'गोर्खा' इतिहासको घाउ

'गोर्खा' इतिहासको घाउ

कुनै शासकले इतिहासमा गरेको ठूलो गल्तीको भागिदार कति पुस्ताले भोग्नुपर्छ ? सायद त्यसको कुनै निश्चित जवाफ छैन । भारतमा नेपाली कामदारलाई बहादुर भनेर होच्याउने प्रवृत्ति लामो समयदेखि चलेको छ, जसरी नेपालमा तराईवासी नागरिकलाई 'धोती' वा 'इन्डियन' भनेर होच्याइन्छ । धेरै भारतीय चलचित्रमा नेपाली मूलका नागरिकलाई 'बहादुर'को रूपमा प्रतिविम्बित गरिएको पाइन्छ । होटल, घर, कार्यालयमा सुरक्षा गार्ड वा सहयोगीका रूपमा काम गर्र्ने नेपालीहरू बहादुरका रूपमा चिनिएका छन् । 'बहादुर' सम्बोधन सम्मान हो कि अपमान ? 

Ghimire-Yubarajसन् १९६९ मा मोहन सेगलको निर्देशनमा बनेको हिन्दी फिल्म 'साजन'मा होटलको लिफ्टगार्डलाई 'गोर्खा' भनेर सम्बोधन गरिएको छ । होटलमा भएको हत्याको जाँचबुझका लागि भारतीय पुलिस अफिसरले 'गोर्खा'लाई बोलाउँछ—
'क्या नाम हे ? '
'जंगबहादुर'
'बापका नाम ? '
'रंगबहादुर'
(छेउमा उभिएको हवल्दार कड्किँदै सोध्छ) 'दादाका नाम ? '
'तङ्बहादुर'
दर्शक हँसाउन प्रयोग गरिएको यो 'संवाद-दृश्य' हेर्दा भारतीय दर्शक कति हाँस्छन् थाहा छैन तर एउटा नेपाली दर्शकलाई भने लाज र अप्ठ्यारो लाग्छ । आशा पारेख र मनोजकुमारको दमदार अभिनय रहेको फिल्मको एउटा कलाहीन र कुरूप दृश्य हो यो । हवल्दारको भूमिकामा देखिएका शत्रुघ्न सिंहाको पहिलो फिल्म हो यो । शत्रुघ्नले भन्दा लिफ्टगार्ड 'गोर्खा'को अभिनय गर्ने रतन गुरुङले कुशल अभिनय गरेका छन् । पात्र परिचयमा भने लिफ्टम्यान- रतन गौरङ लेखिएको छ । जनजाति अनुहारका रतन 'गुरुङ' हुन् या 'गौरङ' भनेको अर्कै थर हो ? 'गोर्खा' भनेपछि र पात्रको, बाउको, हजुरबाउको नाम सुन्दा पक्कै पनि नेपाली जाति 'गुरुङ' भन्ने अनुमान लगाउन सकिन्छ । मैले यहाँ नेपाली जाति भनेँ किनभने भौगोलिक सीमापारि नेपाली एक जाति नै हो।

भारतीय फिल्ममा हुने यस किसिमको गल्तीबाट उनीहरूलाई आरोप लगाउनुभन्दा बढी अहिले हाम्रो आफ्नै इतिहासको समालोचना गर्नु जरुरी देखिन्छ । दर्जनौं हिन्दी फिल्ममा अभिनय गरेका यी कलाकारको उस्तै भूमिका देखिन्छ । 'जन्नत', 'आसियाना', 'क्रिमिनल', 'दो उत्सव', 'साउन कि घटा'जस्ता दर्जनौं फिल्ममा अभिनय गरेका रतन प्राय: चौकिदार, सुजीकार, बार टेन्डर आदि भूमिकामा देखिन्छन् । यी कलाकारलाई कुनै फरक र बलियो भूमिकाभन्दा पनि नेपाली मूलको कामदार अर्थात् 'गोर्खाली'को प्रतिनिधित्व गराउन खेलाइएको देखिन्छ । यसरी हेर्दा 'बहादुर' शब्द सीधै गोर्खा सैनिकसँग जोडिन्छ । भगौडा वा अवकाशप्राप्त गोर्खा सैनिकले भारतलगायत मुलुकमा सुरक्षा गार्ड र कार्यालय सहयोगीको काम गरे । तिनै बहादुर गोर्खाली सेना बिस्तारै 'बहादुर' सम्बोधनले हेपिन थाले ।

रतन गुरुङले अरू कलाकारले झैं आफ्नो भूमिका निर्वाह गरे । तर, उनी हिन्दी सिनेमामा खासमा कसको प्रतिनिधित्व गर्छन् ? सामाजिक रूपमा यिनको भूमिकाले कसलाई न्याय गर्छ भन्ने प्रश्न उठ्छ । जिम्मेवार हुने हो भने भारतीय फिल्म सर्जकहरूले यसको उत्तर दिनुपर्छ । यिनलाई खास-खास भूमिकामा उभ्याउनुमा निर्देशकको कुनै गम्भीर सोच देखिँदैन । प्यारोडी र सस्तो मनोरञ्जनको रूपमा रतन गुरुङ फिल्ममा देखिन्छन् । माथिको संवाद एक उदाहरणमात्रै हो । ठ्याक्कै यतिखेर मधेसी मूलका कलाकारले नेपाली भाषाको फिल्ममा गर्ने प्रतिनिधित्व पनि यस्तै खालको छ । तराई मूलका कुशल कलाकार पनि अल्पज्ञानी निर्देशकको सिकार भएकाछन् र मक्ख परेर त्यस्तै भूमिकामा अभिनय गर्दैछन् ।

