खेतीयोग्य जमिन मासेर रुद्राक्षखेती
धनकुटा : तीन वर्षअघि रुद्राक्षका एक सय बोटबाट तीन लाख रुपैयाँ आम्दानी भएपछि महालक्ष्मी नगरपालिकाको लुम्लिङ्का नेत्र अधिकारीले अहिले खेतीयोग्य जमिन मासेर एक हजार रुद्राक्षका बिरुवा रोप्नुभएको छ । उहाँको करिब ७० रोपनी खेतीयोग्य जमिनमा अहिले रुद्राक्षको बिरुवाले हरियाली छाएको छ ।
सोही गाउँका चन्द्र केसीले पनि धान फल्ने खेतमा रुद्राक्षको बिरुवा हुर्काउनु भएको छ । उहाँले पनि एक हजारभन्दा बढी रुद्राक्षका बिरुवा लगाउनुभएको छ । पछिल्लो केही वर्षयता रुद्राक्ष दाना बिक्रीबाट मनग्गे आम्दानी हुन थालेपछि लुम्लिङका एक सय ३० घरपरिवारले व्यावसायिक रुद्राक्षखेती गरेका छन् । कुनै बेला खाद्यान्नबालीको पकेट क्षेत्र यो गाउँ अहिले रुद्राक्ष दाना उत्पादन पकेट क्षेत्रका रूपमा परिचित हुन थालेको गाउँका अगुवा अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार हरेक घरले कम्तीमा एक सयदेखि एक हजारसम्म रुद्राक्षका बिरुवा लगाएका छन् । सिजनका बेला गाउँमा रुद्राक्ष बिक्रीबाट ८० लाख रुपैयाँभन्दा बढी भित्रिन्छ । अधिकारीले दुई वर्षअघि आठ लाख रुपैयाँ बराबरको रुद्राक्ष दाना बिक्री गर्नुभएको थियो । तर, पोहोर साल बजार भाउ केही खस्किएका कारण ६ लाख रुपैयाँ मात्रै आम्दानी भएको उहाँले बताउनुभयो । अहिले रोपेको एक हजार रुद्राक्षका बिरुवामध्ये एक चौथाइ बिरुवामा मात्रै दाना उत्पादन भइरहेको छ ।
आफूले १७ मुखेसम्म रुद्राक्षको दाना फलाएको उहाँले दाबी गर्नुभयो । उहाँको अनुसार रुद्राक्ष दानाको बजार मूल्य हुँदैन । जुन व्यापारीले बढी मोलमोलाई गर्छ उसैलाई बिक्री गर्ने गरेको उहाँको भनाइ छ । आफूले १७ मुखे रुद्राक्ष दाना फेला पार्दा एक लाख रुपैयाँमा बिक्री गरेको उहाँले बताउनुभयो । राम्रो एउटा रुद्राक्षको बोटको करिब ८० केजीसम्म दाना फल्छ । २५, २६ र २७ एमएम साइजको रुद्राक्ष दानाले बजार मूल्य राम्रो पाउने उहाँले बताउनुभयो ।
हरेक घरले कम्तीमा एक सयदेखि एक हजारसम्म रुद्राक्षका बिरुवा लगाएका छन् ।
यस्तै एक हजारभन्दा बढी रुद्राक्षका बिरुवा रोप्नुभएका चन्द्र केसीले गत सिजनमा १० लाख रुपैयाँ बराबरको रुद्राक्ष दाना बिक्री गरेको बताउनुभयो । उहाँका अनुसार यो गाउँका किसानले रुद्राक्षखेती पहिलेदेखि लगाउँदै आइरहेका थिए । तर, उचित प्रचारप्रसार नहुँदा रुद्राक्ष दाना गाउँमा त्यत्तिकै खेर जान्थ्यो । ‘बिक्रीका लागि बजार समस्या छैन', उहाँ भन्नुहुन्छ, ‘सिजनको बेला व्यापारी गाउँमै मोलमोलाई गर्छन्, रुद्राक्ष खेतीका लागि अरु बालीलाई जस्तो स्याहार गर्नु पर्दैन ।'
सोही गाउँका दिलप्रसाद फुयाँलले पनि एक सयको हाराहारीमा रुद्राक्षको बिरुवा रोप्नुभएको छ । दाना बिक्रीबाट सिजनमा डेढ लाख रुपैयाँसम्म आम्दानी हुने उहाँको भनाइ छ । यो पटक रुद्राक्षको वोटमा फूल राम्रै लागेका कारण उत्पादन विगतभन्दा राम्रो हुने उहाँको आशा छ । धार्मिक तथा स्वास्थ्यका हिसाबले अति महत्ववपूर्ण मानिएको रुद्राक्षखेती गर्ने गाउँमा लहर नै चलेको उहाँले बताउनुभयो ।