मोहभंगको कथा
'प्रेमकथा' लेखिरहेको कसैले पनि लियो टोल्सटायको महान् प्रेम आख्यान 'अन्ना केरेनिना'लाई बेवास्ता गर्न सक्दैन ।अन्ना केरेनिनाको 'प्रेम' उच्चाटको उत्पत्ति होइन, न त यो एकरसको दाम्पत्य जीवनबाट मुक्ति पाउने प्रयास नै हो । यो 'प्रेमदेखि मोहभंग'को कथा हो । मोहभंग हुन सुरुमा त मोह हुनै पर्यो । समीक्षकहरूले यो प्रेमलाई अनेक तरिकाले विश्लेषण गरेका छन् । यो सामाजिक दृष्टिमा 'अवैध' प्रेमको कथा हो । एक समृद्ध र सम्मानित परिवारकी विवाहित नारी एक फौजी अफिसरसँग संसार भुलेर प्रेम त गर्छे नै, लोग्ने र अबोध छोरालाई छोडेर उसैसँग बस्न पनि थाल्छे । आफ्नो यो कर्मले ऊ निरन्तर अपराधबोधबाट ग्रस्त भइरहन्छे । प्रेम उसका लागि सुख र जीवनको पर्याय थियो तर के उसले प्रेमबाट 'सुख' पाउँछे त ?
दुई खण्डमा विभाजित यो विशाल उपन्यासमा यही बर्जित र निषेधित प्रेमको गहिरो मनोवैज्ञानिक विश्लेषण गरिएको छ । योभन्दा पहिला प्रकाशित आफ्नो कालजयी विश्वप्रसिद्ध उपन्यास 'युद्ध र शान्ति'मा टोल्सटोयले सांसारिक र बाहिरी युद्धभूमिमा लडिने युद्धबारे वर्णन गरेका छन् । तर, 'अन्ना केरेनिना'मा वर्णन गरिएको अन्तद्र्वन्द्व पनि कम त्रासद र विनाशकारी छैन ।
उन्नाइसौं शताब्दीको रुसी समाज एकदमै सामन्तवादी थियो । अन्ना केरेनिनाको कथा यही सामन्ती समाजको कथा हो । यो आफैंमा 'क्रान्तिकारी' कथा हो । साथसाथै क्याथोलिक वातावरणको आवरणमा ढाकिएको तत्कालीन रुसी समाजका तथाकथित सम्भ्रान्त वर्गमा व्याप्त अनैतिक सम्बन्धबारे विस्फोटक तरिकाले पोल खोल्ने कथा पनि हो ।हुन त धेरै विश्लेषकले अन्ना केरेनिनाको प्रेमलाई न्यायोचित भएको पुष्टि गर्ने प्रयास पनि गरेका छन् । त्यसकारण ती विश्लेषण र निष्कर्षहरू प्राय: अन्तरविरोधी छन् ।
यी अन्तरविरोधहरूबारे टोल्सटोय पनि लामो समयसम्म दुविधाग्रस्त भएका थिए । उनलाई अन्ना केरेनिनाका कथासँग मेल खाने एक नारीको कथा सुनाइएको थियो । ती नारीले पनि अन्तिममा रेलमा काटिएर आत्महत्या गर्छिन् । उनको पनि अवैध प्रेम थियो । उनी कुनै समृद्ध व्यक्तिको रखौटी थिइन् । संक्षेपमा यो एक 'पतीत' नारीको कथा थियो ।
टोल्सटोय यस्ती नारीलाई कसरी चित्रण गर्ने भन्नेमा दोधारमा थिए । क्याथोलिक चर्चका समर्थक नभए पनि उनी एकदमै धर्मात्मी थिए । उनले एक स्वतन्त्र धर्म प्रवर्तन पनि गरेका थिए । अन्ना केरेनिनाको प्रकाशित कथाभन्दा पहिलो खेस्राको कथा एकदमै फरक थियो । पहिलो खेस्रामा अन्ना केरेनिनालाई पति र प्रेमी दुवैको जीवन नष्ट गर्दिने पथभ्रष्ट पतीत नारीका रूपमा चित्रण गरिएको छ । टोल्सटोयको जीवनी लेखिका हेनरी ट्रोयले लेखेकी छन्, 'सुरुमा टोल्सटोयले आफ्नी नायिकालाई मन पराउँदैनथे । उनले तिनलाई सुन्दर पनि बनाएका थिएनन् । अनि नैतिक्ताको नाममा खुब भत्र्सना पनि गरेका थिए ।' अन्ना केरेनिनामा केन्द्रित त्यो अध्यायको शीर्षक 'द डेविल' (सैतान) थियो । उनी आफ्नै पति र प्रेमी दुवैलाई सिकार बनाउने साक्षात् पापको दूत थिइन्।
