अरबमा लुमा-खजुरबोटे आतंक
दैनिकजसो हजारौं युवा बिदेसिन्छन्, त्यो पनि विशेषगरी खाडी मुलुकका लागि । वैदेशिक रोजगारीको बाध्यतासँगै समाजमा यसले निम्त्याएको विकराल अवस्थाले नेपाली समाज पूर्णत: आक्रान्त छ । साना सपना अनि रोजीरोटीका लागि हरियो राहदानी च्यापेर युवाहरू मरुभूमि पसिरहँदा गाउँ निर्जनमात्र बन्दै छैन, सम्बन्धका ढोकामा ठोकिएका विश्वासका कब्जाहरू पनि घोल्लिँदै गएका छन् । घर छोडेर जाँदासम्म 'आफ्ना' भएका सबै त नभनौं तर कैयौं सम्बन्ध फर्किआउँदा बिराना बनिरहेका पाइन्छन् ।
अरब बसाइँको एक समय कम संघर्षमय थिएन मेरो । 'दोहा नेसनल'को सोफिटेल छेउमा थियो कोठा । पूर्वका एकजना अर्जुन राईलगायत नुवाकोटका प्रकाश तामाङ, स्याङ्जाका बलराम, चितवनका कृष्ण पौडेल र म एउटै भान्सा गरेर बस्थ्यौं । अर्जुन इलेक्ट्रिसियन थिए । म मोबाइल मार्केटमा सेल्सम्यान थिएँ । आफ्नो भाग्य चम्काउने ध्याउन्नमा बलराम सिसमहलको 'हाई ग्लास' साफ गर्दा खसेर खुट्टा भाँचिएर प्लास्टर गरेको अवस्थामा ओछ्यान परेका थिए । बाँकी प्रकाश र कृष्ण वाल पेन्टिङको काम गर्थे ।
दैनिक बाह्र घन्टा मार्केटमा उभिनु परे पनि काम सजिलो मेरै थियो । इन्डोरमा काम गर्ने हुँदा अरबको चर्को घाम चुसिरहनु पर्दैनथ्यो । अन्य साथीको हकमा भने त्यसो थिएन । कृष्ण र प्रकाश त झन् असामान्य स्थितिमा थिए । कारण उनीहरूसँग भिसा थिएन । लुकेरै काम गर्थे जुन अवैधानिक मानिन्थ्यो । भिसाबिना 'पताका' (आईडी कार्ड) मिल्दैनथ्यो । र, पताकाबिना अरू त कुरै छोडौं, फार्मेसीले सामान्य औषधि पनि दिन मान्दैन । बिचरा ! प्रकाश-कृष्ण कता सीआईडीले समात्छ भन्दै डराउँदै काममा पुग्थे । फर्किंदा उसैगरी डराउँदै फर्किन्थे । उनीहरूका लागि प्रत्येक दिन 'अन्तिम दिन'जस्तै हुन्थ्यो । सीआईडीले भेटे कसैसँग 'गएँ'समेत भन्न नपाई जेलको हावा खाँदै कुनै घाइते चरी जसरी छट्पटाउँदै नेपाल खस्नुको विकल्प थिएन ।
प्रसंग एक
दिनभर काममा जोतिएर आउँदा साथीहरूले 'लुमा' वा 'खजुरबोटे' लुकाएर ल्याउँथे । अप्रिय गन्ध आउने यस्ता 'सर्बत'का बोतल खुल्लमखुला कसैले बेच्न वा ल्याउन पाउने वैधानिकता छैन । अंग्रेजीमा यसलाई 'ट्वाइलेट स्प्रिट' पनि भनिन्छ जसको प्रयोग केवल ट्वाइलेट सफा गर्नकै लागि मात्र हुन्छ । तर, सीमित तलब भएका कारण र विभिन्न तनाव दूर गर्नकै लागि नेपालीले सस्तो 'रक्सी'का रूपमा लुमा या खजुरबोटेको अत्यधिक प्रयोग गर्छन् । भनिन्छ, यी नाम पनि नेपालीले नै राखेका हुन् । खाँदा एकप्रकारको मात लागे पनि शरीरका लागि भने यी अखाद्य पदार्थ मानिन्छन् ।