2-gurkhas-1

पूर्वी जर्मनीको एक गाउँ जोसेनस्थित  'जेहरेन्स जेहरेन्डसडोर्फ इन्डियन सिमेट्री'मा संगृहीत पहिलो विश्वयुद्धमा मारिएका गोर्खा सैनिकको स्मारक । 

गैर तराईवासीले पनि त्यसरी नै उल्याएर तराईवासीको भूमिका निर्वाह गरिरहेछन् । हो यहीँनेर इतिहासमा शासकले गरेको गल्तीको भागीदारीको प्रश्न उठाउनु जरुरी छ । 'गोर्खा' भनेर सम्बोधन गरिने जंगबहादुर र सन् १८५७ मा ब्रिटिस साम्राज्यको विरुद्धमा जागेको भारतीय सैनिक विद्रोह दबाउन जाने जंगबहादुर राणाको नाम संयोगले मिल्न गएको हो ? कि गोर्खा सैनिक, गोर्खा, बहादुर, दरवान आदिको नाम जंगबहादुर हुनुमा हाम्रा शासकले इतिहासमा गरेको गल्तीसँग सम्बन्ध छ ? कम्युनिस्टहरूको भाषामा भन्ने हो भने 'रूपको होइन सारको चर्चा' गरेको हुँ ।

यसको सम्बन्ध खोज्दै जाँदा म दोस्रो विश्वयुद्धसम्म पुगेँ । दोस्रो विश्वयुद्धमा गोर्खाली सेनाहरूले जापानी र जर्मनसेनासँग वीरताको साथ लडेको भूमि हो-बर्मा । नेपालीहरूको ठूलो बसोबास रहेको बर्मामा दोस्रो विश्वयुद्ध र यसका प्रभावमाथि धेरै साहित्य लेखिएका छन् । बर्मामा करिब दुई महिनाको बसाइले त्यहाँका नेपाली मूलका मानिसको इतिहास खोज्न म उत्सुक भएँ । खासगरी माण्डलेय हिल र दोस्रो विश्वयुद्धमा सहिद भएका 'गोर्खाली सैनिकहरू'को स्मारक 'टौक्यान वार सिमेन्ट्री' पुगेपछि मेरो उत्सुकताले मलाई नै उकुसमुकुस बनायो र पढ्न थालेँ इतिहासका गर्तमा लुकिबसेका कथा । जति पढ्यो उति रोचक लाग्ने यो युद्धको कथा खासमा दु:ख र त्रासदीको महासागर हो । पहिलो र दोस्रो विश्वयुद्ध, भारत-पाक, भारत-बंगलादेश, श्रीलंका, लेबनान, सिरिया, हङकङ, मलेसिया, साइप्रस, कोसोभो, इराक, कास्मिरजस्ता दर्जनौं भयंकर त्रासदपूर्ण युद्ध लडेर प्रशंसा पाएका गोर्खाली सैनिकको त्रासदी र वीरताको रेखा कहाँनिर छुट्टिन्छ ? गोर्खा सैनिकबारे लेखिएका इतिहास र साहित्य पढ्दै गएपछि म झन् अन्योलमा परेको छु ।

सन् १८१५ देखि सुरु भएको गोर्खा-ब्रिटिस सहयात्रामा पहिलो र दोस्रो विश्वयुद्ध गरी दुई लाखभन्दा बढी सैनिकले युद्ध लडेको अनुमान छ । गोर्खालीको वीरता वा त्रासदीको कथा खोतल्दा बर्मामा भएका गोर्खालीहरूको कथा निकै महत्वपूर्ण मानिन्छ ।

वीरताको कथाले भन्दा बढी त्रासदीको सास्तीले लखेटेको छ मलाई । दोस्रो विश्वयुद्धमा ब्रिटिसको पक्षमा लडेका नेपाली सैनिकहरूको गोर्खाली ब्रान्ड कसरी सुरु भयो भन्ने कथा पनि रोचक छ । हो, गोर्खाली सैनिकले कमाएको वीरताको ब्याजले आजसम्म हामीलाई यहाँसम्म ल्याएको छ । तर, त्यो ब्याज कति सम्मानजनक छ भन्नेबारे अब पुन: व्याख्या हुन आवश्यक छ । केसाङ छेतेनको डकुमेन्ट्री 'हु विल बी गोर्खाज्'ले अनगिन्ती प्रश्न गर्छ । तर, जवाफहरू सायद बब डिलनले गीतमा भनेजस्तै कतै हावामा छन् ।

