कर्मको मर्ममा विचरण गर्दा
पूर्वीय सभ्यता र संस्कृतिको दार्शनिक चिन्तनमा कर्मवादी सिद्धान्तलाई विशेष स्थान दिएर चर्चा गरिएको पाइन्छ । महाभारत महाकाव्यको भीष्मपर्वको २२औं देखि ४०औं अध्यायमा घटित र वर्णित घटनाक्रमहरूलाई समग्रमा गीता भनेर बुझ्ने गरिएको पाइन्छ । गीताको शाब्दिक अर्थ गाउनु भन्ने हुन्छ । श्रीकृष्णजीले अर्जुनलाई उपदेश दिने क्रममा व्याख्या भएका विभिन्न दर्शनमध्ये कर्मवादी दर्शनलाई भौतिकवादी चिन्तकहरूले समेत विशेष अभिरुचि राखेको पाइन्छ । मोक्ष वा मुक्तिका लागि तीन भिन्न आधार ज्ञानमार्ग, भक्तिमार्ग र कर्ममार्गमध्ये कर्म साधनामा रहेर पनि साधकले आफू र समग्र समाजलाई उन्नतिको शिखरतर्फ डोर्याउन सक्छ भन्ने चिन्तनलाई लेखक÷पत्रकार दामोदर न्यौपानेले आफ्नो पुस्तक 'कर्म : सिकाइमा गहिरिएको खाडल'मा चरितार्थ गरेका छन् ।
सनातनी हिन्दु धर्मावलम्बीका लागि हिन्दु धर्म र दर्शनका प्रमुख आधारहरू वर्णा श्रम व्यवस्था र चार पुरुषार्थ हिन्दु जीवनको महत्वपूर्ण पक्ष हुन् । विशेषगरी ब्रह्मचर्य आ श्रम, गृहस्थ आ श्रम, वानप्रस्थ आ श्रम र सन्न्यास आ श्रममा रहेर चार पुरुषार्थहरू धर्म, अर्थ, काम र मोक्षका लागि हिन्दु शास्त्रकारहरूले उमेरअनुसारको धार्मिक तथा व्यावहारिक कर्तव्यहरू अनुष्ठान गर्नुपर्ने धारणा अभिव्यक्त गरेका छन् । हिन्दु धार्मिक जीवनमा ब्रह्मचर्य आ श्रम महत्वपूर्ण आ श्रम व्यवस्था हो । यस आ श्रम व्यवस्थामा रहेर हिन्दु बालकले व्याक्तिगत जीवन, परिवार र समग्र राष्ट्रका लागि गर्नुपर्ने कर्तव्य र भूमिका निभाउनका लागि आफूलाई सक्षम बनाउन गुरुको निकट रहेर विभिन्न व्यावहारिक तथा शास्त्रीय विषयहरूको अध्ययन गर्छ । पाँचदेखि २५ वर्षसम्मको उमेर ब्रह्मचर्य आ श्रमको उपयुक्त समय हो ।
राष्ट्रको समग्र समृद्धि र समुन्नतिका लागि बालबालिकालाई उचित शिक्षा र संस्कार दिनुपर्छ । तर हामीले कस्तो शिक्षा दिएका छौं ? हामीले आज जस्तो कर्म गर्यो भोलि त्यस्तै फल पाइने हो । जे रोप्यो त्यही फल्ने हो । आज बालबालिका राम्रो कर्म गर्यौं भनेमात्रै भोलि त्यसले राम्रो परिणाम दिने हो । आज हामीले सिकाइमा खाडल बढाउने काम गरिरहेका रहेछौं । अनेकौं पात्र र प्रवृत्ति अध्ययन गरेर सिकाइमा गहिरिएको यो खाडल राम्रैसँग देखाइदिएका छन् लेखक न्यौपानेले ।
प्रौढले लेखेका बालसाहित्य पर्याप्त मात्रामा पाइए पनि नेपाली बालसाहित्यको अध्ययन जुन रूपले हुनुपर्ने हो, त्यो रूपले नभइरहेको अवस्थामा त्यसको अभावलाई केही हदसम्म परिपूर्ति गर्न यस पुस्तकले भूमिका निर्वाह गर्नेमा दुईमत छैन ।
