मध्यम धारको नाटक

मध्यम धारको नाटक

सन् १९७० को दशकमा काठमाडौंमा अति चर्चित नाटक ‘अनि देउराली रुन्छ' अहिले शिल्पी थिएटरमा मञ्चन भइरहेको छ । कुनै चर्चित पूर्वप्रकाशित आख्यानमा नाटक वा चलचित्र बनाउँदा त्यो आख्यानप्रति न्याय भयो कि भएन भनेर दर्शकले तुलना गर्ने मौका पाउँछन् भने नाटक नै पुनः निर्देशन गरी प्रदर्शन गर्दा तुलना हुनु स्वाभाविक छ । त्यो तुलना नाटकको मात्र हुँदैन ।

नाटकसँगै त्यो काठमाडौं र यो काठमाडौं, त्यो बेलाको चेतना र यो बेलाको चेतना, त्यो बेलाको र यो बेलाको सामाजिक राजनीतिक परिस्थतिको पनि तुलना हुन्छ । तसर्थ नयाँ दर्शकका लागि यो नाटक नवीनतम नै हो भने पुराना दर्शकका लागि सन् १९७० को दशकमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको ठूलो हलमा लामो समयसम्म हाउसफुल भएको नाटक । जेहोस् यो अहिले आएर फेरि शिल्पी थिएटरमा नयाँ निर्देशक र नयाँ रंगकर्मीले प्रदर्शन गर्नु सकारात्मक हो ।

प्रदर्शित नाटकले त्यो बेलाको काठमाडौं सम्झाइदिएको छ । नाटक सम्झँदा वा तुलना गर्दा कलाकारको अभिनय, गीत, संगीत, सेटको सजावट, निर्देशन त तुलना हुने नै भो । सबैभन्दा महत्ववपूर्ण तुलना त चार दशकको अन्तरालमा व्यतित भएको समयकै हुन्छ । नयाँ दर्शकले त अहिले प्रस्तुत नाटक हेरेरै मूल्यांकन गर्नेछन् भने नाटककार मनबहादुर मुखियालगायत पुराना दर्शकले चाहेर वा नचाहेरै पनि पुरानो समय फर्केर हेर्नेछन् ।

फेरिएको मनोरञ्जन माध्यम

चार दशकअगाडि काठमाडौंमा प्रायः मनोरञ्जनका लागि सिनेमा हलमा फिल्म हेर्न जान्थे । काठमाडौंका केही सिनेमा हलमा चल्ने हिन्दी चलचित्र नै त्यतिबेला मनोरञ्जनको प्रमुख माध्यम थियो । सरकारी ‘रेडियो नेपाल' तथा भारतबाट प्रसारण हुने ‘रेडियो खर्सांङ' र ‘आकाशवाणी' सुन्न पनि रेडियो भएको सम्पन्न घरको आँगनमा जम्मा हुनुपर्दथ्यो । त्यसले श्रव्यदृश्यको काम भने गर्दैनथियो । हिन्दी फिल्ममा देखिने ठूला सहर, चौडा सडक, कार, दरबारजस्ता दृश्यबाटै साधारण नागरिकले मनोरञ्जन गर्थे भने फिल्ममा देखाइने सम्बन्ध, क्लाइमेक्स आमनागरिकका लागि अनौठो नै हुन्थ्यो । त्यसमा पनि एक गरिब हिरोले अति धनी घरकी छोरीसँग प्रेम गर्ने, विवाह नै गर्ने खाले कहिल्यै नहुने तर असम्भव पनि नदेखिने खाले घटना हेरेर आफैं हराउँदा अव्यावहारिक नै भए पनि केही समय आफ्नो दुःख भुल्ने बाटो हुन्थ्यो ।

त्यसबेलाका युवादेखि पाका मानिस व्यावसायिक रूपमा प्रकाशित हिन्दी उपन्यासबाट प्रभावित थिए । काठमाडौंलगायत नेपालका प्रमुख सहरहरू प्रकाश कोविद, गुलसन नन्दालगायतका हिन्दी उपन्यास राम्रै बिक्थ्यो । जानी-नजानी बजारिया हिन्दी उपन्यास पढेरै हिन्दी सिकेका प्रशस्त मानिस भेटिन्थे ।

