राज्यको सम्मान र पदकमा नर्स
गएको हप्ता म दुईवटा समान तर परस्पर विरोधी समाचारको उल्झनमा फसेँ । आफू र आफ्नो पेसाको निष्ठा र अपमानको दुई किनाराबाट म प्रश्नको एउटै चक्रभित्र घुमिरहेँ ।एक- गत हप्ता स्वास्थ्य खबरपत्रिकामा प्रकाशित 'दुई वर्षअघि विनाशकारी भूकम्प जाँदा नेपालका नर्सहरूले गरेको कार्यको प्रशंसा गर्दै यूएन अफिस फर डिजास्टर रिस्क रिडक्सन (यूएनआईएसडीआर)ले एक लाख युरो (करिब एक करोड १६ लाख)को अन्तर्राष्ट्रिय अवार्ड प्रदान गर्यो ।'
दुई- गएको हप्ता 'नेपाल सरकारले विभिन्न क्षेत्रमा राम्रो काम गरेबापत सयौं व्यक्तित्वलाई राष्ट्रिय सम्मान घोषणा गर्दा ६८ हजार नर्समा एकजना पनि पर्न सकेनन् ।'म यही दुई अलग विषयको आँखीझ्यालबाट केही कुरा लेख्ने प्रयास गर्दैछु । गएको हप्ता नेपाली नर्सहरूले भूकम्पको बेलामा गरेको कार्यको प्रशंसा गर्दै यूएन अफिसले प्रदान गरेको अवार्डले जति खुसीको अनुभूति गरायो, त्योभन्दा धेरै 'गर्व' को ! मैले ती दिनहरू सम्झिएँ, जुन बेला एउटी 'केटी' भूकम्पका कम्पनहरूकै वेगमा सहयोगका लागि दौडिरहेकी थिई । ऊ ती हजारौं नर्सकै एउटा प्रतिविम्ब थिई, जो भूकम्पको परकम्पबाट हातका औंलाहरूलाई काँप्न नदिई भूकम्पले चिरिएका घाउहरू करुणाको सियोले सिलाउँदै थिई ।
मलाई अहिले पनि याद छ, भूकम्पको समय ! भूकम्पका धक्काहरूसँग पौंठेजोरी खेल्दै म भूकम्पको तेस्रो दिन गोरखाको आरुवाङ पुगेकी थिएँ, एक्लो नर्स बनेर । त्यो बेला भोक र शोकको पीडाले बस्तीहरू रन्थनिएका थिए । आफ्नाहरूलाई दाहसंस्कार गरिरहेको बेला दाउरा चिरेर बनाएका चिताहरू पनि भूकम्पको धक्काले भत्काउँदै थियो । गाउँलेहरूको आँखामा 'मडारिएको पीडा र त्रास' थियो । तर, हामीसँग भने 'दबेको त्रास र अरल्लिएको करुणा' थियो । मैले त्यो बेला गोरखामा बसेर लगातार सात दिनसम्म मल्हमपट्टी गरिरहँदा, कहिल्यै पनि मेरो मानवताले सम्मान खोजेन । मैले कहिल्यै सोचिनँ, म र मजस्ता हजारौं नर्सले यसरी सेवा गरिरहँदा हामी जोडिएको संस्थाले अन्तर्राष्ट्रिय अवार्ड पाउनेछ भनेर ।
नेपाल सरकारले विभिन्न क्षेत्रमा राम्रो काम गरेबापत सयौं व्यक्तित्वलाई राष्ट्रिय सम्मान घोषणा गर्दा ६८ हजार नर्समा एकजना पनि पर्न सकेनन् ।
त्यो बसाइबाट विराटनगर फर्किएपछि, ती गाउँ र गाउँका बालबालिका आँखाभरि नाचिरहे । बालबालिका, जो भूकम्पका झड्काहरूबीच आफ्ना खुसीहरूसँग बहेली खेल्दै थिए, भत्किएको घरमा च्यापिएका किताब खोज्दै जिन्दगीका सपना कोरल्दै थिए । मनले मानेन ! सबैलाई आग्रह गरेँ । ती बच्चाहरूको पढाइका लागि केही गर्न सकिन्छ कि भनेर पहल सुरु गरेँ । केही दिनमै अभियानले सार्थक रूप लियो । धेरै सहयोगी हात जोडिनुभो । त्यसपछि म एक्लो थिइनँ, 'हामी' थियौं । विराटनगरबाट मेरै सहपाठीहरू मसँग काँधमा काँध जोडेर हिँड्नुभयो । अन्तत: भूकम्पले अताल्लिएका ती विद्यार्थीको खुसी र सपनाको सहयात्री बन्दै सफल पार्यौं, 'शिक्षा सेवा सहयोग अभियान' !