सही परिवार र गुरुबाट शिक्षित र दीक्षित बालकले पछि गएर समाज र राष्ट्रलाई नै समुन्नतिको दिशामा लानसक्छ भन्ने आदर्श र चिन्तनलाई लेखकले यस पुस्तकमा सविस्तार चर्चा गरेका छन् ।बालबालिका देशका मेरुदण्ड हुन् । उनीहरूलाई सही शिक्षा र संस्कार दिनुपर्छ भन्दै संस्कार र संस्कृतिलाई विशेष जोड दिएका छन् लेखकले । तिमी मलाई असल आमा देऊ, म देशलाई असल नागरिक दिन्छु भन्ने नेपोलियन बोनापार्टको यस भनाइमा समेत हिन्दु आदर्श र चेतना मुखरित भएको पाइन्छ ।
अत्यन्त कोमल र काँचो माटो समानको बालकलाई उचित संस्कार र शिक्षाबाट प्रशिक्षित गर्नु परिवार, समाज र राष्ट्रको प्रमुख दायित्व हो । मानव जीवनलाई शिक्षाको ज्योतिले प्रकाशित गरेर उज्ज्वल र समुन्नत बनाउनुपर्छ । विश्वबन्धुत्वको भावना, मानवता, शान्ति एवं सुरक्षा कायम गर्न असल शिक्षाले प्रभावकारी भूमिका खेल्छ । विद्या धनं सर्वधनं प्रधानं अर्थात् धनहरूमध्येको प्रधान धन नै शिक्षा हो र बालबालिकालाई यस पक्षबाट कहिल्यै पनि कुनै पनि हालतमा वञ्चित गराउनु हँदैन भन्ने आधारलाई लेखकले विशेष रूपमा उठाएका छन् ।
नेपालमा बालबालिकासम्बन्धी साहित्यिक पुस्तकहरू कमै मात्रामा लेखिएको पाइन्छ । प्रौढले लेखेका बालसाहित्य पर्याप्त मात्रामा पाइए पनि नेपाली बालसाहित्यको अध्ययन जुन रूपले हुनुपर्ने हो, त्यो रूपले नभइरहेको अवस्थामा त्यसको अभावलाई केही हदसम्म परिपूर्ति गर्न यस पुस्तकले भूमिका निर्वाह गर्नेमा दुईमत छैन । यो पुस्तक बालसाहित्यको परिधिभित्र पर्छ या पर्दैन, त्यो सम्बन्धित समालोचकहरूले चर्चापरिचर्चा गर्लान् तर समाज, संस्कृति र राजनीतिको त्रिकोणात्मक दृष्टिकोणबाट बालबालिकाको वर्तमान अवस्थाको विश्लेषण गरिएको छ यस पुस्तकमा । पुस्तकमार्फत लेखकले बालबालिकाको हक र अधिकारका नाममा संगठन खोलेर विदेशी मुद्रा कमाउन पल्केका केही एनजीओकर्मीलाई परोक्ष रूपमा गतिलो झापड हानेका छन् ।
मानवअधिकारको अन्तर्राष्ट्रिय घोषणापत्र र नेपालको संविधानमा समेत उल्लेख भएको बालबालिकाको हक र अधिकारलाई नेपालका बालबालिकाले कत्तिको प्रयोग गर्न पाएका छन् त ? भन्ने प्रश्न उठाइएको छ ।
विगतको लामो द्वन्द्वले महिला र बालबालिकामा पारेको गम्भीर र नकारात्मक मानसिक असरले तिनको जिन्दगीलाई नै बर्बाद पारिदिएको सत्यलाई उनले आफ्नो पहिलो पुस्तक 'एम्बुसमा छ वर्ष'मा जोडदार रूपमा उठान गरिसकेका छन् । राष्ट्रको संवाहकका रूपमा रहेका बालबालिकामा एक दशक लामो द्वन्द्व र एक दशक लामो राजनीतिक अस्थिरताको समयमा लगभग एक पुस्ताले निकै सन्त्रासपूर्ण समयमा जीवनयापन गर्नु पर्यो । एम्बुसमा छ वर्ष नामक कृतिमा जस्तै यो कृति पनि बालबालिकामै केन्द्रित रहेर लेखिएको छ । अर्काको घरमा काम गर्न बसेर पढेका बालबालिकाका संघर्षपूर्ण कथाले पाठकको मनलाई भावुक त बनाउँछ नै, अन्य बालबालिकालाई पढ्नका लागि ऊर्जा र अभिप्रेरणा दिन्छ ।