लगभग आठ-नौ महिनापछिको एक शुक्रबार बिहान अच्युत कर्लेस फोनमा बोल्दै, ढुन्मुनिँदै मेरो कोठामा आइपुग्यो । 'ल अब तँ कुरा गर्' अच्युतले आफू बोल्दाबोल्दैको कर्लेस ल्याएर मेरो देब्रे कानमा टाँसिदियो । पुरुष आवाजमा सुनिनसक्नुका गाली थिए उताबाट ।
कृष्णसँग मेरो दोस्ती औधी जम्थ्यो । जम्थ्यो पनि के भन्नु, पग्लिन्थ्यो । म आफू चितवनसँग पहिल्यैदेखि नजिक रहेका कारण पनि चितवनको भनेपछि उक्त बिरानो मुलुकमा अझ बढी प्रिय र आत्मीय लाग्नु स्वाभाविक थियो । एक अभिभावकझैँ लाग्थ्यो । तर, सधैं उसको नामसँग मेरो असन्तुष्टि रहन्थ्यो । ऊ बिचरा कुनै हालतमा 'कृष्ण'जस्तो लाग्दैनथ्यो । कुनै सम्पन्नशाली व्यक्ति थिएन ऊ । जालझेल जानेको थिएन । चामत्कारिक थिएन । कुनै विलक्षण प्रतिभा वा अद्भुत क्रियाकलाप पनि उसमा थिएन । न उसका सहस्र गोपिनीहरू नै थिए, एउटी घरवाली राधाबाहेक । थियो त मेरैजस्तो ठाउँठाउँमा फाटेको गरिबी थियो । दु:ख थियो । उस्तै थियो अभावको पुञ्ज पनि ।
त्यो समय कतारमा एउटा मात्र 'क्युटेल' नामको टेलिकम थियो । मोबाइलमा दस रियाल रिचार्ज गर्दा चानचुन तीन मिनेट कुराकानी हुन सक्थ्यो नेपाल । यता नेपालमा 'नमस्ते' । नाम मात्रै नमस्ते । एक मिनट कतार बोलेबापत तीस-पैंतीस रुपैयाँ काट्थ्यो, जुन 'नमस्ते'को विपरीत गोदे बराबरै थियो । तर, त्यति बेला नेपाल टेलिकमको विशेष सुविधाअन्तर्गत जिरो ब्यालेन्स भएपछि विदेश फोन लाग्थ्यो । र, दुईदेखि चार सेकेन्डसम्म नि:शुल्क कुरा हुन्थ्यो । कहिलेकाहीँ टेलिकममा प्राविधिक समस्या आइपर्दा कुराकानी रबरझैं तन्किँदै जान्थ्यो जसको 'सुविधा' साथी कृष्णका बूढाबूढीले लिन्थे । कहिलेकाहीँ अलि लामो संवार्ता हुँदा साथी आत्तिन्थ्यो, 'यत्राबेर कुरा गरेको पैसा त काट्दैन ? ' केही भयमि िश्रत स्वरमा भन्थ्यो, 'कुनै न कुनै दिन टेलिकमले आफ्नो पैसा असुल त गर्छ गर्छ ।'
खजुरबोटे अथवा लुमा पिइसकेपछि प्रकाश लगभग निष्क्रियजस्तै बन्थ्यो, पिएपछिको उसको गुण नै यही हो । कि खटियामा पल्टिहाल्ने, कि चुपचाप आज्ञाकारी बालकझैं बसिरहने । 'सर गाह्रो नमान्नु है' भन्थ्यो मलाई । तर कृष्ण ? ऊचाहिँ ह्यान र त्यानका गफ लगाउँथ्यो । त्यसको गफ सुन्नमा ज्यादा सघाउने मै हुन्थेँ । विभिन्न तरुनीहरूबीच आफ्नो संगतिका बारे बखान गथ्र्याे, तर थाक्दैनथ्यो । पिएपछि कृष्णेको अवगुण भनेकै यत्ति थियो ।