('कुलबहादुर' - मैले साउती मार्दै भनेँ - 'ए कुलबहादुर ।'
'हजुर' - उसले उत्तर दियो ।
'तिम्रो दायाँतिर कोही छ कुलबहादुर ? ' - मैले सोधेँ ।
केही सेकेन्डको वि श्रामपछि अँध्यारोमा नियाल्दै- 'मैले केही देखिरहेको छैन साहेब । म गएर हेरेर आऊँ ? '
'हुन्छ तर निकै होसियारका साथ जाऊ ।'
उसको खाली कार्तुसको पेटीको आवाज आयो । ती ढुंगामा ठोक्किएर गुड्किँदै झरे । फेरि एकछिनको मौनता । केही मिनेटपछि, विस्तारै संघर्ष गर्दै घिस्रिँदै मेरो नजिक आएर कानमा साउति मार्दै उसले भन्यो, 'चार पाँचजना मरेका मान्छेबाहेक मैले कोही भेटिन साहेब ।'
त्यसपछि मेरो बायाँतिर को रहेछ भनेर हेर्न म भुइँमा घिस्रिँदै कुलबहादुरको बायाँ फर्किएँ, 'मेरो आदेश साथीलाई सुनाऊ । आफ्नो देब्रेतिरको साथीसँग सम्पर्क राख ।'

गोर्खा सैनिक त्यस बाक्लो जंगलको अभेद्य छायाँमा एकटकले हेरिरहेको छ । मानौं ऊ कुनै सोचमा हराइरहेको छ । उसका मह-रंगका हातहरू राइफल समाएर तयारी अवस्थामा छन् । मानौं अर्को जापानी आक्रमणका लागि ऊ तम्तयार छ । उसको त्यस जागरुक अवस्थाले मलाई सुरक्षाको बढो राहत दियो । एउटा ब्रिटिस अधिकृतले कामना गरेको सशक्त लडाकुको नमुना गोर्खाली सैनिकहरू भन्दा अरू को नै हुन सक्थ्यो र ? हरेक आदेश मान्न तयार उक्त गोर्खा सैनिकलाई फेरि मैले आदेश दिएँ तर ऊ फेरि पनि मौन थियो । भनेँ... 'एइ तिमी ।' र, उसको कुममा मैले हातले झक्झक्याएँ । ऊ भुइँमा ढल्यो । ...उसको घाँटीको पछाडि भागमा गोलीले प्वाल बनाएको रहेछ । करिब १६ वर्षको राइफलम्यान कुलबहादुरले अब मेरो आदेश कहिल्यै पालना गर्ने छैन ।)

सन् १९४३ मा ब्रिटिस सैनिक अफिसर इन म्याक्हर्टनले दोस्रो विश्वयुद्धमा जापानीहरूसँग लड्ने क्रममा दक्षिणी बर्माको जंगलमा घाइते भएपछि जंगलमै बिताएका सय दिनमाथि लेखिएको पुस्तक 'दी हन्ड्रेड डेज अफ म्याक्हर्टन'बाट लिइएको अंश हो यो । म्याक्हर्टनसँगै रहेका गोर्खाली सैनिक कुलबहादुरसँगको लामो संवाद पुस्तकमा उल्लेख छ ।

म्याक्हर्टनले कुलबहादुरको बहादुरीको निकै प्रशंसा गरेका छन् । जीवित छँदा त कुलबहादुर साहसका साथ लडे, मरिसकेपछि पनि पहरेदार भएर उभिएको प्रसंग पुस्तकमा निकै रोचक ढंगले प्रस्तुत गरिएको छ । दोस्रो विश्वयुद्धमा जापान र जर्मनीको हार वा भनौं समग्रमा हिटलरको हारपछि गोर्खालीको प्रशंसा संसारभर भयो ।
भनिन्छ, दुश्मनको पनि प्रिय हुन सक्नु संसारमै नौलो र अचम्म हो । तर, गोर्खाली सैनिकको सन्दर्भमा यही अचम्म यथार्थ बन्यो । जर्मन सेनालाई पराजित गर्ने गोर्खालीकै प्रशंसामा हिटलरले बोलेको भनेर धेरै ठाउँमा उल्लेख गरको पाइन्छ, 'मसँग गोर्खाली सेना थिए भने म संसार जित्ने थिएँ ।' हिटलरले गोर्खालीलाई 'काला सैतान' भनेर सम्बोधन गरेको प्रसंग हिटलरमाथि बनेको फिल्ममा उल्लेख छ । गोर्खाली सेनाबारे अनेकौं किस्सा छन् । सन् १९६५ को भारत-पाकिस्तान लडाइँको बेलामा गोर्खाली र पाकिस्तानी सैनिकसँगको घटना 'इन्डियन रिपब्लिक'ले छापेको छ ।

तनोटमाता बोर्डरमा एक गोर्खाली र पठान सैनिक जम्काभेट भएछन् । आफूभन्दा निकै होचो गोर्खाली सेना देखेर पठानले गिज्याएछ । भनेछ, 'तँ मेरो कम्मरसम्म पनि आउँदैनस्, मलाई के मार्न सक्छस् ? ' गोर्खाली सेनाले कम्मरबाट खुकुरी झिकेर हावामा नचाएछ । त्यो देखेर पठानले गर्जंदै भनेछ, 'तैंले मलाई छुन पनि सक्दैन्, फुच्चे ।' गोर्खालीले भनेछन्, 'उता हेर त ।' पठानले आँखा अर्कोतिर घुमाउन नपाउँदै उसको टाउको भुइँमा झरेछ । यो कथाबारे निकै मतविमत पाइन्छ । पंजाबी फिल्ड मार्सल साम मणेक्षले भनेका छन्, 'कसैले मृत्यदेखि डराउँदिनँ भन्छ भने कि त ऊ झूठो बोलिरहेको छ, होइन भने ऊ गोर्खाली हो ।'

