७० प्रतिशत तरकारीमा विषादी
नुवाकोट : पछिल्लो समय तरकारी तथा अन्नबालीमा रोगकीरा नियन्त्रणका लागि राखिने विषादीका कारण मानव तथा जीवजन्तुको स्वास्थ्यमा व्यापक असर पुर्याइरहेको छ । पहाडी संरचना भएको नुवाकोटका खेतबारीमा रासायनिक विषादी मिसाइँदा त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर पुर्याएको हो ।
नुवाकोट तरकारी तथा अन्न उत्पादनको भण्डार मानिन्छ । तरकारी तथा अन्नबालीमा लागेका रोगकीरा नियन्त्रण र व्यवस्थापन उचित ढंगबाट हुन नसक्दा यसले मानव तथा जीवजन्तुको स्वास्थ्यलाई व्यापक असर गरिरहेको चिकित्सकको ठहर छ ।
तीन दशकदेखि कृषिमा व्यावसायीकरण बढेसँगै विषादीको प्रयोगसमेत बढ्दा मस्तिष्क तथा पक्षघातलगायत रोगले मानवीय जीवन नै बर्बाद बनाइरहेको सरोकारवालाको ठहर छ । तरकारी तथा अन्नबालीमा राखिने विषादी औषधि होइन, विष हो भन्ने थाहा नहुँदा सर्वसाधारणले देखासिकी गरी विषादी प्रयोग गर्ने गरेको पाइएको बाली विकास तथा संरक्षण निर्देशनालयका निर्देशक डा. डिल्लीराम शर्माले बताउनुभयो ।
उहाँले तरकारी तथा अन्नबालीमा राखिने विषादीले किसान, बिक्रीकर्ता, भरिया तथा उपभोक्ता क्यान्सर रोगबाट पीडित भएको र यसको उपचारमा कमाइभन्दा दश गुणा बढी खर्च हुने गरेको बताउनुभयो । विषादीको नियन्त्रणका लागि सचेतना जरुरी रहेको र नवनिर्वाचित जनप्रतिनिधिको महत्ववपूर्ण भूमिका रहने डा. शर्माको भनाइ छ ।
निर्देशक शर्माले किसानलाई विषादीलाई औषधिको रूपमा बुझ्ने गलत मानसिकता त्यागेर विषादीको प्रयोग नगर्न आग्रह गनुभयो । बाली विकास निर्देशनालयका निर्देशक शर्माले किसान आफैं पनि उपभोक्ता हुने भएकाले त्यसतर्फ सचेत भएमा विषादीको उपभोग र अनधिकृत प्रयोग नियन्त्रणमा आउने बताउनुभयो ।
नुवाकोटका ७० प्रतिशत तरकारी तथा अन्नबालीमा विषादी राखिने गरेको पाइएको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका प्रमुख डा. कमलराज गैरेले देखासिकीले रोग नियन्त्रणका नाममा तरकारी तथा अन्नबालीमा विषादीको प्रयोग बढिरहेको र यसको प्रत्यक्ष असर आम उपभोक्तामा परेको बताउनुभयो ।
उहाँले किसानले आवश्यकता नपरेको बेला तरकारीबालीमा साताको दुई पटक विषादी छर्कने गरेको खुलासा गर्दै यसले उपभोक्तालाई असर गरिरहेको बताउनुभयो । उहाँले जतिसुकै प्राविधिकले परामर्श दिए पनि किसानले विषादीको प्रयोग गर्न नछाडेको बताउनुभयो ।
मानव तथा जीवको जीवन रक्षा र विषादीको न्यूनीकरणका लागि जैविक तथा प्रांगारिक खेती गरिनुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले बताउनुभयो । उहाँले रासायनिक विषादीको प्रयोगको बदला जैविक तथा वनस्पतिक विषादीमात्र प्रयोग गर्न किसानलाई सुझाव दिनुभयो ।
मञ्चका अध्यक्ष ज्योति बानियाले व्यक्ति सबै एक-अर्को सामग्रीको उपभोक्ता हुने भएकाले उपभोक्ता अधिकार कार्यान्वयनमा स्वयं व्यक्ति नै दोषी रहेको बताउनुभयो । उहाँले नेपाल सरकारले कानुन कार्यान्वयमा तदारुकता नदेखाएको भन्दै ठूला उद्योगी तथा उत्पादक कम्पनीले उन्मुक्ती पाउँदै आएको आरोप लगाउनुभयो ।
किसान तथा सर्वसाधारणलाई विषादीको न्यूनीकरण गर्न जनचेतना प्रदान गर्ने उद्देश्यले नुवाकोटको देवीघाटमा कृषि मन्त्रालयको सहयोगमा उपभोक्ता हित संरक्षण मञ्चले किसान तथा सरोकारवालाबीच सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बालीमा रोगकीरा लाग्छ । तर, रोकथामका नाममा जथाभावी विषादी प्रयोग गर्ने संस्कार हटाउन जरुरी रहेको बताउनुभयो ।
उहाँले स्वास्थ्य नै मुख्य विषय भएको हुँदा यसलाई प्रभावकारी रूपमा नियन्त्रण गरिनुपर्ने बताउनुभयो । उपमेयर गीता दाहाल अर्यालले विषादी न्यूनीकरणका लागि महिला सचेतनामा जोड दिनुभयो ।
कार्यक्रममा नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले मानव तथा जीवको संरक्षणका लागि स्वास्थ्यभन्दा ठूलो विषय केही पनि नरहेको ठहर गर्दै अव खेती प्रणालीमा सुधार गरी जैविक तथा प्रांगारिक खेती सुरु गर्नु पर्ने बताउनुभयो । उहाँले स्वास्थ्य र वातावरण दुवैमा मद्दत गर्ने बताउनुभयो । उहाँले नुवाकोटका बजारमा विषादीयुक्त तरकारी पर्याप्त पाइने र त्यसमा किसान नै कारबाहीको दायरामा पर्ने हुनाले सचेत रहन आग्रह गर्नुभयो ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी ढकालले बिक्रीमा रहेका तरकारीको परीक्षण गर्दा विषादीको मिसावट पाइएमा कारबाही हुने भएकाले बरु मूल्यमा धेरै लगानी भए पनि अर्गानिक खेतीतर्फ लाग्न हुन आग्रह गर्नुभयो । उहाँले जिल्लाको विभिन्न स्थानमा गरिएको बजार अनुगमन वैधानिक रूपमा सञ्चालन भएको नपाइएकाले उपभोक्ता पनि सचेत भएमा उपभोक्तामैत्री बजार व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो ।
मञ्चका केन्द्रीय महासचिव बाबुराम हुमागार्इं, नुवाकोट अध्यक्ष इन्द्रबहादुर पण्डितलगायतले अर्गानिक तथा प्रांगारिक खेती गरी स्वस्थ्य कृषि उपज उत्पादन गरी मानवीय स्वास्थ्यको लागी हितकर र वातावरण संरक्षणमा पनि सहयोग पुग्ने बताउनुभयो । सहभागी किसानले नेपाल सरकारले रासायनिक मलमा दिँदै आएको अनुदानको साटो प्रांगारिक मल र जैविक विषादी घरमै बनाउन तालिम र कच्चा सामग्री दिनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा सहभागी किसानले विषादीलाई न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । मानवीय जीवनमा धेरै प्रभाव पर्ने भएकाले विषादी नराख्ने सहभागी किसानले जनाएका छन् ।