पिउँदा सब तनाव दूर हुन्छ भन्ने कृष्ण, पिएपछि बूढीलाई भने निकै सम्झन्थ्यो । कहिलेकाँही भावुक पनि भइदिन्थ्यो । किन सम्झन्थ्यो त्यो उही जानोस् । एक रात उसैगरी पिउँदापिउँदै कृष्णको मोबाइलमा उसकी 'गृहमन्त्राणी'को फोन बज्यो । सायद कृष्णको सम्झाइले उता बाडुली पठाएको हुनुपर्छ । लर्खराइरहेको बोली र गिलास नरित्तिएको समयमा पूरै घन्टी बज्यो तर साथीले फोन उठाएन । ताई न तुईका गफ सकिएका पनि थिएनन् उसका । प्रकाश भित्ताको सहारामा सकुशल थियो । बलराम र अर्जुन अघि नै निद्रालोकमा विहार गर्दैथिए । घडीमा रातको नौ पार भइसकेको थियो । अर्थात् नेपालमा रातिको पौने बाह्र । फेरि कृष्णको मोबाइल बज्न थाल्यो । एक हातमा मोबाइल अनि अर्को हातमा गिलास समातेर 'कसम आज मेरी बूढी सुत्न सकिनँ क्यारे' भनेको के थियो, फोन काटियो ।
फोन नेपालबाटै आउँथ्यो । किच्चकिच्च दुईचार सेकेन्डमा काटिन्थ्यो । फेरि आउँथ्यो, फेरि उठाउँथ्यो । दुईचार सेकेन्ड पुग्दानपुग्दा फेरि काटिन्थ्यो । कति बेला अलि बढी सेकेन्डसम्म पनि कुरा हुन्थ्यो । कुरा गर्दा मोबाइल लाउड स्पिकर बनाउँथ्यो । मलाई सुनाउनकै लागि त्यसो गथ्र्यो ऊ ।
दिनमा कृष्णले कहिले र कसरी बूढीसँग कुरा गर्छ, त्यो मलाई थाहा छैन तर रातिमा अक्सर अश्लील संवादमात्रै गरेकोचाहिँ थाहा छ । नशामा निर्लिप्त कृष्णको मनोदशा के बुझ्नु थियो र ? किनकि ऊ पुरुष हो । तर, उसकी श्रीमतीको मनोदशालाई लिएर मेरा मनमा भने सहज असहज कुराहरू खेल्थे । यसरी परदेशबाट लोग्नेले श्रीमतीहरूसँग अश्लील संवाद गर्दा उनीहरूमाथि कस्तो असर पर्ला ? त्यसै त पतिसँग छुट्टिनुको पीडा, त्यसमाथि झन् उत्तेजनात्मक संवाद । के होला भवितव्य ? मानसिक आघात पर्ला कि नपर्ला ? म सोचेरै हैरान भइबस्थेँ।
प्रसंग दुई
'कतारको कर्णाली' भनेर चिनिने सनैया क्षेत्रमा, श्रमको खेतमा पसिनाको सिँचाइ गरेर फर्किन्थ्यो अच्युत । दैनिक चौध घन्टा जति 'हार्ड लेवर' गथ्र्यो । उमेरले एकबीस पनि नकाटेको, उसको नाकमुनि चाइनिज दूबोझैं लाग्ने जुँगाको रेखी विकसित हुँदै थियो । गोरो छाला र पातलो शरीरमा खुब स्मार्ट देखिन्थ्यो ऊ ।