गोर्खालीको वीरताका कथा पढिरहँदा मलाई पारिजातको उपन्यास 'शिरीषको पूmल'को सुयोगवीरको सम्झना आउँछ । युद्धमा होमिएका हजारौं सैनिकको अपराध र दोषको मनस्थिति अभिव्यक्त गर्छ सुयोगवीरले । त्योभन्दा बढी सम्झना आएको थियो बर्मेली किशोरी माटिनची र हेड हन्टरकी छोरीको जसलाई उसले प्रेमको नाममा वा राइफलको आडमा बलात्कार गरेको थियो । त्यस्तै सम्झनामा आउँछिन्् - बीपीको उपन्यास 'हिटलर र यहुदी'मा उल्लिखित हानोबरकी इल्जे । दोस्रो विश्वयुद्धले ध्वस्त समाजकी कलिली किशोरी इल्जे आफ्ना वृद्ध आमाबाबुलाई पाल्न शरीर बेचिरहेकी छे । सैनिकहरू उसका मुख्य ग्राहक हुन् । नाजीहरूको त्रासले आम्स्र्टर्डमको एउटा घरको बुइगलमा लुकेर त्रासमा पनि प्रेम र संवेदनाको दैनिकी लेखिरहेकी १४ वर्षे किशोरी आन्ने फ््रयांकलाई पनि झल्झली सम्झिन्छु । 'डायरी अफ अ योंग गर्ल' पढ्दा र त्यसमाथिको फिल्म हेर्दा मैले आफ्नै जीवनका धेरै आशा मारेको छु । समय किन यति क्रूर हुन्छ, म सोचिबस्छु ।

बर्माका माटिनची र हेड हन्टरकी छोरीका कथा झन् त्रासदपूर्ण छन् । हामीले सुयोगवीरहरूको विवशता बुझिरहँदा र सकम्बरीको रूपमा नेपाली नारीको संवेदना केलाइरहँदा माटिनचीहरूलाई किन बिर्सियौं ? भर्खरै काठमाडौंका बुद्धिजीवीहरूबीच नेपाली उपन्यासले स्थापना गरेका पात्रहरूको कुरा गर्दा 'सुयोगवीर' र 'सकम्बरी'को नाम आएथ्यो । 'सुम्निमा' र 'सोमदत्त'को, 'वासुदेव कट्टेल', 'इलैया' र 'रेडियोलाल'को नाम आएथ्यो । मदनमणिको 'माधवी'लाई पनि धेरैले सम्झिए । साहित्यभित्र पनि भूगोल र संस्कृतिको राष्ट्रियताले घेरेर हो कि हामीले 'माटिनची' सम्झन सकेनौं । ती माटिनचीहरू जो महाशक्ति भनिएका देशहरूको शक्तियुद्धमा पिल्सिए र 'बहादुर' सुयोगवीरहरूको राइफलको कुन्दाको चोट सहँदै बलात्कृत भए, बाँसका झ्याङहरूमा असह्य पीडा र अपमानसाथ चुपचाप मृत्युवरण गरे । खोइ तिनको इतिहास ? कसले लेख्छ तिनका आँसुका कथा ? बहादुरीको इतिहासमा के पीडाबोधको कुनै मूल्य हुँदैन ? के समयले पछिल्तिर फर्केर आफू हिँडेको बाटो हेर्नु पर्दैन ?

यही युद्धको विभीषिकासँगै नेपाली राष्ट्रियता पनि फैलिएको छ । इतिहासको अर्को पाटो हो यो । नेपाली इतिहास र बहादुरीको गाथा छिचोल्न चाहने जो कोहीले बुझ्नैपर्छ- गोर्खाली सैनिकले संसारभरि बन्दुक पड्काउँदै हिँडेपछि, खुकुरीले छप्काउँदै अगाडि बढेपछि, अर्को पक्षको तातो गोली र बारुद खाँदै बिरानो भूगोलमा भकाभक ढलेपछि, तिनका रगतले बिरानो भूमि सिञ्चित भएपछि नेपाली राष्ट्रियताको सिमाना राजनीतिक भूगोलबाट भत्किएर धेरै परसम्म पुगेको छ । भूगोलको सिमाना नजोडिए पनि बर्मा, लाओस्, कम्बोडिया, इजरायलदेखि रोमसम्म पुगेको छ नेपाली राष्ट्रियता ।

यो फैलिने क्रम अझै रोकिएको छैन । 'गोर्खा राइफल'को नाममा आज पनि धेरै नेपाली युवाको वर्षौंको निद्रा भत्किएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा बिहान झिसमिसै देख्न सकिन्छ- देशका होनहार युवाहरूको म्याराथुन अभ्यास । नेपालका डाँडाकाँडामा कुनै शक्तिशाली देशको स्वार्थका निम्ति शरीरलाई सुगठित बनाउन अभिशप्त छन् नेपाली युवा । झन्डै दुई सय वर्षदेखि कुन शक्तिले कुदाइरहेछ नेपाली युवालाई यो भयावह सपनातिर ? पृथ्वीनारायण शाहको गोर्खा राज्य नेपाल राज्यमा फेरिएको अढाई सय वर्षपछि पनि चिट्ठाको भरमा किन उनीहरूको गोत्र परिवर्तन हुन्छ नेपालीबाट गोर्खालीको रूपमा ? हिजोसम्म नेपाली मानिआएको युवा गोर्खाली भएर गौरव गर्न थाल्छ । यो दुई सय पचास वर्ष लामो नेपालीदेखि गोर्खालीसम्मको म्याराथन इतिहासतिर फर्केर हेरौं ।