'अन्ना केरेनिना' त्यो 'भद्र' समाजको कथा हो जहाँका 'सुखी मान्छे'हरूको निम्ति प्रेम गर्नु वा प्रेमको कुरा गर्नु एक मनोरञ्जन हो । यो विलासी मान्छेहरूले भरिएको 'भद्र समाज' हो । जुवा, घोडादौड, अपेरा, मद्यपान, भव्य भोज र नृत्य समारोह आदि यो भद्र समाजको लत हो ।टोल्सटोयका लागि त अन्ना केरेनिनाको कथा एउटा केस हिस्ट्रीमात्रै हो । उनलाई त समाजको हरेक अंगको चिरफार गर्नु छ । उनले आफ्नो अपरेसन टेबलमा यो कथा राखेर 'शल्यक्रिया' गर्छन् ।-
यसको उल्टो टोल्सटोयले उनकी पति केरेनिनलाई एक अत्यन्त संवेदनशील, सुसंस्कृत र दयालु व्यक्तिका रूपमा चित्रण गरेका थिए । उक्त खेस्रामा अन्नाको प्रेमी ब्रोंस्कीलाई पनि मिलनसार, भावुक र उदार व्यक्तिका रूपमा देखाइएको छ । तर, पछि टोल्सटोयमाथि नायिका हावी भइन् । उनले अन्ना केरेनिनालाई भद्र समाजको समारोहमा सजिलैसँग अरूको ध्यान तान्नसक्ने एक अत्यन्त रूपवती र भावुक २१ वर्षे युवतीका रूपमा प्रस्तुत गरे । उनको पतिलाई भने कर्मचारीतन्त्रको साँचोमा ढालिएको कठोर प्रकृतिको शुष्क स्वभावको व्यक्तिको रूपमा देखाइयो । ब्रोंस्कीबारे टोल्सटोयले उपन्यासमा लेखेका छन्, 'पिटर्सबर्गमा दुई प्रकारका मान्छे थिए ।
एकथरी पति केवल आफ्नी पत्नीसँग मात्रै सुत्नुपर्छ र उसैबाट मात्र सन्तान जन्माउनुपर्छ भन्ने मान्यता राख्थे । यी मूर्ख र अश्लील प्रकारका मान्छे थिए । अर्कोतर्फ ठट्यौला, खर्चिला, सुन्दर र बहादुर मान्छेहरू थिए । यिनीहरू जीवनको सबै आनन्द लिन चाहन्थे । ब्रोंस्की यही दोस्रो प्रकारको मान्छे थियो ।' अन्ना केरेनिनासँग भेट्नासाथ ऊ उनको सौन्दर्यमा पग्लियो । उसले अन्नामा एक अद्भुत गरिमायुक्त आकर्षण पायो ।
त्यस्तै अन्नाले पनि ब्रोंस्कीसँगको पहिलो भेटमै 'अब उनलाई ठिकठिकै बुझ्ने साथी र प्रेमी पाएको' महसुस गरिन्।
यसप्रकार हामी धार्मिक तथा नैतिकतावादी टोल्सटोयमाथि विस्तारै उपन्यासकार टोल्सटोय हावी भएको पाउँछौं । टोल्सटोयले सुरुमा कथाको अन्त्यमा ब्रोंस्कीले आत्महत्या गर्ने योजना बनाएका थिए । पहिलो खेस्रामा यस्तै थियो । तर, टोल्सटोयले पछि एकजना मित्रलाई लेखेजस्तै उनका अगाडि थुपै्र विकल्प थिए । आखिरीमा उनले त्यही बाटो रोजे जसमा प्रेमको तर्कसंगत रचनात्मक परिणाम थियो । हुन त यो निष्कर्षमा पुग्न त्यति सजिलो थिएन । अन्ना केरेनिनाको प्रेम भावनात्मक हिसाबले चर्को आत्मसंघर्षको युद्धभूमि थियो । तर यो भावनाको ज्वार अन्त्यमा वास्तविकताको चट्टानसँग ठोकिएर टुक्राटुक्रा हुन्छ ।
