कलाकारले जीवनका विविध पक्षलाई चित्रमा समेटेका थिए ।
दुई दर्जनभन्दा बढी कलाकार सहभागी कार्यशालामा अग्रजदेखि नयाँ कलाकारले चित्र कोरे । कार्यशालामा कालो र सेतो रङमात्र प्रयोग भएको थियो । यही रङबाट केही कलाकार जीवनदर्शन प्रस्तुत गर्दै थिए त कोही प्रकृतिको सुन्दर पक्षलाई समेट्दै थिए ।
अग्रज तथा नवोदित कलाकारका बीच सौहार्द्रता बनाउनका लागि ‘हार्मोनी' कार्यशाला गरिएको बीके आर्ट ग्यालरीका सञ्चालक तथा कार्यशालाका संयोजक नरबहादुर बीकेले बताए । कलाले मानव जातिलाई भावनात्मक रूपमा जोड्ने भएकाले कार्यशालाको महत्वव दीर्घकालसम्म रहने भारतीय कलाकार डा. सञ्जिदा खानमले बताए ।
कार्यशालामा फ्रान्सबाट भिन्सेन्ट ग्रेबी, जर्मनीबाट इन्गो पिचोक, भारतबाट डा. सञ्जय सहनी र डा. सञ्जिदा खानम सहभागी थिए । नेपालबाट राधेश्याम मुल्मी, गेहेन्द्रमान अमात्य, धनु याखा, डी राम पाल्पाली, महेश आचार्य, सुदर्शनविक्रम राणा, देवेन्द्र थुम्केली, श्यामसुन्दर यादव, नरबहादुर बीके, प्रमिला परियार, ज्योतिप्रकाश बीके, दोर्जे गुरुङ लामा, बासु गौतम, एनबी गुरुङ, रञ्जु यादव, डा. रीना यादव, विशाल पाण्डे, रत्नकाजी शाक्य, लालकाजी लामा, आभा परी बीकेलगायतका कलाकार सहभागी थिए ।