भक्तपुरमा रासायनिक मलको हाहाकार

भक्तपुरमा रासायनिक मलको हाहाकार

भक्तपुर : धान रोप्ने असार नजिकिँदै गर्दा भक्तपुरमा रासायनिक मलको अभाव देखिएको छ। रासायनिक मल बिक्री वितरण गर्ने जिल्लाका कृषि सहकारीहरुको मल डिपो अहिले खाली छन्। रोपाईं नजिकिँदै गर्दा बजारमा रासायनिक मल अभाव भएपछि किसानहरुमा चिन्ता छाएको छ।

किसानका खेतमा धानको बीउ लहलहाइरहेका छन्। जेठमा अधिक वर्षा भएकाले यस वर्ष चाँडै रोपाईं हुने आशामा छिटो धानको बीउ राखेका किसानका बीउ रोप्न ठिक्क भइसके। तर पर्याप्त पानी नपर्दा रोपाईं सुरु नभएकाले केही राहत महसुस गरेका किसानहरु रोपाईं हुने बेला मल नपाइने हो कि भनी थप चिन्तित देखिएका हुन्।

त्यसैले किसानहरु मल लिन जिल्लाका सहकारी संस्थाका मल बिक्री केन्द्रमा दिनहुँजसो धाइरहेका छन्। तर सहकारीहरुले मल नआएको भन्दै किसानहरुलाई फर्काउँदै आएका छन्। कृषि सहकारीमा मल नपाएपछि निजी पसल धाउँदा पनि किसानहरुले मल पाउन सकेका छैनन्। निजी पसल सञ्चालकहरुले पनि पर्याप्त रासायनिक मल ल्याउन नसकिएको बताएका छन्।

गएको एक हप्तादेखि जिल्लामा एक बोरा पनि रासायनिक मल भित्रिन नसकेको कृषि सहकारी सञ्चालकहरुले बताएका छन्। जसले गर्दा भक्तपुरमा रासायनिक मलको हाहाकार भएको उनीहरुको भनाइ छ।

भक्तपुर नपा १० कमलविनायकस्थित सिद्धि कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष पुण्यराम दुमरुले मलको लागि कृषि सामग्री लिमिटेडमा हप्ता दिनअघि नै लाइनमा बस्दा पनि मल पाउन नसकिएको जानकारी दिनुभयो।
सहकारीको मल बिक्री केन्द्र रित्तिन नपाउँदै लिमिटेडमा मल माग गरिएको उहाँको भनाइ थियो।
‘रोपाईंको समयमा मल अभाव हुन्छ भनेरै डिपो खाली नहुँदै कृषि सामग्री लिमिटेडमा मल माग गरेका थियौं’, अध्यक्ष दुमरुले भन्नुभयो, ‘माग गरिएको हप्तादिन बितिसक्यो तर मल पाएका छैनौं। हामीले मल नपाउँदा केन्द्र धाएका किसानहरुलाई समेत रित्तो हात फर्काउन बाध्य छौं।’

कृषि सहकारी र निजी पसल धाउँदा पनि मल नपाएपछि किसानहरु जिल्लास्थित कृषि विकास कार्यालयसमेत धाउन थालेका छन्। कार्यालयका प्रमुख पूर्ण ढुंगानाले बजारमा मल नभएको भन्दै कृषि कार्यालय पुग्ने किसानहरुको संख्या दिनानुदिन बढिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक पाँच÷छ जना किसान मल चाहियो भनी कृषि कार्यालय पुग्छन्।

अहिले धान रोप्नमात्रै होइन, मकै, व्यवसायिक तरकारी खेतीको लागिसमेत मलको बढी माग हुने समय हो। तर जिल्लामा मल नहुँदा रोपाईंअघि मकैसमेत गोड्न नपाएको चाँगुनारायण ३ झौखेलका किसान कृष्णमाया सुवालले बताउनुभयो।

‘मकै मल नपुगरे पहेँलो भइसक्यो’, उहाँले भन्नुभयो, ‘मल हालेर गोडौंला भनेको बजारमा मल नै छैन। मलको अभावले मकै उत्पादन राम्रो होला जस्तो लागेन।’

उहाँले मल अभाव भए रोपाईंसमेत प्रभावित हुने आशंका व्यक्त गर्नुभयो। ‘एक हप्तादेखि मल खोजेको खोजेयै छु’, अर्का किसान सुरेश थापाले भन्नुभयो, ‘सधैं मल नपाएर रित्तो हात घर फर्कँदै आएको छु।’

जिल्ला कृषि विकास कार्यालय भक्तपुरका अनुसार रोपाईंको मौसममा मात्रै भक्तपुरमा एक हजार पाँच सय २५ टन युरिया मल आवश्यक पर्छ। जिल्लामा कूल चार हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।

सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.