अन्ना केरेनिना खासमा प्रेमदेखि मोहभंगको यो प्रक्रियालाई पूर्णत चित्रण गर्ने महाकाव्य हो । टोल्सटोयको अघिल्लो कृति 'युद्ध र शान्ति' विभिन्न पात्र र तिनका चरित्रहरूको जंगलले भरिएको ऐतिहासिक महाकाव्य हो भने 'अन्ना केरेनिना' अपेक्षाकृत कम पात्रहरू लिएर बुनिएको अन्तर्मनको भावनात्मक संघर्षहरूको महायुद्धको चित्रण हो । अन्ना केरेनिनाले आफ्नो पति र प्रेमीमध्ये एकलाई रोज्नुपर्ने बाध्यतामात्र यो आत्मसंघर्षको कारक होइन ।
खासमा त उनको आठवर्षे छोरा नै मुख्य कारण हो । छोराको मायाले हरेकपटक उनको निर्णयलाई कमजोर बनाइदिन्छ । हुन त आखिरीमा उनी आफ्नो छोरालाई समेत छोडेर हिँड्छिन् तर यसको अपराधबोधले उनलाई कहिल्यै छोड्दैन । उनी एउटा नयाँ खालको आत्मसंघर्षको भुमरीमा फस्न पुग्छिन् । छोरालाई छोडेको पीडा र त्यसको घाउ एकातिर त छँदैछ । पिटर्सबर्ग फर्केपछि उनले थाहा पाउँछिन्, उनलाई सामाजिक रूपमा बहिस्कृत पतीत नारीका रूपमा लिइन्छ र जहाँतहीँ अपमानमात्रै गरिन्छ । यो असह्य स्थिति हो । अर्कोतर्फ प्रेमको सुरुका दिनहरूको आकर्षण विस्तारै विस्तारै कमजोर हुँदै जान्छ र 'मोहभंग'को प्रक्रिया तीव्र हुँदै जान्छ । अन्ना केरेनिना र ब्रोंस्कीको पहिलो भेट भएकै रेल स्टेसनमा टोल्सटोयले 'मृत्यु'को संकेत दिएका छन् ।
स्टेसनको प्लेटफर्ममा पाइला राख्नासाथ रेलले कुल्चेर कुनै 'स्विचम्यान'को मृत्यु भएको छ । उनलाई लाग्छ, यो कुनै अपशकुन हो । अन्ना केरेनिना र ब्रोंस्कीको सम्बन्धको सुरु नै दुर्घटना र दु:स्वप्नहरूबाट भइदिन्छ ।
'अन्ना केरेनिना' त्यो 'भद्र' समाजको कथा हो जहाँका 'सुखी मान्छे'हरूको निम्ति प्रेम गर्नु वा प्रेमको कुरा गर्नु एक मनोरञ्जन हो । यो विलासी मान्छेहरूले भरिएको 'भद्र समाज' हो । जुवा, घोडादौड, अपेरा, मद्यपान, भव्य भोज र नृत्य समारोह आदि यो भद्र समाजको लत हो । ठूल्ठूलो पदमा पुगेका सेना, सरकारी अधिकारी, सामन्त (काउन्ट) र तिनका बिग्रेका केटाकेटीहरू मिलेर यो समाज बनेको छ । बिर्सनु हुँदैन, अन्ना केरेनिना पनि यही समाजकी उपज र अंग हो । तटस्थ भएर मानवीय कोणबाट टोल्सटोयले अन्ना केरेनिनाका सम्बन्धहरूको चित्रण गरे पनि उसको प्रेमको अन्त्य दुखद र त्रासद हुनेमा टोल्सटोय ढुक्क थिए ।
यिनै भद्रजनहरूको एउटा जमघटमा 'विवाह र प्रेम'बारे चर्चा हुन्छ । एक भद्र महिला भन्छिन्, 'प्रेम दादुराजस्तै हो, यसको संक्रमण छिट्टै सञ्चो हुन्छ ।' यसको उत्तर दिँदै एक पुरुष भने भन्छन्, 'त्यसो हो भने बिफरको जस्तै यसको पनि उपचार हुनुपर्ने ।' त्यहाँ उपस्थित एक राजकुमारीको विचार अर्कै छ । उनी भन्छिन्, 'प्रेम गल्तीबाट सुरु हुन्छ । हामी प्रेम खोजिरहन्छौं, गल्ती पनि गरिरहन्छौं, त्यो भोग्छौं पनि । अनि फेरि केही खोज्न थाल्छौं । र, यो 'खोजी' निरन्तर चलिरहन्छ ।' अर्को मान्छेले सोध्छ, 'विवाह गरेपछि पनि ? ' जवाफ आउँछ, 'यो कहिल्यै पुरानो हुँदैन ।' अनि अन्नालाई पनि सोधिन्छ । उनी भन्छिन्, 'हरेकको प्रेम आफैंमा अरूभन्दा फरक र अद्भुत हुन्छ ।' त्यो जमघटमा भएको बोंन्स्कीले भन्छ, 'प्रेम कहिल्यै पनि गल्ती हुँदैन ।' यो सुनेर अन्ना काँप्छिन् ।