जुम्मा अर्थात् शुक्रबार पब्लिक होलिडे । यसै दिन अरू साथीहरूले 'ओटी' गरिरहँदा अच्युत भने रुममा बसेर दिन काट्थ्यो । शुक्रबार मर्निङ सिफ्ट मोबाइल मार्केट नखुल्ने हुनाले मेरो ड्युटी लाग्दैनथ्यो । कहिलेकाहीँ सागसब्जी लिन सुपर मार्केट जाँदा अच्युतसँग अनायास जम्काभेट हुन्थ्यो । सबै साथी पैसा कमाउने उद्देश्यका साथ 'ओटी' धाउँथे, साथीचाहिँ दिनभर फोनमा गफ गरेर बसेको देख्दा म तीनछक पर्थें किनकि मलाई थाहा थियो, कन्स्ट्रक्सन कम्पनीमा काम गर्ने नेपालीको स्यालरी छ सय रियालबाट सुरु हुन्छ । त्यसमाथि शारीरिक श्रम बढी । झन्डै पचास डिग्रीको गर्मी । तर, महिनाको चारवटा शुक्रबार प्लस अन्य दिनको 'ओटी' जोडजाड गर्दा बाह्रतेह्र सयसम्म सेलरी थाप्न सकिन्थ्यो । तर, ऊ त कमाइको सट्टा उल्टो फुर्माइस गरिबस्थ्यो । खासमा ऊ कसैसँग प्रेमको गहिराइमा डुब्दै रहेछ ।
त्यति बेला 'मोबाइल कल' अत्यधिक महँगो भएका कारण 'इन्टरनेट कल' चल्तीमा थियो जसबाट नेपाल प्रतिमिनट एक रियालमा फोन हुन्थ्यो भने भारतमा एक रियाल बराबर चार मिनट गफ हुन्थ्यो । बंगाली, तमिल, श्रीलंकालीहरूले एउटा कम्प्युटर र आठदसवटा कर्लेस फोन राखेर यस्तो धन्दा चलाउँथे । यो पनि गैरकानुनी कार्य थियो । र, यही फोनबाट हप्तामा एक दिन दिनभरजसो आफ्नी प्रेमिकालाई फोन गथ्र्यो ऊ ।
सूर्यको शैलीमा समयले पनि रेगिस्तानी भूमिबाट बिस्तारै बिस्तारै पाइला चाल्दै गयो ।
लगभग आठनौ महिनापछिको एक शुक्रबार बिहान अच्युत कर्लेस फोनमा बोल्दै, ढुन्मिुनिँदै मेरो कोठामा आइपुग्यो । मेरा आश्चर्यमि िश्रत आँखाले उसलाई हरिरहे । ऊ एकसुरले फोनमा तोडमतोड तुच्छ र अश्लील गाली वमन गरिरहेको थियो । मुखबाट खजुरबोटेको उस्तै हरक हावामा छलाङ मार्दै बत्तिइरहेझैँ लाग्थ्यो । 'ल अब तँ कुरा गर्', अच्युतले आफू बोल्दाबोल्दैको कर्लेस ल्याएर मेरो देब्रे कानमा टाँसिदियो । लौ, म अक्क न बक्क परेँ । फोन खस्ने भयले गाँजेर कर्लेस समात्न पुगेछु । आम्म्मामा ! पुरुष आवाजमा सुनिनसक्नुका गाली थिए उताबाट पनि । 'तँलाई मार्छु, तीन टुक्रा पारेर काट्छु'सम्म भनिरहेको थियो ।
मलाई झनक्क रिस उठ्यो । फोन काटिदिएँ । र अच्युतलाई के भएको हो सत्य बताउन आग्रह गरेँ ।
