मिस्टर नेपाल : एकाएक जसको दैनिकी बदलियो

मिस्टर नेपाल : एकाएक जसको दैनिकी बदलियो

एकाएक अक्षयजंग रायमाझीको दैनिकी फेरिएको छ । शनिबार बिहानसम्म उनी सामान्य दैनिकीमा हुन्थे । बिहानै नित्यकर्म गर्नु, क्लब जानु अनि कलेज पढेर घर फर्कनु उनको दैनिकी थियो । २२ वर्षअघि काठमाडौंको बानेश्वरमा बुवा गम्भीरजंग रायमाझी र आमा सरिता थापा रायमाझीको कोखबाट जन्मिएका अक्षयजंगको दैनिकी शनिबारयता एकाएक बदलियो । लिबर्टी कलेजमा बीबीए अध्ययनरत उनको चर्चा चुलियो र व्यस्तता बढ्यो । उनी शनिबार ‘मिस्टर नेपाल' घोषणा भए । अक्षयले कसरी यो यात्रा थाले ? अन्नपूर्णकर्मी काजी श्रेष्ठले गरेको कुराकानीः

मिस्टर नेपालको उपाधि जित्ने कहिल्यै सोच्नुभएको थियो ?
मोडलिङ गर्ने सानैदेखिको रहर हो । सानै छँदा पत्रपत्रिका, म्यागेजिनमा फोटोहरू देख्दा म पनि यस्तो बन्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । म्युजिक भिडियो, विज्ञापनहरूमा अरू आउँदा म पनि कुनै दिन यस्तै हुन पाए हुने नि भन्ने फिल हुन्थ्यो । मोडल बन्न कुनै न कुनै उपाधि जित्न पाए हुने भन्ने रहर थियो ।

म्युजिक भिडियोमा पनि काम गर्नुभएको थियो ?
करिब डेढ महिनाअघि एउटा म्युजिक भिडियोमा मोडलिङ गरेको थिएँ । ‘एन्टिबायोटिक देऊ' बोलको गीतमा ।

हिजो र आजको आफूमा के फरक अनुभूति गर्नुभयो ?
हिजोका दिनमा म एउटा साधारण नागरिक थिएँ । हिजो भाइ, साथी भनेर चिन्दथे तर अहिले नामको अघि ताज राख्दा फिलिङ्स अर्कै हुँदो रहेछ । एउटा साधारण नागरिक हुँदा परिवार र आफूलाई मात्र गनिने हुन्थ्यो । मिस्टर नेपाल हुँदा जिम्मेवारी बढेको महसुस गरेको छु । आफन्तमात्र होइन अञ्जानहरूको पनि साथ पाएको छु ।

प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
सहभागी हुँदा नै केही न केही हुन्छस् भनेर परिवार, छिमेकी, साथीहरूबाट हौसला पाएको थिएँ । मिस्टर नेपाल उपाधि जितेपछि जिम्मेवारी बढेको छ, राम्रोसँग अघि बढ्न सुझाव आएको छ । सम्पूर्णको सहयोग, सद्भाव पाएको छु । मिस्टर नेपाल बनिसकेपछि प्रतिस्पर्धी सबैले माया र सहयोग गर्नुभएको छ ।

अब अघि बढ्न परिवारको सपोर्ट कस्तो छ ?
मेरो बाबाले दिनरात केही नभनी मलाई सपोर्ट गर्नुभयो । मिस्टर नेपाल बनिसकेपछि थप सपोर्ट पाएको छु । मिस्टर वल्र्डको लागि हरेक खालका सपोर्ट गर्ने वचन दिनुभएको छ । मभन्दा उहाँ चिन्तित हुनुहुन्छ भन्ने अनुभूति गरेको छु । किनकि यो मेरो, परिवारको मात्रै नभएर देशकै लागि अर्थ राख्ने उपाधि पनि हो।

मिस्टर नेपाल बनेपछिको योजना के छ ?
मेरो मुख्य फोकस भनेको मिस्टर वल्र्डमा रहेको छ । मिस्टर नेपालको ताज बोकेर मिस्टर वल्र्डमा जाँदैछु । इङ्ल्यान्डमा हुने मिस्टर वल्र्डमा नेपाललाई चिनाउने मेरो मुख्य उद्देश्य हो । पछि गएर समाज र राष्ट्रको लागि नमुना काम गर्नेछु । समाजमा साना तर राम्रा काम गरेर अघि बढ्न चाहन्छु ।

युवालाई के सन्देश दिन चाहनुहुन्छ?
म पनि साधारण अवस्थाबाटै मिस्टर नेपालसम्म आइपुगेको हुँ । हरेक व्यक्तिले सपना देख्नुपर्छ । सम्पूर्ण युवालाई जिन्दगीका सपना देख्न आग्रह गर्दछु । सपना साकार गर्न लगनशील हुनुहोस्, मेहनत गर्नुहोस् सफलतता अवश्य मिल्नेछ । सपना पूरा गर्न भगवान्ले पनि साथ दिन्छन् । म उदाहरणको पात्र पनि हो।

प्रेम प्रस्ताव आएको छ ?
अहिलेसम्म आएको छैन । प्रेममा खासै रुचि छैन । लभ र विवाह एकपटक मात्र हुनुपर्छ । यही सोंचका साथ अघि बढेको छु । उपयुक्त मान्छे भेटिएको छैन । सामाजिक सञ्जालमा धेरैले साथीको रूपमा पछ्याएका भने छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.