यहाँ थाहा हुन्छ, मध्यतिरको जस्तो लाग्ने गरी यो बैठकमा अन्ना केरेनिनाको पूरै कथाको पूर्व पाठ तयार गरिएको छ ।यी सम्पूर्ण प्रेमप्रसंग चित्रण गर्दा टोल्सटोयले विम्ब र प्रतीकहरूको गज्जब प्रयोग गरेका छन् । पढिरहँदा यस्तो लाग्छ, हामी चलचित्र हेरिरहेछौं, हरेक घटना हाम्रै अगाडि भइरहेछ । ब्रोंस्कीसँग भेटेपछि अन्ना केरेनिनाको मनमा आँधीहुरी चलेजस्तै हुन्छ । यति कडा आकर्षण हुन्छ, अन्नाले चाहेर पनि उपेक्षा गर्न सक्दिन । एउटा नृत्य समारोहमा 'वाल्ज' नृत्य सुरु भएपछि अन्ना केरेनिनासमक्ष नाच्ने प्रस्ताव आउँछ । सामान्यत: अन्नाले यस्तो प्रस्ताव अस्वीकार र्गिर्छन् । तर त्यहाँ ब्रोंस्की हुन्छ । उसले देख्नेगरी नै अन्नाले त्यो मान्छेसँग काँधमा हात राखेर नाच्न थाल्छिन् । प्रेमको यो मनोवैज्ञानिक पक्षलाई टोल्सटोयले मज्जाले प्रस्तुत गरेका छन्।
यो उपेक्षामा लुकेको संकेत बुझेर ब्रोंस्की पनि अन्ना जहाँजहाँ जान्छिन् त्यहीँत्यहीँ जान्छ । अन्त्यमा उसले अन्नासँग स्पष्ट शब्दमा प्रणय निवेदन गर्छ । पाखण्डी समाजमा ब्रोंस्कीको यस्तो एकदमै बेग्लै प्रस्तावले अन्नालाई सम्मोहित गर्छ । एकपटक मास्कोदेखि पिटर्सबर्गसम्मको यात्रामा उसले देख्छे, ब्रोंस्की पनि एउटै कम्पार्टमेन्टमा छ । 'तपाईं यहाँ ? ', उसले सोध्छे । 'तपाईं जहाँ, म त्यहाँ', ब्रोंस्कीले जवाफ दिन्छ । एक विवाहित नारीलाई दिएको यो उत्तर भद्र होइन । अन्ना डराएर त्यहाँबाट हिँड्छे । तर यो उत्तरलाई पनि दिने उत्तर उसँग हुँदैन । विस्तारै सबै बन्धनका सिक्रीहरू उसले चुडाउँदै जान्छे । अन्ना केरेनिनाको प्रेम यही मोहनी विवशताको कथा हो । त्यसो त ब्रोंस्कीप्रति यस्तो थाम्नै नसक्ने आकर्षणको अरू कारण पनि छन् ।
अन्ना केरेनिनाको पति केरेनिन एकदमै करिअरवादी मान्छे हो । ऊ खालि जागिरमा प्रगति गर्नेबारे मात्रै सोचिबस्छ । प्रशासनमा ठूलो पदमा भएकाले ऊ आफ्नो नाम र कामबारे सचेत पनि छ । आफूले गरेको काम र सुधारबारे मान्छेहरूले के भन्छन् भनेर ऊ अन्नासँग पनि सोधिरहन्छ । उसको दैनिकी पनि एकरसको छ, साँचोमा ढालेजस्तो । ऊ एकएक मिनेटको पनि हिसाब राख्छ । थोरै समय पनि खर्चिनु उसको निम्ति असम्भव छ । अन्नालाई पनि ऊ औपचारिक ढंगले प्रेम प्रदर्शन गर्छ । अपरिचित मान्छेहरूले जस्तो भेट्दा वा छुट्टिँदा खाली हातमा मात्रै चुम्बन गर्छ, निधार वा अनुहारमा होइन । ऊ गीतसंगीत पनि सायदै सुन्छ । अन्ना केरेनिनालाई अपेरा वा नाटक हेर्ने बानी छ, ऊ भने एकदमै कम मात्रै जाने गर्छ । अन्ना यसको ठ्याक्कै उल्टो छे । उसको स्वभाव पिटर्सबर्गको फेसनेबल र रसिक मान्छेहरूजस्तै छ । राम्रो, महँगो र फेसनेबल लुगा उसको रुचिमा पर्छ । लगाउँदा पनि एकदमै रुचि मानेर लगाउँछे । आफ्नो लुगा सिउने व्यक्तिसँग धेरै बेरसम्म बहस गर्छे । कपडामा अति सानो भए पनि खोट निकाल्छे र आफूले मनमा लागेजस्तो परिवर्तन पनि गराइहाल्छे।
