६ सय २३ मेगावाट जलविद्युत उत्पादनका लागि अनुमति
बेनी : जलविद्युत्को प्रचुर सम्भावना रहेको म्याग्दीमा विभिन्न कम्पनीले ६ सय २३ मेगावाट विद्युत् उत्पादनका लागि अनुमति लिएका छन् । ऊर्जा मन्त्रालयअन्र्तगत विद्युत् विकास विभागबाट कालीगण्डकी, म्याग्दी, राहुघाट र यसका सहायक नदीनालाबाट विद्युत् उत्पादन र अध्ययनका लागि प्रर्वद्धकले अनुमति लिएका हुन् ।
विद्युत् विकास विभागका उपमहानिर्देशक पुरुषोत्तम आचार्यले म्याग्दीमा चार सय ४३ मेगावाटको अध्ययन अनुमति र एक सय ८० मेगावाट विद्युत् उत्पादनका लागि अनुमति दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाबाहेक सबै निजी क्षेत्रले अनुमति लिएका हुन् । विद्युत् प्राधिकरणले निर्माण गर्ने राहुघाट ०७२ सालमा निर्माण सम्पन्न हुनुपर्ने भए पनि भारतीय ठेकेदार कम्पनी आरभीआरसीएलले विभिन्न बहाना देखाउँदै काम सुरु नगरेपछि ठेकेदार कम्पनी खारेजी प्रक्रियामा जाँदा अवधि लम्बिएको छ ।
प्राधिकरणले अहिले राहुघाटलाई कम्पनी मोडेलमा सञ्चालनको गृहकार्य गरिरहेको छ । राहुघाटसँगै नारच्याङमा ४२ मेगावाटको मिरिस्त्रीखोला र ४ मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजनाले भौतिक पूर्वाधार निर्माण तीव्र पारेका छन् । घलेम्दीको ७५ प्रतिशत र मिरिस्त्रीको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । दुवै आयोजनाले आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छन् । विभागका अनुसार, जिल्लाको रघुगंगा गाउँपालिकाको कुइनेमंगले, पाखापानी र चिमखोला क्षेत्रमा निर्माण हुने ३७ मेगावाटको राहुघाट-मंगले, अन्नपूर्ण गाउँपालिकाको शिखघार क्षेत्रमा ८.३ मेगावाटको घारखोला, ४ मेगावाटको रुप्सेखोला र पश्चिम क्षेत्रमा २५ मेगावाटको दरवाङ म्याग्दी, २० मेगावाटको अपर म्याग्दी खोला जलविद्युत् आयोजनाले सम्पूर्ण प्रक्रिया पूरा गरी उत्पादन अनुमति पाएका छन् ।
उत्पादन अनुमति पाएका यी आयोजनामध्ये दरवाङ म्याग्दी, रुप्सेखोला र घारखोलाले भौतिक पूर्वाधार निर्माणका काम सुरु गर्न थालेका छन् । विभागका अनुसार, हिमालय इन्फ्रास्ट्रक्चर कम्पनीले ५३.३ मेगावाटको अपर म्याग्दीखोला पहिलो र ९५ मेगावाटको तिप्ल्याङ-कालीगण्डकी आयोजनाको अध्ययन अनुमति लिएका छन् ।
उक्त कम्पनीका आयोजना प्रमुख इशा श्रेष्ठले अपर म्याग्दीखोलाको अध्ययन अनुमति विभागबाट ८० मेगावाट लिए पनि उक्त क्षमतामा उत्पादन गर्न नसक्ने भएकाले ५३ मेगावाट निर्धारण गरिएको बताउनुभयो । ‘अपर म्याग्दी खोलाको वातावरणीय अध्ययन प्रतिवेदन तयार पारेका छौं', प्रतिवेदनबारे केही दिनमै स्थानीयवासीसँग सार्वजनिक सुनुवाई गर्नेछौं', श्रेष्ठले भन्नुभयो, ‘तिप्ल्याङ कालीगण्डकीको पनि ईआईए प्रतिवेदन तयार हुँदैछ ।'
नारच्याङमा माउन्टेन इनर्जीले ६२ मेगावाटको नीलगिरिखोला, भुरुङतातोपानी, दाना र नारच्याङ क्षेत्रमै हाइड्रो सर्पोटले ५३ मेगावाटको मध्यकालीगण्डकी आयोजना, सात मेगावाटको रेलेखोला, मुना, मुदी र मराङ क्षेत्रमा हाइड्रो भिलेजले ५७ मेगावाटको म्याग्दीखोला, ४.६ मेगावाटको दरखोला, ८.२ मेगावाटको कुवनखोलाको अध्ययन अनुमति लिएको छ । त्यस्तै, राहुघाट क्षेत्रमा कुइनेमँगले क्षेत्रमै २१.३० मेगावाटको ठूलोखोला, ४.२ मेगावाटको सानोखोला, चिमखोलामा ५.२ मेगावाटको बगरखोलाको समेत अध्ययन अनुमति जारी भएको विभागले जनाएको छ ।
कालीगण्डकी करिडोर र राहुघाट क्षेत्रमा निर्माणधीन र निर्माण चरणमा रहेको विद्युत्लाई दाना-खुर्कोट सबस्टेसन र प्रसारण लाइन तथा म्याग्दीखोला क्षेत्रमा उत्पादन हुने विद्युत्लाई एक सय ३२ केभीए प्रसारण लाइनमार्फत पर्वतको मोदी सबस्टेसन जडान गर्ने सरकारी योजना छ । यही योजनाअनुरूप अहिले कालीगण्डकी करिडोरअन्तर्गत दाना र पर्वतको खुर्कोटमा सबस्टेसन र प्रसारण लाइनको काम भइरहेको छ । ४ मेगावाट घलेम्दी हाइड्रोका प्रबन्ध निर्देश प्रमोद श्रेष्ठले सरकारले कालीगण्डकी र म्याग्दीखोला क्षेत्रमा निर्माण हुने विद्युत् प्रसारण लाइन ग्यारेन्टी नगरेसम्म आयोजना समयमै सम्पन्न हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सबस्टेसन र प्रसारणलाइनको काम तीव्र गतिमा अघि बढेको छ, यसलाई समयमै सम्पन्न गर्नुपर्छ, यसले विद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न सहयोग पुर्याउँछ ।'