गोर्खाका राजा पृथ्वीनारायण शाह (सन् १७२३-१७७५) राज्य विस्तारमा थिए । गोर्खा वरिपरिका साना राज्यहरूलाई गाभ्दै, बाइसे-चौबीसे राज्यहरूलाई एकीकरण गर्दै आउँदा सन् १७४६ मा नुवाकोटमा आक्रमण गरे । वरिपरिका राज्य जितिसकेपछि सन् १७६७ मा पृथ्वीनारायण शाहले काठमाडौंमा आक्रमण गरे । काठमाडौंका तत्कालीन राजा जयप्रकाश मल्लले आफ्नो राज्य बचाउन भारतमा कब्जा जमाइरहेको इस्ट-इन्डिया कम्पनीसँग सैन्य सहयोग मागेपछि पहिलोपटक गोर्खाली र ब्रिटिस सेनाबीच सिन्धुलीगढीमा भिडन्त भएर गोर्खाली सेनाले ब्रिटिस सेनालाई परास्त गरेको थियो । सन् १७६७ सेप्टेम्बरमा भएको त्यस युद्धलाई नेपाली इतिहासमा गौरवको मानक मानिन्छ । आज पनि सिन्धुलीगढी यसै कारणले प्रसिद्ध छ । ब्रिटिस सैनिक क्याप्टेन किनलकको नेतृत्वमा आएको २४ सय सेनामध्ये झण्डै एक हजार जना मारिएको अनुमान छ (ब्रिटिस सामाज्यका नेपाली मोहरा, झलक सुवेदी) । पृथ्वीनारायण शाहले काठमाडौं, पाटन र भक्तपुर विजय गरेपछि सन् १७६८ सेप्टेम्बर २५ मा नेपाल राज्यको घोषणा गरेका थिए ।

पृथ्वीनारायणको शासनकालमा सिन्धुलीगढीमा ब्रिटिससँगको साहसिक लडाइँले ब्रिटिस शासकमा गोर्खालीप्रति गहिरो छाप छोड्न सफल भयो । उनको सेखपछि पनि दक्षिणतिरबाट फैलिँदै उत्तरतिर आउँदै गरेको ब्रिटिस साम्राज्यसँग नेपालको धेरैपटक मुठभेड भयो । सन् १८१४ देखि १८१६ सम्मको नेपाल ब्रिटिस युद्ध नेपालको विस्तार अभियानको अवरोधक बन्न पुग्यो । ब्रिटिसका तर्फबाट अक्टरलोनी र नेपालका तर्फबाट अमरसिंह थापाले नेतृत्व गरेको सैन्य लडाइँ थापाले हारे पनि ब्रिटिसहरू नेपाली सेनाको बहादुरीबाट प्रभावित भई सन् १८१५ देखि नै गोर्खाली सेनाको नाममा नेपालीलाई ब्रिटिस सेनामा लिन थालियो । त्यसो त काजी बलभद्र कुँवर आफैं पनि ब्रिटिसहरूसँगको युद्ध हारेपछि रणजित सिंहको पंजाबी सेनामा भर्ती भए । उनले त्यहाँ गोर्खाली सेनाकै नेतृत्व गरे ।

सन् १८५७ मा भारतीय सिपाहीहरूले अंगे्रजविरुद्ध विद्रोह गरे । यो विद्रोह दबाउन जंगबहादुर राणा नौ हजार सेनासहित भारत पुगे । विद्रोहलाई निर्ममतापूर्वक दबाएर उनले 'लखनउ लुट' मच्चाए । यो घटनासँगै बेलायती शासनमा गोर्खाली सेनाको अस्तित्व झन् बलियो भयो । बर्मा र अन्य मुलुकमा दोस्रो विश्वयुद्धसम्म र यता भारतीय स्वतन्त्र अन्दोलनसम्म नेपाली सेनाले गोर्खा राइफलको नाम लिएर ब्रिटिसकै पक्षमा लडे । दोस्रो विश्वयुद्धपछि ब्रिटिसको पक्षमा लडिरहेको गोर्खा राइफल बर्मा सेनामा रह्यो । सन् १८२४ देखि सन् १९४८ सम्म गोर्खालीले बर्मामा ब्रिटिसकै सेवा गरे । सन् १९४८ मा बर्मा ब्रिटिस राजबाट स्वतन्त्र भएपछि धेरै गोर्खाली सैनिक बर्माको राष्ट्रिय सैनिकमै रहे । त्यसैगरी भारतीय स्वतन्त्रतासँगै गोर्खा राइफल ब्रिटिस र भारतीय सेनामागरि दुईतिर विभाजित भयो । समयक्रममा जहाँजहाँ पुगे पनि नेपाली सेनाले गोर्खालीको नाममा बहादुरी कमाउने इतिहास भने उस्तै रह्यो ।