पढाइमा पनि उसको एकदमै रुचि छ । खासगरी अंग्रेजी र फ्रान्सेली प्रेम उपन्यासहरू पढिरहन्छे ।
टोल्सटोयले हरेकमा फरक देखाएर पति र पत्नीको स्वभाव, रुचि र जीवनसम्बन्धी दृष्टिकोणमा जमिन आकाशको फरक भएको देखाएका छन् । यही फरकका कारण उनीहरूको दाम्पत्य जीवन रसहीन र एकरसको छ भन्ने टोल्सटोयले स्पष्ट पारेका छन् । अर्थात् अन्नाको मनमा वैवाहिक जीवनको सुख र आनन्द छैन । थाहै नपाईकन अन्नाको मनमा वैकल्पिक जीवनको खोजी भइरहेको हुन्छ । यही खोजीले उसलाई ब्रोंस्कीसम्म पुर्याउँछ । उसलाई लाग्छ, उसको खोजीको गन्तव्य यहीँ हो ।
टोल्सटोयका पत्रहरू र साथीहरूसँग गरिएको विचारविमर्शबाट थाहा हुन्छ, सुरुमा उनलाई यो प्रेमकथा सपाट र एकैखालको लागेको थियो । पछि बिस्तारै-बिस्तारै त्यसमा जटिलता र पेचिलोपना थपिँदै गएपछि टोल्सटोयले यसलाई ठूलो मनोवैज्ञानिक कौशलले सिँगार्दै एक महाकाव्यको गरिमा दिए । यो कथा एकएक गर्दै बिस्तारै खुल्दै जान्छ र मानव मनको पीडा भरिएको यस्तो अँधेरो सुरुङमा लैजान्छ जसले मनै चिमोटिदिन्छ । टोल्सटोयले जीवनका थुप्रै रहस्य खोलिदिने भौतिक र पराभौतिक तहसम्म लैजान्छन् । त्यहाँसम्म पुगेपछि पतनको यो प्रेमगाथा केवल प्रेमको गाथामात्रै रहँदैन । यसले अस्तित्वका अनेक जटिलताहरू कसरी अगाडि ल्याउँछ भन्ने हामी पाउँछौ, जहाँ पुगेर यो उपन्यास एक दार्शनिक उपन्यास पनि बनेको छ । तर टोल्सटोयले यसलाई निरश दार्शनिक विमर्शको जञ्जालमा फस्न दिँदैनन्, हरेक विषय एक एक गरी दृश्यमा देखाइन्छ ।
यो प्रेमकथासँगै मिल्ने खालका प्रेमकथाहरू पनि जोडिएका छन् । 'सबै सुखी परिवार एकै नासका हुन्छन् तर दुखी परिवारहरूको आआफ्नै' भन्ने भनाइबाट यो उपन्यास सुरु हुन्छ । यो भनाइ अन्ना केरेनिनाको परिवारको निम्ति भनिएको होइन, अन्नाकी बहिनी ओल्गा र उनको परिवारको निम्ति भनिएको हो । ओल्गाले अचानक आफ्नो पतिले केटाकेटीको सुसारेसँग प्रेम गर्छ भन्ने थाहा पाउँछे । यो थाहा पाएपछि सिंगो परिवारमा तुफान आउँछ । अन्ना केरेनिनाले जसोतसो यो परिवार टुक्रिनबाट रोक्छे । विडम्बना नै भन्नुपर्छ, छिट्टै नै यो तुफान अन्ना स्वयंको घरमा छिर्छ, जसको कारण ऊ आफू नै हुन्छे । यस्तै तरिकाले नै ब्रोंस्की पनि 'शान्ति स्थापक' बनेर अर्को एउटा परिवार टुक्रिनबाट जोगाउँछ ।