हिन्दी फिल्म सँगसँगै पत्रिका पनि बिक्थ्यो । कुन हिरो र कुन हिरोइन कता हराए टाइपका समाचार आउने पत्रिका र पाठ्यपुस्तक एउटै झोलामा बोकेर हिँड्ने प्रशस्त विद्यार्थी थिए । फिल्मी पत्रिकासँगै बलिउड कलाकारका रंगीन पोस्टर पनि उत्तिकै बिक्थ्यो । झोछेँमा हिप्पीहरूको आउजाउ कम भएको थिएन । गाँजा पिउने चलन छँदै थियो । राज्यले नयाँ पुस्ताको लागि प्रवद्र्धन गरेको सांस्कृतिक वातावरण त्यस्तो थियो ।

नेपाली तथा नेपालभाषामा साहित्यको प्रकाशन नभएको होइन । त्यतिखेरै राम्रा लेखक नाटककारहरू जन्मिसकेको पनि थिए । तर, त्यस्ता प्रकाशनप्रति राज्यको नकारात्मक दृष्टिकोण थियो । थोरै प्रकाशित हुन्थ्यो र हातहातै वितरण हुन्थ्यो । राज्यले स्थापना गरेका संस्थाहरू थिए । ती संस्थाद्वारा प्रवद्र्धित पुस्तक, नाटक तथा पत्रिकाको चर्चा भने राम्रै हुन्थ्यो । राष्ट्रिय नाचघर थियो । त्यहाँभित्र पनि कलाकार थिए । तर, ती कलाकारको पहिलो सर्त थियो राजसंस्था र पञ्चायती व्यवस्थाको हनुमान हुने प्रतिबद्धता ।
०००

जहिले पनि समाजमा एक वैकल्पिक धार बगिरहेकै हुन्छ । राज्यसत्ताले जतिसुकै नियन्त्रणमा राख्न खोजे पनि देश र जनता सधैं उसको मुट्ठीमा हुँदैन । त्यसबेला नाटक मञ्चनका वैकल्पिक मञ्चहरू थिए । शताब्दीदेखि अपहेलित भए पनि मल्लकालीन दबुको महत्वव घटेको थिएन । प्रत्येक जस्तो बहाल र चोकमा ढुंगाले छापेको वा इँटाले बनाएको एक उच्च ठाउँ हुन्थ्यो जहाँ सार्वजनिक कार्यक्रम गर्न सकिन्थ्यो । त्यो दबुलाई नेपालीकरण गर्दा डबली भनियो । त्यस्ता डबलीमा नाटक मञ्चन गर्ने परम्परा सन् १९७० को दशकमा पनि थियो ।


बीचबीचमै बसेर राजा र दर्शकको माया एकै पटक पाउने अवसर पाएको नाटक हो ‘अनि देउराली रुन्छ' ।

प्रत्येक टोलमा नाटकको निर्माण गर्ने, दुईतीन महिना लगाएर सिकाउने र साधारणतया इन्द्रजात्राको अवसर पारेर प्रदर्शन गर्ने प्रचलन थियो । सार्वजनिक रूपमा डबलीमा मञ्चन गरिने नाटकलाई दबु प्याखँ भनिन्थ्यो । ती नाटकहरू जनताद्वारा जनताकै लागि लेखिन्थ्यो र स्वतःस्फुर्त रूपमा मञ्चन गरिन्थ्यो । पुस्तकका रूपमा प्रकाशित गर्ने चलन थिएन, सबै हस्तलिखित नै हुने गर्थे । न नामको भोक न दामको लोभ । मञ्चन गर्‍यो, आत्मसन्तुष्टि लियो सकियो । यसरी काठमाडौंमा नाट्य परम्परा स्थापित गर्नमा धेरै गुमनाम नाटककारको योगदान छ । यसरी गुमनाम हुने एक नाटककार रामशेखर नकर्मी पनि हुन् ।

त्यस्तै साठी र सत्तरीकै दशकसम्म पनि लोकप्रिय विधा थियो ‘ख्यालः' अर्थात् प्रहसन । साधारणतया गुन्हपुनिको भोलिपल्ट ‘साःयाः' अर्थात् गाईजात्राको दिनमा सत्ताका वरिपरि रहेका मानिसलाई घोचपेच र व्यंग्य गरेर बनाइएको छोटो एक किसिमको एकांकी नाटक नै ‘ख्याःलः'को रूपमा प्रदर्शन हुन्थ्यो । अरू बेला आफूले भन्न नपाइने मनमा लागेको जति ख्याःलः टोलीले भन्ने हुनाले टोल डबली र चोकहरूमा देखाइने यो प्रहसनप्रति निकै आकर्षण थियो ।