विशुद्ध राजनीतिक अभिप्रायले सुरु भएको गोर्खाली सैनिकको इतिहास पछि आएर नेपालीको गरिबीसँग जोडिएको छ । गल्लावाल र रिकुटेजस्ता पात्रहरूको कथा नेपाली पहाडी जनजीवनको गरिबी, संघर्षशील जीवन र अशिक्षामा गएर ठोक्किन्छ छ । 'लाहुरेको कथा' नामक पुस्तकको भूमिकामा समाजशास्त्री हर्क गुरुङले लेखेका छन्, 'गोर्खा ठाउँको नाउँ जसरी उत्पत्ति भए पनि गोर्खाली शब्दको व्यापक अर्थ लडाकू जाति हुन गयो । यसको उठान पृथ्वीनारायण शाहको खस, मगर, गुरुङको सामूहिक फौजको सामरिक सफलतासित गाँसिएको छ।

गोर्खा राज्यको विस्तार क्रममा सो फौजको सन् १७४४ मा त्रिशूली नदी पूर्व हानेपछि अर्को ७२ वर्ष लगातार लड्नु परेको थियो ।' यसरी गोर्खा राज्यबाट सुरु भएको पृश्वीनारायण शाहको राज्य विस्तार काठमाडौंलाई जितिसकेपछि नेपाल देशमा रूपान्तरण भयो । पृथ्वीनारायण शाहका सन्ततीहरू र तिनका भाइभारदारहरूले पनि नेपालकै नाममा राज्य विस्तार गरे तर विदेशी सेनामा भर्ती हुने सबै नेपाली गोर्खाली नामले नै चिनिए ।

पृथ्वीनारायण शाहको राज्य एकीकरणमा परेर गाभिएका राज्य वा समुदायका सन्ततिहरूले उनको एकीकरणको विरोध त गरे तर तिनका सन्ततिलाई गोर्खाली सेनाकै रूपमा ब्रिटिस सेनामा भर्ती गर्न भने छोडेनन् । यो ठूलो विरोधाभाष हो । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले त ब्रिटिस गोर्खा भर्तीका लागि उर्दी नै गरेका थिए । नेपाली युवा जागिरको खोजीमा रिकुटे र गल्लावालको फन्दामा परेर युद्धमा होमिन विवश थिए । 'हिमाल किताब'ले वसन्त थापा र मोहन मैनालीको सम्पादनमा छापेको पुस्तक 'लाहुरेका कथा'मा समावेश भएका १३ जना नेपाली छोराहरूको कथाले दोस्रो विश्वयुद्धमा बर्मामा ब्रिटिस सरकारको पक्षबाट जापानसँग लड्दाको साहसिक तर त्रासदपूर्ण कथा भन्छ । यी १३ कथा युद्धमा बाँचेर आएकाहरू ज्यूँदाहरूको कथा हो।

पुस्तकमा खोटाङका मनबहादुर राई भन्छन्, 'सन् १९१४ देखि १८ को लडाइँमा दुनियाँको छोराहरू बेपत्ता पार्‍यो । ...त्यसो भएकाले हामी सन् १९२८ मा भर्ती हुँदा पनि गल्लावाला गाउँमा पस्न सक्दैनथ्यो । म गल्लावालासँग भागेरै दरभंगा (विहार)को बेत्तिया क्याम्पमा आएर भर्ना भयो ।' बर्माकै युद्धमा परेका पर्वतका लालसिंह गुरुङले भनेका छन्, 'म चौध वर्ष सात महिनाको हुँदा गाउँमा गल्ला आएको बेला मलाई पनि नाप्यो । त्यसरी नाप्दा म सधैं शून्यमा हुँदो रैछु । शून्य भनेको ६० इन्च रै'छ । भर्ती हुँदा ६१ इन्च हुनु पर्ने रै'छ । एकजना मेरो आफन्त पर्ने सुबेदार धनबहादुरले उचाइ नपुगे पनि मलाई लिएर आउनू भनेर गल्ला पठाएछ । गल्लासँग म भर्ती हुन भनेर गोरखपुर कुनाघाट आयो । त्यहाँ आइपुग्न मलाई सात दिन लाग्यो ।'

युद्धमा सैनिकहरू फ्याक्ट्रीमा कोइला हालेझैं गरी होमिइरहेका थिए । त्यसैले ब्रिटिस सरकारलाई धेरैभन्दा धेरै युवा चाहिएको थियो । सैनिकमा भर्ना हुन धेरै नेपालीको न्यूनतम उमेर नपुगे पनि गल्लावालले ढाँटेर, उमेर बढाएर भर्ना गराइरहेका थिए । त्यतिमात्रै होइन त्यसबखत बाहुन जातिका युवालाई भर्ना नलिने हुनाले धेरै बाहुन युवाले आफ्नो थर क्षत्री बनाएर गोर्खा सेनामा भर्ती गरेका छन् । बर्दियाका जीवनाथ भट्टराई ब्रिटिस आर्मीमा भर्ती हुँदा १३ वर्षका थिए । उनले उमेर बढाएर १८ वर्षको मात्र बनाएनन्, नाम परिवर्तन गरेर टेकबहादुर क्षत्री पनि भए । उनी भन्छन्, '६ महिनाको ट्रेनिङ गरेपछि सन् १९३६ मा पानीजहाजको रस्ताबाट हामी सात दिन सात रातमा बर्मा निस्क्यौं । बर्माको टाङजी उपर बर्माको म्यामुङ, छ्याङखोई, सबै ठाउँमा लडेपछि पेमुना भन्ने ठाउँमा पुग्यौं । अगस्त १९४५ मा 'वार सेटल भयो' भनेर रेडियोले फुक्यो, त्यसपछि फक्र्यौं ।'