ऊ आफैं भने अर्को परिवार टुटाइरहेको हुन्छ । टोल्सटोयले यस्तो विडम्बनायुक्त सत्यलाई एकदमै निडर भएर तटस्थताका साथ प्रस्तुत गर्छन् । अन्नासँग पनि उनी यस्तै गर्छन् । सिंगो उपन्यासभरि न उनले अन्नाको पक्ष लिएका छन् न त उसलाई अपराधी नै बनाएका छन् । 'युद्ध र शान्ति'को ठीक उल्टो यहाँ उनी मानव आत्माको इतिहासकार बनेका छन् । अन्ना केरेनिना खासमा परिवारहरूको विघटनको कथा हा । सँगसँगै यो तत्कालीन समाजको विघटनको कथा पनि हो । यसकारण अन्ना केरेनिनाको परिवारलाई केन्द्रमा राखेर यसमा अरू थुप्रै परिवारको कथा पनि भनिएको छ । उन्नाइसौं शताब्दीको विकृति र विसंगतिहरूले भरिएको सामन्ती समाजलाई लेखकले कुनै निन्दाभाव नराखी तटस्थ भएर प्रस्तुत गरेका छन् ।
हुन त यहाँ हाम्रो उद्देश्य अन्ना केरेनिनामा केन्द्रित प्रेमकथाको विश्लेषण गर्नु हो । तर, हामी यसलाई त्यति बेलाको समाज र समयसँग छुट्टाउन सक्दैनौं । एक प्रेमी जोडीको कथामात्रै नभएर त्यस समयका अधिकांश व्यक्तिको 'पे्रमकथा' बन्नु नै अन्ना केरेनिनाको प्रेमकथाको मुख्य विशेषता हो । यद्यपि सबैले आत्महत्या त गर्दैनन् तर यो त्यस समयको 'प्रेम'को क्रमिक मृत्युको कथा अवश्य हो ।
एक काउन्ट (सामन्त) भए पनि टोल्सटोयका मनमा सामन्त तथा कर्मचारीहरू प्रति तीव्र घृणा थियो । यस उपन्यासमा अन्नाको कथासँगै लेविन र उसकी पत्नी किटीको कथा पनि सुरुदेखि अन्त्यसम्मै सँगसँगै जान्छ । लेविनलाई टोल्सटोयको प्रतिरूप भन्न सकिन्छ । ऊ अरू सामन्तहरूभन्दा एकदमै फरक छ । ऊ प्राय: आफ्नै प्रान्तमा बस्छ । किसानहरूप्रति उसको गहिरो सहानुभुति छ । किसानहरूको धेरै हित गर्ने र किसानहरूकै हिस्सा पनि बढी हुने नयाँ खालको वैज्ञानिक खेती प्रणाली उसले निर्माण गरेको छ । ऊ भन्छ, किसानहरूले दिनरात १० नंग्रा खियाएर काम गर्छन् तर त्यही कामको उत्पादनले जमिनदार आफ्नो घर भर्छ ।
किसानहरूसँग धुतेको पैसाले जमिनदारहरू मस्को र पिटर्सबर्गजस्ता सहरहरूमा आलिसान बंगला बनाउँछन् । त्यहाँ जुवा, रक्सी र वेश्याहरूसँग भुलेर सारा पैसा उडाउँछन् । ठूलाठूला हाकिम र सेनाका अफिसरहरूको पनि यस्तै खालको जीवनशैली छ । यति हुँदाहुँदै पनि उनीहरू ऋणको सागरमा डुबिरहेका हुन्छन् । जसको ऋण धेरै छ, ऊ नै सबैभन्दा बढी गर्व गर्छ । उपन्यासको एक यस्तै पात्र भन्छ, 'मेरो सारा सम्पत्ति खल्तीमा रहन्छ र क्लबमा गएर आधा रातपछि म फकिर हुन्छु । जुवाखानाका हरेक मान्छेहरू मेरो सर्ट पाइन्टसमेत निकाल्न चाहन्छन् ।' अन्ना केरेनिनाका सबैजसो पात्रको दिनचर्या यस्तै छ ।
लेविनको दाम्पत्य जीवन अन्ना केरेनिनाको भन्दा उल्टो छ । उपन्यासको अन्त्यमा अन्ना केरेनिनाले आत्महत्या गरेपछि भनिन्छ— अन्ना केरेनिना मर्छे । केरेनिनको करिअर बर्बाद हुन्छ । तर, लेविन हट्टाकट्टा, स्वस्थ र विवाहित व्यक्ति हो । उसको वैवाहिक जीवन सुखी छ । तर पनि उसले कतिपटक आत्महत्या गर्ने प्रयास गर्छ । कहिले आफैंलाई गोली हानेर त कहिले झुन्डेर । तर, लेविनले आफूलाई न गोली हान्छ न त झुन्डिन्छ नै । ऊ बाँचिरहेको छ ।