केही वर्षदेखि स्मृतिको प्रेममा सामुद्रिक नौका जसरी चुर्लुम्म डुबेको छ अच्युत । उसको भनाइ मान्ने हो भने, स्मृतिलाई नै खुसी राख्न खाडी पसेको हो ऊ । गरिब परिवारमा जन्मेर पनि श्रम गरे अर्थोपार्जन र अर्थोपार्जनले स्मृतिलाई खुसी राख्न सकिन्छ भने दूरगामी सोचका साथ खाडीमा पसिना बगाइरहेको छ । स्मृति पनि यतिसम्म गहिराइमा छे प्रेमको; भन्छे, 'मैले फेरेको श्वास पनि अच्युतको नाउँको हो । हावामा उसकै 'गन्ध' पाउँछु ।' तर तलाउजस्ता शान्त प्रेमका यी दुई चखेवामाथि घरबाटै ढुंगा बर्साउने कामको थालनी भएछ । त्यो काम, स्मृतिको अर्कै केटासँग बिहे गरिदिने थियो । फेरि त्यो केटा अरू कोही नभएर अच्युतकै साथी थियो । कुनै समयमा सँगसँगै स्कुल पढ्थे यिनीहरू ।
स्मृतिले अच्युतलाई यो कुराको बेलिबिस्तार के लगाई, अच्युतको तेस्रो नेत्रबाट भर्भराउँदो क्रोधको अग्निज्वाला छुट्यो । उसले केटाको फोन नम्बर मागेपछि त्यो पनि उपलब्ध गराई स्मृतिले । अच्युत अब होशमा नभएर बेहोशीमा रूपान्तरण भयो । अत्यधिक लुमा सेवन गर्यो । र यसको नशाले चुर भयो । जिब्रोमा कुनै लगाम रहेन । इज्जत र प्रतिष्ठाको ख्याल आएन । त्यसपछि केटालाई फोन गरेर 'स्मृति मेरी हुन्छे' 'पख्लास्, देख्लास्' 'कि तँ रहन्नस्, कि म रहन्न' एकले होशमा र अर्कोले बेहोशीमा गालीका छर्राहरू बर्साइरहेका थिए । नपिउँदा द्यौता लाग्ने अच्युत, खाएपछि राक्षसमा परिणत भयो । मैले यसअघि यस्तो भद्दा अवतारमा अच्युतलाई कहिल्यै देखेको थिइनँ । यति गतिछाडा छ भन्ने पनि लाग्दैनथ्यो ।
त्यो दिन त्यत्तिकै गइहाल्यो । तर, समस्याको समाधान के निस्क्यो भनेर म जान्न चाहन्थेँ । त्यसपछि दुवैजना आआफ्नो दैनिकीमा व्यस्त भयौं । पछि पो थाहा पाएँ, अच्युत त त्यही हप्ता भिसा 'क्यान्सेल' हानेर नेपाल फर्किसकेछ ।
माथिका दुई प्रसंग उदाहरणका लागि काफी छन्— अरबमा पनि नेपालीहरू लुमा खजुरबोटे खाएर कतिसम्म आतंक मच्चाउन सक्छन् । यो नेपालीहरूको संस्कृतिजन्य स्वभाव भइसकेको छ । नशाको तालमा आफ्नै साथीको हत्या गरेको खबर पनि नसुनेको होइन । अर्को थप, खाडीमा नेपालीहरूको मृत्यु हुने कारणमध्ये लुमा-खजुरबोटे पनि एक हो । कतिपय नेपाली यो अखाद्य रासायनिक पदार्थ खान हुन्न भन्ने जान्दाजान्दै पनि क्षणिक नशाका लागि यसलाई प्रयोगमा ल्याइरहेका छन् । यसैको प्रयोगले विभिन्न घटना पनि उत्तिकै बढिरहेका छन् । भन्दा दुख्छ लाग्छ तर साँचो हो— अरबबाट नेपालीले विप्रेषणसँगै विकृति पनि पठाइरहेका छन् ।