मनीषा कोइरालाको ब्रेक थ्रु

मनीषा कोइरालाको ब्रेक थ्रु

‘डियर माया'...‘अ जर्नी फ्रम सिमला टु दिल्ली अफ मनीषा कोइराला' । सन् १९९० को दशकमा बलिउडकी सफल अभिनेत्री मनीषा कोइरालालाई ढुकढुक भइरहेको थियो यो चलचित्रले कस्तो प्रतिक्रिया पाउँछ भनेर । गत पुसमा नयाँ दिल्लीमा भेटिँदा नै उनले ‘डियर माया'को चर्चा गरेकी थिइन् ।

महिलालाई मूलपात्र बनाएर फरक धारको चलचित्र बनाउन बलिउडमा प्रसिद्धि कमाएका निर्देशक इम्तियाज अलिको सहायक भएर अनुभव बटुलेकी सुनैना भटनागरको मुख्य निर्देशनमा बनेको यो चलचित्रबारे बताउँदै उनले बलिउडका नयाँ पुस्ता निकै प्रतिभावान् रहेको अनुभव साटेकी थिइन् । उनलाई यो चलचित्रबाट निकै अपेक्षा छ । क्यान्सरलाई जितेपछि वर्षमा एउटा मात्र चलचित्र खेल्ने निधो गरेकी मनीषाले फरक कथावस्तु तथा नयाँ पुस्ताको जोस तथा सिर्जनासँगको भिन्न अनुभव सँगाल्नका लागि यो चलचित्र खेलेको बताएकी थिइन् । ‘डियर माया' खेल्दाको अनुभव साट्दै उनले सन् १९९० को दशकमा काम गर्दाको अनुभव र अहिले प्रविधिमा भएको विकासले निकै फरक बनाएको सुनाएकी थिइन् ।

अहिले उनी बलिउडमा पुन चर्चामा छिन् । ‘डियर माया'को प्रोमोसन तथा रिलिजपश्चात् उनी पुनः चर्चामा आएकी हुन् । यो चलचित्रले मनीषालाई बलिउडमा फेरि फर्काएको छ । चलचित्रमा उनको अभिनयको चौतर्फी प्रशंसा भइरहेको छ । क्यान्सरलाई जितेकी मनीषाले यो कमब्याकलाई बलिउडले थम्सअप देखाएको छ ।

त्यसो त मनीषाले सन् २०१५मा ‘चेहरे, अ मोर्डन डे क्लासिक'बाट कमब्याक गरिसकेकी हुन् । साइक्लोजिकल थ्रिलर यो चलचित्रमा मनीषाको सौन्दर्यका साथै अभिनयको पनि प्रशंसा भएको थियो । उनले डिम्पल कपाडिया तथा सारिकालाई रिप्लेस गरेकी थिइन् । ‘डियर माया'मा ४६ वर्षे अभिनेत्रीको उमेर सुहाउँदो भूमिका तथा स्क्रिप्ट लेख्न खोजिएको छ । डिप्रेसनमा रहेर निराश जीवन व्यतित गरिरहेकी अविवाहित अधबैंसे महिला (माया) को भूमिकामा मनीषाले यो चलचित्रमा दमदार अभिनय गरेकी छिन् । बेरंग जिन्दगी अनि एकान्तपनका कारण मनोवैज्ञानिक सन्त्रासमा उनको अभिनयले न्याय गरेको छ ।

भारतीय सञ्चारमाध्यमले पनि चलचित्रका सबल र कमजोर पक्ष केलाउँदै मनीषाको अभिनयको भने खुलेर तारिफ गरेका छन् । भारतीय पत्रिका ‘इन्डियन एक्सप्रेस'ले ‘डियर माया' चलचित्रले आगामी दिनमा बलिउडमा मनीषाजस्ता अन्य वरिष्ठ कलाकारहरूका लागि मार्ग प्रशस्त गर्न सक्छ ? प्रश्न उठाउँदै लेखेको छ, ‘मनीषा बलिउडकी माधुरी दीक्षित, दीप्ति नवल, श्रीदेवीजस्ता कलाकार सरह नै एक्लो दममा चलचित्रलाई सफल बनाउने क्षमता राख्छिन् ।'

यो चलचित्रमा मायाको बेरंग जिन्दगीमा रंग भर्नका लागि दुई टिनएर्जस केटीको उद्दण्ड प्रयास देखाइएको छ । प्लस टुमा पढ्ने केटीहरूको भावना, उमंग, मस्ती तथा मनोविज्ञानलगायत अलिकति स्पाइसी लाइफको प्रयासलाई नयाँ कलाकारद्वय आना (मदिहा इमाम) र इरा ( श्रेया चौधरी) ले प्रस्तुत गरेका छन् । टीनएर्जस केटीहरूले यो चरित्रसँग आफूलाई तुलना गरेर इन्जोय गर्छन् । अनाम प्रेमीको नामबाट यी दुई केटीहरूले लेखेको पत्रका कारण मायाको दिल्लीसम्म पुगेको यात्रा अनि सोहीबीचमा यी युवतीहरूको सम्बन्धमा आएको उतारचढाव र पश्चातापका भावनामा समकालीन युवा मानसिकता प्रकट हुन्छ ।

श्रद्धा कपुर तथा अर्जुन कपुर अभिनीत ‘हाफ गर्लफ्रेन्ड, इरफान खान अभिनीत ‘हिन्दी मिडियम', अनि ‘बाहुबली-२'ले बलिउडमा व्यावसायिक सफलताको झन्डा फहराइरहेको बेला रिलिज भएको ‘डियर माया'ले व्यावसायिक रूपमा प्रतिस्पर्धा गर्न कठिन छ । अभिनय तथा कथावस्तुका आधारमा फिल्मको सफलतालाई मापन गर्ने हो भने यो औसत चलचित्रभित्र पर्छ ।

समग्रमा भन्नुपर्दा मनीषाकै कारणले यो चलचित्र हेर्न बलिउड तथा दर्शक हलतिर तानिएभन्दा फरक पर्दैन । नेपाली मूलकी बलिउड अभिनेत्री मनीषाको यो चलचित्र नेपालमा भने रिलिज भएको छैन । आशा गरौं मनीषाका नेपाली फ्यानले पनि यो चलचित्र चाँडै हेर्न पाउनेछन् । मनीषा भने सञ्जय दत्तको बायोपिकमा आबद्ध भइसकेकी छिन् । बलिउडका प्रख्यात निर्देशक राजकुमार हिरानीले निर्देशन गर्न लागेको यो चलचित्रमा ‘नर्गिस'को भूमिका गर्दैछिन् । यस चलचित्रमा सञ्जय दत्तको भूमिका भने रणवीर कपुरले गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.