भन्न सकिन्छ, यो अन्ना केरेनिनाको जीवन र मृत्युको जवाफ हो । उपन्यास लेविनबाटै टुंगिन्छ ।
त्यसो भए उपन्यासको शीर्षक किन 'अन्ना केरेनिना' राखियो त ? खासमा टोल्सटोयका लागि त अन्ना केरेनिनाको कथा एउटा केस हिस्ट्रीमात्रै हो । उनलाई त समाजको हरेक अंगको चिरफार गर्नु छ । उनले आफ्नो अपरेसन टेबलमा यो कथा राखेर 'शल्यक्रिया' गर्छन् । 'शल्यक्रिया'को यो पक्रियालाई ध्यान दिन आवश्यक छ । पहिले नै भनिएको छ, अन्नाले केवल पतिलाई प्रेम नगर्ने मात्र होइन, उसको स्पर्शले पनि उनको मनमा गहिरो वितृष्णा जन्माइदिन्छ । उसको मसिनो तिखो आवाज सुनेर अन्नामा घृणा भरिन्छ । पतिका नीला नसा भएका हातहरू उसलाई घिनलाग्दा लाग्छन् । ऊ लुकीलुकी ब्रोंस्कीसँग भेट्न थाल्छे ।
यस्तैमा एक दिन आफ्नो विश्वासप्राप्त साथीको घरमा ब्रोंस्कीसामु आफूलाई पूरै समर्पण गरिदिन्छे । परिणाम, ऊ गर्भवती हुन्छे । पछि जब ऊ ब्रोंस्कीलाई यसबारे बताउँछे ऊ अनुरागले भरिन्छ । भन्छ, 'मैले तिमीलाई बर्बाद गरेँ ।' जवाफमा अन्ना केरेनिनाले भन्छे, 'बर्बाद त मैले तिमीलाई गरेँ । तिमो भविष्य, तिमो करिअर सबै खोसेँ । तिमीले त केवल एक प्यासीलाई पानी पिलाएका मात्रै हौ ।' उपन्यासमा यो क्षण उनीहरूको प्रेमको निर्णायक क्षण हो । खासमा अन्नाले यति बेला नै त्यो विध्वंसकारी निर्णय लिन्छे जसको परिणाम आत्महत्या बनिदिन्छ ।
यसपछि यो निर्णयको सम्भावित परिणाम एक घोडादौडको समयमा निकै प्रतीकात्मक तरिकाले देखाइएको छ । यस घोडादौडमा ब्रोंस्कीलाई पनि भाग लिनुपर्छ । ऊमात्रै होइन सबै दर्शक नै ब्रोंस्कीले जित्नेमा ढुक्क हुन्छन् ।
तर, हुन्छ के ? ब्रोंस्कीसँग घोडादौडकै निम्ति हालसालै किनेको एकदमै राम्रो जातको घोडी हुन्छ । यो घोडादौडमा घोडाहरू र घोडसवारहरूको कौशल जाँच्न अनेक बाधाहरू निर्माण गरिएको हुन्छ ।
केही घोडसवारहरू यो बाधा नाघ्न नसकेर बीच बाटोमै ढल्छन् र प्रतियोगिताबाट निस्कन्छन् । ब्रोंस्कीले धेरैजसो बाधा सजिलोसँगै पार गर्छ । यो त्यही घोडीको चातुर्य र क्षमताले गर्दा नै हुन्छ । अन्त्यमा केवल एक बाधा बाँकी रहन्छ । ब्रोंस्की सबै प्रतियोगीलाई उछिनेर अगाडि दौडिरहेको हुन्छ । सारा दर्शकको निगाह उसैमाथि हुन्छ । उनीहरूले चिच्याई चिच्याई उसलाई हौसला दिइरहेका हुन्छन् । घोडीले जब छलाङ हानेर बाधा पार गर्छे, त्यति बेला ब्रोंस्की उछिट्टिन्छ, जमिनमा खस्न नपाउँदै ऊ घोडीको पिठ्यूँमा पूरै दबाबका साथ बस्न पुग्छ।