यसरी भकाभक भर्ती गर्नुपछाडि सामरिक स्वार्थ पनि थियो । भारतीय गोर्खा राइफलबाट सेवानिवृत्त एक सुबेदार भन्छन्, 'ठूलो ठूलो लडाइँमा मरे पनि खासै क्षति नहुने सिपाहीको दस्ता तयार गरिएको हुन्छ । तिनलाई गनफिडर भनिन्छ । सामान्य तालिमपछि युद्धमा खटाइने ती गनफिडरहरू सकेसम्म शत्रुको संख्या र शक्ति कम गर्न तयार पारिएका हुन्छन् । विश्वयुद्धमा गोर्खा सैनिकमा भर्ती भएका अधिकांश नेपाली गनफिडर नै थिए ।'
सन् १८१५ देखि सुरु भएको गोर्खा-ब्रिटिस सहयात्रामा पहिलो र दोस्रो विश्वयुद्ध गरी दुई लाखभन्दा बढी सैनिकले युद्ध लडेको अनुमान छ । गोर्खालीको वीरता वा त्रासदीको कथा खोतल्दा बर्मामा भएका गोर्खालीको कथा निकै महत्वपूर्ण मानिन्छ । यी १३ जनाको कथाले हरेक पाठकलाई युद्धको वास्तविक अवस्था जनाउँछ।

बाँचेर आएका हुनाले रोमाञ्चकता र गौरवका क्षण पनि छन् उनीहरूका कथा वाचनमा । बाँचेर आउने सबैको त कथा संकलित छैन भने युद्धमा सहिद भएकाहरूको दर्दनाक कथा शरीर र प्राणसँगै पञ्चतत्वमा विलीन भएर गयो सायद । कथाकार इन्द्रबहादुर राईले दोस्रो विश्वयुद्धमा बर्मेली नेपालीले भोगेको दु:खको आधारमा 'जयमाया आफूमात्रै लेखापानी आइपुगी' लेखे । सन् १८२४ मा पहिलो र सन् १८५२ मा दोस्रो आङ्लो ब्रिटिस युद्ध भयो । सन् १८८५ को तेस्रो आङ्लो ब्रिटिस युद्धपछि पूरै बर्मामा पूर्ण रूपमा ब्रिटिस शासन लाग्यो । सन् १९४१ मा पहिलोपटक जापानले बर्मामा सैन्य आक्रमण गर्‍यो । मेजर नन्दलाल तिवारीलाई उद्धृत गर्दै बर्मामा समाजसेवी, साहित्यकार ठाकुरप्रसाद गुरागाईंले आफ्नो पुस्तक 'म्यानमारको नेपाली जनजीवन'मा लेखेका छन्, 'त्यस बखत बर्मामा २० बटालियन ब्रिटिस सेना थियो, लगभग २४ हजार । त्यसमध्ये नौ हजार ६ सय गोर्खा सैनिक थिए ।'

गोर्खालीहरूले सन् १९४५ मार्चमा माण्डलेय हिलबाट जापानी सेनाहरूसँग युद्ध लडेर जितेको हुनाले त्यस पहाडमा बनेको स्तूपामा गोर्खाली सैनिकको सम्मानका लागि ताम्रपत्र राखिएको छ । त्यसैगरी यंगुनबाट करिब २५ किलोमिटर उत्तरमा रहेको टौक्यान युद्ध स्मारकमा दोस्रो विश्वयुद्धमा सहादत प्राप्त गरेका सैनिकहरूको सम्झनामा समाधि स्थापना गरिएको छ । त्यहाँ ५२ जना गोर्खालीको समाधि राखिएको छ । १७ देखि २८ वर्ष उमेरमा वीरगति प्राप्त गरेका ती सैनिकको बलिदानीले नै जापानबाट बर्मा जोगिएको थियो भनिन्छ । तर, अर्को विशेष कारणचाहिँ जापानीहरूले युद्ध जितिरहेकोे बेलामा यूएसएले हिरोसिमा र नागासाकीमा लिटिल ब्वइ र फ्याटम्यान नामक एटम बम खसालेपछि जापानीहरू परास्त भएर फर्किएको मानिन्छ । बर्मेलीहरूले दोस्रो विश्वयुद्धमा गोर्खाली सेनाहरूको योगदानका कारणले नेपाली समुदायमा फरक दृष्टिकोण राख्ने गरेको एनआरएन बर्माका अध्यक्ष सागर घिमिरेको धारणा छ । उनी भन्छन्, 'आज यहाँ नेपाली समुदायलाई गोर्खाली भनेर चिन्छन् । गोर्खालीहरू सोझा हुन्छन् । यिनीहरू राजनीति गर्दैनन् भनेर विश्वास गर्छन् ।'