'शिक्षा सेवा सहयोग अभियान' अन्तर्गत गोरखाको आरुवाङको मदानेडाँडा माविमा एक सय एक गरिब र अति भूकम्प प्रभावित विद्यार्थीलाई पूरै एक शैक्षिक सत्रभरि पुग्ने गरी सम्पूर्ण शैक्षिक सामग्री वितरण गर्यौं, त्यो पनि पटक पटक गरेर ।विराटनगरबाट हामी नर्सहरूको समूहले त्यो बेलामा भूकम्पले गर्दा आत्तिएका बालबालिकालाई आफ्नो बुताले भ्याएसम्म मनोवैज्ञानिक परामर्श दिने प्रयास गर्यौं ।
यो लेखिरहँदा यहाँ आफ्नो प्रशंसा र प्रचार गर्न खोजेकी होइन । काम गरेको दुई वर्षपछि यसको आवश्यकता पनि छैन । अझ मैले आफूले भोगेको भूकम्पको अनुभवलाई त एकपल्ट एउटा आलेखका रूपमा लेखेकी थिएँ । पछिल्लो चरणको कामलाई विराटनगरको एउटा स्थानीय पत्रिकाले एउटा समाचार बनाउनुभन्दा अरू मैले कुनै पनि मिडियाबाट प्रचार गरेकी पनि छैन । तर, मैले आज यी कुराहरूलाई आफैंभित्र दबाउन सकिनँ ।
किनकि त्यहाँ 'म' केवल ममात्रै थिइनँ । 'म' ती हजारौं नर्सको प्रतिविम्ब थिएँ, जो त्यसैगरी गुमनाम कुनै लोभ र लालसाबिना जनताको सेवामा खटिएका थिए । तर, त्यसको जस नेताका आफ्नाहरू बाँडीचुँडी गर्दै थिए । म एक नर्स हुँ । 'सेवा र सम्मान'को व्यावसायिक अर्थ मलाई मेरो पेसाले नै सिकायो । समाज र राज्यले मलाई कति सम्मान गर्यो, त्यसको जवाफ इतिहासले खोज्ला तर मैले समाजको सम्मान गर्न सिकेँ । अहिले महसुस गर्छु, हामी नर्सहरूका लागि 'सम्मान' भन्दा 'आत्मसम्मान' अझ ठूलो हुँदो रहेछ ।
विडम्बना ! मलाई आफ्नो पेसाप्रति त्यो बेला दया लाग्यो जुन बेला राज्यले विभिन्न क्षेत्रमा सेवा र उत्कृष्ट कार्य गरेबापत सयौं व्यक्तिलाई सम्मान गर्दा एकजना पनि नर्स भेट्टाउन सकेन । योपल्ट मात्रै होइन, गत वर्ष पनि भूकम्पका बेला सेवा पुर्याउने हजारौं सहयोगी हातलाई सम्मान गर्दा 'सहयोगी'को लिस्टमा एकजना पनि नर्स अटाउन सकेको थिएन ।
कुरा सम्मानको मात्रै होइन । सेवाको नाम दिएर स्थापना गरिएको पेसा, पटकपटक 'सेवा'को रूपमा राज्यको आँखामा पर्न नसक्दा कतै राज्यले हामीमाथि 'अपमान' त गरिरहेको छैन ? यूएनले सहयोगीका रूपमा देख्यो तर राज्यले देखेन । सायद हामीले नै गल्ती गर्यौं । त्यसरी सम्मान पाउन नेता र नेताका आसेपासेको 'सेवा' र चाकडी गर्नुपथ्र्याे तर हामी जनता र बिरामीको सेवामा लागिरह्यौं । कमजोरी, राज्यको मात्रै भन्दा पनि हामी र हाम्रो नेतृत्वले कुन हदसम्म राज्यसँग समन्वय गर्न सक्यौं भन्ने पनि हो । राज्यलाई मात्रै दोष लगाएर उम्कनुभन्दा हाम्रो नेतृत्वले पनि एकपल्ट आत्मसमीक्षा गर्न जरुरी छ । राज्यसँग हाम्रो उपस्थिति कति बलियो रह्यो ? सबै नर्सिङ समुदायलाई एकजुट पारेर हाम्रो आवाज कति बलियो बनाउन सक्यौं ? विभिन्न तरिकाले युवा र नयाँ सोच भएको नयाँ नेतृत्वको विकास गर्दै गयौं ? युवा पुस्ता र तिनका आवाजलाई कति प्रभावकारी रूपमा सुन्यौं?
पेसाको व्यवस्थापन र विकासका लागि हामी अब नयाँ सोच लिएर अगाडि बढ्नुपर्छ । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ज्ञान र जोशलाई एक ठाउँमा राखेर नेतृत्वको विकास गर्नुपर्छ । राज्यसँगको हाम्रो समन्वय प्रभावकारी हुनुपर्छ । आवाज बलियो हुनुपर्छ । अन्यथा, पेसासँगको वितृष्णा यसैगरी बढ्दै गयो भने भोलि नर्सिङ 'सेवा' होइन एउटा 'जागिर'मात्रै हुनेछ ।
हामीले सम्मानका लागि सेवा गरेका होइनौं । तर, 'सेवा'को नाममा राज्यले आफ्ना आसेपासे र छोराछोरीलाई पदक सुम्पिँदै गर्दा हामी कतै नदेखिनु हाम्रो 'अपमान' हो । हामीले सम्मान खोजेका होइनौं तर अपमान सहनु हुँदैन । यहाँ कुरा 'सम्मान'को भन्दा पनि 'आत्मसम्मान'को छ ।
[email protected]