त्यो दशक राजतन्त्र, राजसंस्था र ‘निर्विकल्प' पञ्चायत व्यबस्था बलियो भएको बेला थियो । राजसंस्था संविधानभन्दा माथि थियो । कुनै पनि सार्वजनिक कार्यक्रम गर्दा राजारानीको तस्बिरमा माल्यार्पण गर्नु अनिवार्य थियो । कुनै पनि पुस्तक पत्रिका, साहित्यिक प्रकाशन सेन्सर नगरी प्रकाशित गर्न निषेध थियो । राष्ट्रिय नाचघर र नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानजस्ता सरकारी संस्था थिए । तिनमा राजा व्यवस्थाको प्रशंसामा गीत गाउने, नाटक देखाउने प्रतिस्पर्धा थियो । नाचघर र प्रज्ञामा रहन राजावादी हुनु अनिवार्य सर्त थियो । त्यसबेला कस्तो कविता, कस्तो नाटक, कस्तो उपन्यास, कस्तो कथालाइ प्र श्रय दिइन्थ्यो होला अनुमान गर्न गाह्रो छैन ।

राजदरबार राजाको बयानमा गीत गाउन सक्ने, पञ्चायती शासनले पत्याएको दरबारको नजिकबाहेक अरूले राज्यनिर्मित संस्थामा रहन सम्भव थिएन ।
यस्तो बेलामा केही लेखकहरू बीचमा बसेर लेख्थे । समाजको तल्लो तहमा भएका अन्याय अत्याचारको राम्रै प्रस्तुत गर्ने, थिचोमिचो, हिंसा, बलात्कारका प्लटहरू पनि सिर्जना गर्ने तर त्यसलाई हाम्रो भाग्यै यस्तो रहेछ भनेर चुपचाप स्वीकार गर्ने । परिवर्तन, संघर्ष र कर्ममा विश्वास नगर्ने, अनि असहायहरू आफैं झगडा गर्ने, धुरुधुरु रुने । यो कोटीको कलात्मक प्रस्तुतिले तत्कालीन राज्यसत्तालाई सघाउने हुँदा प्रस्तुतिको अनुमति पनि पाइने, राजा र दर्शक दुवैको प्रिय होइने । त्यतिखेर राज्यसत्ताको माया पाएको अधिकांश नाटक यस्तै हुन्थे ।

सिनेमाबाहेक अन्य श्रव्यदृश्यको साधन नभएको समयमा दार्जिलिङबाट आएका कलाकारले उनीहरूकै बोलीचालीमा बनाएको सुन्दर, कलात्मक गीतसंगीत सुनेर देउराली होइन काठमाडौंका जनता नाटक हेर्दै रुँदै फर्के । ‘अनि देउराली रुन्छ'मा कलात्मक रूपमा ग्रामीण समाजको शोषण, थिचोमिचो, सीधासाधा जनजातिलाई षड्यन्त्रपूर्वक गराइएको मारकाट र भाग्यलाई सरापिरहेका जनताको चित्रण त थियो तर त्यसबाट अगाडि बढ्ने बाटो भने देखाइएको थिएन । यति त्यो बाटो देखाइएको भए मञ्चन नै हुँदैनथ्यो । यसरी बीचबीचमै बसेर राजा र दर्शकको माया एकै पटक पाउने अवसर पाएको नाटक हो ‘अनि देउराली रुन्छ'।

४० वर्षभन्दा बढी पछि प्रस्तुत यो नाटकको अहिलेको प्रस्तुतिमा दार्जिलिङे नेपाली बोली, जातीय विभेद, महिला हिंसा, जमिनदार र सहयोगीको व्यवहार पचाउन गाह्रो छ । कतिपय ठाउँमा असान्दर्भिक नै भएको महसुस हुन्छ । पुरानै रेकर्ड गरिएका गीतमा सुधार्ने ठाउँ प्रशस्त छन् । मनोरञ्जनको साधन नभएको, भएका सीमित स्रोत पनि राज्यको निरंकुशताभित्र बन्दी भएको समयमा मञ्चन गरेर टोलटोलमा फस्टाइरहेको नाटक हेर्ने बानीलाई नगदमा रूपान्तरण गरेको तत्कालीन नाटकलाई अहिले सञ्चारमा क्रान्तिकारी रूपान्तरण भएको सन्दर्भमा दर्शकलाई थिएटरसम्म तानेर शुल्क तिराएर देखाउने शिल्पी थिएटरको व्यवस्थापन र कलाकारको आँट प्रशंसनीय छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.