राज्यका कानुनी दस्तावेजहरूमा बालबालिकाको हक, हित र अधिकारका विषयमा पर्याप्त मुखरित भए पनि यो हात्तीको दाँत भएको तीतो सत्यलाई उठान गर्दै लेखकले सत्ता र शासकप्रति व्यंग्य प्रहारमात्र गरेका छैनन्, हुँदा खाने र हुनेखानेका बालबालिकाले प्राप्त गर्ने सुविधा र असुविधाहरूले उनीहरूको जीवनयापन र पठनपाठनमा पारेको वर्गीय विविधतालाई चिरफार गरेका छन् । सरकारी स्कुलमा पढ्ने र निजी आवासीय स्कुलमा पढ्ने बालबालिकाको जीवन शैली चिन्तन मनन र सिकाइ प्रक्रियामा पक्कै फरक पाइन्छ । राज्यको यस्तो विभेदकारी शैक्षिक नीतिले देशको डरलाग्दो भविष्यको संकेत गरेका छन् । के हाम्रा सरकारी स्कुलबाट उत्पादित शिक्षित जनशक्ति कतार र कोरियामा श्रमिक काम गर्नका लागि मात्र तयार गरिएका हुन् या अरू केही ? के सरकारी स्कुल र कलेजहरूमा गरिब विद्यार्थीले मात्र पढ्ने हुन् र ?
सम्भ्रान्त परिवारका बालबालिकाले पढ्ने स्कुल र गरिब किसानका छोराछोरीले प्राप्त गर्ने शिक्षा र स्वास्थ्यलगायत अरू सुविधामा किन विभेद ? यस्ता गम्भीर प्रश्नहरूलाई लेखकले विभिन्न पात्रको बोलीबाट सम्बन्धित निकायलाई झटारो हानेका छन् ।विभेदकारी शिक्षा नीतिले फेरि अर्को वर्गीय समस्याहरू नआउलान् भन्न सकिन्न भन्ने आशयलाई समेत संकेत गरेका छन् । यस्तो असन्तुलित शैक्षिक प्रणालीलाई व्यवस्थित गर्न र वर्गीय दूरी कम गर्न राज्य जिम्मेवार हुनैपर्छ भन्ने आवाजलाई जोडदार रूपमा उठाइएको छ ।
कर्म : सिकाइमा गहिरिएको खाडल अनुसन्धान विधिबाट लेखिएको कोरा विचारहरूको संग्रह होइन । उनले विषयवस्तु खोज्ने क्रममा बालबालिकाको गहिरो अध्ययन गरे । के कमी रहेछ भनेर पत्ता लगाए । अनि झन्डै चार सय पेजको पुस्तक तयार पारे । पुस्तकले बालबालिकाका क्षेत्रमा काम गर्ने, बालसाहित्यकार, शिक्षा क्षेत्रमा समर्पितलगायत क्षेत्रमा एक किसिमको बहस चलाएको छ । आफू नेपथ्यमा रहेर पात्रहरूलाई नै प्रमुख रूपमा अगाडि सारी आफ्नो विचार प्रकट गर्ने लेखकको शैली मीठो छ ।
सरल भाषा र छोटाछोटा वाक्य संरचनाले भावनाहरूलाई बोधगम्य बनाएको छ । यो पुस्तक कुनै उपन्यास होइन तर औपन्यासिक चेतना प्रवाहमा यसभित्रका पात्रहरू प्रवाहित भएका छन् । उपन्यासमा जस्तै अनेक पात्रहरू अगाडि आउँछन् । पुस्तक पढिरहँदा यसले पाठकलाई उपन्यास पढेजस्तै स्वाद दिन्छ । विभिन्न घटना, पात्र र परिवेशका जीवन्त पात्रहरूको आँसु र अनुभूतिलाई आफैंमा समाहित गराएर वैचारिक चेतना अभिव्यक्त गरिएको यो पुस्तक शिक्षा, संस्कृति, बालबालिका र बालमनोविज्ञानको एउटा उर्वर फाँट हो भनेमा अत्युक्ति नहोला ।