किमाथांकामा अवैध सुन र चाँदीसहित एक जना पक्राउ
संखुवासभा : चीनसँग खुल्ला सीमा रहेको किमाथांका नाका क्षेत्रमा प्रहरीले चेकजाँच गर्ने क्रममा अवैध सुन र चाँदीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
सीमा प्रहरी चौकी किमाथांकाका प्रहरीले जेठ २१ गते विहान १० बजे भोटखोला गाउँपालिका–१ मा चेकजाँचका क्रममा फुपु छिरिङ्ग शेर्पाबाट चार तोला ७१ लाल सुन र दुई सय २३ तोला चाँदीसहित पक्राउ गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम कुमार केशीले जानकारी दिनुभयो ।
मकालु गाउँपालिका –४ का २२ वर्षीय शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी भिरेको झोला चेकजाँचका क्रममा सुन र जाँदी फेला पारेको जनाएको छ ।
शेर्पालाई आवश्यक कारवाहीको लागि शुक्रबार राजश्व अनुसन्धान कार्यालय इटहरीमा बरामद सम्पूर्ण सामान सहित बुझाएको प्रमुख केशीले जानकारी दिनुभयो । खुल्ला सीमा भएकाले यस क्षेत्रबाट सुन भित्रने आशंका गर्दै आए पनि पक्राउ गरिएको यो पहिलो पटक हो।
तातोपानी नाका बन्द भएसँगै पछिल्लो समय किमाथांकानाकामा बढी चहलपहल बढेसँगै प्रहरीले चेकजाँच र अनुसन्धान तिब्र बनाउदै आएको जनाएको छ ।