यसले घोडीको सन्तुलन बिग्रन्छ । ऊ जमिनमा पल्टेर छटपटाउन थाल्छे । उसको करङको हड्डी टुक्रेको हुन्छ । ब्रोंस्की भने जसोतसो जमिनमा उभिन्छ । ऊ सुरक्षित हुन्छ । घोडी पीडाले छटपटिएर विवश आँखाले हेर्छे । लाग्छ, ऊ भनिरहेकी छे, 'मालिक तिमीले यो के गर्यौ ? ' दर्शकदीर्घामा बसिरहेकी अन्नाको मुखबाट तिखो चिच्याहट निस्कन्छ । ऊ डाँको छोडेर रुन थाल्छे । अन्नाको केही टाढा उसको पति केरेनिन बसिरहेको हुन्छ । उसलाई घोडदौडसँग कुनै लगाव हुँदैन । ऊ आफूसँगै बसेको साथीसँग गफ चुटिरहेको हुन्छ । ऊ मानवीय सम्बन्ध र प्रेमको व्याख्या गरिरहेको हुन्छ । अन्ना उसको कुरा सुनिरहेकी हुन्छे र मनमनै भनिरहेकी हुन्छे, मेसिनजस्तो व्यवहार गर्ने यो मान्छेलाई के थाहा प्रेम के हो ? यो त प्रेम नै गर्न सक्दैन ।
घोडादौडमा यो दुर्घटनाले भावविह्वल भएको देखेपछि ऊ आउँछ र काँधमा हात राख्दै भन्छ, 'हिँड घर जाऊँ ।' अन्नाले एकदमै रूखी भएर काँधबाट हात हटाउँदै भन्छे, 'म घर जान्नँ, म अझै यहीँ बस्नेछु ।' ऊ पहिले नै आफ्नो पतिसँग रिसाइरहेकी हुन्छे । उसले आफ्नो पतिको भनाइमा केवल दम्भ, देखावटीपन र खोक्रो महत्वाकांक्षामात्र देखिरहेकी हुन्छे ।
पछि दुवैजना बग्गीमा बसेर घर जाँदै गर्दा अचानक अन्नाले डाँको छोड्छे । आफ्नो पतिलाई उसले भन्छे, 'म तिमीसँग होइन ब्रोंस्कीसँग प्रेम गर्छु । म उसको रखौटी हुँ । म तिमीलाई घृणा गर्छु । अब तिमीलाई जे मन लाग्छ त्यही गर ।' ऊ घृणा र द्वेषले भरिएकी हुन्छे ।
यो परम्परागत वैवाहिक व्यवस्था र थोपरिएको प्रेमविरुद्धको विद्रोहको पराकाष्ठा हो । वर्षौंदेखि अन्नाको मनमा उम्लिरहेको पीडाको लावा ज्वालामुखी बनेर पड्किन्छ । केरेनिन चिसो स्वभावको भावहीन मेसिनजस्तो मान्छेमात्रै होइन, अन्नाभन्दा बीस वर्ष जेठो पनि हुन्छ । अन्ना ब्रोंस्कीजस्ता मानिसको निम्ति तम्तयार भएर बसेकी हुन्छे र भेट्नासाथ उसैसँग जोडिन पुग्छे । यो आत्मस्वीकृतिले केरेनिन हतप्रभ हुन्छ । त्यहाँ त केही भन्दैन, पछि अन्नालाई चिठी लेखेर भन्छ, 'अझै हाम्रो केही बिग्रेको छैन, हाम्रो सम्बन्ध पहिलाजस्तै हुन्छ । हो, हाम्रो घरमा अब ब्रोंस्की कहिल्यै पनि आउनेछैन ।' तर, अन्नाले भने अर्कै सोचिरहेकी हुन्छे । उसलाई लागिरहेको हुन्छ, यस्तो भनेपछि उसका घरमा तुफान आउनेछ । केरेनिनले सायद उसको वा ब्रोंस्कीको हत्या गर्न खोज्नेछ । ऊ प्रचलित प्रथा जसरी नै ब्रोंस्कीलाई द्वन्द्वयुद्धको निम्ति ललकार्नेछ ।
ब्रोंस्की पनि यस्तै सोच्छ । तर, यस्तो केही हुँदैन । केरेनिनको निम्ति उसको सामाजिक प्रतिष्ठा नै मुख्य हुन्छ । अर्कोतर्फ उसले जिन्दगीमा कहिल्यै बन्दुक वा पिस्तोल समातेको पनि हुँदैन । विषको घुट्को पिएर सोच्छ, अब के नै गर्न सकिन्छ र ? अन्नाको मनमा भने ऊप्रतिको घृणा झनै बढ्छ । ऊ उसलाई कायर र निकम्मा मान्न थाल्छे ।
आखिरीमा एक दिन केही नबताई अन्ना घर छोडेर ब्रोंस्कीसँग जान्छे । योभन्दा अगाडिको कथा उपन्यासको दोस्रो खण्डमा बताइन्छ । त्यो अन्नाको 'नयाँ जिन्दगी'को कथा हो । हामीले देख्छौं, अन्नाको त्यो 'नयाँ जिन्दगी' वास्तवमा के थियो ?
(अनुवाद : लक्ष्मण श्रेष्ठ)