बर्मामा नेपालीहरू कसरी पुगे भन्ने विषयमा धेरै थरी मत छन् । तत्कालीन बृहत् भारत र बर्मा ब्रिटिस राज भएको बेला नेपालीलाई भारत र बर्मामा जान आउन रोकतोक थिएन । जीविकोपार्जनका लागि हजारौं नेपाली बर्मा पुगे । खुला र उर्वर जमिन भएको हुनाले खेती गर्न पाइन्छ भन्ने लोभले पनि लहलहैमा धेरै नेपाली बर्मा गए । दोस्रो विश्वयुद्धमा गएका कतिपय ब्रिटिस गोर्खाली सेनाले पनि सपरिवार बर्मा बसाइँसराइ गरेको पाइएको छ । तर, दोस्रो विश्वयुद्धका क्रममा धेरै नेपाली बर्माबाट विस्थापित भएर भारत आए । कति बाटोमै मरे ।

सन् १९६२ मा बर्मामा सैन्य शासन सुरु भएपछि सबै सम्पत्ति सरकारीकरण गरियो । भारतीय व्यापारीलाई सम्पत्ति लैजान नदिन भनिएको यस अभियानले नेपालीलाई पनि उत्तिकै असर गर्‍यो । धेरै नेपाली आफ्नो थातथलो छोडेर हिँडे । तत्कालीन राजा महेन्द्रले नेपाल फर्कन चाहने दुई सय परिवारलाई नेपालमा पुनर्बासको व्यवस्था मिलाए । नेपाल आएका हरेक परिवारलाई जंगल फाँडेर दुई÷दुई बिघा जमिन दिइयो । आज पनि पूर्व काँकरभिट्टादेखि पश्चिम बर्दियासम्म बर्मेली नेपालीको बसोबास पाइन्छ । कति ठाउँमा बर्मेली टोल नै बन्यो ।
सैन्य शासनको समयमा बर्मामा शिक्षाको स्थिति दयनीय थियो । स्कुल र कलेज सर्वसाधारणका लागि सहज थिएन ।

त्यसमाथि नेपाली भाषाको विकासका लागि सरकारी तवरबाट केही पहल छैन । केही जान्नेबुझ्ने सामाजिक अभियन्ताले स्कुल बिदा भएको समयमा नेपाली कक्षा सञ्चालन गरेर आफ्ना सन्ततीलाई भाषा सिकाइरहेको पाइन्छ । भारतमा नेपाली भाषाले ठूलो संघर्षले संविधानमा स्थान पायो र सरकारी कामकाज र विद्यालयमा नेपाली भाषाले प्रवेश पायो । जातीय आधारमै प्रान्तीय संरचना बनेको बर्मामा भने नेपालीको जातीय, भाषा र संस्कृतिगत अस्तित्व स्थापना गर्न निकै कठिन देखिन्छ । समाजसेवी लेखक ठाकुरप्रसाद गुरागाईंका अनुसार नेपालीहरू प्रत्यक्ष राजनीतिमा आउन सहज छैन ।

बर्माको विकास हुँदा नेपालीको पनि स्वत: विकास हुने नेपाली समुदायले सोचेको छ । सामाजिक आन्दोलनका अभिप्रायले संस्था खोल्न नसकिए पनि बर्माका नेपाली वा भारतीयहरूले हिन्दु धर्मसम्बन्धी धेरै संगठन खोलेका छन् । लामो संघर्ष र बलिदानपछि प्रजातन्त्र सेनानी आङ साङ सुकीको पार्टी सरकारमा आए पनि २५ प्रतिशत संसद् सदस्य सीधै आर्मी जनरलले छान्न पाउने हुनाले शासन र शक्तिमाथिको अधिकार अझै पनि सैनिक सत्तामै देखिन्छ । यस्तो अवस्थामा नेपाली जातिले आफ्नो भाषा र संस्कृतिको रक्षा गर्नु चुनौतीपूर्ण छ । गोर्खा राइफलका नाममा रगत बगाएका हजारौं नेपाली युवाको रगतले सिञ्चित त्यस मुलुकमा यतिखेर करिब तीन लाख नेपालीको बसोबास रहेको अनुमान गरिन्छ ।

रोहिन्या जातिमाथिको सैनिक दमनपछि धार्मिक रूपमा असहज देखिएको बर्मामा हिन्दु धर्म मान्ने भएकाले पनि नेपालीहरूलाई सहज देखिन्छ । कवि तथा संस्कृतिकर्मी धनी गौतमका अनुसार नेपाली पुरुषको हातमा डोरा र महिलाहरूको टाउकोमा सिन्दुर-पोते वाटिका हुने हुनाले पनि नेपालीलाई परैबाट चिन्छन् । ९० प्रतिशतभन्दा बढी बुद्ध धर्मावलम्बी रहेको बर्मामा हिन्दुहरू सुरक्षित अवस्थामा छन् । तर, राजनीतिक, भाषिक तथा सांस्कृतिक आन्दोलनका रूपमा नेपालीको स्थिति निकै कमजोर देखिन्छ । लामो ब्रिटिस राज, सैनिक शासन हुँदै प्रजातन्त्रको अभ्यासमा फर्किएको बर्मामा गोर्खाली सैनिकको संघर्षको इतिहाससँगै आज त्यहाँ बसोबास गरिरहेका धेरै नेपाली ठूलो संघर्ष र मेहनतले स्थापित भएर बसेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.